दुई दिनपछि दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

डिसी नेपाल
३० भदौ २०८१ १३:०७

काठमाडौं । जेलबाट रिहा भएको दुई दिनपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै ठूलो घोषणा गरेका छन् । उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

उनले आज दिल्लीस्थित आम आदमी पार्टीको मुख्यालयमा भने , “म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन।”

केजरीवालले भने, “म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन।”

आफ्नो भाषणको सुरुमा दिल्लीका सीएमले भने, “म जेलमा हुँदा हाम्रो लागि प्रार्थना गर्ने लाखौं मानिसहरूलाई धन्यवाद दिन्छु। जेलमा मैले रामायण, महाभारत र गीता पढ्ने धेरै समय पाएँ। मैले भगत सिंहको जेल डायरी पनि पढें।”

लेफ्टिनेन्ट गभर्नरलाई आरोप लगाउँदै उनले भने, “मैले एलजीलाई पत्र लेखेको थिएँ कि म जेलमा छु, मेरो ठाउँमा अतिशी जीलाई झण्डा फहराउन दिइयोस् । बदलामा फेरि चिठ्ठी नलेख्नु भनी धम्की आयो। चिठी लेखेमा परिवारसँग भेट्न दिइने छैन भनिएको थियो ।”

केन्द्र सरकारलाई आरोप लगाउँदै अरविन्द केजरीवालले आफूलाई जेल पठाउनुको उद्देश्य आम आदमी पार्टीलाई भत्काउने र अरविन्द केजरीवाललाई तर्साउने भएको बताए । तर जेलका दिनहरूले आफ्नो साहस बढाएको उनले बताए ।

उनले भने, “देशको लोकतन्त्र बलियो बनाउन खोजेकोले मैले जेलबाट राजीनामा नदिएको हो, जेलबाट पनि सरकार चलाउन सकिन्छ भन्ने प्रमाणित गरेको छु।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *