जनताको उद्धारमा जुट्न माओवादी केन्द्रको अपिल

डिसी नेपाल
१२ असोज २०८१ २३:३५

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आमनागरिकलाई अपिल गरेको छ। आज विज्ञप्ति जारी गरी विपत्को समयमा मानवीयताको उच्च प्रदर्शन गर्दै समस्यामा परेका नागरिकहरूको सहयोगका लागि सक्रियतापूर्वक जुट्न पार्टीले अपिल गरेको हो।

“दुई दिनयता परेको भारी वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानले जनजीवन अस्तव्यस्त बनेको छ, मनसुनजन्य विपत्तिका कारण आज धेरै मानवीय क्षति भएको छ । धेरै घाइते र सम्पर्क बाहिर रहेका प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ । एकपछि अर्को गर्दै देशभरबाट दुःखद खबर आउने क्रम जारी छ । त्यसैले यो विपत्को समयमा उच्च सतर्कतासहित उद्धारमा खट्न अपिल गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ,“जल तथा मौसम विज्ञान विभागलगायतका सम्बद्ध निकायहरूले एक हप्ता अघिदेखि नै यस किसिमको बर्सात र सम्भावित क्षतिको पूर्वानुमान गरेको भए पनि पूर्वतयारीमा आवश्यक ध्यान दिन नसक्दा ठूलो जनधनको क्षति भएको छ । विपत्तिपूर्ण घडीमा पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नु आवश्यक छ ।”

यस्तै, दसैँ, तिहार, छठलगायत चाडपर्वलाई ध्यानमा राखेर बन्द रहेका सडकमार्ग यथासक्य छिटो खुलाउन सरकारको ध्यान केन्द्रित गर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *