म्यानमारमा ‘यागी’ तुफानका कारण आएको भीषण बाढीमा एक सयभन्दा बढीको मृत्यु

डिसी नेपाल
१ असोज २०८१ ९:५६

काठमाडौं । म्यानमारमा ‘यागी’ चक्रवातका कारण आएको बाढीमा परी एक सयभन्दा बढीको मृत्यु भएको छ ।

म्यानमारको सत्तारुढ सेनाका प्रवक्ता जाव मिन टुनले आइतबार भने, “११३ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६४ जना बेपत्ता छन्। यद्यपि, स्थानीय रिपोर्टलाई विश्वास गर्ने हो भने मृत्यु हुनेको संख्या बढी हुनसक्छ।”

समाचार एजेन्सी एएफपीका अनुसार, “म्यानमारमा ३ लाख २० हजारभन्दा बढी मानिसले अस्थायी आश्रयस्थलमा शरण लिनु परेको छ।”

‘यागी’ यस वर्ष एसियामा आएको सबैभन्दा शक्तिशाली आँधी हो । म्यानमारअघि यो आँधीले भियतनाम, लाओस, फिलिपिन्स र चिनियाँ टापु हानयानमा पनि विनाश ल्याएको छ ।

म्यानमार पुग्नुअघि नै यो आँधीका कारण २८७ जनाको ज्यान गएको थियो । भियतनाम पुगेपछि यो आँधीको प्रभाव कम भए पनि दक्षिण–पूर्वी एसियामा पहिरो गएको छ ।

म्यानमारको सरकारी मिडियाका अनुसार शुक्रबार साँझसम्म यस आँधीले करिब ६६ हजार घर ध्वस्त पारेको छ । यसबाहेक करिब ३ सय ७५ विद्यालय र एउटा बौद्ध गुम्बामा पनि क्षति पुगेको छ ।

कैयौं किलोमिटर सडकहरु बगेका छन् भने अन्य धेरै भवनहरुमा पनि ठूलो क्षति पुगेको छ । शुक्रबार दुई लाख ३० हजारभन्दा बढीलाई १८७ राहत शिविरमा पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *