पैसाको लोभले इन्स्पेक्टर छँदै नराम्ररी डुबेका आइजीपी बन्ने लाइनका प्रहरी अधिकृतहरू

डिसी नेपाल
११ असोज २०८१ ८:२७

काठमाडौं। नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना हुँदा भविष्यको संगठन प्रमुखको सपना हुन्छ। इन्स्पेक्टरमा भर्ना भएकाहरुमध्येबाटै भविष्यको आइजीपी, एआइजीपी र डिआइजीपीमा पुगेर अवकाश हुन्छ। प्रहरीको यो तह भनेको नीति निर्माण र सबल संगठनको नेतृत्व गर्ने तह हो।

अहिलेको अवस्था हेर्ने हो भने आइजीपीले सिंगो संगठनको र एआइजीले प्रहरी प्रधानकार्यालयको विभिन्न विभाग तथा डिआइजीले प्रदेश तहको प्रमुखलगायत तालिम केन्द्र केही महत्वपूर्ण कमाण्डहरु सम्हालेका छन्। प्रहरी ऐनमा आउने र हुने व्यवस्था पनि यही तहको हुन्छ।

तर प्रहरी निरीक्षक (इन्स्पेक्टर) तहमै रहेका युवा र आशालाग्दा अधिकृतहरु यति धेरै भ्रष्ट हुन थाले कि उनीहरुले सायद पैसा कमाउने समय नै यही हो भन्ने सोचिरहे। त्यसकै परिणाम काठमाडौं उपत्यकामा रहेका दुई इन्स्पेक्टर आर्थिक लेनदेनमा निलम्बनमा परेका छन्।

काठमाडौं परिसरमा कार्यरत रहेका प्रतिक सिंह र विनु शाही रहेका छन्। दुवै जना नेपाल प्रहरीका आशालाग्दा अधिकृत थिए। तर उनीहरु दुवैले काठमाडौं आएपछि ठूलो रकम बार्गेनिङ गर्ने र आफ्नो भविष्यलाई दाउमा राखेपछि प्रहरी संगठनले कारवाहीको प्रकृया अघि बढाएको छ।

दुवैलाई निलम्बनको सिफारिस गरिएको छ। उपत्यका प्रहरी कार्यालयले दुवैलाई निलम्बन गर्न सिफारिस गरेको हो। सिंहले क्रिप्टो करेन्सीको ५० लाख मिलाई दिन्छु भनेर आर्थिक लाभ लिएको अरोप छ भने विनुले हनी ट्यापरसँग मिलेर बलात्कार मुद्दा लगाइदिने धम्की दिई ३० लाख लिएको आरोप छ।

के थियो ५० लाख काण्ड?

क्रिप्टो कारोबारमा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गत १४ भदौमा आशीष आचार्यलाई काठमाडौको मनमैजुबाट पक्राउ गरेको थियो।

पछि क्यानडामा क्रिप्टो कारोबार गरेको भन्दै नेपालको कानुन आकर्षित नहुने भनेर दुई दिनपछि रकम असुल गरेर छाडियो। यसबिचमा उनका परिवारसँग बार्गेनिङ गरेर बिचौलियामार्फत ५० लाख रुपैयाँ असुलिएको थियो।

यो घटनामा दुई प्रहरीको मिलेमतो र एक प्रहरीको लापरबाही रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले गरेको छानबिनले जनाएको छ। एसपी प्रजित केसी नेतृत्वको छानबिन समितिले इन्सपेक्टर प्रतीक सिंह, सहायक हवल्दार गणेश खड्का र प्रहरी जवान साजन शर्मा चपाईमाथि कारबाही गर्न सिफारिस भएको छ।

इन्सपेक्टर सिंहको लापरबाही देखिएकाले उनलाई सचेत गराउन केही समय निलम्बन गर्ने र अन्य दुईको मिलेमतो रहेको भन्दै ठगी कसुरमा मुद्दा चलाउन सिफारिस भएको हो।

पैसा असुल्ने पूर्वयोजनाअनुसार नै पक्राउ गरिएको छानबिनले औँल्याएको छ। १४ भदौमा हवल्दार खड्का बिदामा थिए। तर, क्रिप्टो कारोबार गर्नेको सूचना आएको भन्दै उनी कार्यालय गएर आशीष आचार्य र तेजबहादुर तामाङलाई पक्राउ गरी परिसर लगेका थिए।

तामाङलाई भोलिपल्टै छाडियो भने आचार्यलाई थप अनुसन्धानका लागि भन्दै राखिएको थियो। दुई दिन थुनामा राखेर उनलाई आइतबार साँझ छाडिएको थियो। त्यसबीचमा आचार्यका परिवारले तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएका थिए।

प्रहरीलाई बुझाउने नाममा त्यो पैसा लेनदेन भएको थियो। पैसा लेनदेन भएकै दिनमा आचार्य छुटेका थिए। तर, प्रहरी निरीक्षक प्रतीक सिंहले ‘गुडफेथ’ मा छाडिएको बताएका थिए। आचार्यकी दिदीले ५० लाख बुझाएर छुटेको बताएपछि इन्सपेक्टर सिंहले माथिल्लो तहमा जानकारी गराएका थिए।

त्यसपछि छानबिन सुरु भएको थियो। छानबिनको क्रममा ५० लाख लेनदेन भएको पुष्टि भएको थियो। त्रिचन्द्र कलेजको शौचालयमा पैसा लेनदेन भएको प्रहरीको दावी छ। ५० लाखमध्ये तामाङले ३५ लाख आफ्नो कृषि विकास बैंकमा रहेको खातामा जम्मा गरेका थिए। बाँकी १५ लाख कसले लियो खुल्न सकेको छैन।

के हो ३० लाख प्रकरण

सुनसरी, इटहरीका एक जग्गा व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै असोज ७ गते विनु नेतृत्वको प्रहरी हिरासतमा राखेर ३० लाख असुल गरी छाडिएको थियो।

हनी ट्रयापिङमा संलग्न समूहले प्रहरीसमेतको मिलेमतोमा यस्तो आपराधिक गतिविधि भएपछि अहिले विनुलाई निलम्बनको सिफारिस भएको छ। ललितपुरको प्रहरी प्रभाग भैंसेपाटी (बुङमती) मा मोरङ घर भएका तर सुनसरीको इटहरीमा जग्गाको काम गर्ने एक व्यापारीलाई थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो।

केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाएकी थिइन्। त्यहाँ पुगेलगत्तै प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लगेको थियो। जहाँ बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ सुरु भएको थियो।

अनुसन्धानमा खटिएका अधिकारीहरूका अनुसार भेट्न बोलाएकी युवतीले ६० लाख रुपैयाँ मागेकी थिइन्। पछि ३० लाख रुपैयाँमा सहमति भएको थियो। ती व्यापारी युवतीसँग घुम्न गएकाले आफू फस्न सक्ने डरले पैसा बुझाउन तयार भएका थिए।

लेनदेनको बार्गेनिङ प्रहरी अधिकारीकै अगाडि थियो। ३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुटेका थिए।

घटना हनी ट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुईजनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको थियो। युवतीले लिएको चेकसमेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको छ।

छानबिनमा प्रभागकी इन्स्पेक्टर शाहीको भूमिका शंकास्पद देखिएको छ। सुरुमा शान्ति सुरक्षासम्बन्धी ठाडो निवेदनका नाममा उनले ती व्यापारीलाई थुनामा राखेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *