नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपालसँग जोड्ने सम्बन्धी एक दिने वेबिनार

डिसी नेपाल
३१ भदौ २०८१ १०:२४

अमेरिका। अमेरिका-नेपाल नीति अनुसन्धान केन्द्रद्वारा नेपाली डायस्पोराका दोस्रो पुस्तालाई नेपालको कला संस्कृति र समाजसँग जोड्ने चुनौती, अवसर र त्यस सम्बन्धी विश्वव्यापी मान्यताहरूका विषयमा आयोजित एक दिने वेबिनार कार्यक्रम सेप्टेम्बरको १४ तारिखमा सम्पन्न भएको छ।

कार्यक्रममा नीतिगत विषयका अनुसन्धानात्मक कार्यपत्रहरूका साथै विविध व्यावहारिक र समसामयिक विषयमा विभिन्न तथ्यगत धारणाहरू प्रस्तुत भएका थिए। यस केन्द्रले आफ्नो स्थापनाकाल देखि नेपालको नीतिगत तहमा सहयोग पुग्ने किसिमका विभिन्न सेमिनार तथा अनुसन्धानात्मक कार्यक्रमहरू गर्दै आएको छ।

डायस्पोराको अनुभव, ज्ञान, शीप, दक्षता र क्षमता राष्ट्र निर्माणको लागि उपयोगी पुँजी हुने अन्तर्राष्ट्रिय मान्यता हो। नेपालमा डायस्पोराको अनुभवको उपयोगका सम्बन्धमा कानुनको अभाव रहेको वास्तविकता प्रस्तुत गरियो।

फरक सामाजिक मान्यतामा हुर्किएको पुस्ताका लागि आफ्नो मूल थलो एक अपरिचित समाज हुने र नेपालमा सरोकारवाला बीच अन्तरराष्ट्रिय संवादको पनि यथेष्ट विकाश भइनसकेको अवस्थामा दोस्रो पुस्ताका नेपालीका लागि नेपाल असहज भइरहेको बारे वक्ताहरूले तर्क व्यक्त गरेका थिए।

दैनिक जीवनसँग जोडिएका केही प्रसंगहरू वा सेवा र सुविधा समेत दोस्रो पुस्ताका लागि असहज रहेको विचार व्यक्त भएका थिए। नेपालबाट वार्षिक रूपमा उच्च शिक्षाका लागि बाहिरिने विद्यार्थीहरूको संख्या उच्च रहेको र ती मध्ये अधिकांश नेपाल नफर्किने तथ्य रहेको सन्दर्भमा नेपाली डायस्पोराको दोस्रो पुस्ताको संख्या बढ्दो रहेको देखिएको छ।

अमेरिकामा रहेका दोस्रो पुस्ताका एक वक्ताले अमेरिकन नेपाली डायस्पोराको दोस्रो पुस्ता अमेरिकन बन्न पनि नसकेको र नेपाली रहन पनि नसकेको यथार्थ प्रस्तुत गरेका थिए। यसबाट उनीहरूलाई कालान्तरमा पहिचानको समस्या हुने तर्कहरू व्यक्त गरिएका थिए।

नव-प्रवर्तन, विकाश र अनुसन्धानका लागी नेपाली डायस्पोरा र तिनको दोस्रो पुस्ताको उपयोग गर्न सक्नु नेपालको लागि उपयुक्त हुने र त्यसका लागि नेपाली दोस्रो पुस्तालाई नेपालमा शैक्षिक आदानप्रदान मार्फत, स्वयंसेवकका कार्यक्रमहरू, मानव कल्याणकारी कार्यक्रम मार्फत र पर्यटन मार्फत जोड्न सकिने रायहरू व्यक्त गरिएका थिए।

नेपालको अहिलेको शिक्षा नीतिलाई सफल पार्न यो पुस्ता उपयोगी हुने सुझाव विज्ञहरूले प्रस्तुत गरेका थिए। डायस्पोराको दोस्रो पुस्तालाई नेपालको कला र संस्कृतिमा कला वा कलाकार मार्फतबाट जोड्न सकिने विचार प्रस्तुत भएका थिए। डायस्पोराले पनि आफ्नो सन्ततिलाई बहु-सांस्कृतिक, बहु-भाषिक र बहु-सामाजिक परिवेशमा हुर्काउने अनेक वैज्ञानिक उपायहरूको विषयमा विचार व्यक्त गरिएका थिए|

वेबिनारमा नेपाली दूतावास अमेरिकाका चार्ज डी अफेयर्स कुमार खरेल, शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकाश केन्द्रका महानिर्देशक दीपक शर्मा, लेखक तथा दोस्रो पुस्ताका नेपाली युवा प्रभास केसी, डा शोभा गुरुङ, डा स्थानेश्वर तिमल्सिना, डा राजन पन्त, डा भोज बलायर र विद्यावारिधि शोधकर्ता लक्ष्मी प्रसाद ओझाले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रम यस केन्द्रका अध्यक्ष जगदम्बा अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। यस केन्द्रले आगामी दिनमा पनि समसामयिक वैज्ञानिक अनुसन्धानात्मक कार्यक्रम गर्ने यस संस्थाका अध्यक्ष अधिकारीले बताउनु भएको थियो। केन्द्रले सोही दिन आफ्नो नवौं वार्षिक साधारण सभा समेत सम्पन्न गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *