धनगढी उपमहानगरद्वारा नगर बस सेवा सञ्चालन

डिसी नेपाल
३० भदौ २०८१ २३:३७

कैलाली। धनगढी उपमहानगरपालिकाले आज नगर बस सेवाको उद्घाटन गरेको छ ।

फूलबारी बसपार्कमा एक कार्यक्रम आयोजना गरी नगर बससेवाको उद्घाटन गरिएको हो। उपप्रमुख कन्दकला रानाले सिटी बजाएर र हरियो झन्डा देखाएर उक्त नगर बससेवाको उद्घाटन गरिन्।

उपमहानगरपालिकाले खरिद गरेको नगर बस कैलारी गाउँपालिकाको हसुलियाबाट, फूलबारी, धनगढी हुँदै गोदावरीको अत्तरियासम्म चल्ने रुट तोकिएको उपमहानगरपालिकाले जनाएको छ। यही असोज १ गतेदेखि सुरु हुने नगर बससेवा बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने बताइएको छ। छवटा बसबाट नगर बससेवा सुरु गरिएको छ।

धनगढीको ‘के एन्ड के कन्स्ट्रक्सन’ले वार्षिक रु २८ लाख ८८ हजार नौ सय १९ मा नगर बससेवा चलाउने ठेक्का पाएको उपमहानगरका राजस्व शाखा प्रमुख डिल्लीराज ओझाले जानकारी दिए। उनका अनुसार विसं २०८१ असोज १ गतेदेखि सुरु हुने नगर बससेवाको न्यूनतम भाडादर रु २० तोकिएको छ। करिब सात किलोमिटर दूरीमा रु २० तिरेर नगर बसमा यात्रा गर्न पाइनेछ । बस बिहान ६ देखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ।

हरेक दिन कैलारीको हसुलियाबाट बिहान छ बजे बस छुट्नेछभने दुई बसको अन्तराल अधिकतम ३० मिनेटभन्दा बढी नहुने राजस्व शाखा प्रमुख ओझाको भनाइ छ। नगर बस रोकिने स्थानको तय उपमहानगर र कम्पनीले गर्ने बताउँदै तोकिएको स्थानमा मात्रै यात्रु झर्ने र चढ्ने व्यवस्था मिलाइने उनले बताए।

दश वर्ष अर्थात् २०८१ भदौ मसान्तसम्म नगर बस सञ्चालनको ठेक्का के एन्ड के कन्स्ट्रक्सनले पाएको हो। नगर बस सञ्चालनले सर्वसाधारणलाई लाभ भएको नगर प्रमुख गोपाल हमालले बताए। फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, गौशाला निर्माणजस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *