सुदूरपश्चिम प्रदेश: चालु आवको बजेटमा कृषि क्षेत्र प्राथमिकता

डिसी नेपाल
७ असोज २०८१ २३:१६

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ‘पर्यटन पूर्वाधार : समृद्ध प्रदेशको आधार’ भन्ने नारासहित पर्यटन पूर्वाधार विकासका योजनाहरूलाई समेटेको छ।

आइतबार प्रदेशसभाले पारित गरेको सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममा पर्यटन पूर्वाधार विकासका लागि संघ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन गुरुयोजना बमोजिम होटेल, लज, हिल स्टेसन, डाउन हिलसाइड रुट, स्काई साइकल, बञ्जी जम्प, होमस्टे, जिपलाइन प्याराग्लाइडिङ, र्‍याफ्टिङलगायत पर्यटनको पूर्वाधारको निर्माण गर्ने विषय समेटिएको छ।

संघ, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रको सहभागितामा नै पर्यटन महोत्सव तथा खप्तड क्षेत्रमा खेलकुद पर्यटनसम्बन्धी प्रतियोगिताहरू आयोजना गरिने जनाइएको छ। प्रादेशिक पर्यटन महोत्सवका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ।

प्रदेशमा रहेका बडिमालिका, खप्तड, रामारोशन, मालिकार्जुन, गोदावरी धाम, शुक्लाफाँटा, शैलेश्वरी मन्दिर, बेहँडाबाबा, अजयमेरु कोट, उग्रतारा मन्दिर, टीकापुर पार्क, शुर्मादेवी, मेलौली भगवति, बैद्यनाथ धामलगायत पर्यटकीय पूर्वाधारको विकास, विस्तार र प्रवर्द्धन गरिने बजेट वक्तव्यमा उल्लेख छ। यसका लागि रु १३ करोड ५०लाख बजेट विनियोजन गरिएको छ।

बजेट कार्यक्रममा देवाटन धार्मिक पर्यटन र पर्यापर्यटनको लागि पर्यटक सर्किट निर्माण र ‘झुसे दमाई सांस्कृतिक सङ्ग्रालय’को सम्भाव्यता अध्ययन गरिने जनाइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका र डोटीको पूर्वीचौकी गाउँपालिकाअन्तर्गत नक्षत्र बाटिका र कैलालीको गौरीगङ्गामा ‘हर्बल पार्क’ निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ।

अन्तर्राष्ट्रिय सीमानाका त्रिनगर र गड्डा चौकीका साथै कैलालीको कर्णाली चिसापानी क्षेत्रमा पर्यटन सहायता केन्द्र सञ्चालन एवं व्यवस्थापन गरिने जनाइएको छ। पर्यटन विकासको माध्यमबाट रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरणका माध्यमबाट आर्थिक विकासमा टेवा पुर्‍याउन धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्र र राष्ट्रिय र प्रादेशिक महत्त्वका तालतलैयको संरक्षण एवं प्रवर्द्धन गरिने विषय बजेट कार्यक्रममा समेटिएको छ।

कला, संस्कृति वेशभूषा, रहनसहन, परम्परा झल्किने गरी धार्मिक, सांस्कृतिक, पुरातात्विक र ग्रामीण पर्यापर्यटन प्रवर्द्धन गर्न प्रदेशस्तरमा एकीकृत सांस्कृतिक सङ्ग्रालय स्थापना निर्माण थालनी गरिने जनाइएको छ। सम्भाव्यताका आधारमा आवश्यक ‘नमूना होमस्टे’ सञ्चालनका पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।

बजेटले प्राथमिकता दिएको कृषि, मत्स्य, पशुपन्छी र सहकारी शीर्षकतर्फ ‘कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश सरकारको अभियान,’ ‘पढ्दै कमाउँदै कृषि कार्यक्रम’, ‘हत्केलामा कृषि सेवा,’ ‘कृषक र कृषक प्राविधिकसँगसँगै अवधारणा’, ‘कृषि उत्पादनको मूल आधार माटो हो’, ‘हातमा ठेला निधारमा पसिना खेतवारीमा फसल,’ ‘खेतबारी नराखौँ बाँझो अन्नबाली फलाऔँ मिलाई चाजोपाजो’ ‘मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ कार्यक्रम’ आदि नारासहित कृषि गतिविधि सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ।

यस्तै कृषिको उत्पादन लागत घटाई आम कृषकको आम्दानी वृद्धि गर्नमा टेवा पुर्‍याउन कृषकलाई कृषि ऋणको ब्याज र विद्युत् महशुलमा सहुलियतको व्यवस्थासमेत मिलाउने विषय पनि समेटिएको छ।

बजेटले लिएका उद्देश्य पूरा गर्न प्रदेशमा रोजगारी र स्वरोजगारी सिर्जन गरी गरिबी न्यूनीकरण गर्ने, कृषि पशुपन्छी र पर्यटन क्षेत्रको विविधिकरण, आधुनिकीकरण, व्यवसायीकरणलाई मूख्य प्राथमिकता दिएको छ। शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रको विकास, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवामा सुधार, ऊर्जा, यातायात तथा सडकलगायतका भौतिक पूर्वाधारको विकास आदिलाई पनि प्राथमिकता दिइएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले प्रस्तुत गरेकोे रु ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट आइतबारको प्रदेशसभा बैठकले पारित गरेको हो। यसअघि गएको असार १ गते प्रस्तुत गरिएको चालु आर्थिक वर्षको बजेट छलफल भएर पारित हुन नपाउँदै तत्कालीन सरकार अल्पमतमा परेपछि उक्त बजेट अलपत्र परेको थियो । बजेट पारित नहुँदा प्रदेशमा बजेट शून्यताको अवस्था सिर्जना भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *