श्रीलंकामा कम्युनिष्ट पार्टी ऐतिहासिक जिततर्फ अग्रसर, दिसानायकेले आजै राष्ट्रपतिको शपथ लिन सक्ने

डिसी नेपाल
६ असोज २०८१ १०:४६

काठमाडौं । श्रीलंकामा कम्युनिष्ट पार्टी नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धन ऐतिहासिक जिततर्फ अग्रसर देखिएको छ । जारी मतगणनामा एनपीपीका राष्ट्रपति पदका उम्मेदवार अनुरा कुमारा दिसानायकेले ठूलो अग्रता लिइरहेका छन् । दिसानायके जनता विमुक्ति पेरामुनाका नेता हुन् ।

समाचार एजेन्सी पीटीआइका अनुसार दिसानायकेले गणना भएका मतमा ५३ प्रतिशतभन्दा बढी मत पाएका छन् । श्रीलंकाको अखबार डेली मिररले दिएको पछिल्लो अपडेटअनुसार दिसानायकेले १८ लाखभन्दा धेरै मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी समागी जन बलवेगया पार्टीका साजिथ प्रेमदासाले १३ लाख बढी मत पाएका छन् । प्रेमदासा हाल विपक्षी दलका नेता हुन् ।

बहालवाला राष्ट्रपति रनिल बिक्रमासिंघे तेस्रो स्थानमा झरेका छन् । उनले अहिलेसम्मको गणनामा ७ लाखभन्दा केही बढी मत पाएका छन् । विक्रमासिंघे यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन् । उनको राजनैतिक दल युनाइटेड नेशनल पार्टी भए पनि उनले केही समयअघि पार्टीबाट राजीनामा दिएका थिए ।

श्रीलंका पोदुजन पेरामुनाका नमल राजापाक्षे पाँचौं स्थानमा छन् । उनले १ लाख २५ हजार मात्र मत पाएका छन् । नमल पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा र पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेका भतिजा हुन् । उनका पिता र काका श्रीलंकामा विशाल जनप्रदर्शनपछि देशबाट लखेटिएका थिए ।

श्रीलंकामा सेप्टेम्बर २१ मा बिहान ७ बजेदेखि ४ बजेसम्म २२ निर्वाचन जिल्लाका १३ हजार ४०० भन्दा बढी मतदान केन्द्रहरूमा मतदान भएको थियो। २२ निर्वाचन जिल्लामध्ये सातको हुलाक मत गणना भइसकेको छ । जसमा दिसानायकेले ५६ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वीले १९ प्रतिशत मत प्राप्त गरेका छन् ।

सन् २०२२ को विद्रोहपछि श्रीलंकाको पहिलो राष्ट्रपतीय निर्वाचनमा शनिबार झण्डै ७५ प्रतिशत मतदान भएको थियो। यसअघि सन् २०१९ नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो। मतदान र मतगणना सुरु भएलगत्तै देशभर कर्फ्यू लगाइएको थियो ।

विश्लेषकहरूले दिसानायकेले ५० प्रतिशतभन्दा बढी मतको अन्तरले राष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका छन् । अनुरा दिसानायकेलाई चीन समर्थक मानिन्छ । अनुराले राष्ट्रपति बनेपछि भारतीय व्यापारी गौतम अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका थिए । यसअघिको सरकारले भारतीय व्यापारी अडानीको कम्पनी अडानी ग्रीन इनर्जीसँग २५० मेगावाट वायु विद्युत खरिद गर्ने सम्झौता गरेको थियो ।

निर्वाचनअघिको पछिल्लो सर्वेक्षणले पनि अनुरा कुमारा दिसानायकेले जित्ने सम्भावना देखाएको छ । अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार दौडमा छन् । सर्वेक्षणमा विपक्षी नेता साजिथ प्रेमदासा दोस्रो स्थानमा थिए । जारी गणनाको रूझानमा पनि प्रेमदासा दोस्रो स्थानमै छन् ।

वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षे पनि राष्ट्रपतिको दौडमा छन् । सर्वेक्षणले उनको जित्ने सम्भावना न्यून रहेको देखाएको छ ।

मिडिया रिपोर्टका अनुसार श्रीलंकामा दुई वर्षअघिको आर्थिक संकट अझै पनि मानिसहरूको दिमागमा छ। यही कारणले गर्दा विगत दुई दशकदेखि देशमा शासन गरेको देशको सबैभन्दा ठूलो राजनैतिक परिवार राजापाक्षे चुनावी दौडबाट बाहिर रहेको देखिन्छ ।

अनुरा कुमार दिसानायके वामपन्थी पार्टी जनता विमुक्ति पेरामुनाका नेता हुन्। उनी एनपीपी गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार जेभीपी पार्टी भारतको विरोधका लागि परिचित छ। सन् १९८० को दशकमा भारतले श्रीलंकामा लिट्टेसँग लड्न शान्ति सेना पठाउने निर्णय गरेको थियो। त्यसको जेभीपीले विरोध गरेको थियो।

हालैका वर्षहरूमा जेभीपीले आफ्नो भारत विरोधी अडान परिवर्तन गरेको छ। तर, अनुराले चुनावअघि भारतीय कम्पनी अडानीविरुद्ध बयान दिएर नयाँ विवाद सुरु गरेका छन् । जेभीपी नेताले भर्खरै सेप्टेम्बर २१ मा हुने राष्ट्रपति चुनावमा विजयी भएमा श्रीलंकामा अडानी समूहको पवन ऊर्जा परियोजना रद्द गर्ने वाचा गरेका छन्।

अनुराका अनुसार अडानी परियोजना श्रीलंकाको ऊर्जा सार्वभौमसत्ताको लागि खतरा हो। अडानी समूहले श्रीलंका सरकारसँग पवन पावर स्टेशन विकास गर्न यो वर्ष सम्झौता गरेको छ। यसका लागि कम्पनीले ४४२ मिलियन डलर लगानी गर्ने भएको छ ।

अनुरा दिसानायके र एनपीपीको लोकप्रियता ४ वर्षमा निकै बढेको छ । श्रीलंकाका जनताले आर्थिक सुधार र सामाजिक समानताका लागि एनपीपीबाट धेरै आशा राखेका छन्, किनभने यो पहिले कहिल्यै सत्तामा थिएन त्यसैले जनताले यसमा बढी विश्वास गरेका छन्।

अनुरा कुमारा दिसानायके युवाहरुमाझ निकै चर्चित छन् । एमपीपीको बढ्दो लोकप्रियताको अर्को मुख्य कारण भ्रष्टाचार विरुद्ध लड्ने प्रतिवद्धता हो। अनुराले हरेक अभियानमा श्रीलंकालाई भ्रष्टाचारमुक्त गर्ने वाचा गरिरहेका छन् । देशको आर्थिक अवस्था खस्किनुको मुख्य कारण भ्रष्टाचार भएको युवाहरुको भनाइ छ ।

पार्टीले बलियो अन्तर्राष्ट्रिय सम्बन्धमा पनि काम गरेको छ । चीन र भारत श्रीलंकाका दुई प्रमुख आर्थिक साझेदार हुन्। पार्टीको प्रतिनिधिमण्डलले डिसेम्बर २०२३ मा चीनको भ्रमण गरेको थियो र चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूलाई भेटेको थियो।

त्यस्तै, एनपीपी प्रतिनिधिमण्डलले फेब्रुअरी २०२५ मा भारतको भ्रमण गर्‍यो र विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत वरिष्ठ भारतीय अधिकारीहरूलाई भेट्यो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *