नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी

डिसी नेपाल
८ असोज २०८१ २०:२३

गोदावरी। उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति रहेको बताएका छन्। कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले देशको आर्थिक मेरुदण्डका रूपमा रहेको नीजि क्षेत्रले देश निर्माणमा महत्वपूर्ण भूमिका खेलेको र यसमा थप सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

मन्त्री भण्डारीले अर्थतन्त्रमा थप भूमिका खेल्ने गरी उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नु सरकारको दायित्व रहेको धारणा राखे। ‘देशमा सञ्चालित ठुला, मझौला र कुटिर उद्योगीलाई प्रोत्साहन नगरेसम्म रोजगारीका अवसर सिर्जना गर्न सकिँदैन। त्यसैले रोजगारीका अवसरसँगै आत्मनिर्भर बन्ने खालका उद्योगलाई प्रोत्साहन गर्न सरकार लागिपरेको छ’, उनले भने।

सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर ४१ जिल्लाका ६१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको मन्त्री भण्डारीले जानकारी दिए। ‘चाडपर्वका बेला नागरिकले सहज र सहुलियत दरमा उपभोग्य सामान पाउन भन्ने उद्देश्यले सरकारले यस्ता पसल सञ्चालन गर्दै आएको छ। यसबाट लाभ लिन मेरो आग्रह छ’, उनको भनाइ थियो, ‘साथै चाडपर्वको मौका पारेर हुनसक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमनलाई तीब्रता दिइएको छ। उपभोक्ताको हकअधिकार सुनिश्चितताका लागि बजार अनुगमनलाई प्रभावकारी बनाउन सुरक्षा निकायलगायत सरोकार भएका निकाय गम्भीर भएर लाग्नुपर्ने आवश्यकता छ।’

मन्त्री भण्डारीले सुदूरपश्चिममा औद्योगिक क्रियाकलाप विकासका लागि सरकार प्रतिबद्ध रहेको र कञ्चनपुरको दैजीछेलामा औद्योगिक क्षेत्र स्थापनाको काम सोहीअनुसार अगाडि बढ्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *