शंकरप्रसाद रिजालका ६ कविता

शंकरप्रसाद रिजाल
१२ असोज २०८१ ७:११

प्रेमको मिलन र बिछोड

चम्किरहेछन् नौलाख तारा ती नभमा
टल्किरहेछन् तिनै ताराहरु नदी तलाउ किनारमा

जोडी यो हामी मिलेर घुम्दै थियौं चमनमा
फुलेका फूल ती सारा गम्किरहेछन् हाम्रै मिलनमा

त्यो कस्तो दिन थियो जब दुई आत्मा मिलेको क्षण
हाँसी खुसीमै प्रीति भएथ्यो चरीले गीत गाएको दिन

सुनौला गीतका भाखा चरीको मन बीचमा
आशाको दीप जागेथ्यो यही मनको तरंगमा

हातमा हात मिलाई रमाउँदै हामी घुमेको
खुसीले त्यो फूललाई हिँड्दै चुम्दै हिँडेको

जन्मभर नमिटने हाम्रो निशानी बनाई
रानी तलाउ किनारा बीचको त्यो घुमाई

आखीर दुई आत्माको मिलनमा भयो बिछोड
गजव भयो हे! राम यो के भयो वियोग

मेरा सुख चैनको जीवन फूल झैं चुँडी गइगयो
पापी संसारले मेरो संसार छुटाइ लग्यो

उनको यादमा अब जीवन बिताउँ कसोरी
भोलि आउने ब्यबहारलाई मिलाउँ कसोरी

रातको आश टुटी गयो दिनको सहारा पनि
मेरो चन्द्र सूर्यपनि अस्ताए औंसीको रातझैं बनी

आउँदा स्वर्ग झैं जीवन अब गयो कहाँ कहाँ
सहारा छैन कोही कोही एकलो छ जीवन यहाँ

पखेटा भैदिए उडी जान्थें म कहाँ कहाँ
उडी उडी म पुग्थें आहा! त्यो स्वर्ग लोकमा

प्रेमको मिलनको धागो चुँडियो कस्तरी यहाँ
त्यही सीतारको एक तार चुँडियो यो बीचमा

छैनन् यहाँ ती जोडी जो सधैं जोडिइ बस्तछन्
छुट्टिने भोलि नै होला तैपनि उनीहरु मस्त्छन्

छैनन् यहाँ कोही गरीब छैनन् फेरिपनि अमीर
एकदिन छोडेरै जाने हो यो अस्थिर शरीर

तसर्थ बिलाप किन हो गर्ने छोटो यो जीवनमा
हाँसौं खेलौं एक आपसमा आफ्नो यो उमेरमा

वन फूल र तपोभूमि नेपाल

बगैंचा फूलको ढेड फुलेका छन् फूलैफूल
बगेका कल्कले छाँगा हाँसेकाछन् सबैतिर

गुराँस फूलको गाउँ मस्त भइ रमाउँछ
हाँसेका फूलका थुंगा सबैलाई डुलाउँछ

हरिया पहाडका गारा घेरिएको सबैतिर
सबै मनका हाँसो तानिएको छ यतैतिर

फर्किन्छु भन्दा मन फर्किँदैन
मनको मोहको प्यास त्यो मेटिँदैन

हरिया पहाडको त्यो हेर तहतह मिलेजसो
नदीका पानीका भेल सँगसँगै बगेजसो

रम्य हिमालको गाउँ वनफूल सबैतिर
ढकमक्क ढाकिएका छन् ती गुराँसका फूल

सम्म मैदानको पाटाछन् सबै हरिया देख्ने
महाकवि लेख्दा हुन् वनवनै घुमी हिँड्ने

नेपाल मेरो देश अति सुन्दर छ यो सधैं
यसैमा बलेका छन् नेपालीको दियो सधैं

ठूला कविहरुपनि जन्मे यही यो मातृभूमिमा
बुद्धपनि जन्मेथे यसै तपोभूमिको लुम्बिनीमा

जनक जन्मे जनकपुरमा सीताको जन्मभो यहाँ
सयौं ऋषि बसेका थिए तप गरी जहाँ तहाँ

ओहो! यो भुमि कस्तो? स्वर्ग झैं लाग्छ हेर त
बिदेसिएका युवा शक्ति एकचोटी फर्की आउ त

नमिल्ने कुनै छैन छ है सबै यो देशमा
मिल्नेछ नर नारायणपनि त्यो शालिग्राममा

सुनको टल्किँदो इँटझैं रहेको छ यो विश्वमा
सानै भएपनि ठूलो मूल्य छ त्यो मानचित्रमा

बलौटे बालुको दाना सबै त्यो छैन टल्किने
टल्की नेपालको दाना चाँदी झैं झल्ल झल्किने

आकाशका तिर्मिरे तारा पिलीपिली त्यो देखने
चन्द्रमा एक नै त्यो सानो प्रकाश सब फैलिने

वीरताको पुजारी हौं संसारै अझ तर्सिने
सभ्यताको पुजारी हौं सनातनी छ झल्किने

तपोभूमि छ यो देश ज्ञान बैराग्य छुट्टिने
ज्ञानभूमी छ यो देश भागवत सुनाउने

बुद्धज्ञानी यहीँ जन्मे प्रकाश विश्वमा छरी
पुजे संसारले उनको बिशेष यो एसिया भरी

वन फूल फुल्यो देशमा संसारै बासना छरी
हिमाल शुभ बिहानीमा सुनको जर्तिझैं भरी

विश्वको मानचित्रमा नेपाल सधैं हाँसी रहोस्
हामी नेपालीको जीवन सुखी सधैं बनिरहोस्

ईश्वर र प्रकृति

भगवान भनी हिँड्ने भगवान त्यो कहाँ छ र
नदेखिने दृश्यको खोज कति खोज्छौ हरपल

जो देखिन्छ वरिपरी त्यही नै भगवान हो बुझ
नदेखिने अन्धकारमा दृश्य कहाँ देख्छौ र त्यो सुझ

आगो पानी हावाकाश माटो नै सब इृश्वर हुन्
ईश्वर भन्ने कुनै छैन यी सबै ईश्वरका गुण हुन्

सबैको गुण ठूलो छ यो जीव प्राणीमा सब
यसैको भरमा नै यहाँ रमेका छन् सबै जीव

हिमाल उच्च ठाउँमा पहाड अलि त्यो तल
थुम्का माटोका थुप्रा देखिन्छन् सबैसम तलतल

फुलेका फूलका बोट झकमक्क छ फुल्दा
उम्रेका वनका घाँस हरिया लह लहाउँदा

हिउँ बगेर आउँदा चाँदी झैं टल्ल टल्किने
नदीका कल्कले पानी घाममा झल्लझल्किने

हरिण मृगका पाठा कुदेर वन घुम्ने
यो सारा दृश्य हेर्दा त मनमनै भित्र झुमने

अविरल बगेको छ पानीका छहरा सधैं
तलतिर बगेकाछन् नदीनाला खुबै खुबै

बग्दै ती तल जादैछन् त्यो सागर भेट्न
सागरमा जब मिल्ने छन् लाग्छन् महासागर कुद्न

यस्तो स्वर्गझैं राम्रो हाम्रो प्रकृति सुन्दर
ईश्वरै किन सम्झिने यो मिलेपछि बाहिर

ऋषि पनि रमेका थिए सारा सन्तपनि यहीँ सबै
प्रकृतिप्रेमीपनि यहीँ रम्छन् लेखकपनि सबै

सारा प्राणी रमेका छन् आ–आफ्नो दिलदिमागमा
चरा चुरुंगी सबै सुगा गाएका छन् आ–आफ्नै धुनमा

मजुर पंख फिजाई नाचेका छन् यही रम्य लोकमा
कोइलीको कोकीलो बोली फुटेका छन् ठाउँठाउँमा

यस्तो आनन्द दिने चीज स्वर्गमा पनि छैन है
ईश्वरनै किन चाहियो यो बुझ्न सक्यो भने लहै

जसको रुप देखिन्न त्यो ईश्वरै किन खोज्ने
देखेका अरु सबैचीज देखि भागी किन हिँड्ने

प्रकृति आफूमा राख जो कहिले नओइलाउने
ईश्वरै बिर्सिने रुप त्यो निरन्तर झक्झक्याउने

तसर्थ होउ प्रकृतिको प्रेमी ईश्वरै बिर्साउँदै
सारा जीव मरी जाउन यो प्रकृतिमा रमाउँदै

प्रेमको वियोग

प्रेमको बिछोडमा आगो बल्यो मनमहाँ
धुँवा बादलको मुस्लो छायो दिलमहाँ

हावा हुरी उठी आयो सारा यो संसारमा
अस्तायो प्रेमको चीर मायाको मनमहाँ

नौलो जीवनको खोज खोजी हिँड्छु यताउति
भेटिन्न कतै केही मनमा भए जति

आशा मनको तार टुटेको छ सबैतिर
प्रेमको बिछोडमा पर्ने हिँड्छन् कतैतिर

प्रेमको मिलन हुन्छ हुन्छ कहिले यहाँ अब
प्रेमको बिछोडमा सारा भयो खलबल

प्रेमको रसको घैंटो फुटेको छ सबैतिर
यस्तै प्रेमको ज्वाला उडेको छ कतैतिर

प्रेमको मिलनको डोरी कस्सिँदा प्रफुल्ल छ
त्यही प्रेमको डोरी चुडिँदा जीवन कति शून्य छ

बिकुल प्रेमको फुक्दा म झस्किन्छु तर्सिइ
चट्याङ प्रेममा पर्दा म गर्जन्छु बेसरी

शिव रोएका थिए पार्वतीको बिछोडमा
रामपनि रोएका थिए सीताजीको बिछोडमा

रोए कृष्णपनि धेरै राधाको बिछोडमा
मजनुपनि अति रोए लैलाको बिछोडमा

रोए सूर्यपनि माथि चन्द्रमाको बिछोडमा
बिछोडमा सबै रोए यो पापी संसारमा

फुलेको फूलको फूल नझरेको कहाँ छ र
बलेको प्रेमको दियो ननिभेको कहाँ छ र

पहिला प्रेममा पर्दा रुने यहाँ को छ र
पछि बिछोडमा पर्दा हाँस्ने यहाँ को छ र

रुँदा मनको आँसु नखसेको कहाँ छ र
प्रेम बर्षादको झरीमा नरुझेको को छ र

मुना मदनको प्रेम संयोग र वियोगको
आखिर मुनानै बनिन् प्रेम गठबन्धनको

धनको खोजमा मदन जान्छन् भोटमा
फर्केर आउँदा मुनाको हुन्छ मृत्यु अचम्ममा

प्रेमको साथमा रम्दा सारा संसार झलमल
यसको वियोगमा पर्दा लाग्छ सबै अल्मल

प्रेमको समयोगमा नै यो संसार अडेको छ
यसको बियोगमा डुब्ने यहाँ त्यो मन कति छ

नछोउ प्रेमको आगो यसको हुन्न क्यै भर
छोएमा यसले फेरि पोलीने अरको डर

प्रेमको आभाष हुन्छ पहिलो नव प्रेममा
यो अन्त्यमा देखिन्छ दुःखको वियोगमा

पहिलो नजरमा प्रेम बस्छ दिलमा यतैकतै
मोह जालमा फस्दै घुम्छौँ हामी त्यतैत्यतै

सुरुमा यसको हुन्छ दुईबीचको समयोग
थकान यसको हुन्छ अन्त्यमा प्रेमको वियोग

चाहे यो वियोग होस् वा समयोग होस्
बजी रहोस् प्रेमको गीत सधैं जीवन रहिरहोस्

मृत्यु

जन्मेर नमर्ने कोही छैन यो विश्वमा
मृत्युकोपछि लागेर सबै मर्छन् यो धर्तीमा

यो मृत्युको मुख कतै केही नदेखीने
यसको नाम लिँदामा सबै फेरि झस्किने

यो विश्वमा घुमी हिँड्छ चारैतिर यताउता
यसले आफ्नो गोदमा लिन्छ जीवलाई सदा

दुर्गाको पति भै उ देखिन्छ काल बनी धर्तीमा
नदेखिने गरी लान्छ आफ्नै अदृश्य लोकमा

कसले मृत्यु देखेको छ र यो लोकमा?
थाहै नपाई लगिहाल्छ हामीलाई परलोकमा

बनाएको छ यसैले नै स्वर्गमा अलकापुरी
सट्टामा यसले अर्को बनाएको नरकपुरी

कर्मको सोचमा यसले बनाएको छ दुई नगर
सुकर्म र कुकर्म गरी छुट्याई यी दुइटा सहर

गरे धर्मको काम स्वर्ग जान पाइन्छ रे
गरे कुकर्मको काम नरकमा बस्नु पर्छ रे

मृत्यु काल हो काल सबै अन्धकार बनाउने
यसैको पेटमा सबको जीवनै सरसराउने

यसैमा कविको बाणी यो बुझे अनमोल छ
मृत्युको मुखमा पर्दा बुझे झन् बहुमुल्य छ

“भाका भुल दया, क्षमा र ममता सन्तोष जान्दैन त्यो
इन्द्रनै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो

थुप्रोमा उदिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो
खाता जाँची दुरुस्त नबुझी बिर्सेर लाँदैन त्यो

राजा रंक सबै समान उसले विभेद गर्दैन त्यो
आइ टप्प टिपी लग्छ मिति पुगी फर्केर आउन्न त्यो

ज्वाला आगको मुस्लो उडाइ नभमा पनि
खाँदैन लासको ढेर एकै पल्ट कुनैपनि

स्वासै फेर्दछ वरिपरी चितामा हावा सरी बग्दछ
सारा मानिसको जीवन खरानी बनी उड्दछ

खित्का छोडी हाँसी सबमा चित्कार छोडिकन
भएका सम्बन्ध नाताका पर्खाल तोदिकन

चिता सूर्यको ताप अग्निको दहमा पनि
रमाउँदै निभिहाल्छ चन्द्र शितलकै मुनि

नहेरौं कालको मुख यो अति डरलाग्दो छ
नहेरौं मृत्युको रुप त्यो अति घनघोर छ

चिता

लासमाथि चिता जल्छ आगोको संसारमा
जिउँदो शरीर ढल्छ सुती आफ्नै आराममा

मलामी उसका सारा हेरी रन्छन टुलुटुलु
रोइ शोकका सास फेरिरन्छन् खुरुखुरु

रिसराग कतै छैन मानाैं संसारमा कतैपनि
इच्छा धनको लोभ छैन यहाँ कुनैपनि

नदीको तुरतुरे पानी बगेको छ सामुमा
कालो गोलको थुप्रो बनेको छ डीलमा

झिल्का आगको पिल्को चारैतिर वरिपरी
फैलिन्छ नभमा त्यो चिताबीच घरीघरी

घण्टौं जल्दछ त्यो लास ठूलो मुढा जलेसरी
पानी आगोमा पर्दा ठूलो सास फेरेसरी

कहिले कटकटे बाजा बजेको छ लासमा
कहिले जलजले आगो बलेको छ शीरमा

यस्तैमा कालको मुख ठूलो भइ डरलाग्दो
कुरेको छ अर्को लास खाइ पटक पटकको

एक चिता जलिजान्छ अर्को सारी अघिअघी
खित्का छोडी चिता हाँस्छ मलामीको पछिपछि

चिता रुने कुरै छैन यो हाँस्नेछ सधैंभरी
मरेका लासको ढेर खाइरन्छ घरीघरी

खानकी उसको ठूलो हामी कहाँ सक्नु र,
गाँस मासुका फाला खाइ के थेग्नु र

चराझैं चारो चर्नुछ यो हाम्रो जीव भोजन
खाइ डकार डाक्ने हो सक्दौनौं हामी गर्जन

सक्दैन मानिसले चिताको जोरी खोजन
बोलाइरहेछ उसले आफ्नो काखमा लिन

चिता मानिसको हेर देखिन्छ यो अन्तिममा
त्यही चिताको हेर रुप मणिकर्निकाको घाटमा

हजारौँ लासको चिता जल्छ एकदिनमा
आनेजाने गरिरन्छन् चिताको नगिचमा

दन्दने आगको ज्वाला चिता बदिन्छ यौवन
जलेर आगमा लास चिता बस्छ हाँसीकन

चिताको रुपनै घोर यो अति कालरुप छ
खरानी मनको धुलो यो कालो अति मौन छ

रोइ कराई के गर्नु छोड्दैन यसले झोला
चितामै बस्नुपर्नेछ एकदिन यो मानिसको चोला

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *