हिजबुल्लाहको अर्को प्रमुख को बन्ला ?

डिसी नेपाल
१४ असोज २०८१ १५:०३

काठमाडौं । हिजबुल्लाह प्रमुख हसन नसरल्लाह शुक्रबार इजरायली आक्रमणमा मारिए। इजरायलले लेबनानको बेरुत सहरमा रहेको हिजबुल्लाहको मुख्यालयमा ८० टन बम प्रहार गरेको थियो ।

यस हमलामा नसरल्लाह बाहेक हिजबुल्लाहका धेरै वरिष्ठ अधिकारी पनि मारिएका छन् । जसमा हिजबुल्लाहको दक्षिणी मोर्चाका कमाण्डर अली कराकी पनि थिए।

नसरल्लाहको हत्यापछि हिजबुल्लाहको महासचिवको पद खाली छ। नसरल्लाह सन् १९९२ मा संगठनको प्रमुख बनेका थिए । उनी लेबनानमा शिया आन्दोलनका एक प्रमुख अनुहार थिए। तीन दशकसम्म हिज्बुल्लाहको सबैभन्दा महत्त्वपूर्ण अनुहार रहेका नसरल्लाहको मृत्युले संगठनलाई ठूलो धक्का दिएको छ।

नसरल्लाह र कराकी बाहेक, हिजबुल्लाहका शीर्ष सैन्य कमाण्डर फुआद शुक्र र एलिट कमाण्डो इकाईका संस्थापक इब्राहिम अकिल पनि मारिएका छन्।

यस्तो अवस्थामा हिजबुल्लाहको अर्को प्रमुख को हुने भन्ने ठूलो प्रश्न हो । अहिले हिजबुल्लाहका अधिकांश शीर्ष नेतृत्वको हत्यापछि यो दौडमा दुईवटा नाम अगाडि छन् । यी मध्ये पहिलो हाशम सैफिद्दिन र दोस्रो नइम कासिम हुन्।

हिज्बुल्लाह प्रमुखको अर्को प्रमुखको दौडमा हाशम सैफिद्दीनको नाम सबैभन्दा अगाडि छ। सैफिद्दिन हिजबुल्लाहको कार्यकारी परिषद्का सदस्य र हसन नसरल्लाहका भाइ हुन्।

उनको जन्म १९६४ मा लेबनानको डेर कानुन अल-नाहार शहरमा भएको थियो। सैफिद्दीन र नसरल्लाह दुवैले धार्मिक शिक्षा सँगै लिएका छन्। उनीहरू दुवैले इरानको कुम र इराकको नजाफ जस्ता प्रमुख शिया शिक्षा केन्द्रहरूमा सँगै अध्ययन गरेका थिए।

विगत तीन दशकदेखि सैफिद्दिनले हिजबुल्लाहलाई आर्थिक सहयोग र संगठनको शिक्षा जस्ता मामिलाहरू हेर्दै आएका छन्। जबकि नसरल्लाहले संगठनको रणनीतिक मामिलाहरू हेर्थे। जसका कारण उनी आगामी प्रमुख बन्ने दौडमा अगाडि रहेको देखिन्छ ।

हिजबुल्लाहका नम्बर २ कासिम पनि संगठनको प्रमुख बन्ने दौडमा छन् । कासिमलाई लेबनानमा शिया आन्दोलन र हिजबुल्लाहको नम्बर २ पनि भनिन्छ। कासिमको जन्म सन् १९५३ मा दक्षिणी लेबनानको नाबाटिएहको कफर किला गाउँमा भएको थियो।

१९७० मा, कासिम इमाम मुसा अल-सद्रसँग लेबनानमा शिया अमल आन्दोलनको हिस्सा बने। उनी पछि १९८० को दशकमा हिज्बुल्लाह आन्दोलनमा संलग्न भए र संगठनका संस्थापक सदस्यहरूमध्ये थिए।

कासिमले दशकौंदेखि बेरुतमा धार्मिक शिक्षा दिइरहेका छन्। कासिम सन् १९९१ मा हिजबुल्लाहका उपमहासचिव बनेका थिए । उनी हिजबुल्लाहको सुरा काउन्सिलका सदस्य पनि हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *