संसदमा सिंह बन्ने चाहना बोकेका प्रचण्डलाई १० प्रश्न

विजयप्रसाद मिश्र
१४ असोज २०८१ ७:५१

कुनै बेला बुर्जुआ शिक्षा नलिई हतियार बोक्न जङ्गलमा आउ भनेर आह्वान गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्खरै विद्यार्थीहरुको सम्मेलनमा ‘म संसदमा सिंह बनेर जान्छु, तपाईंहरु सडकमा बाघ बन्नुहोस’ भनेछन्।

आफू जंगलमा त सिंह भएकै हो, त्यसैले संसदमा पनि सिंह हुन सक्ने नै छन्। तर विदेशीले आफ्नो इशारामा नचाउन थालेपछि त्यही जंगलको सिंह पछि सत्तामा जान वैदेशिक शक्तिको अगाडि स्याल भएर प्रस्तुत भएको आरोप लगाउनेहरुलाई भने उनले के उत्तर दिनेछन्?

नेपालीका अगाडि आफूलाई सिंहजस्तो देख्ने प्रचण्डले विदेशीको पाउमा गएर किन स्याल प्रबृत्ति देखाएका हुन्? भारतमा ज्वाइँजस्तो पालिएर नेपाललाई गृहयुद्धमा लाने, जस्तो बाबाजी त्यस्तै दण्डवत् गर्नका लागि नरेन्द्र मोदीको आर्शीवाद लिन गेरु बस्त्र धारण गर्नसमेत पछि नपर्ने होस् या एमसीसीमा सुरुमा विरोधमा उत्रिएर एक्कासी स्याल प्रबृत्ति देखाएर पार्टलाई ध्वस्त हुनबाट बचाउन यसो गर्नु परेको भनेर आफ्ना उग्र नेताहरुलाई ढाडस दिने पबृत्तिलाई नेपाली राष्ट्रवादी नागरिकले प्रचण्डले यी सवै कुरामा स्यालप्रबृत्ति देखाए भन्दैछन्? के यो स्याल प्रबृत्ति नै हो कि या कमिशनको खेल हो? या ‘एनी हाउ सत्तामा जाउ, पैसा कमाउ रमाउ’ भन्ने नीति हो? यो उनका लागि पहिलो प्रश्न भयो।

एमालेसँग सत्ता साझेदार हुनजेल गिरीबन्धु टी स्टेटका कुरा किन नउठाएको? एमालेसँग सरकारमा सँगै हुँदा बापन्थीहरुको कुनै भ्रष्टचारको काण्ड नदेख्ने वा देखेपनि नदेखेको जस्तो गर्ने तर सत्ताबाट बाहिर जानु परेपछि भने सुशासन प्रत्याभूति दिन थालेकोले मलाई गल्हत्याय भन्नु कत्तिको विश्वासीलो गनगन हो भनेर जनता जानन चाहन्छन् भन्दै छन्। कुरा के हो? यो प्रचण्डको लागि दोस्रो प्रश्न भयो। कि राजनीतिमा यस्तै हुन्छ भन्ने हो?

गिरिजाप्रसाद कोइरालालाई सिरहा सदरमुकामको नेपाली कांग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवको घरको दलिनमा भएको एक कार्यक्रममा सिरहाका नेपाली कांग्रेसकै अर्का नेता अच्मितलाल चौधरीले सोधेका थिए ‘गिराजा दाजु तपाईं पहिले पहिले प्रचण्ड र ज्ञानेन्द्र एउटै हो भन्नु हुन्थ्यो। तर अहिले त प्रचण्डको अर्कै फोटो आएको छ। कुरो के हो?’ चौधरीको प्रश्नको उत्तर दिँदै कोइरालाले ‘त्यसवखत प्रचण्ड राजा ज्ञानेन्द्रबाटै संचालित हुन, तर हिजो आज प्रचण्डले ज्ञानेन्द्र राजालाई टेर्न छोडेपछि राजा ज्ञानेन्द्रका लागि प्रचण्ड भालुको कन्पट भएका छन्’ भनेका थिए।

रवीन्द्र मिश्रले यहाँसँग रजासंस्थाका बारेमा गरेका कुराकानी र गिरिजाप्रसाद कोइरालाले यहाँलाई लगाएको आरोपमा कत्तिको सत्यता छ? के यहाँले राजासँग मित्रता नवीकरण नै गर्न लागेकै हो? कि राजा ज्ञानेन्द्रले मुन्टोमात्र हल्लाएर दिक्क लगाए? यो प्रचण्डका लागि तेस्रो प्रश्न हो।

प्रचण्डका लागि चौथो प्रश्न भनेको संघीयता यहाँले ल्याएको हो कि, मधेस केन्द्रित दलको आन्दोलनका कारण भारतीय दवावमा ल्याउनु परेको हो? अन्तरिम संविधान २०६३ मा संघीयताको बारेमा उल्लेख नगरेकोले मधेसमा पटक पटक आन्दोलन गर्नु परेको भन्छन् नि? सत्यता के हो? गौर काण्ड यहाँले मधेसीलाई पेल्न दिएको आदेशको उपज हो भन्नेहरुलाई के भन्नु हुन्छ?

प्रचण्डको भूमिगत जीवनकाल मै माओवादी पार्टीका मोहन कार्कीले राजपरिवारसँग माओवादीको तर्फबाट बार्ता गरेको र उक्त बार्तामा सहमति भएर सहमतिको दस्तावेज कार्कीले कृष्णबहादुर महरामार्फत प्रचण्डलाई पठाएको भन्ने अन्तर्वार्ता कार्कीले देवप्रकाश त्रिपाठीलाई दिएका छन्। त्यो सहमतिको दस्तावेज कहाँ छ? प्रचण्डजी? सहमति के केमा भएको थियो? भन्ने हिम्मत छ? यो यहाँका लागि पाँचौ प्रश्न भयो।

नेपालमा यहाँको शब्दमा गणतन्त्र ल्याइसकेपछि राजपरिवारका सदस्यहरुलाई धार्मिक र सामाजिक गतिविधिमा जानका लागि गाउँगाउँमा माओवादी नेता कार्यकर्ताहरुले अवरोध गर्न थालेका थिए।

तर चीनबाट आएको एउटा टोलीले प्रचण्डलाई ‘नेपालमा राजसंस्थालाई कुनै न कुनै स्थान दिएनौं भने तिम्रो देश नै रहँदैन, ख्याल गर’ भनेपछि लगतै कैलालीको धनगढीमा आयोजित एक आमसभामा मदन भण्डारीको हत्यारा र दरवार हत्या काण्ड गराउने विदेशी शक्ति हुन भनेर उद्घोष गर्नु भएको थियो।

त्यसपछि राजा ज्ञानेन्द्र र हिमानी शाहलाई सामाजिक र धार्मिक काममा हिँडडुल पनि गर्न दिन थाल्नु भयो। त्यति खेर चिनियाँ कुरा के खान मानेका थियौ? यहाँले भने अनुसार नै दुबै काण्ड विदेशको कुन शक्तिले गरेको हो? भन्न सक्नुहुन्छ? यो यहाँका लागि छैठौं प्रश्न भयो ।

त्यति खेर नै मेरो पनि त्यस्तै हालत हुन सक्छ भनेको सुनिएको थियो। त्यसैगरी संविधान जारी भइसकेपछि खुसीको आँशु झार्दै मैले आफ्नो ज्यानको बाजी राखेर संविधान जारी गराएको भन्नु भएको थियो। प्रहरीले आफ्नो घरबाट संविधानसभा भवनसम्म जानका लागि दुईवटा बाटोमात्र प्रयोग गर्न भनेको थियो भनेर अन्तर्वार्ता दिएको सबैले सुनेका छन्।

अब त पटक पटक प्रधानमन्त्री हुनु भयो। अब त सिंहपनि बन्ने सपना देख्न थाल्नु भयो। प्रहरीले तोकेको बाटो भन्दा फरक बाटोमा गएमा कसले के गर्न खोजेको थियो त? अब त सिंहको अवतार भएपछि भन्न सकिन्छ होला नि? कि दशैंको बेला दुर्गापूजा गर्दा बनाइने माटोको सिंहको मूर्ति बन्दैछु भनेको? कुरा प्रष्ट पार्न नागरिकले अनुरोध गरिरहेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कामको शुरुवात प्रचण्डको आदेश पाएपछि शुरु गरेको भन्ने भुटानी नेता टेकनाथ रिजालको आशयमा यहाँको भनाइ के छ? टेकनाथ रिजालले त टोपबहादुर रायमाझीले उनलाई उक्त काममा सहयोग गर्न भन्दा आफूलाई कि त केपी ओलीले कि त प्रचण्डले भन्नु पर्दछ भनेपछि रायमाझीले टेकनाथलाई प्रचण्डसँग भेट गराउन लिएर गएको बताएका थिए।

उक्त भेटमा प्रचण्डले आफूलाई ‘टोपबहादुरजीको मिशनमा सहयोग गर्न सक्नु हुन्छ भने सहयोग गरिदिनु होला, अहिले फुर्सत छैन पछि कुरा गरौंला’ भनेर तर्किएको भन्ने छ नि? बुझ्नेलाई इशारा काफी भनेरै टेकनाथ रिजालले यहाँको इशारा पाएपछि टोपबहादुरलाई सहयोग गरेको बयान दिएका थिए। भनेपछि नक्कली भुटानी शरनार्थी काण्डको ‘डिजाइनर’ जो कोही भएपनि त्यसलाई ‘गो अ हेड’ भन्ने त यहाँ नै भन्ने आयो त ? यो सातौं प्रश्न हो।

भारतको ‘रअ’ का पूर्व कर्मचारीले नेपालमा आएको बखत नेपालको मिडियालाई दिएको अन्तर्वार्तामा प्रचण्डलाई हामीले नै भारतको फलाना ठाउँमा सुरक्षित ढंगले राखेका थियौं। नपत्याए प्रचण्डलाई सोध्नुस न भनेको पाइयो। उनले भनेको कुरामा कत्तिको सत्यता छ? यो आठौं प्रश्न भयो।

नेपालमा रहेका भारतीय पूर्व राजदुत रन्जित रेले नेपाललाई भुटानी मोडलमा लान ढिलो भइसकेको छ भन्ने आशयमा लेखेको पुस्तकको नेपालमा प्रचण्डबाटै बिमोचन गराएका थिए। उक्त पुस्तकको प्रशंसक मध्येको एक यहाँपनि भएकोले के नेपाललाई भुटानी मोडलमा लान ढीलो भइसकेको भन्नेमा यहाँ पनि सहमत हो?

डा. मुकुल ढकालले पनि बौद्धिक गायक डा. स्वर्णिम वाग्लेले समेत रबि लामिछानेलाई भारतको उक्त मिशनमा सहयोग गरे हामी पटक पटक सत्तामा पुग्न सक्दछौं भनेको मिडियामै आएको छ। कतै रबि र प्रचण्डको पछिल्लो मिलन त्यही नेपाललाई भुटानी मोडलमा लान चाहने शक्तिले त गराई दिएको होइन? यो प्रश्नमा के भन्नु हुन्छ? यो यहाँका लागि नवौं प्रश्न भयो।

अन्तिम अर्थात १० औं प्रश्न भनेको क्यान्टनमेन्टको घोटाला, एनसेल प्रकरण, सुन प्रकरण, हुण्डी प्रकरण, घरपेटी ठेकेदार प्रकरण, आयल निगम जग्गा खरिद प्रकरण, हाइड्रो पावर प्रकरण, पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट प्रकरण, बालसैन्य प्रकरणजस्तालाई सम्झदा मनमा के के कुरा खेल्दछ? यहाँको मन मस्तिष्कले प्रचण्ड सुशासनको हिमायती वा सुशासन लभर नै भनेर स्वीकार गरेको छ कि, यो त भन्ने कुरा न हो भनेर मन र मस्तिष्कले चित्त बुझाई रहेको छ?

ती विद्यार्थीहरु जसले यहाँको सडकमा बाघ हुने निर्देशन पाए, उनीहरुले पहिलेजस्तै यहाँका निर्देशनहरु पालना गर्लान भन्ने ठान्नु भएको छ? तपाईंका पार्टीका नेताका छोराछोरी जो अमेरिका वा यूरोपका अन्य देशहरुमा पढ्न गएका छन् उनीहरुलाई पनि ती देशहरुको सडकमा बाघ बनेर हिड्न नै भन्नु भएको हो कि? फेरि सोझा साझा नेपाली विद्यार्थीलाई मुर्ख बनाउन खोज्नु भएको हो?

हेरौं जंगलका प्रचण्ड र संसदका सिंह प्रचण्डमध्ये बिकल्प खोजिरहेका नेपालीले कसलाई माया गर्नेछन्? हिंसा प्यारो हुनेले सिंह र बाघकै याद गर्ने त हो भन्दा फरक नपर्ला।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *