माओवादी प्रवास समितिको बैठकमा अध्यक्ष प्रचण्डको चर्को आलोचना

डिसी नेपाल
२ असोज २०८१ १६:१०

काठमाडौं। नेकपा(माओवादी केन्द्र)को गैरभौगोलिक प्रदेश अन्तर्गत प्रवास समन्वय समितिको बैठकमा सहभागी नेताहरुले  नेतृत्वको आलोचना गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको प्रवास समितिको जुम बैठकमा बोल्ने अधिकांश नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका हुन्।

एक पदाधिकारीका अनुसार उनीहरुले सरकारमा रहँदा आफन्तलाई राजनीतिक नियुक्ति दिलाएको भन्दै सडकमा पुग्दा मात्रै कार्यकर्ता सम्झिने गरेको बताएका थिए।

ती पदाधिकारीका अनुसार एशिया प्रदेश समितिका संयोजक शनिकुमार वलीले सरकारमा रहँदा अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई राजदूतमा नियुक्ति दिलाउने तर आफ्नै पार्टीका कार्यकर्ताहरुलाई बेवास्ता गर्ने नेतृत्वको प्रवृत्तिले पार्टी नबन्ने भन्दै प्रचण्डको आलोचना गरेका थिए। पार्टी महासचिव देव गुरुङले प्रवास समितिमा गुटबन्दी गरेको समेत उनले आरोप लगाएका थिए।

यस्तै सहसंयोजक हरि नेपालीले पनि अध्यक्ष प्रचण्डको सचिवालयको आलोचना गर्दै कार्यकर्ताहरुलाई निषेध गर्ने नभई कार्यकर्तासँग सम्पर्कको सेतु बन्न सुझाएका थिए। प्रवास समितिमा कार्यरत केन्द्रीय सदस्य डिबी क्षेत्रीले पनि नेतृत्वको कमीकमजोरीका कारण पार्टी बिग्रिएको भन्दै त्यसलाई रोक्न नेतृत्वबाटै सुधार थाल्नुपर्ने धारणा राखेका थिए।

एसिया प्रदेश समितिका सहइन्चार्ज ओम शर्माले नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै नेतृत्वकै कारणले जनयुद्धकालीन नेता कार्यकर्ताको व्यवस्थापन नहुँदा विदेशमा मजदुरी गर्न बाध्य भएको बताएका थिए।

बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताएका थिए। उनले रुपान्तरण सम्भव भएको र त्यसका लागि आफू तयार रहेको जनाएका थिए।

अध्यक्ष प्रचण्ड सहितका पदाधिकारीको उपस्थितिमा बसेको जुम बैठकमा पार्टीको प्रवास समन्वय समितिमा आबद्ध विभिन्न देशमा रहेका माओवादी नेताहरुको सहभागिता रहेको थियो।

माओवादीको जारी परामर्श बैठक अन्तर्गत यस अघि भौगोलिक एवं गैरभौगोलिक अन्तर्गत बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न भइकेको छ ।

केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक भने आजबाट सुरु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *