लघुकथा : आरोप
“क्यानडा नगए हुन्न? एक्लो छोरो तँ मात्रै त होस्। यही नेपालमा केही गरे हुन्न?” मैले छोरासँग जिज्ञासा राखें। छोराले प्रत्यूत्तरमा भन्यो “नजाँदा पनि हुने भए म किन बल गर्थेँ र बुबा? नेपालमा मेरो विषयको मास्टर्स नै छैन। अनि नगएर के गर्ने? म रहरले जान लागेको हैन बुबा। एक किसिमको बाध्यता नै हो।”
हो, छोरो क्यानडा जाने। बुहारी क्यानडाकै भिसा पर्खने। छोरा बुहारी नै घरमा नभए पछि घरको पनि के अस्तित्व रहला र? स्नातक गरेकै थियो। लोक सेवा दिएर नेपालमै जागिर खाएको भए नि हुने।
अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, पोर्चुगल, फिनल्याण्ड, डेनमार्क, कोरिया र अरब जानु पर्ने बाध्यात्मक परिस्थितिको सृर्जना कस्ले गरि रहेछ? युवाहरुको देश छोड्ने लहर देख्दा बैराग्य छुटेर आउँछ। खै पर्याप्त रोजगारी? खै उच्च शिक्षा? खै विकास र परिवर्तन? हामी कहाँ परिवर्तन भएको पनि तीसौ वर्ष भइ सक्यो। देश धनी हुने कुरै छैन। देश त झन ऋण ग्रस्त भइरहेछ। जनताहरु रोग भोक र शोकले ग्रस्त छन्। अब परिवर्तनलाई कसले, कहिले र कसरी सस्ंथागत गरी स्वदेशमै वस्ने वातावरण बनाउने? देश त रित्ति रहेछ।
छोरोको भिसा आयो। प्लेन टिकट भयो। उ क्यानडा जाने नै भयो। हामी जस्तो निम्न मध्यम वर्गीय परिवारले कसरी व्ययभार थेग्ने? सर सापट, ऋण पान र बैंक लोन गरेर व्यावहार टारियो। अब व्याज र किस्ता कसरी तिर्ने? पढ्न जानेले पैसा कमाउने हैन। भएको पैसा खर्च गर्ने त हो। कसरी टिक्ने होला? अहिले त बुहारीको पनि भिसा आइसक्कयो। अब कसरी क्यानडा पठाउने? प्रश्नहरु अनुत्तरित छन्। छोरो जाँदाको ऋण पान त्यसै छ। अब बुहारी पठाउँदा के गर्ने होला? म सोेच मग्न छु।
एक जना मात्र राष्ट्रवादी भएर नथेग्दो रहेछ। म त भन्छु, ठीक छ उच्च शिक्षा हाँसिल गर्न विदेश जाऔं। तर उच्च शिक्षा आर्जन पछि स्वदेश फर्कौं। उतै पलायन नहोऔँ। देशका लागि सकेको योगदान गरौँ। देशलाई मात्रै एकोहोरो सत्तो सराप नगरौँ। बस्तै नबसे पछि र गर्दै नगरे पछि आरोप लागाउनुको पनि कुनै तुक हुँदैन।
सुन्दरहरैंचा-६, दुलारी,मोरङ
Facebook Comment