संविधान संशोधनका विषयमा दलहरुबीच असमझदारी हुनुहुँदैनः सभामुख घिमिरे

डिसी नेपाल
६ असोज २०८१ १७:००

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका छन्।

संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ बर्ष पूरा भएको अवस्थामा यसलाई थप स्थायीत्व दिन संशोधन जरुरी रहेको भन्दै यस बिषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका हुन्।

उनले सवैको सहमति र सहकार्यका साथै समझदारीका साथ संविधान संशोधनको निकास निकाल्नुपर्ने धारणा राखे। संविधान संशोधनको बिषय सरकारको नभई संसदले प्रक्रिया मिलाएर टुङ्गो लगाउने बिषय भएको उनको भनाइ छ ।

उनले संविधान संशोधनको पक्ष–बिपक्षमा नारावाजी हुनु दुखद कुरा भएको उल्लेख गरे। सभामुख घिमिरेले संविधान कार्यान्वयनका क्रममा जनताले भोगेका अनुभवलाई लिएर संशोधन गर्नुपर्ने भन्दै यसलाई हार वा जितको बिषय बनाउन नहुने बताए।

उनले संविधान कार्यन्वयनका क्रममा प्रयाप्त ध्यान दिन नसकेको र प्रयाप्त ऐन बनाउन नसकिएको जिकिर गरे। जसका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *