दशैं-तिहार नभनी न्यायको पक्षमा उभिन रविको समर्थकलाई आग्रह

डिसी नेपाल
८ असोज २०८१ २१:१७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले आफूमाथि अन्याय गर्नसक्ने भन्दै रास्वपाजनलाई अलर्ट रहन आग्रह गरेका छन्।

सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको भनी सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाविन विशेष समितिको प्रतिवेदनले प्रष्ट भनेको अवस्थामा सरकारले संगठित अपराधमा फसाउने कोशिस गरिरहेको उनले आशंका व्यक्त गरे। नेता लामिछानेले दशैं, तिहार, छठ केही पनि नभनी अन्याय भएको खण्डमा न्यायको पक्षमा उभिन आग्रह गरे।

कानुनी प्रक्रियालाई सहयोग गर्न आफू तयार रहेको पनि उनले बताए। संसदीय छानविन विशेष समितिले सहकारी ठगीमा संलग्नता नरहेको र गोर्खा मिडियामा गएको पैसा परिचालनबारे प्रचलित कानुन बमोजिम कारबाहीको सिफारिस गरेमा आफूले जिम्मेवारी लिने पनि उनले बताए। कसैको राजनीति जोगाउन आफूलाई सिध्याउने खेल भइरहेको पनि उनले बताए।

मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन्। ‘म डराएको छैन, डराउँदिनँ। अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने।

विगतमा देशका प्रधानमन्त्रीले नै संसदमा उभिएर आफ्नो मुद्दाबारे स्पष्ट पारेको लामिछानेले बताए।

उनले थपे, ‘सबै संयन्त्रहरुलाई सोधेर प्रधानमन्त्रीले सदनमा नै बोल्नुभएको होइन? ती सामग्रीहरु अझै छैनन्? राजनीतिक कित्ता फरक पर्छ। सत्तापक्ष र प्रतिपक्षको सिट फेराफेरमा सत्य फेराफेर हुँदैन। सत्यको मोलमोलाहिजा हुँदैन। अन्याय गर्न पाइँदैन।’

आफ्नो समर्थनमा भेला भएकाहरुलाई भिडको संज्ञा नदिन उनले आग्रह गरे। लामिछानेले भने, ‘भिड होइन, शुभचिन्तकहरु हुन्। अन्याय पर्दा जनताले बोल्छन्। मैले अपिल गरेको होइन, उहाँहरुले स्तस्फुर्त समर्थन गर्नुभएको हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *