मधेस प्रदेशमा बाढीबाट पाँचजनाको मृत्यु, ९६ परिवार विस्थापित

सुरेश झा र चन्दन ठाकुर/रासस
१३ असोज २०८१ २३:५१

जनकपुरधाम। अविरल वर्षाका कारण मधेस प्रदेशको विभिन्न नदी तथा खोला नालामा आएको बाढीबाट ठूलो जनधनको क्षति पुर्याएको छ। बिहीबार र शुक्रबार खासै क्षति नभए पनि शनिबार भने ठूलो क्षति भयो। मधेस प्रदेशका आठ जिल्लाका बासिन्दालाई सुरक्षित तथा सतर्क रहन संघीय सरकार, मधेस प्रदेश सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सूचना जारी गरेको थियो।

बाढीबाट मधेस प्रदेशमा एक बालिकासहित पाँच जनाको मृत्य भएको छ । बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। आठजना घाइते भएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए। आठ जिल्लामा बाढीबाट रु ५६ लाख बराबरको क्षति भएको र नौवटा पशुचौपाया मरेका छन्। महोत्तरीमा दुई, सप्तरीमा एक र रौतहटमा एकबालिकासहित दुई जनाको मृत्यु भएको छ । सर्लाही र पर्सामा गरी दुईजना बेपत्ता भएका छन्।

महोत्तरीको गौशाला नगरपालिका–८ कुरामारीका १६ वर्र्षीय रोहित साहको सोनी खोलाले बगाएर मृत्यु भएको छ। त्यस्तै बर्दिवास नगरपालिका–११ का २१ वर्षीय मानबहादुर थिगंलाई खैरमारा खोलाले बगाउँदा मृत्यु भएको छ। सप्तरीको बलान बिहुल गाउँपालिका–४ घर भई राजविराज नगरपालिका–८ मा बस्दैआएका आठ वर्र्षीय प्रिन्सकुमार साहको पनि डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का ३७ वर्र्षीय राज मुखियाको स्थानीय खोलामा माछा मार्न जाने क्रममा डुबेर मृत्यु भएको छ। रौतहटको पर्रोहा नगरपालिका–७ की १४ वर्र्षीया आशाकुमारी साह कानुको भकुवा खोलामा नुहाउन जाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी सर्लाहीको बागमती नगरपालिका–९ सक्रोलका १५ वर्षीय मुकेश महतोलाई सोती खोलाले बगाउँदा बेपत्ता भएका छन्। पर्सामा खोलामा बेपत्ता भएका एक व्यक्तिको परिचय खुल्न सकेको छैन् । त्यस्तै आठ वटा जिल्लामध्ये रौतहटमा तीन, सिरहामा एक र सर्लाहीमा एक, र बारामा तीन जना घाइते भएका छन् । प्रहरी उपरीक्षक बोहोराका अनुसार बाढीबाट ९६ परिवारका चार सय ८८ जना विस्थापित भएका छन्।

साथै बाढीमा फसेका ३५ जनाको उद्दार गरिएको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए। रौतहटको गौरबजार जलमग्न भएको थियो। गौर कारागारमा बागमती खोलाको बाढी पसेपछि १२ थुनुवा÷कैदीलाई जिल्ला प्रहरी कार्यालय गौरको हिरासतमा सुरक्षित राखिएको छ।

मधेस प्रदेशमा सर्लाही तथा रौतहट जिल्लामा बाढीले अत्यधिक क्षति भएको छ। मधेसको राजधानी जनकपुरधामसहित ग्रामिण क्षेत्र जलमग्न रहेको थियो । महोत्तरीको रातो नदी र विग्ही नदीलगायतका नदी तथा खोलामा आएको बाढीले जलेश्वरलगायत खैरा, रतबारा, वनचौरी, पर्सा, तिलगढ, वलवा, मरईलगायतका ग्रामिण क्षेत्र जलमग्न भएको थियो। सर्लाही जिल्लामा बागमती नदी, मनुष्मारा, झाँझ र लखनदेही नदीमा आएको बाढीले वरहथवा, धनकौल, सिसौटीया, रामनगर, गोरइता, खैरवा, वहुअर्वा, वलरा, सुदामा, हथियोल, लक्ष्मीपुर र जव्दीटोलमा बाढी पसेरक्षति पुर्याएको थियो।

सर्लाहीको वसवरिया र मानपुरमा रहकोको वाँधलाई कटानगर्दे बागमती नदीमा आएको बाढीले गाउँ पसेको र त्यहाँका एक सय घर परिबारलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको सर्लाही १० नं गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए।

यस्तै सर्लाहीको वलरा नगरपालिका–१ छन्कीटोला तथा वलरा वडा नं २ हथियौलमा पनि ५० भन्दाबढी परिवार बाढीको कारण डुबानमा परेका वलराका नगरप्रमुख रामाशंकर कुशवाहाले बताए। बागमती तथा लालवकैयामा आएको बाढीले मौलापुर, कटहरिया, राजदेवी, दुर्गा भगवती गाउँपालिका क्षेत्रको बाँध कटान गरेको रौटहट जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यसैगरी पर्सा जिल्लाको विन्धवासिनी गाउँपालिकामा तिलावे खोलामा एप्रोचसँग जोडिएको तटबन्ध भत्किँदा पुल जोखिममा छ। सप्तरीको सकलपुरा, तिहाठी हनुमाननगरलगायतका सीमावर्ती क्षेत्रमा कोशी, महुली तथा खाँडो नदीमा आएको बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस्तै सिरहा जिल्लामा हुलाकी सडक तथा पुललाई क्षतिपर्याएको जनकपुरधाम हुलाकी सडक निर्देशनालयले जनाएको छ।

बाढीबाट प्रभावित तथा असुरक्षित रहेकालाई सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले आवश्यक सहयोग तथा समन्वय गरेको थियो। यसअघि २०५० सालमा बागमती नदीमा आएको बाढीले सर्लाही जिल्लामा ठूलो जनधनको क्षति भएको थियो।
–––




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *