नियात्रा

बोस्टनको घरभित्र थुनिएको समुद्र

खेमराज पोखरेल
५ असोज २०८१ ७:४२

समयको सीमितताका कारणले गर्दा मलाई सुमेशले सोधेका थिए, ‘भिनाजु, समयका अभावले यो पल्ट नियाग्रा फल्स र बोस्टन मध्ये एउटा रोज्नु पर्ने भयो। कुन राजौँ ?’
मैले फ्याट्टै भनेको छु, ‘बोस्टन।’

मैले नियाग्रा फल्स छोडेर बोस्टन रोजेको कुरा सायद उनलाई अचम्म लाग्यो। उनलाई लाग्यो कि संसारका पर्यटकको रोजाइ नियाग्रा फल्स छोडेर एउटा अमेरिकी सहर बोस्टन रोज्ने कस्तो मान्छे होला यो भिनाजु ?

यसरी मेरो बोस्टन घुमाइ जुरेको छ। जुन ५ तथा ६, २०२१ का लागि सुमेशले होटल बुक गरिसकेका छन्। शुक्रबार काम सकेर जाने र शनिबार र आइतबार दिनभरि घुमेर बेलुका घर फर्कने कार्यक्रम बनाएका छन्। मलाई भने बोस्टनमा पाइला टेक्न मात्र पाए पनि हुन्छ भनेझैँ हतारो भएको छ।

यति बेला अमेरिकाको पूर्वी तटको पारिवारिक भ्रमणमा छु। न्युयोर्कमा भदाहासालो सुमेश भट्टराईको घरमा अड्डा जमाएको छु। न्युुयोर्क पुगेका बेला घुम्नु र मौका मिले साहित्यिक स्रस्टासँग भेटनु याने एक पथ दुई काज भनेझैँ सोच्दै छु। यो घुमाइका फेहिरिस्तमा धेरै ठाउँहरू छन्। यसमा पनि बोस्टन मेरा लागि निकै महत्वको गन्तव्य ठान्छु मैले।

त्यसै पनि अहिलेको मान्छेको जीवन, झन् त्यसमाथि संसारको व्यस्त सहर न्युयोर्कमा पुगेका गरिखानु पर्ने पहिलो पुस्ता नेपालीलाई त झन् अँगार खाएझैँ हुन्छ जिन्दगी। आगाका राप जस्ता समस्यामा तप्त भएर पनि फेरि समयको तप्ततामा नै जिन्दगीलाई सेकाउनु पर्छ। यही पहिलो पुस्ता हुन् सुमेश। याने मेरो भदाहासालो। पाँच दिन जागिरको अभेद्य झटारो। अनि दुई दिन आफ्नै घरभित्रको चटारो। त्यसमाथि अमेरिकामा जन्मेका केटाकेटीको स्याहारसुसार। यो सबै दायित्व पूरा गर्दागर्दै हत्तुहैरान हुनु नै पथ्र्यो उनले।

म पनि अमेरिकामा नै बसेकाले अब्डेरो छुइनँ। कुरा बुझेको छु अमेरिकाको। सुमेशले तिनै तप्तताबाट मलाई घुमाउने समय चोर्नु पथ्र्यो। स्वाभाविक रूपले घुम्नु पर्ने दिन विकेन्ड हुन्थ्यो। तर विकेन्डमा नै आइपर्ने अनावश्यक तथा विपर्यास मौसमले बाधा हालिहाल्थ्यो। यो सबै संयोग मिल्यो भने मात्र घुम्न पाइने हुन्थ्यो।

सुमेशको घर न्युयोर्कबाट बोस्टन करिब ४ घण्टाको गाडी दूरी रहेछ। ५ जुनको दिन बेलुका करिब ६ बजेतिर म, मेरी श्रीमती सुशा, सुमेश÷विवेका तथा उनीहरूका छोरी सान्वी र छोरो युभान गरी जम्मा ६ जना बोस्टनतिर बाटो लागेका छौँ। बोस्टन पुग्दा रातको दस बजेको छ। बोस्टनको डाउन टाउनभित्रकै क्याम्ब्रिज भन्ने ठाउँको क्रिम्पटन मार्लो होटलमा बास बसेका छौँ। मैले गुगलमा बोस्टनका १० प्रमुख गन्तव्यका बारेमा जानकारी हासिल गरिसकेको थिएँ। त्यो मध्ये एउटा गन्तव्यस्थल न्युइङ्गल्यान्ड अक्वेरियम थियो।

न्युइङ्गल्यान्ड भन्नेबित्तिकै सम्झना आयो। म इतिहासको विद्यार्थी हुँ। कलेजमा त्यही विषय पढेर÷पढाएर उर्वर समय बिताएँ। त्यस कारण एक जमानामा अमेरिका बेलायतको उपनिवेश भएको कुरा थाहा थियो।

अनि बेलायतले अमेरिका छोड्ने बेलामा अमेरिकाको कुनै सहर तथा क्षेत्रलाई न्युइङ्गल्यान्ड नामाकरण गरे होलान् भनी अडकल काटेको थिएँ। तर न्युयोर्क आएर थाहा भयो कि न्युइङ्गल्यान्ड भनेको केबल भौगोलिक अभिव्यक्ति मात्र रहेछ। कुनै खास ठाउँ होइन रहेछ।

यो भौगोलिक अभिव्यक्तिमा अमेरिकाका राज्यहरू मायने, भर्मोन्ट, न्युह्याम्पसायर, मासाचुसे, रोह्डे आइल्यान्ड र कनेक्टिकट पर्दारहेछन्। यसको कारण रहेछ सर्वप्रथम यो क्षेत्रलाई पत्ता लगाउने जोन स्मिथले यो क्षेत्रको नाम न्युइङ्गल्यान्ड राखे छन्।

जहाँ सन १६२० देखि वेलायतका धर्मप्रचार गर्न मान्छे आएर उपनिवेश बनाए छन्। अमेरिकाको स्वतन्त्रतापछि पनि इतिहासको सत्यतालाई मर्न नदिएर न्युइङ्गल्यान्ड नामाकरण फेरिएन छ। मलाई ज्ञात थियो कि अमेरिकी मुक्ति सङ्ग्राम इङ्गल्यान्ड याने कि बेलायतसँग लडिएको थियो।

तर इङ्गल्यान्डकै नामका अगाडि न्यु थपेर इतिहासको रक्षा गर्ने अमेरिकी चेतलाई भने सलाम गर्न मन लाग्यो। किनकि अमेरिकाको स्थापना, विकास तथा अस्तित्वमा इङ्गल्यान्डको ठूलो भूमिका रहेको छ। त्यो इतिहास उनीहरू मर्न दिन चाहँदैनन्। अमेरिकीहरूको यो सहनशील चेतले गर्दा पनि अमेरिकालाई संसारको यो तहमा पुर्याएको हो जस्तो लाग्छ मलाई।

अँ त म बहकिएँ। हामी त्यो ६ तारिकको दिन बिहानै घुम्न निस्यौँ। जो हात सो साथ भनेझैँ जति भ्याइन्छ त्यति घुमौँ भन्ने योजना छ। जुन महिना भएकाले बिहानदेखि नै एकदम गर्मी छ। समुद्रको छेउमा गर्मीले तप्त छौँ। तर समुद्र चीसो छ। चीसो समुद्रलाई चुम्दै आउने बतास पनि गर्मीको तप्तताले राँकिएको छ।

एयरकन्डिसनमा बस्ने बानी परेका हाम्रा पिलन्धरे तथा बिल्पारी अनुहारमा पसिनाले अड्डा जमाएको छ। हामी चिस्सिन चाहन्छौँ। त्यस कारण विवेकाले सर्वप्रथम यही न्युइङ्ल्यान्ड एक्वेरियम घुम्ने प्रस्ताव राखिन्। आखिर हामीलाई त्यो अक्वेरियम घुम्नु नै छ।

त्यो एक्वेरियममा रमाउनका लागि सुमेश तथा विवेकाका ससाना छोराछोरी पनि छन्। उनीहरूको बहानामा हामी पनि उत्साहित छौँ। अक्वेरियमको छेउमा टिकट काउन्टर छ। काउन्टरमा मान्छे लाम लागेर टिकट काट्न उभिएका छन्। सायद एक जनाको ३५ डलर तिरेर टिकट लिएकी छन् विवेकाले।

टिकट देखाएर अक्वेरियमभित्र पस्न थालेका छौँ। यहाँ भने मास्क अनिवार्य रहेछ। नत्र त कोरोना कहर भए पनि बोस्टन सहर मास्क मुक्त जस्तै लाग्थ्यो। सामान्यतया मास्क नलगाई ठमठम मान्छे हिँडिरहेका छन् बाहिर।

मैले मास्क लगाएर अक्वेरियम भवनलाई गौर गरेर हेरेँ। बाहिरबाट हेर्दा त्यो मामुली भवन हो। मामुली भवन किन भनेको भने त्यो क्षेत्रमा निकै अग्लाअग्ला हाइराइज आकर्षक बिल्डिङ छन्। हाइराइज्ड मात्र होइन; हेर्दा पनि आकर्षक बुनौटका छन्।

तर अक्वेरियम बिल्डिङ चाहिँ समुद्रसँग जोडिएर बनाइएको झन्डै सलाई बट्टा शैलीको मामुली छ। अनि त्यो मामुली घरमा छिर्नका लागि तिरेको ३५ डलरलाई मेरो मनले नेपाली रुपियाँमा अनुवाद गर्दै छ। सोच्दै छु एउटा घरले हाम्रो पैसाको हुर्मत लियो। तर त्यो मामुली बिल्डिङ अक्वेरियमभित्र छिर्नका लागि मान्छे लाम लागिरहेका छन्।

हामी पनि लाइनमा बसेर अक्वेरियमभित्र छिरका छौँ। त्यो घरभित्र त हजारौँ मान्छे समुद्रको मजा लिँदै छन्। सामुद्रिक जीवनको मजा लिइरहेका छन्। अक्वेरियमभित्र मान्छे छिरिरहेका छन्। बाहिरिँदै पनि छन्। हामीलाई पनि अक्वेरियम छिरेपछि आनन्द आयो। चिसो समुद्रको मजा लिन पाइयो। किनभने त्यसै पनि यो घर वातावरणअनुकुलित नै छ।

वास्तवमा यो अक्वेरियमभित्र समुद्र रहेछ। याने कि समुद्रको प्राणी तथा वनस्पति जीवनलाई मान्छेले बनाएको विज्ञानले एउटा घरभित्र ल्याएर थुनेको छ। सामुद्रिक संसारलाई भुईँको संसारमा ल्याएर देखाइएको छ। ठूलाठूला सिसाका बाकसभित्र सामुद्रिक जीवन सजीव हाँसेका छन्। अक्वेरियमभित्र सामुद्रिक छालझैँ पानी छचल्किएको छ। छालभित्रै जीव नाचिरहेका छन्।

अक्वेरियमभित्र ठाउँठाउँमा तस्बिरसहित जानकारीमूलक सूचनाहरूको बोर्ड राखिएको छ। ती बोर्डहरूले गाइडको काम गरिरहेका छन्। बोर्डलाई पढ्दै गरेका सुमेशले भने- भिनाजु, यो अक्वेरियममा २ लाख ग्यालोन पानीलाई घरभित्र छिराएर घुमाइएको छ। ४५० जनाभन्दा बढी मान्छेले प्रत्यक्ष रोजगारी पाएका छन्। आम्मामा, हेर्नु त भिनाजु, ८००० प्रजातिका सामुद्रिक जनावरहरू सङ्कलित गरिएका रहेछन् नि यो अक्वेरियममा त !

म पनि सामुद्रिक जीव हेर्दै त्यसका बारेमा लेखिएको ससाना बोर्ड हेर्दै मजा मानिरहेको छु। त्यहाँको प्रमुख आकर्षण सामुद्रिक जीवन नै हो। त्यो जीवनको अनुभूति हो। सबै प्रजातिलाई हेरेर सकिने कुरा पनि होइन।

सबै कुरा जान्न सकिने कुरा पनि होइन। आखिर आँखाको तिर्सना मार्ने त हौँ हामी। जिन्दगीको रामरउस भोग्नु मात्र त हो। यो बेलाको भ्रमणको ध्येय अनुसन्धान पनि होइन। विशेष अध्ययन केही होइन।

खासमा त्यो मामुली घर त संसारको सवैभन्दा ठूलो एक्वेरियम ट्याङ्क पो रहेछ। समुद्रको सतहभित्र कस्तो खालको भौगोलिक संरचना हुन्छ, त्यस्तै संरचना त्यो अक्वेरियमभित्र बनाइएको रहेछ। एकदम मजाको कुरा त के भने समुद्रमा पाइने जस्तै ढुङ्गा छन् त्यो सिसाबाकसभित्र। ससाना रुखपात पनि छन्।

ती कृत्रिम हुन् कि प्राकृतिक हुन् त्यो भने मेलो पाउन सकिनँ। सायद प्राकृतिक नै होलान्। त्यसैले यहाँ राखिएका सामुद्रिक जीवले त्यो यामानको सिसा ट्याङ्कलाई समुद्र नै मान्दा हुन्। किनभने पानीभित्रको वातावरण समुद्रकै छ।

त्यो अक्वेरियमको असाध्य मनमोहक दृश्य भनेको सिसाभित्रको पानी र त्यसमाथि प्रकाश प्रक्षेपण गरेर सुन्दर र मनमोहक झिलिमिली बनाइनु हो। सिसा, पानी, माछा तथा जीवहरू अनि त्यसमाथि बिजुलीका रङ्गीबिरङ्गी प्रकाशले दिइरहने झिलिमिली निकै मन्त्रमुग्ध पार्ने खालका छन्।

सालाखाला झन्डै ५ तलामा रहेको यो अक्वेरियमको तल्लो तलामा समुद्रको पेन्गिुइन नामको चरा राखिएको रहेछ। ती चराहरूले मान्छेको आँखा तानिरहेका छन्। ठूलाठूला ढुङ्गा माथि ती पेइन्गुइन मजाले बसिरहेका छन्। उडिरहेका छन्। तल्लो तला नै निकै आकर्षक छ। सधैँ हेरिरहूँ जस्तो लाग्दै छ। त्यसैले अक्वेरियमको तला चढ्न थालेका छौँ।

तला जतिजति बढ्दै गयो उतिउति सार्क, सामुद्रिक कछुवा, विभिन्न प्रजातिका माछा, विभिन्न प्रजातिका जेलिज माछाले सुन्दरता थप्दै छन्। मनमोहतामा बृद्धि गर्दे छन्। यत्तिकैमा अर्कै सिसाबाकस हेर्दै गरेकी मेरी श्रीमती सुशाले भनिन्- हेर्नु त कति लामो सर्प।

म पनि सो सर्पलाई हेर्न थालेको छु। साँच्चै नै एकदम लामो सर्प त्यो भीमकाय सिसाको अक्वेरियममा घुम्दै छ। वास्तवमा म मधेसतराईको मान्छे याने कि नेपालको सन्दर्भमा सर्पको घानीमा हुर्केको मान्छे, तर मैले त्यति लामो सर्प देखेको थिएन। एक छिन उभिएर हेरेँ।

आखिर त्यो सर्प त्यही सिसाको बाकसले बनाइदिएको परिधिभित्र त हाँसिरहेको छ। रोएको छ भने पनि उसको त्यो नियति हो। ठीक मान्छेको यो भवसागरको नियति सम्झेँ यति बेला। हाम्रो जीवन पनि यही सिसाको ढ्वाङ जस्तै एउटा खास परिधिभित्र सीमित छ। पूर्ण स्वतन्त्रता त कहाँ पाउनु ? पूर्ण उन्मुक्तता त कहाँ पाउनु ? सायद पूर्ण स्वतन्त्रता भन्नु स्वप्न मात्र हो कि जस्तो पनि लाग्छ।

त्यो अक्वेरियमभित्र विविध प्रकारका साँप देखेर निकै आश्चर्य त लागिरहेकै छ। यसै बिच विवेकाले भनिन्-भिनाजु, अक्टोपस।

अक्टोपसको नाम सुन्नेबित्तिकै म त्यही सिसाबाकसमा पुगेर हेर्न थालेको छु। झट्ट फुटबलको वल्र्डकपको बेला अक्टोपसले हारजितको भविष्यवाणी बताएको सम्झेँ। त्यो समाचार त्यो बेला भाइरल भएको थियो।

हातैहात खुट्टैखुट्टा भएको अक्टोपस भने त्यही सिसाघरभित्र घरी तल घरी माथि गरिरहेको छ। घरी खुम्चन्छ। घरी फुक्छ। अक्टोपसलाई आफ्नै आँखाले हेर्न पाएकाले विशेष आनन्द लागिरहेको छ मलाई।

त्यसकै छेउमा बडेमान सिसाबाकसको पानीभित्र चक्के फूल फुलिरहेको जस्तो देखिएको छ। म त खासमा कति राम्रा रङ्गीविरङ्गी फूल भनी सोचिरहेको छु। तर विवेकाले पो भनिन्- भिनाजु, यी त फूल होइनन्। विभिन्न रङ तथा प्रकारका जेली माछा हुन्।

त्यो त विविध प्रकारको जेली माछा रहेछ। ठ्याक्कै फूलजस्तो। सूर्यमुखीको फूलजस्तो। बुट्टेदार र मनमोहक। त्यसैले सबैभन्दा आश्चर्य त जेलिज माछा र अक्टोपसले गरेका छन्। पानीमुनि फुलेका फूलजस्ता देखिने जेली माछा बिस्तारोबिस्तारो चलिरहेका छन्। नाम मात्र सुनेको मजस्ताका लागि भने यो अक्टोपसको दर्शन निकै रोमाञ्चक हुने नै भयो।

सिसाबाकसभित्र याने कि अक्वेरियमको पानीभित्र मान्छेजस्तो आकारमा नाली लिएर ढुङ्गा सफा गर्दै रहेको दृश्य देखेँ। सायद यो रोबोट होला भनिठानिरहेको छु। तर होइन रहेछ। यी त त्यही अक्वेरियमका कर्मचारी पो रहेछन्। ती समुद्रमा भित्र पस्ने तालिम पाएका गोताखोर पो रहेछन्। तिनका पिठ्युमा आक्सिजनको सिलिन्डर छ।

हात तथा खुट्टामा रबरका पखेटा लगाइएका छन्। यसो हेर्दा उड्ने मान्छेजस्ता देखिएका छन्। हातमा पाइप समाएर अक्वेरियमको सिसाभित्रका ढुङ्गाका च्यापच्यापमा पसेर लेउ सफा गरिरहेका छन्। त्यो लेउलाई मेसिनले तानिरहेका छन्। एक मन त बिचरा ती गोताखोरको जागिर भनेझैँ पनि लाग्यो। फेरि अर्को मनले रोजगारीको बाध्यता र महत्त्व एकै पल्ट सम्झेँ।

घरभित्र तथा सिसाबाकसभन्दा बाहिर ह्वेलको कङ्काल पनि प्रदर्शनीमा छ। ह्वेलका बारेमा पढेको भए पनि देखेको थिएन। तर यहाँ कङ्काल देखेर ह्वेलको आकार अनुमान गर्न सकिन्थ्यो। ह्वेलको दारा नै मुस्ली जत्रो देखेपछि शरीर र मेरुदण्ड कत्रा थिए भनेर अनुमान गर्न सकिने कुरा भयो।

करिब २ घण्टाजति त्यही अक्वेरियम घरमा चिस्सिएर बाहिर निस्कने क्रममा छौँ। बाहिर निस्कनेँ बाटो अलग छ। निस्कँदानिस्कँदै बाहिरपट्टि समुद्रसँगै जोडिएर बनाइएको एउटा सानो पोखरीमा सामुद्रिक जीव सिललाई खाना खुवाउँदै छन् अक्वेरियमका कर्मचारी। सिलको खाना भुरामाछा हुने रहेछ।

माछा खान पाएपछि ती सिलहरू कर्मचारीसँग आएर नातिनातिनाजस्तो लुटुपुटु गर्दैछन्। अचम्म त के थियो भने त्यहाँका कर्मचारीले जुन सिललाई चाह्यो त्यही सिल आउँदा रहेछन माछा खान। यो दृश्य हेर्नका लागि हलमा कुर्सीहरू मिलाएर राखिएका छन्। त्यो दृश्य घण्टौँ लगाएर हेरिरहूँ भनेझैँ छ।

जनावर र मान्छेको बिचको मित्रताको उदारहण यहाँ देखिन्छ। तर हामीसँग समयको सीमा छ। एक छिन त्यो दृश्य हेरेर हामी बाहिरिएका छौँ। बाहिरिँदाबाहिरिँदै एउटा चम्किलो सङ्गमरमरको भित्तामा सो अक्वेरियम बनाउनका लागि ५०००० डलरभन्दा धेरै चन्दा दिने चन्दादाताहरूको नामावली लेखिएको देखियो।

मान्छेहरू त्यो नामावलीलाई हेरिरहेका छन्। पढिरहेका छन्। सरर्र हेर्दा पाँचलाख डलरसम्म चन्दा दिने मान्छेको नाम देखियो। त्यही नजिकै उभिएका एक हुल मान्छेका बिचमा एउटा केटो आफ्नो साथीलाई भन्दै छ, ‘नं १७ को मेरो हजुरबुबाको नाम हो।’

यसो भनिरहँदा उसको अनुहार गर्वले पुलकित भएको छ। यो बेला ऊ हजुरबुबाको नाममा गर्व गरिरहेको छ। मैले सोचेँ कि कोही मान्छे त मरेर पनि बाँच्छन्। कोही बाँचेर पनि मर्छन्। कोही आफू मरेपछि पनि आफू मात्र बाँच्दैनन्, सन्तानलाई पनि गौरवशाली बनाउँछन्। तर उफ ! मान्छे आफूले कमाएको सबै बिष्टा बनाउन तल्लीन हुन्छ। त्यही नै उसलाई स्याँस्याँ फ्याँफ्याँ हुन्छ। बिस्टाका लागि अनैतिक काम गर्छ। भ्रष्टाचार गर्छ। जेल जान्छ। डाँका डाल्छ। तर मरेर पनि बाँच्नेतिर उसको ध्यान पटक्कै जाँदैन। तर त्यो केटोको हजुरबाउले गरेको त्यो कृत्य सम्झेर त्यो केटोसँगै म पनि आह्लादित भएको छु।

सन १९६२ देखि मात्र बनाउन थालिएको र सन १९६९ देखि सञ्चालनमा आएको यो अक्वेरियम विकासको एउटा नमुना हो भन्दा के फरक पर्छ र ? तर मेरो दिमाग भने सन १९६२ लाई विसंमा रूपान्तरण गर्दै छ। सन १९६२ सम्ममा त नेपालमा प्रजातन्त्र आएकै पनि ११ वर्ष भइसकेको थियो।

तर नेपालमा प्रजातन्त्रपछि खोइ के बन्यो कुन्नि ? आखिर पानीकै खेला त हो यो अक्वेरियम। अनि पानीको पउलता भएको मेरो देश नेपाल। मेरा दिमागमा यस्तै झट्का लागिरहेछ। म यस्तै यस्तै विपर्यास झट्कामा बाँच्न आम नेपालीझैँ अभ्यस्त भइसकेको छु।

अक्वेरियमबाट बाहिर निस्कँदा फेरि टन्टलापुर घाम लागेकै छ। भोक जब्बर लागेको छ। कोरानाका कारणले कुनै होटलको बन्द कोठमा गएर खाना खाने आँट आइरहेको छैन। हामी केही इटालियन अमेरिकन फुडको रेस्टुरेन्टको फिराकमा छौँ। खाना खानको लागि विवेकाले हामी सबैलाई मोबाइल सोझ्याएर बोस्टनको प्रसिद्ध क्विन्सी मार्केटमा पुर्याइन। त्यो मार्केट भन्नु एउटा निकै ठूलो गोदामजस्तो घर रहेछ। त्यो घरभित्र नेपालकाझैँ ससाना खुद्रा दोकानहरू रहेछन्।

वास्तवमा त्यो क्विन्सी मार्केट ऐतिहासिक रहेछ। बोस्टन सहरको सबैभन्दा पुरानो बजार रहेछ त्यो। युरोपेलीले स्थापना गरेको सो बजारको मूल गोदामजस्तो भवनलाई जस्ताको तस्तै सुरक्षा गरिएको देखेर अचम्म पनि लाग्यो। यो एउटा गोदामजस्तो भवन त अहिले आएर पर्यटकीय स्थल पो बनेको रहेछ। हाम्रा नेपालमा भए ता त्यस्ता भवनलाई कबाडीमा बेचिसक्ने थिए। इतिहासलाई मार गोली भन्ने थिए।

क्विन्सी मार्केटको छेवैमा जोडिएर रेस्टुरेन्टहरू छन्। हामी एउटा रेस्टुरेन्टमा पुगेर खाना खाने सुर गर्न थाल्यौँ। रेस्टुरेन्टको अगाडिपट्टि सडकसँग जोडिएको ठूलै खुला ठाउँ रहेछ। यहाँ खोइ केका हुन् ठूलाठूला रुखहरू छन्। यही रुखको सिँयालमा खुला चौरमा राखिएको टेवुलकुर्सी छन्। मान्छे खचाखच छन्। कोही खाइरहेछन्।

कोही गइरहेका छन्। कोही सुटेडबुटेड छन्। कोही अर्धनग्न। तर कसैलाई कसैको मतलव छैन। होहल्ला छैन। फोहोर छैन। रुखका पातबाट राहतका लागि केही चीसो हावा चलिरहेको छ। यही हावासँगै हामीले पनि एउटा टेबुल पायौँ। रेस्टुरेन्टवालाले व्यवस्था नगरी टेबुलकुर्सीमा बस्न पनि अशोभनीय ठानिँदो रहेछ।

त्यही ओगटेको टेबुलकुर्सीमा बसेर हामीले इटालियन तथा अमेरिकन खाना खान थाल्यौँ। खाना खाने क्रममा सुमेशले दुईदुई ग्लास वियर खाने प्रस्ताव गरका छन्। मैले यो खुला ठाउँमा अनि दिउँसै वियर खाने हो र ? भनेर हल्का असहमति जनाएँ।

किन भने म त प्रोफेसर पेसामा अभ्यस्त मान्छे यसरी जथाभावी बियर खानु त ईज्जतै दाउमा लाउनु बराबर हुन्थ्यो। तर सुमेशले मलाई भने, ‘फेरि कहिले आइन्छ आइन्न भिनाजु। जिन्दगीको के भर छ र ? यो ऐतिहासिक क्विन्सी मार्केटमा बसेर वियर पिइएन भने त बोस्टन घुमेकै के सार भयो र ?’

त्यसपछि यही रुखमुनि बसेर हामी सालाभेनाले दुईदुई ग्लास चीसो वियर घुट्क्यायौँ। अनि हामीलाई घुम्नको साह्रै चटारो छ। ह्वेल वाचिङ घुम्नु छ। बोस्टन टी पार्टी पनि त्यही दिन घुम्नु छ। धावाधावा छ। त्यसो भएकाले हामी बियरको हल्का शीतलताको रनाहामा बोस्टनकै अन्य गन्तव्यको बाटो लागेका छौँ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *