हिजबुल्लाह प्रमुख नसरल्लाहको शव भेटियो, शरीरमा आक्रमणको कुनै निशान छैन

डिसी नेपाल
१४ असोज २०८१ १४:२७

काठमाडौं । इजरायली हमलामा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ । चिकित्सा र सुरक्षा टोलीले आक्रमणस्थलबाट नसरल्लाहको शव फेला पारेका थिए।

समाचार एजेन्सी रोयटर्सका अनुसार नसरल्लाहको शरीरमा प्रत्यक्ष आक्रमणको कुनै निशान छैन। ठूलो विष्फोटका कारण उनको मृत्यु भएको अनुमान गरिएको छ ।

नसरल्लाह शुक्रबार राति ९.३० बजे इजरायली हवाई हमलामा मारिएका थिए । इजरायली सेनाले राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टन बम प्रहार गरेको थियो । हिजबुल्लाहले आक्रमणको २० घण्टापछि शनिबार साँझ ५ बजे नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ ।

आइतबार, इजरायलले लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ। अल जजीराले पनि उनीहरुको तस्विर सार्वजनिक गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले नसरल्लाहमाथि भएको आक्रमणबारे आफूलाई जानकारी रहेको बताएको छ । इजरायलले अमेरिकालाई अपरेशनका लागि लडाकु विमान उडाएपछि जानकारी दिएको अमेरिकाले बताएको छ ।

तर, इजरायलले भने अपरेशन सुरु गर्नुअघि नै अमेरिकालाई सन्देश पठाएको दाबी गरेको छ । अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ । टाइम्सले आफ्नो रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ ।

यसमार्फत हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउण्डका १५ वटा बम खसालेका थिए । रिपोर्टका अनुसार यी अमेरिकी निर्मित बीएलयु-१०९ बम थिए, जसलाई बंकर बस्टर पनि भनिन्छ। यी बमहरू भूमिगत ठाउँमा प्रवेश गर्न र विस्फोट गराउन सक्षम छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *