हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो: कमल थापा

डिसी नेपाल
४ असोज २०८१ १९:४४

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसकेको भन्दै ठूला भन्न रुचाउने दल र नेताहरुले हठ त्यागेर तत्काल मार्ग परिबर्तन गर्नुपर्ने बताएका छन्।

सहकारी प्रकरणमा कांग्रेस र एमालेको ठूला नेताको संलग्न देखिएकाले प्रकरणलाई भित्रभित्रै फासफुस पार्ने प्रयास भइरहेको समेत थापाले आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित राप्रपा नेपाल उपत्यकाको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आउँदा जोडतोडसँग हंगामा भएतापनि कांग्रेस र एमालेका नेताको संलग्नता देखिने वित्तिकै प्रकरणलाई लुकाउन खोजको बताए।

उनले छानविन समितिको प्रतिवेदनले एकातिर क्लिन चिट पाए रविले भनेको र अर्कोतिर समितिले कारबाहीको माग गरेको भन्ने समाचार आएकोमा उनले प्रतिवेदनमाथि प्रश्न समेत गरे।

‘सहकारी ठगीको विषयमा ठूलो हो हल्ला भयो। छानविनका लागि समिति गठन भयो। सहकारी प्रकरणमा रवि लामिछानेको मात्र होइन कांग्रेस र एमाले पनि ठूला नेताहरुको नाम आउन थाल्यो। त्यसपछि पहिले झै भ्रष्टाचारको काण्ड दबाएझैं गरेर प्रकरणलाई पनि भित्रभित्रै फासफुस गर्ने प्रयास गरिरहेको छन्,’ अध्यक्ष थापाले भने,‘ एकातिर क्लिन चिट पाए रविले भनेको छ। अर्कोतिर कारबाहीको माग गरेको समितिले भनिएको छ। त्यो कस्तो प्रतिवेदन हो? जसले जे पनि बोल्न मिल्ने। रवि लामिछाने मात्र आउँदा धेरै जोडतोडसँग हंगामा भयो। जब ठूला दुई दलको पनि सहकारी ठगीमा नाम आउन थाल्यो अनि काले काले मिलेर खाउँ भाले भने जस्तै गरी फासफुस बनाउने काम भयो।’

थापाले सरकारले र सत्तामा भएका दलहरुले ठूलो तामझामका साथ संविधान दिवस मनाएता पनि जनताको कुनै उत्साह नरहेको बताएका छन्। सरकारले संविधान दिवसमा सैनिक मञ्चमा गरेको कार्यक्रममा होस् या दरबार मार्गको कन्सर्ट दुबैमा जनताको उपस्थिति उत्साहजनक नदेखिएको भन्दै उनले त्यसबाट संविधान दिवसमा जनताको कुनै उत्साह छैन भन्ने प्रमाणीत भएको बताए।

संविधान संसोधन गर्ने हो भने अहिलेको यथास्थितिलाई टालटुल गरेर समस्या समाधान नहुने भन्दै थापाले अब सबै अटाउने ब्यबस्थाले मात्र मुलुकलाई जोगाउने बताए। थापाले आन्दोलन उच्छ्रिंखल र अदृश्य शक्तिको हातमा जान सक्ने भन्दै थापाले चाढै सत्तासिनक आँखा खुल्नु पर्ने समेत सुझाब दिए।

सानो झिल्को लाग्यो भने कसैको नियन्त्रणमा रहँदैन त्यसैले बेलैमा राजा सहितको प्रजातन्त्रमा फर्किन अबेर गर्न नहुने थापाको धारणा थियो। हिन्दूराष्ट्र र राजा सहितको प्रजातन्त्र नै नेपालको स्थायित्वको अचुक मार्ग हुने थापाले बताए।

कार्यक्रममा नेताहरु तारा लुइँटेल ,यबती कार्की, राजाराम बर्तौला, हिक्मतजङ्ग भन्डारी , राजकुमार खड्का, श्याम नेपाल , सुदर्शन केशी, श्याम घिमिरे ,अमर केसी , उज्वल पोखरेलले समेत बोलेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *