सेमरक श्रीयन्त्र प्रि-स्कुल ‘एजुकेशन अवार्ड २०१४’ बाट सम्मानित

डिसी नेपाल
३१ भदौ २०८१ ११:१३

काठमाडौं। काठमाडौंको कमलपोखरीस्थित सेमरक श्रीयन्त्र प्रि-स्कुल कोलकाताको चर्चित नब बोस्को स्कुलमा आयोजित कार्य एजुकेशन अवार्ड २०१४ बाट सम्मानित भएको छ।

नेपाल, भारत, बंगलादेश, भुटानसहित दक्षिण एसियाली विद्यालयका प्रमुख सहभागी भएको कार्यक्रममा सेमरक श्रीयन्त्र प्रि–स्कुल सार्क एजुकेशन अवार्ड २०१४ बाट सम्मानित भएको हो।

सार्क शिक्षा क्रियटिभ अर्वाडले मान्यता दिएको उत्तल अवार्ड सेमरक श्रीयन्त्र प्रि-स्कुलका प्रिन्सिपल जया घिमिरेले ग्रहण गरेकी थिइन्।

विगत दश वर्षदेखि स-साना नानी बाबुहरु खेल्दै पढ्दै आएको कमलपोखरीस्थित सेमरक श्रीयन्त्र प्रि-स्कुलमा पीजीदेखि यूकेजीसम्मको पढाई हुन्छ। सेमरकमा बच्चाहरु हुर्कँदै पढ्दै जाने क्रममा पढाईको चार स्तर पार गरेपछि अर्थात् कक्षा १ मा पुगेपछि भने अन्य स्कुलमा पढ्न जानुपर्ने बाध्यता पर्दछ।

सेमरकमा पीजी, नर्सरी, एलकेजी, यूकेजीसम्म गरी चार वटा कक्षासम्मको पढाइ हुन्छ। र, सो सरहको पढाइमा २ वर्षभन्दा बढी उमेरदेखि ५ वर्ष उमेरसम्मका बच्चाहरु हुने गर्छन्।

चार जना मिलेर ८ वर्षदेखि सञ्चालित सेमरकमा हाल ३० जना बच्चाहरु छन्। तिनै बच्चाहरुको पढाईदेखि लिएर विभिन्न क्रियाकलाप कस्तो छ- हुनुपर्छ- गरिन्छ र अभिभावकको भूमिका कस्तो हुनुपर्छ साथै कोभिडको बेला के-कस्ता कुरामा ध्यान दिनुपर्छ आदि विषयमा रहेर सेमरक स्कुलकी प्रिन्सिपल जया घिमिरेसँगको कुराकानीलाई आज डिसी नेपालले यहाँ समेटेको छ ।

प्रिन्सिपल घिमिरेकै शब्दमाः

हाम्रोमा बिहान ९ बजेदेखि साढे ३ या ४ बजेसम्म बच्चाहरु हुन्छन्। डे केयर र किन्टरगार्टेन पनि भएकाले जागीरे वा नभ्याउने अभिभावकको बच्चालाई ५ या साढे ५ बजेसम्म पनि सेवा दिइराखेका छौं।

सबै कक्षाका बच्चाहरुलाई पढाउने, हेर्ने म आफै पनि गरिहेरिराखेको हुन्छु। हाम्रोमा अरु ३ जना पढाउने, १ जना डान्स र म्युजिक कक्षा दिने शिक्षक हुनुहुन्छ । र, अरु हेल्पर दिदीहरु हुनुहुन्छ।

मैले ग्यालेक्सी पब्लिक स्कुलमा पढेर एसएलसी दिएपछि सोही स्कुलमा पढाउन थाले। आफ्नो पढाइसँगसँगै शिक्षक भएर त्यहाँ धेरै वर्ष काम गरे। पढाउँदै जाँदा प्रिन्सिपलको पोष्टसम्म पुगेको थिए।

त्यसपछि भने मलाई आफ्नै तरिकाले स्कुल चलाउन मन लाग्यो र आफूले स्कुल खोलेर चलायो भने मसँग बच्चाहरुले केही सिक्ने मौका पाउथे कि भन्ने पनि लाग्यो र यो स्कुल खोलेको हो।

सुरुमा यो खोल्दा आफन्त र साथीहरुको गरी तीन जना बच्चाहरु मात्र थिए। तीन जनाबाट सुरु गरेको एकैचोटी पहिलो वर्षमै २५ जना बच्चाहरु पुग्नुभयो । त्यसपछि बच्चाहरुको संख्यामा वृद्धि हुँदै गयो र अहिले फेरि कोरोनाले गरेर बच्चाहरु थपघट भइराखेको छ।

व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी आदि सबैको साथ र सहयोगले नै अहिलेसम्म यो स्कुलले निरन्तरता पाइराखेको छ । गेटबाट भित्र छिराइसकेपछि मैले आनन्दले आफ्नो काम गर्न पाउ भन्ने सोचले अभिभावहरुले यहाँ बच्चालाई भर्ना गर्नुहुन्छ।

हामीले नानी बाबुहरुलाई खेलाउँदै पढाउने गर्छौ । यहाँ बच्चाहरुलाई बिहान खाना, दिउँसो दुध बिस्कुट, फलफुललगायत हेल्दी खाना दिन्छौं र बेलुका घर जाने बेलामा पनि अभिभावकले घर लानासाथ खुवाउनु नपरोस भनेर स्नाक्स दिन्छौं।

मन्टेश्वरी नियमबाटै बच्चाहरुलाई खेलाउँदै, सिकाउँदै पढाउने गर्छौ। कतिपय बच्चाहरुले ब्रस गर्नुहुन्न, त्यो हामीले सिकाउछौं, गराउँछौं। बच्चाहरुलाई खेलाउँदै, काम गर्दैगर्दै सिकाउने गर्छौ । बच्चाहरु हुर्कन चाहिने सिपहरु के के छन्, टेक्नोलोजिकल स्किलहरु विकास गराउने काम गर्छौ।

बच्चाहरु यहाँ ढुंगा, माटोहरु पनि खेल्नु हुन्छ। बच्चाहरु हिड्ने, भर्याङ चढ्ने उर्लनेलगायत आफूले गर्नुपर्ने दैनिकी कामहरु खुसी बनाउदै सिकाउने गर्छौ।

हाम्रोमा महिनावारी शुल्क त्यति धेरै महङ्गो छैन। हामीले दिएकै क्वालिटीको सेवा लिनलाई अन्य स्कुलमा महिनाको २५–३० हजार लाग्छ तर हाम्रोमा सुरुवात नै ६ हजार रुपैयाँबाट सुरु छ । र, त्यसभित्र तीन टाइमको खाना पनि पर्छ।

शिक्षा हरेक स्तरमा राम्रो हुनुपर्छ । फाउन्डेशनले बच्चाको क्रियाकलाप, पढाईलाई राम्रो गर्यो भने त्यसले पछिको ग्रोथलाई अझ राम्रो गर्छ भन्ने हाम्रो सोच हो । त्यही सोचले हामीले बच्चाहरुलाई कसरी राम्रो गर्न सकिन्छ, उहाँभित्र भएको कलालाई कसरी उजागर गर्न सकिन्छ भनेर बच्चाहरुकै आइडियालाई अन्वेषण गरेर अझ बढी सिकाउने प्रयास गर्छौ।

कोभिडले गर्दा धेरै बच्चाहरुको पढाई, बानीव्यवहारमा परिवर्तन भएको छ । धेरैजसो बच्चाहरु इन्टरनेटमा अनावश्यक चिज हेर्ने, गेम खेल्ने हुनु भएको छ । त्यसले गर्दा कोभिडको समयमा हामीले अभिभावकलाई तयार गर्यौ । र, बच्चाहरु नबिग्रिउनु भनेर अभिभावकमार्फत बच्चाहरुलाई सिकाउने पढाउने गर्यौ ।

हेल्थ हाइजिन आफ्नो ठाउँमा महत्वपूर्ण पक्ष हो । त्यसैले हामीले अभिभावकलाई पढाई सँगसँगै हेल्थ हाइजिन महत्वपूर्ण हो भन्ने कुरा बुझायौ । दिनभरि पढ्ने भनेर पढ्ने मात्र होइन, एक दुई घण्टा बच्चाको लागि छुट्याइदिनु पर्यो भनेर उहाँहरुलाई सहमत गरायौं र त्यही अनुसार पढाउने र विभिन्न आवश्यक क्रियाकलापहरु इन्टरनेटको माध्यमबाट सिकायौं ।

कोभिडको बेलामा अभिभावकको सहयोग बिना हामीले इन्टरनेटको माध्यमबाट बच्चाहरुलाई सिकाउने, पढाउने गर्न सम्भव थिएन । त्योभएर पहिला अभिभावकलाई कन्भिन्स गरायौ र बच्चाहरुको लागि अनलाईनको माध्यमबाट कक्षा सुरु गर्यौ । हामीले दैनिक रुपमा बच्चाहरु घरमा के गरिराखेका छन् भनेर सोधपुछ गथ्र्यौ र अनलाईनमार्फत नै होमवर्कलगायत यो गर्नुपर्छ भनेर सिकाउथ्यौ।

त्यसबेला बच्चालाई घरकै सामाग्रीहरुबाट प्याटन बनाउन सिकाइदिनु भनेर अभिभावकलाई सिकायौं । र, बच्चाहरुले घरमा गरेका क्रियाकलाप जस्तोःब्रस गरेको, तरकारी फलफुलबाट बनाएको प्याटनहरु खिचेर पठाइदिनु भन्यो, जसले गर्दा बच्चाहरु पनि हौसिनु भयो ।

बच्चाहरु म्याम–सरले भनेको, सिकाएको कुराहरुलाई मार्गदर्शन भन्ने सोच्नुहुन्छ र ओ हो म्यामले भनेपछि गर्नुपर्छ भन्नुहुन्छ । त्यही भएर पनि कोभिडले सबैतिर ठ्याप्प भएको समयमा पनि बच्चाहरुलाई कसरी अनुशासनका साथसाथै पढाईमा अगाडि बढाउन सकिन्छ भन्ने कुराहरुमा ध्यान दिएका थियौं । र, त्यसबेला हामीले दिएको अनलाईन कक्षाबाट बच्चाहरु एकदमै रमाउनु भएको थियो ।

कोरोनापछि अभिभावकहरुको आग्रहमा स्कुल खोलेको डेढ महिना भयो । अहिले थोरै बच्चाहरु भएकाले पनि स्कुल खोल्न त्यति गाह्रो भएन । हाम्रोमा धेरैजसो मध्यम परिवारका बच्चाहरु भएकाले बुझैरै कोभिडको बेलामा ८० प्रतिशतसम्म कम शुल्क लिएर पढाएका थियौं ।

आम्दानीको श्रोत नभइकन त अभिभावकलाई पनि पढाउन गाह्रै हुन्छ । त्यहीभएर कतिपय नहुनेहरुसँग ६ हजारको सट्टा २ हजार मात्र पनि लियौं । त्यो भएर धेरै अभिभावकहरुलाई पनि सजिलो भयो ।

हामीले पनि यो सोसल सर्भिस र बच्चाहरुलाई गर्ने एउटा त्याग हो भनेर कोभिडको बेलाको घाटालाई आफूसँग भएको संचित पूँजीहरु हालेर जसरी भएपनि स्कुल चलाउनु पर्छ भन्ने सोच्यौं र त्यही अनुसार गरिराखेका छौं ।

हाम्रोमा बच्चा भर्ना गर्नुभन्दा अगाडि अभिभावक नै एकहप्ता आफ्नो बच्चासँग बसेर हेर्न सक्नु हुन्छ । र, बच्चाहरु हामीसँग मान्नु हुन्छ, खाना खानु हुन्छ, पढ्न मान्नु हुन्छ भने मात्र भर्ना गर्दा हुन्छ । सकेसम्म हामीले बच्चाहरुलाई अभिभावकको आर्थिक अवस्था हेरेर राख्छौं ।

बच्चाहरुलाई हामीले हेल्दी कम्पिटिशनको लागि तयार पार्ने हो । यहाँबाट पासआउट भएका बच्चाहरु राम्रै स्कुलहरुमा नाम निकाल्न सक्ने खालको हुनुहुन्छ । यहाँको बच्चाहरुमा लिडरसिप क्वालिटी हुन्छ । यहाँका बच्चाहरु अगाडि स्टेजमा गएर बोल्न सक्ने, डान्स गर्न सक्ने, पर्फम गर्न सक्ने क्षमताको हुनुहुन्छ ।

हामीले बच्चाहरुलाई नृत्य, गीत संगीत, नाटक, राइम्स आदि मनोरन्जनात्मक प्रस्तुती दिन सक्ने बनाएका छौं ।
बच्चाहरु यहाँ बस्न पढ्न रमाइलो मान्नु हुन्छ । बच्चालाई पढाउनु पनि एउटा टेक्निक न हो । सजिलो तरिकाबाट कसरी सिकाउने भन्ने किसिमले गराउने हो । जुन, यहाँ उपलब्ध छ ।

जतिनै व्यस्त भएपनि अभिभावकले आफ्नो बच्चाहरुलाई केही समय दिनुपर्छ । बच्चाको स्वास्थ्यसँगको कुराहरु पनि आउछ । बच्चाहरुले त जे देख्यो त्यही सिक्ने न हो । धेरै बच्चाहरुलाई इन्टरनेटमा गेम्स खेल्ने त्यसबाट पैसा कमाउने आदि लत लाग्ने भएकाले यसमा अभिभावकले पनि कन्ट्रोल गर्न सक्नु पर्छ ।

कतिपय अभिभावकलाई थाहा नै हुँदैन बच्चाले के हेर्दैछ, गर्दैछ भनेर । त्यसैले उनीहरुको लागि अभिभावक, टिचर आदिको प्रमुख भूमिका हुनुपर्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *