राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता

डिसी नेपाल
३० भदौ २०८१ १९:००

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपांग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ।

अपांगता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपांग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईंले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार संघको सिफारिसमा केएमसीमा स्वास्थ्योपचारमा आउने अपांगता भएका बिरामीलाई बहिरंग विभागमा २५ प्रतिशत र भर्ना भइ उपचार गराउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

त्यस्तै सरकारको स्वास्थ्य बीमामा आबद्ध भएको, विपन्न नागरिक औषधि उपचार अन्तर्गतको र अन्य निःशुल्क उपचार सेवा प्राप्त हुने अवस्थामा ती सुविधाहरुलाई प्राथमिकतामा राखी उपचार सेवा उपलब्ध हुने र ती सुविधा सकिएपछि मात्र यो सम्झौता अनुसारको सुविधा लागू हुनेसमेत उल्लेख छ।

यो सम्झौता आजका मितिदेखि आगामी असार मसान्तसम्म कायम रहने भएको छ । त्यसपछि आपसी सहमति र प्रभावकारी हेरी पुनः सम्झौता गर्न सकिनेसमेत जनाइएको छ।

बिरामीको उपचार गर्दा भने विशेष ध्यान दिइ सहयोगीसहित सेवा दिनेसमेत उल्लेख रहेको छ। डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।

सो सम्झौता कार्यक्रममा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ एवं अभिनेत्री रेखा थापाले केएमसीले पूण्य काम गरेको भन्दै खुशी लागेको बताइन् । उनले मोरङ ३ मा डा। शर्माले गरेको योगदानप्रति आफूले पनि गर्व गरेर मेरो क्षेत्रको सांसद भनेर गौरव गर्ने गरेको बताइन्।

डा. शर्मालाई हेर्दै उनले शर्माविरुद्ध प्रतिनिधि सभाको निर्वाचनमा चुनावमा लडेको भए पनि शर्माले गरेको काम भने सधै प्रशंसायोग्य भएको बताइन्। त्यस्तै डा. शर्माले यो आफूहरुको सामाजिक उत्तरदायित्व भएको भन्दै अपांगता भएकाहरुलाई सहयोग गर्न पाउनु एउटा पूण्यको काम पनि भएको बताए। उनले आगामी समयमा थप सहयोग पनि गर्ने बताए।

त्यस्तै राष्ट्रिय लोकतान्त्रिक अपांग संघका केन्द्रीय सदस्य चम्लागाईले यो सम्झौतासँगै देशभरका लोकतान्त्रिक अपांग संघमा आबद्ध सबै सदस्यले सुविधा पाउने बताए। उनले केएमसीसँगै डा.शर्माप्रति आभार व्यक्त गर्दै यो अभियान डा। शर्माका अन्य अस्पतालमा पनि सम्झौता गर्ने बताए। त्यस्तै अन्य अस्पतालहरुसँग पनि सम्झौता प्रक्रिया अगाडि बढाउने चम्लागाईले जानकारी दिए।

अपांग संघका पूर्व अध्यक्ष भोजराज श्रेष्ठले यो सहमतिले अपाङ्गता भएकाहरुलाई जीउन थप उर्जा मिलेको बताए। उनले अपांगता भएकाहरुले अस्पतालमा पुगेर टिकट काट्ने स्थलसम्म पुग्न नसकेको अवस्थामा अबदेखि भने उपचारको अभावमा मृत्युवरण गर्न नपर्ने बताए। उनले सरकारी अस्पतालमा केही सीमित छुट दिएको भए पनि केएमसीले देखाएको सदासयता भने अब देशभरकै अस्पतालमा अभियानका रुपमा लिएर जाने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *