श्रीलंकामा २६९ जनाको ज्यान गएको ‘इस्टर सन्डे आक्रमण’को जाँच फेरि सुरु हुने

डिसी नेपाल
९ असोज २०८१ १५:०८

काठमाडौं । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मंगलबार २०१९ इस्टर सन्डेको आतंककारी हमलाको अनुसन्धान पुनः सुरु गर्ने बताएका छन् ।

सेप्टेम्बर २१ मा श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले २२ सेप्टेम्बरमा पदभार ग्रहण गरेका थिए। राष्ट्रपतिमा निर्वाचित भएपछि क्याथोलिक चर्चका प्रमुख माल्कम कार्डिनल रञ्जितसँग शिष्टाचार भेट गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

कार्डिनल रञ्जितले भने, ‘नयाँ राष्ट्रपतिले हामीलाई इस्टर सन्डेको आक्रमणको सत्यता बाहिर ल्याइने आश्वासन दिनुभएको छ।’ रञ्जितले इस्टर सन्डेको समयमा तारे दर्जाका होटल र गिर्जाघरमा भएको आक्रमणको यसअघि भएको अनुसन्धानको आलोचना गरेका छन्, जसमा विदेशी पर्यटकसहित २६९ जनाको मृत्यु भएको थियो।

दुवै पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे र रनिल विक्रमासिंघेलाई दोष दिँदै रञ्जितले इस्टर सन्डेको आक्रमणको अनुसन्धानलाई राजनीतिक आवरणको रूपमा वर्णन गरे।

उनले यी आक्रमणहरू स्थानीय जिहादी समूह नेशनल तौहीद जमात (एनटीजे) ले गराएको बताए। चर्चको दबाबपछि पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए ।

श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई आसन्न आक्रमणको विश्वसनीय जानकारी हुँदाहुँदै पनि देशको सबैभन्दा खराब आतंककारी हमलालाई रोक्नको लागि लापरवाही गरेकोमा पीडितहरूलाई १० करोड श्रीलंकाली रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

शीर्ष सुरक्षा अधिकारीहरू पनि भारतबाट प्राप्त पूर्व गुप्तचर चेतावनीहरूलाई बेवास्ता गरेकोमा आपराधिक लापरवाहीको आरोपमा दोषी पाइए। सन् २०१९ मा, इस्टर आइतबार २१ अप्रिलमा थियो। यस दिन श्रीलंकाका तीनवटा गिर्जाघर र राजधानी कोलम्बोका तीनवटा लक्जरी होटलमा आत्मघाती बम आक्रमण भएको थियो ।

सोही दिन देमाटागोडास्थित एक आवासीय परिसर र देहीवालाको गेस्ट हाउसमा दुईवटा साना बम विस्फोट भएका थिए । यी श्रृंखलाबद्ध आतंकवादी बम विष्फोटमा ४५ विदेशी नागरिक, ११ भारतीय नागरिक र तीन प्रहरी अधिकारी गरी जम्मा २६९ जनाको ज्यान गएको थियो । करिब ५ सय जना घाइते भएका थिए । आईएसआईएससँग सम्बन्धित आठ आत्मघाती हमलाकारीले यी बम हमला गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *