राज्यलक्ष्मी खतिवडाका दुई कविता
नेता
भरी भारी लडाइ हुन्छ दिन दिन नेताहरुको पनि
गर्छन् धेर सेखी सबै जगतमा आफै ठूलो हूँ भनि
कुर्सीको छ होडाबाजी दिन दिनै विकासको नाममा
राजधानी बीचमै लुछा चुँडी बढ्यो फिर्दैन त्यो गाउँमा
कौवा, कुकुर, गिद्द, सिनु बीचमा हुन्छन् जसरी सती
मन्त्रीको पदभार ग्रहण गरि लिने यही हो नेताको मति
जनताको सरकार हो भनि सधैं गर्छन् ती यस्तै कुरा
गर्छन् भाषण ती सरल तरिकाले बगलीमा छन् छुरा
पिसिए जनता मकै तोरी सरी पिना बने कोलमा
चोक्टा खाने आशमा सबै ती जनता डुबी सके झोलमा
जिउ धनको सुरक्षा हुँदैन रति भर मानिस भए सब बली
बाँच्ने आश टुट्यो सबै जनतामा मर्नु छ जिउँदै जली
यही भो आज विकास देश भरमा लुट्ने र कुट्ने कुरा
झुट्टा आश्वासनले बिना अग्नि सबै मुटु जलायो पूरा
चिन्ता छैन कुनै देश विकासमा आरोप प्रत्यारोप गरी
भ्रम फैलाएर हिँड्दछन् सब नेता गम्केर स्वाङै पारी
पहिले सांसद बन्ने भो जब रहर गाउँ र घर घर पनि
मागो भोट तरक्क काढी पसिना हात जोडी घुँडा धसी
जिताउनुहोस् गर्दछु विकास गाउँघरैको भनि
बत्ती, पानी, बाटो म दिन्छु भनि गरे प्रतिज्ञा पनि
जनतालाई भुलाई सांसद भयो पुग्यो उ राजधानीमा
खायो फेरि सपथ विकास गर्दछु भनि झुटो बोल्ने बानीमा
सांसद बन्ने रहर त आज सहजै जित्यो झुट्टा होडमा
फेरि आज विकास खोज्छ बबुरोे मन्त्री बन्ने होडमा
गल्ली,गल्ली, घुम्दोछ नेताहरु विकास गर्ने बाहाना
पारि उ एक स्वाङ मन्त्रीजी बनी कुर्सी छुने चाहना
उकाली, ओराली, भञ्याङ, चौतारी बिर्सी दियो मोजमा
कहिले फिर्छ उ कुर्सी छोडी अबत यो गाउँको खोजमा
जापान, बेलायत, अमेरिका, रुस, चीन, घुमेर लागे भुँडी
विदेश घुम्ने रहरमा मन्त्रीहरु गर्दैछन् लुछा चुँडी
भरिया दाइ
भरिया दाइ बोकेर भारी दुःख र सुख विसाउने चौतारी
आषाढ श्रावण पर्छ पानी सधै रिमिझिमी
बाढी पहिरो हिलो धुलो भन्दैनौ है तिमी
भन्दैनौ है भरिया दाइ चैत्रको धुप
जाडो गर्मी सधै तिम्रो देख्छु एकै रुप
भरिया दाइ बोकेर भारी दुःख र सुख बिसाउने चौतारी
भन्दैनौ है चर्को घाम झरी र असिना
उकालीमा खुइय गर्दै पुछेर पसिना
पुस्ता कति विते होलान सधै बोकी भारी
खकन नाम्लो ढाकर सँगै खेल्दै लुकामारी
भरिया दाइ बोकेर भारी दुःख र सुख विसाउने चौतारी
ओरालीमा तोक्मा टेकी गाउँदै गाउँदै गीत
बास बस्छौ बगरमा ओड्ने तिम्रो सित
बालुवाको ओछ्यान छ भरिया दाइ तिम्रो
हाँस्दै गाउँदै हिँड्छौ तिमी गर्दछौ रमाइलो
भरिया दाइ बोकेर भारी दुःख र सुख बिसाउने चौतारी
पउमा छैन जुत्ता तिम्रो शिरमा छैन टोपी
साठी वर्ष पुगि सक्यौ भारी बोकी बोकी
खिइ सक्यो भरिया दाइ शिर पाउको छाला
तिम्रै बाटो हेर्दै होलान् घरका लाला बाला
भरिया दाइ बोकेर भारी दुःख र सुख बिसाउने चौतारी
Facebook Comment