एकीकृत समाजवादीमा विवाद : भएन कार्यविभाजन, बढ्यो माधवको तनाव

डिसी नेपाल
११ असोज २०८१ ७:२९

काठमाडौं। नेकपा एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) पार्टी आन्तरिक कलहका कारण थप कमजोर बन्दै गएको छ।

विद्रोहको औचित्य पुष्टि गर्नुपर्ने चुनौती थाती रहँदै नेकपा एसमा बढेको ध्रुवीकरण र विवादले पार्टीको नियमित कार्यप्रणालीमै अवरोध गरेको छ।

गत असारमा नेकपा एसले आफ्नो दशौं महाधिवेशन सम्पन्न गरेको थियो। महाधिवेशन सम्पन्न भए पनि पदाधिकारी र केन्द्रीय कमिटी चयनमा तीव्र विवाद हुँदा महाधिवेशनपश्चात् मात्रै सहमतिमा जम्बो कमिटी निर्माण भएको थियो।

केन्द्रीय कमिटीभित्र निर्वाचन गराएर गत महिना पदाधिकारी चयन गरिए पनि नेकपा एसमा अझै कार्यविभाजन हुन सकेको छैन। प्रदेश र जिल्ला इञ्चार्ज, विभागका प्रमुख-उपप्रमुख, आयोगहरू एवं जनसंगठनका इञ्चार्जहरू तोक्ने काम बाँकी नै छ।

कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेताहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सम्मिलित कार्यदल बनाइएको छ। सो कार्यदलको बैठक बिहीबार बसे पनि कार्यविभाजनमा सहमति हुन सकेन।

कार्यदलको बैठकमा अध्यक्ष नेपालले आफूनिकट अधिकांश नेताहरूको व्यवस्थापन गर्नेगरी हाल कायमै रहेको कार्यविभाजनलाई निरन्तरता दिने प्रस्ताव गरेका थिए।

नेता झलनाथ खनालले भने लिखित प्रस्ताव पेस गर्दै महाधिवेशनपश्चात् देखिएका सबै समस्याको समाधान हुनेगरी कार्यविभाजन गर्नुपर्नेमा जोड दिएका छन्। कार्यदलमा अध्यक्ष नेपाल, नेता खनाल र महासचिव घनश्याम भुसालका आ-आफ्ना तयारी देखिएपछि तीन घण्टासम्म कुनै निष्कर्ष निस्कन सकेन। कार्य विभाजनमा भएको विवाद र ढिलाइले पार्टीलाई दुर्घटनासम्म पुर्याउन सक्ने आँकलन गरिँदै आएको छ।

‘नेकपा एसमा कार्य विभाजनको मात्रै विवाद छैन। कार्यविभाजन एउटा सन्दर्भमा मात्रै हो। यसबारे लिने निर्णयले पार्टीको भविष्यमा फरक पार्छ। सर्वपक्षीय सहमति भएन भने पार्टी फुट्न पनि सक्छ’, नेकपा एसका एक नेताले बताए। अध्यक्ष नेपालले विगतमा एमालेमा रहँदा आफ्नो गुटमा भएकाहरूको मात्रै संरक्षण खोजेका कारण कार्यविभाजन विवादित बनेको उनको भनाइ छ।

गत असारमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेताहरू झलनाथ र घनश्याम यसपटक सजिलोसँग माधवको निर्णयमा हस्ताक्षर गर्ने पक्षमा छैनन्। कार्यविभाजन बाहेकका विवादहरू पनि यसैपटक मिलाउन झलनाथले गरेको लिखित प्रस्तावले अध्यक्ष नेपाललाई थप समस्यामा पारेको छ।

‘अध्यक्षले पुरानै कार्यविभाजन चाहनुभएको छ। अरू नेताहरूले सबै विवादहरूको समाधान खोज्नुभएको छ। यदि सहमति जुटेन भने कार्यविभाजन होइन पार्टी विभाजन हुनसक्छ’, संस्थापनइतर समूहका नेताको भनाइ छ। झलनाथले प्रस्तुत गरेको लिखित प्रस्तावअनुसार समग्र असहमति हटाउन अध्यक्ष तयार हुनुपर्ने उनले बताए।

बिहीबारको बैठकमा कुनै सहमति नजुटेपछि कार्यदलको अर्को बैठकको टुंगो छैन। अध्यक्ष नेपाल पाल्पा र जनकपुरको कार्यक्रमका लागि केहीदिन काठमाडौंबाहिर रहने बताइएको छ। यस्तोमा नेकपा एसको असन्तुष्टि अझ विस्तार हुने सम्भावना देखिन्छ।

महाधिवेशनपछि पार्टी गतिविधिमा उत्साहित नदेखिएका नेताहरू रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायतले कार्य विभाजनकै निर्णय पर्खेर बसेको बताइन्छ। ‘उहाँहरू पार्टीभित्र असन्तुष्ट हुनुहुन्छ। केही दिनमा असन्तुष्टि सम्बोधन नभए जे पनि हुनसक्छ’, प्रचार फाँटका एक नेताले भने।

नेकपा एमालेबाट व्रिदोह गरेर नयाँ पार्टी स्थापना गरे पनि अध्यक्ष नेपालको चिन्ता दूर भइसकेको छैन। गत निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसकेपछि प्रतिनिधि सभामा १० सिट जितेको नेकपा एसको तल्लो तहको संगठनहरू भत्कने क्रम सुरु भएको थियो।

तल्लो तहमा अधिकांश नेता कार्यकर्ताहरू एमालेमै फर्किसकेको सन्दर्भमा नेपाल, खनाल र भुसाल बाहेकका नेतालाई जुनसुकै हालतमा एमालेमा फर्काउने कसरत एमालेले गरिरहेको छ। नेकपा एसमा पछिल्लो समय देखिएका विवादले एमालेकै कसरतलाई बल पुगिरहेको छ।

जानकारहरू प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केपछि एमाले र नेकपा एसको आन्तरिक राजनीतिमा तरंग पार्ने घटनाहरू हुनसक्ने आँकलन गर्दछन्। यस्तोमा अध्यक्ष नेपालसामु पार्टी सग्लो राख्ने चुनौती बढ्दै गएको छ।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *