कथा : दाइजो घर

प्रकाशचन्द्र खतिवडा
१२ असोज २०८१ ७:४९

आज लखतरान छ उ। उ भन्नाले जीवन। बाच्ने क्रममा बिरोधाभाष झेलेको जीवन। हाँसोहरु आँसुमा परिणत भएको जीवन। गतिशील यात्रा कुइनेटोमा पुगेर टुंगिएको जीवन। आफ्नो भन्ने केही नभएर परमुखापेक्षी बाँचेको जीवन। मानौं उ जिउँदो मुर्दा हो र वरिपरि ब्वाँसाहरुले उसलाई शिकारका लागि धर्ना कसिरहेछन्।

आज छुट्टिको दिन। उ एक्लै सिनेमा हल भित्र पसेको हुन्छ। र एक्लै हलबाट निस्किएको हुन्छ। सिनेमा छुटेका भीडहरुमा उ नियाल्छ। देख्छ जोडा जोडा हिँडिरहेका छन् ठाँटिएर। उसलाई अनुभव हुन्छ कि यो भीडमा नै सिनेमा चलिरहेको छ। नायक देख्छ। नायिका देख्छ। कथा, पटकथा , सम्बाद खलनायक आदि आदि।

उसमा कामुकता सृजना हुन्छ। उ आफ्नो दाहिने किनार तिर हेर्छ। रित्तो छ। भीडहरु हटि सकेको हुन्छ। सिनेमा हलको ढोकामा साँचो झुन्डी सकेको हुन्छ। मात्रै उ एक्लो ठिंग उभ्भिएको छ। आँखा तन्काउँछ।

यताउति पल्याक पुलुक हेर्छ। र फिस्स मुर्दा हाँसो हास्दै भन्छ “धत्तेरिका! रित्तो समय। यो मान्छेको जिन्दगी रित्तिनु मै अन्त्य हुन्छ कि क्याहो? हैन, यो त मुर्दा सोचाइ हो।’ उ आफ्ना पाइलाहरु मन नलागि, नलागी सडक तिर घिस्याउँछ।

उ सोचाइमा डुब्छ। सोच्दै, सोच्दै अगाडि बढिरहन्छ। अहो! साँच्चै राम्रो सिनेमा रहेछ। एउटा आदर्श परिवारको कथा। कति खुशी छन् ती परिवारका सदस्यहरु। सम्झौतामा काम हुन्छ।

श्रीमतीको त्यस्तो असल ब्यबहार। श्रीमानको पबित्र माया। प्रेमको बास्तबिक मूल्य। दुई मुटुको एउटै धड्कन। उनीहरुको बास्तविक प्रेमको परिणाम एउटा रहर लाग्दो बच्चा। आदर्श जीवन! उ दाइजो घरको द्वारबाट भित्रिइ सकेको हुन्छ।

चर्को चर्को स्वरमा उसकी श्रीमती कराएको सुन्छ पल्लो कोठा तिर। उ टक्क उभिएर कान थाप्छ। ‘ए उज्ज्वल! तेरो ड्याडी भनाउँदो आइस्या छैन?’ ‘अहँ आउनुभा छैन।’ उज्ज्वल उत्तर दिन्छ। ‘कहाँ जान्छु भन्नु भाथ्यो? तँलाइ थाहा छ ?’ ‘अहँ थाहा छैन। मलाई त राम्ररी पढ्नु है भन्नु भाथ्यो। र म पढि रहेको छु।’

के पढ्छस्? त्यस्ता बाउको छोरो। कुन ड्याङ्को मुला राम्रो होला र?’ ‘मम्मी! किन ड्याडीलाई गाली गरेको? म भनि दिन्छु नि बुझ्नु भो।’ ‘किन भन्ने? एकछिन पनि घरमा बास हुँदैन। जहिले हेर्यो, मरेकै बिरालो काखी च्यापेर हिँडे जस्तो अनुहार। तैँले पोल सुनाएर म डराउँछु भन् ठानेको छस्? यो घर त मेरा बाबुले दिएको दाइजो घर हो बुझिस्।’

तिमी बाउ छोरालाई घरबाट निकाल्न सक्छु। “बुझिस”। झोक्किँदै उज्ज्वललाई एक थप्पड लगाएर मनिषा भान्सा कोठा तिर लाग्छे। सुँक्क सुँक्क गर्दै उज्ज्वल रुन थाल्छ। जीवन कोठा भित्र प्रवेश गर्छ। ‘के भो उज्ज्वल! किन रोएको?’ ‘मम्मीले कुट्यो।’ ‘किन?’ ‘यो मम्मीको दाइजो घर हो रे। तपाईंलाइ पनि खुब गाली।।।।।’ उ हिक्क हिक्क गर्दै

भन्छ। ‘भैगो उज्ज्वल! नरोउ। यो उनकै दाइजो घर हो।’ उसको स्वर काँपेको हुन्छ। ‘अनि दाइजो भनेको के हो नि ड्याडी?’ ‘माइतीले दिएको सम्पति।’ ‘हाम्रो मम्मीले दाइजो ल्याएर नै तपाईंलाई र मलाई हेला गर्‍या हो ड्याडी।’ ‘हो उज्ज्वल हो।’ ‘त्यसो भए म त मेरो बिबाहमा केही पनि ल्याउन दिन्न ल।’ ‘स्याबास उज्ज्वल, स्याबास। तिमीले ठिक भन्यौ।’ ‘के को स्याबास हो?’ मनिषाको प्रबेश हुन्छ।

उज्ज्वल डराउँदै जीवनको काखमा लुटपुटिन पुग्छ। उसको मुटु बेजोड सँग धड्किरहेको हुन्छ। जीवन सम्झन्छ। एउटी आमा आफ्नै छोराको लागि किन बाज बनेकी छ। एउटी स्वास्नी आफ्नै लोग्नेलाई किन डस्न ब्यस्त रहेकी छ। कहाँ गयो त्यो मातृत्व? कहाँ गयो त्यो स्नेहत्व?

एउटा छोरोले बात्सल्य प्रेमको बदला दिनहुँ निर्मम पिटाइ खानु पर्छ। एउटा लोग्नेले आफ्नै स्वास्नीबाट दिनहुँ बिषाक्त शब्दहरु सुन्नु पर्छ। के मातृत्व र स्नेहत्व धन भन्दा तुच्छ बस्तु हो? यो मनिषा धनको रवाफमा कति दिन बाँच्छे? के उसका धनका महलहरु अजर र अमर छन् त?

‘कहाँ गइस्याथ्यो आज?’ मौनता भंग गर्दै मनिषा बोल्छे। ‘कहाँ जानु र? टायम पास गर्नै पर्यो।’ उ लामो सास फेर्छ। ‘के को सुस्केरा हो? भन्नोसु कहाँ गइस्याथ्यो?’ ‘सिनेमा हेर्न।’ ‘सिनेमा?’ ‘हो सिनेमा।’ ‘ओ, बुझें कान्छी ल्याउने धमाश दिँदै हिँडेको त सुनेकी थिएँ। हेरौं म पनि मर्दको तागत। मर्दको कहाँ सम्मको ल्याकत रहेछ।’

‘मनिषा! तिमी ठिक त छ्यौ?’ उ अलि उच्च स्वरमा बोल्छ। ‘आई एम अल राइट। बरु तपाईं जस्ता नामर्द गलत हुन्छन् बुझ्नु भो।’ मनिषा अझ उच्च स्वरमा बोल्छे। ‘किन? के भयो? बोल्ने अधिकार …।’

‘मनिषा! तिमी ठिकसँग बोल। मुख छ भन्दैमा सीमा भन्दा बाहिर जान पाइँदैन। प्रत्येक मान्छेको इज्जत हुन्छ। प्रत्येक मान्छेको आ–आफ्नै स्वाभिमान हुन्छ। र प्रत्येक मान्छेको अधिकार एउटा सीमा सम्म मात्रै हुन्छ। तर तिमी बढ्ता हुँदै छ्यौ। यो धनको अन्धो पना कहिलेसम्म?’

‘हूँ ……. धनको अन्धो पना। स्वास्नीको सम्पतिमा जो पौडी खेलिरहेको छ। उसकै स्वाभिमान। उसकै इज्जत र उसकै हैकम मनिषा झोकिन्छे। ‘मनिषा! बन्द गर आवाजहरु। एउटा लोग्नेको अगाडि एउटी स्वास्नीको कर्तव्य ठिक भएन। स्वास्नीले स्वास्नी भएर बाँच्न जान्नु पर्छ।’

जीवन पनि झोकिन्छ। ‘लोग्नेले पनि लोग्ने भएर बाँच्न जान्नु पर्छ। एउटी स्वास्नीको चाहानाहरु पूरा गर्न नसक्ने लोग्ने पनि लोग्नेको अधिकार खोज्ने? आवाजहरु बन्द गर्ने धमास दिने? यो कहाँ सम्मको …।’ मनिषा आवेगमा आउँछेर कराउँछे।

यस्ता भयावह परिदृष्यहरु प्रत्येक साँझ बाध्यताबस जीवनले भोग्ने गरेको छ। यो क्रम सुरु भएको आज आठ बर्ष भई सक्यो। थाहा छैन, कतिन्जेल चालू रहने हो। प्रत्येक पल्ट उ हारिरहेको हुन्छ र मनिषा धाक धम्कीले जितिरहेकी हुन्छे।

यो जिताइ माइतीको नाममा गाँसिएको हुन्छ। जीवनको हेराई र भोगाई बाँच्ने क्रममा अल्झिएको छ। यहाँ एउटा लामो पर्खाल छ। जहाँ धनका ज्वालाहरु एकोहोरो दन्किरहेका छन्। कुन दिन यो घर खरानी हुने छ र जीवनको बिलय।

उ बिछ्यौनामा पर्लङ्ग पल्टिएको हुन्छ। छेउमा उज्ज्वल झोक्राएर बसेको हुन्छ। ‘छोरा सुत।’ उ उज्ज्वललााई सुम्सुम्याउँछ। ‘हस ड्याडी।’ उज्ज्वल कोल्टे परेर सुत्छ। जीवन निदाउन खोज्छ। तर सक्दैन। मन मनै भन्छ। कसले चोरी लग्यो निन्द्रा? उ रित्तो छ उसका साथमा मनिषा छैन। उसको सुत्ने बेग्लै कोठा छ। उ तीतो अनुभव गर्दै सम्झन्छ।

एउटी स्वास्नी लोग्नेबाट किन टाढिँदै छ? यो बेग्लै सुत्नुको मतलब? पक्कै पनि अर्को कोही छ ……। उ लामो स्वास फेर्छ। धत्तेरिका उ त मेरी स्वास्नी हो नि स्वास्नी। मैले शंका गर्नु बेकार छ। तर …..। उ दाह्रा किट्छ र चिच्याउन खोज्छ मनिषा, यो सब के भइरहेछ? उ शान्त हुने प्रयास गर्छ।

रत्तिभर पनि शान्त हुन सक्दैन र अनेक कुरा सम्झन्छ। क्याम्पस अध्ययन गर्दाको क्षण। मनिषाको आगमन। दाम्पत्य जीवनको सुरुवात। उज्ज्वलको जन्म। मनिषाको व्यबहार। उसको जीवन शैली। आफ्नो बाँच्ने क्रम। बित्दै गइरहेको समय।

उज्यालो भइसकेको हुन्छ। उ चुरोट सल्काउँछ। कोठा भरि बुङ्बुङ्ती धुवाँ मडारिन थाल्छ। उ धुवाँलाइ एकोहोरो हेर्छ। गुडुल्की पर्दै ढोकाबाट लगातार बाहिर निस्कन्छ। ‘धुवाँ जस्तै उड्यो जिन्दगी!’ उसको मुखबाट आवाज फिस्स चिप्लन्छ।

‘हैन के को धुवाँ हो यस्तो? जिन्दगी अझै सल्काइँदै छ कि क्याहो? मेरो त नाकै पोलिसक्यो। कति खानु पर्दो रहेछ चुरोट पनि। ससुरालीको सम्पत्ति उडाउनलाई खुब मज्जा आउँछ हैन त?’ मनिषा कड्कदै कोठा भित्र पस्छे। उ बोल्दैन। उ एकोहोरो सुनी मात्रै रहन्छ। मनिषा अर्डर गर्छे ‘भात पकाइ राख्नु होला। मेरो बाहिर जाने काम छ। म हिँडे।’

उसलाई स्वास्नीको हातको एक कप चिया खाने आश लागेथ्यो। तर सब चकनाचुर। उ उठ्छ र गह्रौं शरीर लिएर भान्सा कोठा तिर लाग्छ। मानौं उ मनिषाको नोकर हो र उ अर्डर अनुसार काम गर्ने गर्छ। उ भान्सा कोठामा छ।

भाँडाहरु जुठै लडेका छन्। उ टोलाएर हेरिरहन्छ। जुठा भाँडाहरुले उसलाई नै गिज्याइ रहे जस्तो अनुभव गर्छ र खन्द्राङ् खुन्द्रुङ् पार्दै भाँडाहरु बाहिर निकाल्छ। ‘ड्याडी यो के गरेको?’ ‘भाँडा माज्न आँटेको।’ अनि मम्मी खोइ त?’ ‘मम्मी बजार तिर।’

‘ए यो मम्मी खुब बाठो रहेछ। ड्याडीलाई भाँडा मझाउने। मेरो साथी उषा छ नि उषा। हो उनको मम्मी त कति जाति छ। उनको ड्याडीलाई कहिल्यै पनि गाली गर्दैन। उषालाई पनि खुब प्यारो गर्छ। तर हाम्रो मम्मी त मलाई पनि सधैं पिटिरहन्छ। ड्याडीलाई पनि सधैं गालि गरिरहन्छ।

हाम्रो मम्मी पनि उषाको मम्मी जस्तै भए पो। साँच्ची ड्याडी म एउटा कुरा भन्छु है ल।’ ‘के कुरा हो भन न।’ ‘हामी अन्तै जाउँ न ड्याडी!’ ‘कहाँ?’ ‘यो मम्मीले नदेख्ने ठाउँमा।’ उ झस्कन्छ।

मन मनै पिरोलिन्छ र सान्त्वना दिने स्वरमा भन्छ ‘हुन्छ भोलि पर्सी ल। जाउ कोठामा गएर पढ्दै गर। म भाँडा माझर भात पकाउँछु’ ‘नाइ तपाई भाँडा माज्ने। म चै पढ्ने। म माज्छु भाँडा ल ड्याडी।’

‘तिमी सानै छौ उज्ज्वल, जाउ।’ ‘अहँ जान्न।’ जीवन भाँडा मस्काउन थाल्छ। उज्ज्वल भाँडा पखाल्न थाल्छ। उ सम्झन्छ। एउटी सम्पतिवाल आमाको छोरो र एउटा सम्पतिवाल स्वास्नीको लोग्नेको जीवन कहानी। व्यर्थै रहेछ सुनौलो सपना। व्यर्थै भयो जिन्दगी।

एक बिहान सबेरै जीवन उठ्छ र मनिषालाई बोलाउँछ। ‘मनिषा!’ ‘किन? मेरो खाँचो छ?’ उ झर्कँदै बोल्छे। ‘मनिषा! अलि बिस्तारै बोलन। यो सधैको रडाँको त्यागिदेउ।’ ‘रडाको? बाँच्न नजान्नेहरु। जो बाँच्न जान्दैन उ जीवनको पाठ सिकाउने?’ उ आक्रोशलाई दबाएर शान्त स्वरमा भन्छ ‘मेरो पाइन्ट मैलिएको थियो।’

‘मेरो पनि त साडी मैलिएको छ नि।’ ‘यसको मतलब तिम्रो साडी मैले धुनु पर्यो हैन त?’ ‘के फरक पर्छ त? श्रीमतीले श्रीमानको पाइन्ट धुनु हुन्छ भने श्रीमानले श्रीमतीको साडी धुन के हुन्छ?’

जीवनको आक्रोश अब उर्लिएको हुन्छ। उ सम्हालिन सक्दैन। र आठ बर्ष अघिदेखिको बिद्रोह मनिषाको जीउ भरि थान्को लगाउँछ। मनिषा एकोहोरो चिच्याउँछे। उज्ज्वल त्रसित देखिन्छ। उ बिद्रोह पोख्दै सडक तिर लाग्छ।

उ अफिस पुग्छ। हाजिर धस्काएर हाकिमसँग बिदा मागेर होटल तिर हामफालिन्छ र बोतलबाट ग्लासमा खन्याउँदै लगातार पिउन थाल्छ। घट्नाहरु सम्झन्छ। फेरि बिर्सन्छ। फेरि सम्झन्छ। नारी स्वतन्त्रता धिक्कार! सम्पतिवाल स्वास्नी धिक्कार! आधुनिक युग धिक्कार! बिक्री भएका केटाहरु धिक्कार! मनिषा जस्ती स्वास्नी धिक्कार! उज्ज्वल! तिमी छौ र त म बाँचेको छु। तिमी जस्तो छोरोलाई साधुबाद! यसरी उ बर्बराउँछ र साँझ घर फर्कन्छ।

साँझ अनौठो छ। उसको बोली लट्पटिएको छ। उसको छेउमा उज्ज्वल छ। मनिषा छैन। उ रित्तिँदो छ। उसलाई थाहै छैन। केही बेरमा उसको जीवनमा भुइँचालो आउँदै छ।
हातमा कागजको पाना बोकेर कोठामा मनिषाको प्रवेश हुन्छ। ‘मिस्टर जीवनजी! सवारी भयो। प्रतीक्षामा थिएँ।’ ‘“के को प्रतीक्षा? मनिषाजी!’ ‘मिस्टर जीवन जस्तो नामर्द पोइको हातबाट ग्रहण गरेको सिन्दुर पुछाउन।’ ‘सिन्दुर?’ ‘अँ सिन्दुर। मिस्टर जीवनजी, यो कागजमा सही गर्नोस्।’ ‘कस्तो कागज?’ ‘सम्बन्ध बिच्छेदको।’ ‘सम्बन्ध बिच्छेद?’ ‘हो सम्बन्ध बिच्छेद।’

उज्ज्वल केही बुझ्दैन। मनिषा कागज दिन्छे। जीवन दाह्रा किट्छ र काँपेको स्वरमा ‘धन्यबाद’ भन्दै हातमा कलम लिएर कागज तिर हात बढाइ रहेको हुन्छ।

सुन्दरहरैंचा–६,दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *