कामको व्यस्तताका बीचमा पनि यौन सम्बन्ध राख्न आफ्ना नागरिकलाई पुटिनको अपिल

डिसी नेपाल
४ असोज २०८१ १६:०२

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा पनि समय मिलाएर शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन् । पुटिनले भने, “रुसी नागरिकको सुरक्षा हाम्रो प्राथमिकता हो। रुसीहरूको भविष्य अब तिनीहरूको संख्यामा निर्भर गर्दछ।”

रुसका स्वास्थ्य मन्त्री डा. येभगेनी शेस्टोपालोभले कामको दबाब सन्तान नहुनुको बहाना हुन नसक्ने बताए । कामको बीचमा ब्रेक लिएर पनि शारीरिक सम्बन्ध राख्न सकिने उनले बताए । ब्रिटिस पत्रिका मेट्रोको रिपोर्टका अनुसार पुटिनले देशमा घट्दो जन्मदरलाई सच्याउनका लागि यस्तो बताएका हुन् ।

वास्तवमा, रूसमा जन्म दर प्रति महिला १.५ बच्चा छ। देशको जनसङ्ख्या कायम राख्न जन्मदर प्रति महिला २.१ बच्चा हुनुपर्छ । युक्रेन विरुद्ध युद्ध सुरु भएदेखि, रुसका १० लाख नागरिकले देश छोडेका छन्। यसमा अधिकांश युवा समूहका व्यक्तिहरू समावेश छन्।

पुटिनले देशको घट्दो जन्मदरबारे चिन्ता व्यक्त गरेको यो पहिलो पटक होइन । यसअघि गत वर्षको डिसेम्बरमा पुटिनले रुसी महिलालाई कम्तीमा ८ बच्चा जन्माउन आग्रह गरेका थिए । ठूला परिवारहरूको परम्परा रूसी घरहरूमा पेश गर्न आवश्यक भएको उनले बताएका थिए ।

पुटिनले भनेका थिए, “धेरै समुदायमा अझै पनि धेरै सन्तान जन्माएर परिवार बढाउने र परम्परालाई कायम राख्ने चलन छ। हामीले याद गर्न जरुरी छ कि हाम्रा हजुरआमाको पालामा अरेक घरमा ७-८ जना बालबालिका थिए।”

रुसी सरकारी तथ्याङ्कअनुसार रुसमा जन्मदर सन् १९९९ यताकै न्यून स्तरमा छ । जनसंख्याको हिसाबले विश्वका शीर्ष १० देशको सूचीमा रहेको रुसमा यस वर्षको जुन महिनामा १ लाखभन्दा कम बालबालिकाको जन्म भएको छ । सन् २०२४ को पहिलो आधामा करिब ६ लाख बालबालिकाको जन्म भएको थियो । यो गत वर्षको तुलनामा १६ हजार कम हो ।

रुसमा यस वर्षको जनवरीदेखि जुनसम्म ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । जसका कारण देशको जनसङ्ख्या निरन्तर घटिरहेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जुलाईमा भनेका थिए – यो अवस्था देशको भविष्यका लागि विनाशकारी हो।

रुसको उत्तर-पूर्वी क्षेत्र कारेलियाका अधिकारीहरूले आमा बन्ने तयारीमा रहेका कलेज विद्यार्थीहरूका लागि नयाँ योजनाहरू जारी गरेका छन्। यसअन्तर्गत स्थानीय कलेज तथा विश्वविद्यालयमा स्वस्थ सन्तान जन्माउने २५ वर्ष मुनिका छात्रालाई १ लाख रूबल दिइनेछ ।

यसअघि सन् २०२२ मा पुटिनले १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ नामको अवार्ड दिने घोषणा गरेका थिए । यो पुरस्कार दोस्रो विश्वयुद्धका बेला पनि महिलालाई दिइएको थियो । त्यतिबेला पनि रुसको जनसङ्ख्या तीव्र गतिमा घटिरहेको थियो। सन् १९९१ मा सोभियत संघ टुटेपछि रुसले यो अवार्ड दिन बन्द गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *