अवरुद्ध यातायात सहज बनाउन मन्त्री दाहालको निर्देशन

डिसी नेपाल
१२ असोज २०८१ २३:०४

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिएका छन्। सम्बद्ध निकायहरूबीच समन्वय गरी सडक तथा यातायात क्षेत्र सहज बनाउन उनले निर्देशन दिएका हुन्।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्‍याउनका साथै कतिपय पुलसमेत बगाएपछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उनको निर्देशन छ। मौसमी प्रतिकूलताका कारण उत्पन्न भएको परिस्थितिमा सबै पक्षले सहकार्य र समन्वय गरी सहज स्थिति निर्माणमा जुट्नुपर्ने पनि उनले बताए।

यस्तै, मन्त्रालयका सचिव केशवकुमार शर्माले देशैभरि बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभागमार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिए। पहिरो पन्छाई सडक सञ्चालन गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उनले जानकारी दिए।

यसैबीच, अविरल वर्षा र बाढीका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले विज्ञप्ति जारी गर्दै राजमार्गका ती खण्डमा पहिरो जानाका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको बताए। मुग्लिन पोखरा सडक तथा मलेखु मुग्लिन नारायणघाट सडकका पहिरो पन्छाई सडक सञ्चालन अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *