रविलाई पक्राउ गर्ने योजनाबाट किन पछि हट्यो प्रहरी?

डिसी नेपाल
९ असोज २०८१ ७:४७

काठमाडौं। पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानविन समितिले गरेको सिफारिस अनुसार आफू सजाय भोग्न तयार रहेको बताएका छन्।

उनले मंगलबार फेसबुक लाइभ गर्दै आफू पक्राउ गर्ने डरले नआत्तिको दाबी गर्दै भने, ‘म डराएको छैन, डराउँदिन। अस्ति पनि झोला बोकेरै आएको थिएँ।’

लामिछानेले आफू पक्राउ पर्ने डरले नआत्तिएको बताएपनि आफूलाई पक्राउ गरे प्रतिवाद गर्ने चेतावनी दिँदै आएका छन्। तर प्रहरी प्रशासनले भने लामिछानेलाई तत्काल पक्राउ गर्ने कुनै योजना नरहेको जनाएको छ।

प्रहरीले लामिछानेलाई तत्काल पक्राउ गर्ने अवस्था नरहेको बताएपनि आवश्यक परेको खण्डमा भने कुरा अगाडि बढ्न सक्ने जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसमेत देशबाहिर रहेका बेला लामिछानेलाई तत्काल पक्राउ नगरिने भएको हो।

यसअघि सहकारी प्रकरणमा संसदीय विशेष छानविन समितिले गरेको सिफारिशको आधारमा लामिछानेलाई आइतबार राति नै पक्राउ गर्ने तयारी थियो। तर, उच्च राजनीतिक नेतृत्वबाट ‘ग्रिन सिग्नल’ नपाएपछि प्रहरी पछि हटेको उच्च स्रोत बताउँछ।

उनलाई पक्राउ गर्ने तयारीस्वरूप रास्वपा पार्टी कार्यालय वनस्थलीमा आइतबार प्रहरी पुगेको थियो। तर, उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै रविलाई पक्राउ गर्ने कार्य तत्काललाई रोक्न उच्च राजनीतिक नेतृत्वबाट निर्देशन आएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार सरकारले तत्काल पक्राउ नगर्न निर्देशन दिएपछि प्रहरी पछाडि हटेको हो। तर, लामिछानेमाथि निगरानी भने गरिरहन निर्देशन आएको प्रहरी स्रोतको दाबी छ।

प्रहरी महानिरीक्षक कुँवर सोमबार इन्टरपालेलको कार्यक्रममा सहभागी हुन ग्रिस गएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघको महासभामा सहभागी हुन यसअघि नै अमेरिका पुगिसकेका छन्। प्रधानमन्त्री र प्रहरी नेतृत्वसमेत फर्केपछि उचित राजनीतिक परामर्श गरेरै रविलाई नियन्त्रणमा लिने तयारी प्रहरीको छ।

सर्वसाधारण निक्षेपकर्ताले विभिन्न सहकारी संस्थामा जम्मा गरेको रकम अपचलनमा लामिछाने पनि “जिम्मेवार रहेको“ ठहर गर्दै गत साता संसदीय छानबिन विशेष समितिले उनीसहितका व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो।

तीमध्येका एक छविलाल जोशी पक्राउ परेपछि आइतवार लामिछानेलाई पनि पक्राउ गर्न लागिएको चर्चा चलेको हो। जोशी नेपाल प्रहरीबाट अवकाश पाएका वरिष्ठ अधिकारी हुन्।

जोशीले सहकारीको रकम अपचलन प्रकरणमा तत्कालीन गृहमन्त्री रवि लामिछाने र गितेन्द्रबाबु राई (जिबी) नै प्रमुख जिम्मेवार रहेको बयान दिएका छन्। कास्की प्रहरीको प्रारम्भिक बयानका क्रममा उनले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याउने र खर्च गर्ने भूमिकामा लामिछाने र राईकै भूमिका प्रमुख रहेको बताएका हुन्।

कास्की प्रहरी स्रोतका अनुसार जोशीले बयानमा सहकारीको रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्।

यता लामिछाने र उनको दलका नेताहरूले समितिले सहकारीको रकम हिनामिनामा उनको संलग्नता पुष्टि गर्न नसकेको भन्दै उने सफाइ पाएको दाबी गर्दै आएका छन्।

आइतबार साँझ समर्थकहरूलाई सम्बोधन गर्ने क्रममा लामिछानेले सरकारले जे पनि गर्न सक्ने र आफू ढुक्क भएर बस्न सक्ने अवस्था नरहेको भन्दै सतर्क रहन आग्रह गरेका थिए।

समितिको सिफारिसपछि गोर्खा मिडिया नेटवर्कमा साझेदार रहेका भूतपूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई आइतवार प्रहरीले पक्राउ गरेको थियो। उनलाई सोमवार कास्की जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

सहकारी संस्थाहरूको बचत अपचलनमा संलग्न भएको आरोप लागेका व्यक्तिहरूलाई कारबाही सिफारिस गरिएको प्रतिवेदन मन्त्रिपरिषद्ले गृह मन्त्रालयमा पठाएपछि गृहमन्त्री रमेश लेखकले त्यसको कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएका थिए।

प्रतिवेदनको परिच्छेद-१८ मा रहेको सुझाव तथा सिफारिससम्बन्धी विवरणमा लामिछानेका सम्बन्धमा केही विषयहरू उल्लेख गरिएको छ र उनलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *