दर्शकको रोजाईमा पर्दै कमेडी दरबार

डिसी नेपाल
७ असोज २०८१ १०:३४

काठमाडौं। हास्य टेलिभिजन शो ‘कमेडी दरबार’ पछिल्लो समय दर्शकसँगै फिल्म प्रमोशनको माध्यम बनिरहेको छ। गएको भदौ १४ गते प्रसारण सुरु भएको कमेडी दरबारको चार एपिसोड प्रसारण भइसकेको छ।

चारवटै एपिसोडलाई दर्शकले रुचाएका छन्। पहिलो एपिसोडलाई अहिलेसम्म युट्युवमा मात्रै १२ लाख भन्दा बढी पटक हेरिएको छ। जसमा अतिथि कलाकारको रुपमा अभिनेता दयाहाङ राई र अभिनेत्री रेखा थापा उपस्थित थिए । पहिलो एपिसोड नै नेपालको युट्युवको ट्रेन्डिङमा पुगेको थियो।

यस्तै दोस्रो एपिसोडमा नेपाली खेलाडीहरु किरण चेम्जोङ, ललित राजवंशी र सरस्वती चौधरी उपस्थित थिए। जुन एपिसोडलाई पनि युट्युवमा अहिलेसम्म झण्डै ९ लाख पटक हेरिएको छ। यस्तै तेस्रो एपिसोडमा चलचित्रमा खुस्माका अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरी उपस्थित थिए।

यो एपिसोडलाई पनि ८ लाख भन्दा बढी पटक हेरिएको छ। यस्तै गएको शुक्रबार प्रसारणमा आएको चौथो एपिसोडमा चलचित्र बेहुली फ्रम मेघौलीको तर्फबाट निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का उपस्थित थिए।

यस एसिसोडलाई पनि दुईदिनमै ५ लाख भन्दा बढी पटक हेरिएको छ। यसरी अहिलेसम्म प्रसारण भएका एपिसोडहरु हेर्दा दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेका छन्। तीनवटा एपिसोड लगातार केही दिनसम्म युट्युवको ट्रेन्डिङमा रहेका थिए।

कमेडी दरबारमा अभिनेत्री गौरी मल्ललाई महारानी र अभिनेता बिजय बराललाई महाराजको रुपमा प्रस्तुत गरिएको छ। यस्तै सिडी बिजय अधिकारी, नम्रता सापकोटा, पबित्रा साकी, सुजता श्रेष्ठ, सुन्दर खनाल, पवन खतिवडा, उत्सव सापकोटा, हिमेश पन्त र बिकाश अर्याल कमेडीयनको रुपमा आबद्ध छन्।

उनीहरुले जोडीको रुपमा प्रस्तुती दिँदै आएका छन्। बिशेषगरी उपस्थित पाहुनाहरुलाई लक्षित गर्दै गरिएको ब्यंग्यलाई दर्शकले निकै रुचाएको देखिन्छ। शोलाई पुर्व मिस नेपाल नम्रता श्रेष्ठले होस्ट गरिरहेकी छिन्।

शोलाई बिक्की अगरवाल र श्रृद्धा प्रसाईले निर्देशन गरिरहेका छन्। शोको राईटरको रुपमा विकाश अर्याल, सुन्दर खनाल र बिक्की अगरवाल रहेका छन् । यस्तै प्रोडक्सनमा आयुष लुईटेल छन्। शोको मिडिया संयाजन र गेष्ट म्यानेजमेन्ट गोपिकृष्ण चापागाईंले गरिरहेका छन्।

‘फिल्म प्रमोशनको पहिलो रोजाई बन्दै’

कमेडी दरबार पछिल्लो समय फिल्म प्रमोसनका लागी बलियो माध्यम बन्न थालेको छ । दर्शकको राम्रो उपस्थिती हुने भएकाले चलचित्रका मेकरको रोजाईमा कमेडी दरबार पर्न थालेको छ । पुरा एपिसोड चलचित्र मय बनाइने भएकाले पनि चलचित्रका निर्माता तथा निर्देशकको रोजाईमा यो शो पर्न थालेको हो ।

पछिल्लो चार एपिसोडमा दुई वटा एपिसोडमा उपस्थित कलाकार चलचित्रको प्रमोशनकै लागी उपस्थित थिए । खुस्मा चलचित्रका कलाकारद्धय धिरज मगर र उपासना सिंह ठकुरी, त्यस्तै बेहुली फ्रम मेघौली चलचित्रका कलाकारहरु निश्चल बस्नेत, रक्षा थापा र सिम्रन खड्का चलचित्रकै प्रमोशनका लागी उपस्थित थिए ।

यस्तै यही असोज ९ (बुधबार) पनि शोको छायांकन राखिएको निर्देशक बिक्की अगरवालले जानकारी दिएका छन् । अगरवालका अनुसार बुधबार दुईवटा एपिसोडको छायांकन हुनेछ र दशैंको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेका चलचित्रका कलाकारहरु उपस्थित हुनेछन् ।

यस्तै निर्देशक श्रृद्धा प्रसाईले आफूहरुले नेपाली चलचित्रलाई प्रचार गर्नुपर्छ भन्ने मनसायले नै पुरा एपिसोड भरी चलचित्र बिशेष हास्य ब्यंग्य प्रस्तुती राख्ने गरेको बताइन् । बुझिए अनुसार आउँदो तिहारमा प्रदर्शन हुने तयारीमा रहेका चलचित्रका कलाकारहरु पनि कमेडी दरबारमा उपस्थित हुनेछन् । शो प्राईम टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलबाट प्रसारण भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *