बससेवामा खुल्यो दैनिक ४२ हजारको संख्यामा अग्रिम टिकट बुकिङ

डिसी नेपाल
९ असोज २०८१ २०:४२

काठमाडौं। अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँको अग्रिम टिकट बुकिङ खुला गरेको छ। बुकिङको प्राविधिक काम पूरा गरेको बससेवाले काठमाडौँ र पोखराबाट देशभरका ४४ गन्तव्यमा जाने बसको अग्रिम टिकट बुकिङ खुला गरेको हो। अब यात्रुहरूले अनलाइनबाटै दसैँको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्।

बससेवाका अनुसार बुधबार ४४ गन्तव्यको मात्र टिकट बुकिङ खुला गरिएको हो। जसमा काठमाडौंबाट अर्घाखाँची, भोजपुर, विराटनगर, वीरगन्ज, बिर्तामोड, बोदेबर्साइन, बुटवल र छेटछेट जाने यात्रुले बुधबारदेखि अग्रिम टिकट बुकिङ गर्न सक्छन्।

त्यसैगरी, काठमाडौँबाट दमक, धरान, गुल्मी, जनकपुर, काँकडभिट्टा, कृष्णनगर, लामाबगर, लुम्बिनी, पाल्पा, पोखरा, राजविराज, सिलगढी, मुक्तिनाथ, गौर, जोमसोम, चितवन, डडेलधुरा, नयाँ दिल्ली, धादिङ, धनगढी, पोखरा र स्याङ्जा जाने यात्रुले टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ।

बससेवाका अनुसार पोखराबाट बर्दिया, भैरहवा, भुरीगाउँ, विराटनगर, वीरगन्ज, बुटवल, दाङ र धनगढी जाने यात्रुले पनि अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्। अन्य गन्तव्यमा १२ गते शनिबारदेखि टिकट बुकिङ खुल्ला गर्ने र यात्रुले सोही दिनदेखि टिकट बुकिङ गर्न सक्ने बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले बताए। खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ।

साथै दसैँमा गएका यात्रुहरूले फर्किन पनि बससेवाबाटै टिकट काट्न सक्नेछन्। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेसनबाट घरमा नै बसेर टिकट बुकिङ गर्न सक्ने बससेवाले जनाएको छ। नेपालका कुनै पनि सहरको टिकट अनलाइनबाटै काट्न सकिने भएकाले यात्रुलाई टिकट काट्न बससेवा उचित माध्यम हुने बससेवाले जनाएको छ।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरु गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत खनालले बताए। उनले भने, ‘विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै बढाइएको छ । बससेवामार्फत् अहिले दैनिक ४२ हजारभन्दा धेरै टिकट बुकिङ गर्न सकिन्छ।’

बससेवा नेपालको पहिलो अनलाइन बस टिकेटिङ प्लेटफर्म हो। बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन्। सबै समिति तथा कम्पनीका हजारौँ बसका लाखौँ संख्यामा टिकट घरमा बसीबसी मोबाइलबाट बुकिङ गर्न सकिने बससेवाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *