खुल्यो गोर्खा मिडियाको फाइल

डिसी नेपाल
७ असोज २०८१ ६:४६

काठमाडौं। गृहमन्त्री रमेश लेखकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। गृहमन्त्री लेखकले आइतबार प्रहरी प्रधान कार्यालयमा समितिको प्रतिवेदन पठाउँदै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिवेदनमा सहकारी ठगी प्रकरणका आरोपी गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित चार जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिश गरिएको छ।

यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रतिवेदन गृह, सहकारी, अर्थ र उद्योग मन्त्रालयमा पठाइएको थियो। गत शुक्रबार सार्वजनिक प्रतिवेदनले लामिछाने, गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, तत्कालीन उपाध्यक्ष तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) छविलाल जोशी र सञ्चालक कुमार रम्तेलविरुद्ध ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर आकर्षित हुनेगरी अनुसन्धान गर्न सिफारिश गरेको हो।

संसदीय समितिको प्रतिवेदनको परिच्छेद ८ मा सहकारी ठगी प्रकरण सहकारी ऐन २०७४, मुलुकी अपराध संहिताको किर्तेसम्बन्धी दफा, संगठित अपराध निवारण ऐन २०७० र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ का कानुन आकर्षित हुने उल्लेख छ।

पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याइएको थियो, कम्पनीमा अध्यक्ष जिबी राई र प्रबन्ध निर्देशक लामिछाने थिए।

सहकारीको रकम कम्पनीमा ल्याउने, झुटा कागज बनाएर कम्पनीको सेयर लेनदेन गर्ने तथा लगानीको स्रोतमा पनि कैफियत गर्ने लगायतका काम भएकाले प्रचलित कानुनका विभिन्न दफा आकर्षित हुने उल्लेख छ।

गृह मन्त्रालयले सहकारी ठगी छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृहलाई गत शुक्रबार मात्रै परिपत्र गरेर प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

सरकारको निर्णयअनुसार प्रतिवेदन कार्यान्वयन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशनात्मक परिपत्र गरिएको गृहसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए। गृहको परिपत्रसँगै अब रवि लामिछानेमाथि अनुसन्धान गर्नेसमेत बाटो खुलेको प्रहरी मुख्यालयका एक उच्च अधिकृतले बताए।

गृहमन्त्री रमेश लेखकले पनि आइतबार नै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई मन्त्रालयमा डाकेर प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन्। सहकारी छानविन विशेष समितिले सहकारीको सुधार, नियमन र सुपरीवेक्षणसँगै सहकारीमा बचतकर्ताको अपचलन भएको रकम फिर्ता ल्याउनेसम्मका सुझाव र सिफारिश गरेको छ।

त्यसमा पनि पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कले सहकारीको ६५ करोड रुपैयाँ अपचलन गरेको भन्दै कारबाहीको सिफारिश गरेको थियो। समितिले लामिछानेका साथै गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई (जिबी राई), मदनकुमार रम्तेल र सञ्चालक छविलाल जोशी बन्जाडेलाई कारबाही गर्न सिफारिश गरेको छ।

कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, पर्साको सानो पाइला सहकारी, बुटवलको सुप्रिम सहकारीका बचतकर्ताले लामिछानेविरुद्ध ठगीमा जाहेरी दिएका थिए।

गतवर्ष माघमै कास्की प्रहरीमा लामिछाने र पूर्व-उपराष्ट्रपतिका छोरा दीपेश पुनलगायत १८ जनाविरुद्ध पूरक जाहेरी परेको थियो। गोर्खा मिडिया नेटवर्कका प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहेका लामिछानेले पाँचवटा सहकारीबाट गोर्खा मिडियामा आएको रकम अपचलन गरेका कारण उनले दायित्व लिनुपर्ने विषय प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष राईसहित २७ को नामै तोकेर पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउन भनिएको छ। राई मलेसियामा लुकेर बसेको भनिए पनि प्रहरी प्रधान कार्यालयले एसपीको कमाण्डमा दुईजना उता पठाउँदा रित्तो हात फर्किएको थियो।

सहकारी छानविन संसदीय विशेष समितिमा बयान दिएका कतिपय व्यक्तिहरूले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न सहकारीहरूबाट गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको ऋणमा संलग्नता रहेको बताएका छन्।

उनीहरूले त्यसको पुष्टिका लागि अरू कतिपय विवरणहरू पनि पेस गरेका छन्। सहकारी ठगीको मुद्दा परेकाले हाल थुनामा रहेका कुमार रम्तेलले ऋणको रकम गोर्खा मिडियाको खातामा गएकाले उक्त व्यक्ति पूर्वगृहमन्त्री रवि लामिछाने नै रहेको जिकिर गरेका छन्।

‘ऋणी रवि लामिछाने पूर्व-उपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । छविलाल बन्जाडे जोशी (प्रहरीको) पूर्वनायव महानिरीक्षक हुनुहुन्छ भन्नेमा म एकिन छु’ उनले जवाफ नं. ३३ मा भनेका छन्, ‘सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ।’

विभिन्न व्यापार व्यवसायमा जिबी राईका हिस्सेदार रहेका कुमार रम्तेल पोखराको सूर्यदर्शन, वीरगञ्जको सानो पाइला लगायतका सहकारीमा आबद्ध रहे । उनी पछि गोर्खा मिडिया नेटवर्कको पनि सञ्चालक थिए।

समितिमा बयान दिने सिलसिलामा उनले रवि लामिछानेको नामको ऋण तिर्न आफ्नो नामबाट अर्को कृत्रिम ऋण लिइएको जिकिर गरेका छन्। रवि लामिछानेले ग्यालेक्सी छाडेपछि उनको नाममा सहकारीहरूमा भएको ऋण अरू सहकारी सञ्चालकहरूको नाममा सारेर मिलाइएको थियो।

‘मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ’ उनले बयानमा भनेका छन्, ‘उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म एकिन साथ भन्न सक्छु।’

सहकारी ठगी प्रकरणमा पूर्वडिआइजी छविलाल जोशी पक्राउ परेका छन्। उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए।

लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो । सूर्य थापा नेतृत्वको संसदीय छानविन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो।

सहकारी रकम छानविन संसदीय विशेष समितिले सहकारीहरूको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रूपमा किटान गरेको छ। विभिन्न सहकारीको रकम ऋणको रूपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन्।

छानविन प्रतिवेदनअनुसार, जिबी राई र छविलाल जोशीको आधा-आधा लगानीमा गोर्खा मिडिया नेटवर्क खोलेका थिए। त्यसभन्दा अघि नै उनीहरूले नेटवर्किङ व्यवसायमा साझेदारी गरेका थिए । पछि उनले बयानमा खुलाएअनुसार, आफ्नो १५ प्रतिशत सेयर घटाएर त्यो हिस्सा रवि लामिछानेलाई दिएका थिए।

प्रतिवेदनअनुसार, छविले बुटवलको सुप्रिम सहकारीबाट २ करोड ५० लाख रुपैयाँ ऋण लिएर गोर्खा मिडियामा लगानी गरेका थिए । वीरगञ्जको सानो पाइला सहकारीबाट उनले एक करोड ८६ लाख रुपैयाँ ऋण लिएका थिए।

रास्वपाका सभापति रवि लामिछानेमाथि प्रहरीले उच्च निगरानी बढाएको छ । कास्कीस्थित सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा सहकारी ठगी छानबिन विशेष समितिले गरेको सिफारिसको आधारमा रविमाथि कारबाहीको दबाब बढेसँगै प्रहरीले उच्च निगरानी बढाएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार छविलाल जोशी पक्राउ परेसँगै रविलाई समेत प्रहरीले निगरानीमा राखेको हो । यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सभापति लामिछानेलाई पक्राउ गर्ने सरकारको निर्णयको प्रतिवाद गर्ने भएको छ ।

आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सभापति लामिछानेलाई पक्राउ गर्ने कदमको प्रतिवाद गर्ने जनाएको हो । बैठकपछि पार्टी उपसभापति डीपी अर्यालले सरकारले मिडिया ट्रायल गरिरहेको आरोप लगाए। ‘सरकारले मिडिया ट्रायल नगरोस्। सरकारले गलत गरिरहेको छ, यसको हामी प्रतिवाद गर्छौं । सकेसम्म सुसंस्कृतिक राजनीतिबाट प्रतिवाद गर्छौं,’ उनले भने।

उता, दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ। विकसित पछिल्लो राजनीतिक अवस्थाले टोली सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए। चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो।

यता, सभापति लामिछानेले भने आफूमाथि सरकारले प्रतिशोध साधेर पक्रने षड्यन्त्र गरेको आरोप लगाएका छन्। हरेक पटक अनुसन्धानमा सघाएको भन्दै उनले यस पटक पनि उपस्थित हुन तयार रहेको बताउनु भएको हो। ‘मलाइ भरोसा छैन, विरोधीलाई तह लगाउन सरकारले जे पनि गर्न सक्छ’ उनले भने, ‘निर्धक्क हुने अवस्था छैन, विश्वास गर्ने आधार छैन।’ लामिछानेले सरकार अधिनायकवादी शैलीमा अगाडि बढिरहेको आरोप पनि लगाए।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *