सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु

डिसी नेपाल
५ असोज २०८१ २१:०७

सुदूरपश्चिम। छ दिनअघि सुदूरपश्चिम प्रदेशसभामा प्रस्तुत गरिएको चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल सुरु भएको छ।

आजको बैठकको प्रारम्भमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले तत्कालीन सरकार अल्पमतमा परेपछि उत्पन्न विशिष्ट परिस्थितिले प्रदेशमा बजेट शून्यताको अवस्था देखिएको र सो अवस्था हटाउन सरकारले अर्को बजेट ल्याउनु परेको बताए।

बजेटमाथिको छलफलमा भाग लिने सत्ता र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यले न्यायोचित ढंगले बजेट विनियोजन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।

छलफलमा सत्तापक्षका विक्रमसिंह धामी, चक्रबहादुर मल्ल, जानकी ऐर बम, खुशिराम डगौरा थारू, प्रतिपक्षका अक्कलबहादुर रावल, गीतादेवी माल, खेमादेवी विष्ट र स्वतन्त्र सदस्य डा ताराप्रसाद जोशीले भाग लिएका थिए। राप्रपाकी खेमादेवी विष्टले सरकार र जनप्रतिनिधिलाई कुनै ठाउँमा ‘चोर रहेछन् भन्ने गरिन्छ’ भनी दिएको अभिव्यक्तिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले)का धर्मराज पाठकले नियमापत्ति जनाएका थिए।

पाठकले ‘चोर’ शब्द असंसदीय रहेकाले यसलाई रेकर्डबाट हटाउनुपर्ने माग गर्नुभएपछि सभामुख भीमबहादुर भण्डारीले बोलिएको शब्दका बारेमा छानबिन गरेर आवश्यक परेमा हटाउने जानकारी गराएका थिए।

यसअघि आर्थिक मामिलामन्त्री थापाले बजेटमाथि सभामा छलफल गरियोस् भनेर प्रस्तुत गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो।

सरकारले गत भदौ ३१ गते आव २०८१/८२ का लागि रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट सार्वजनिक गरेको थियो। तत्कालीन मुख्यमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गएको असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा सामान्य हेरफेर एवं परिमार्जन गरेर हालको सरकारले अर्को बजेट ल्याएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *