बैंगलुरूमा नेपालीको हत्या : मुख्य आरोपी डायरीमा अपराध स्वीकारेर झुण्डिएको अवस्थामा भेटिए

डिसी नेपाल
१० असोज २०८१ १०:४७

काठमाडौं । भारतको बेङ्गलुरुमा नेपाली युवती महालक्ष्मीको हत्याकाण्डका मुख्य अभियुक्तले बुधबार दिउँसो ओडिशाको भद्रक जिल्लाको एउटा गाउँमा झुण्डिएर आत्महत्या गरेका छन् ।

उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको मोटरसाइकल पनि त्यहीँ पार्किङ गरिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीका अनुसार मृत्यु हुनेको नाम मुक्ति रञ्जन राई हो । उनको साथबाट एउटा डायरी बरामद भएको छ, जसमा उनले महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन् । महालक्ष्मी र रञ्जनले सन् २०२३ मा एकअर्कालाई चिनेका थिए र सम्बन्धमा थिए । दुवै एउटै मलमा काम गर्थे ।

सेप्टेम्बर २० मा बेंगलुरुको व्यालिकवल क्षेत्रमा बसप्पा गार्डेन नजिकैको तीन तले घरमा २९ वर्षीया महालक्ष्मीको शव फेला परेको थियो । उनको शरीरलाई ५९ टुक्रामा काटेर फ्रिजमा राखिएको थियो।

कर्नाटकका गृहमन्त्री जी परमेश्वरले पनि संदिग्ध ओडिशामा रहेको जानकारी प्राप्त भएको बताएका थिए। आरोपितलाई पक्राउ गर्न टोली गठन गरिएको ञियो र टोलीलाई ओडिशा पठाइएको थियो । बेंगलुरु प्रहरीले पनि आरोपीको खोजी गरिरहेको थियो ।

महालक्ष्मीका भाइ उक्कम सिंहले आफ्नो परिवार नेपालको टीकापुरमा रहेको भारतीय अखबार दैनिक भास्करलाई बताए । ३० वर्षअघि उनीहरूका आमाबाबु कामको लागि बेंगलुरु आएर त्यहाँ बसोबास गर्न थालेका थिए ।

महालक्ष्मीको विवाह नेलमंगलामा बस्ने हेमन्त दाससँग भएको थियो । हेमन्त मोबाइल सामान पसलमा काम गर्छन्। महालक्ष्मी मलमा काम गर्थिन् । उनीहरुको ४ वर्षकी छोरी पनि छन् र हेमन्त ४ वर्षदेखि अलग बस्दै आएका थिए ।

तर, दुवैले अहिलेसम्म सम्बन्धविच्छेद गरेका छैनन् । छोरी हेमन्तसँगै बसिन् । महालक्ष्मी २०२३ अक्टोबरदेखि बसप्पा गार्डेन नजिकै ५ क्रस पाइपलाइन रोडस्थित व्यालिकवलमा भाडाको घरमा बस्दै आएकी थिइन् ।

उनको भवनमा बस्ने जीवन प्रकाशले दुर्गन्ध महसुस गरेपछि महालक्ष्मीको हत्या भएको खुलासा भएको थियो । महालक्ष्मी बसेको घरको माथिल्लो तलाबाट दुर्गन्ध आइरहेको थियो । जब जीवन महालक्ष्मीको ढोकामा पुगे, दुर्गन्ध यति बढ्यो कि उभिन गाह्रो भयो।

ढोका बाहिरबाट बन्द थियो। जीवनले तुरुन्तै महालक्ष्मीका भाइ उक्कम सिंह र बहिनीलाई फोन गरे। राति करिब १२ः३० बजे महालक्ष्मीको परिवार त्यहाँ पुग्यो । यसपछि ढोकाको ताला फुटाइएको थियो ।

कोठामा रगत छरिएको थियो र भुइँमा कीराहरू घस्रिरहेका थिए। घरको सबै सामान छरपस्ट थियो । महालक्ष्मीकी आमाले फ्रिज खोल्दा भित्र छोरीको टाउको, खुट्टा र ५९ भन्दा बढी शवका टुक्रा थिए ।

हत्या भएको राति दुईजना स्कुटीमा महालक्ष्मीको घरमा आएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले महालक्ष्मीका परिवारलाई बताएको थियो । प्रहरीले यस प्रकरणमा अशरफ नामका हेयर ड्रेसरलाई सोधपुछ गरेको थियो ।

महालक्ष्मीको म्यानेजर, अफिसका सहकर्मी र एक साथीमाथि पनि हत्यामा संलग्न भएको आशंका गरिएको थियो । प्रहरीले उनीहरुलाई पनि समात्यो तर सोधपुछ गरेर छोडिदियो ।

उक्कमका अनुसार अनुसन्धान अधिकारीले आफूले एकजना अभियुक्तलाई पत्ता लगाएको बताएका थिए । मुख्य अभियुक्तको बारेमा उनी ओडिशाका बासिन्दा हुन् र फरार छन् भनिएको थियो । प्रहरी उनको खोजीमा व्यस्त थियो ।

प्रारम्भिक अनुसन्धानमा शवका टुक्रा फ्रिजमा १९ दिनसम्म राखिएको खुलेको छ । अहिलेसम्म ५९ वटा शव फेला परेको छ । यी टुक्राहरू पहिलो पटक अस्पतालको पोस्टमार्टम हाउसमा जोडिएका थिए। त्यसपछि थप अनुसन्धान भयो। घरबाट महालक्ष्मीको मोबाइल बरामद भयो जुन स्वीच अफ थियो । फोनको पनि फरेन्सिक अनुसन्धान भइरहेको छ ।

बेंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले शवलाई टुक्रामा काटेर १६५ लिटरको सिंगल डोर फ्रिजमा राखिएको बताए । अनुसन्धानमा महिलाको टाउको तीन भागमा काटिएको खुलेको छ । खुट्टा धेरै टुक्रामा काटिएको थियो । महिलाको आन्द्रा, टाउकोको कपाल र अन्य साना भागलाई प्लास्टिकको झोलामा फ्रिजमा राखिएको थियो ।

प्रहरी स्रोतका अनुसार ‘महालक्ष्मीको शरीरलाई टुक्रा टुक्रा पार्न प्रयोग गरिएको हतियार पनि प्रहरीले फेला पारेको छैन । प्रहरीले हत्या स्थलमा धेरै फिंगरप्रिन्ट फेला पारेको छ । प्रहरीले पोस्टमार्टमको अनुसन्धान र एफएसएल रिपोर्टको पर्खाइमा छ । यस विषयमा अनुसन्धान गर्न दुईवटा विशेष टोली गठन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *