चितवनमा पाँचसय मेट्रिक टन मह बिक्री भएन

डिसी नेपाल
३१ भदौ २०८१ ९:४२

चितवन। यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ । कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो ।

पूर्वी चितवनको कालिका –६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए । उनले वार्षिक छ टन मह उत्पादन गर्दै आएका छन्। उनले भने, “महले बजार नपाएर घर थन्किने अवस्था भयो । यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले भने । नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिए यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उनले बताए ।

उनले भने, “फेरि मह निकाल्ने समय भयो । पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन् ।” गत वैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ । उनले भने, “नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ । बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ ।”

यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ । यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताएयो । अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *