बर्षात् प्राकृतिक, विपद् मानव सिर्जित
भदौ महिनाले बिदा लिनु र सफा मौसम लिएर असोज प्रारम्भ हुनुको संयोगले यो बर्षको दशैं नजिकिएको भान भइरहेको थियो।
माता-पिता र सासु-ससुरा चारै जना बृद्धबृद्धाका साथ दशै मनाउन पाउने खुशीलाई पंक्तिकारले ठूलो भाग्यको लेखन र गौरवको कुरा भनेर लिएको थिएँ। मनसुन बाहिरिएको खुशी मनाइरहदा हामी दुई रुइफुइ बीच अनौपचारिक ख्यालठट्टा भयो।
श्रीमतीले भनिन्- “कुमारी रिसाउनु भयो। शायद रुनुपनि भयो। बोक्नेले लडाई दिए जस्तो छ। दोलखा भिमसेनलाई पसिना आयो। अनिष्टको संकेत।”
मैले एउटा कानले सुने, अर्कोले उडाइदिएँ। तर, आफ्ना मन भित्र लागेको कुराको गाँठो फुकाउँदै उनलाई सुनाएँ-
“मौसम सफा भयो। तर एउटा घनघोर बर्खा र बिगार बिनास बाँकी छ। सतर्क रहनुपर्दछ।”
यो कुरा देश दर्शन र हिमाल दर्शन शुरु गर्ने मित्रजनहरुलाई पनि सेयर गरें। श्रीमतीको चिन्ता कसैलाई सेयर गरिन।
असोज ९ गते राति हाप्सिलो करायो। पत्याउन गाह्रो भयो। आमाले विश्वास गर्ने अनिष्टको अर्को संकेत।
मित्रहरुले थपे-पहिले कमलपोखरीमा स्याल कराएर हैरान रे। वनढाडेले कुखुरा गायब गर्ने रे। बीर अस्पताल वरिपरि पनि साँझ विहान स्याल कराउने रे।
अर्को मित्रले सुनाए-काठमाडौंका खोला भरि माछा रे। हाँसका बथान रे। उसले देखेको, पारेको र खाएको रे।
असोज ११ गते अबिरल पानी पर्यो। १२ गते दिउँसो बिनासकारी फोटो र समाचारले सामाजिक सञ्जाल भरियो। एकजना पूर्व ज्वाइँ जर्नेलले राजधानीको मानवीय क्षतिप्रति गहिरो विस्मात् गर्दै एउटा लेख लेख्न सुझाए।
आफ्नो उद्धार अनुभवको आँखी झ्यालबाट यो विनासकारी बिपद्लाई हेर्दै केही सुझाव राख्न यो लेख पस्किएको छु।
उद्धार आधारशीला
संयोगले सैनिक कलेज पढ्ने अपूर्व अवसर जुर्यो। सुन्दर प्रकृति शान्त वातावरण सुपिङ क्याम्पस पढिराखौं जस्तो आहा थियो। भूगोल र अर्थशास्त्र लिएर पढ्ने बिद्यार्थी आफू आफ्नो मानविकी संकाय टपर छँदैथिएँ। गाउँको स्कुल देखिको प्रथम हुने बिरासत कलेजमा कायम रहँदा गौरवान्वित थिएँ।
सैनिक कलेजले पिटी परेड दौड खेलकुदका भारी अवसर दियो। अकल्पनीय अवसरको खानी। नजानी नजानी म धावक कहलिएँ। खेलाडि भएँ। एथलेटिसियन भएँ। अतिरिक्त क्रियाकलापको च्याम्पियन भएँ। सैनिक कलेजले उड्ने चरो जस्तो चुस्त फूर्त बनाइदियो। पिटी मास्टर धन गुरुप्रति आभारी छु।
हाँसखेल गर्दागर्दै सेनामा भर्ती भइयो। फेरि खेलकुद र दौडको अवसर। भाग्यले स्पेशल फोर्स तालिमको अवसर जुर्यो। तालिमले जोखिमपूर्ण उद्धार कला सिकायो।
पहिलो शर्त स्वस्थ, चुस्त, दुरुस्त। दोश्रो, म सक्छु म जान्छु भन्दै हात खडा गरेर अग्रसर भइरहने। तेश्रो, हाँसी खुशी र सकरात्मक भावको उद्धारकर्मी। भाग्यले हाकिमको आँखामा परियो। परीक्षण उद्धारहरु सबै सफल भए। हरेक बिपद्मा संगठनले सम्झिने खटाउने बलियो बांगो उद्धारकर्मीको परिचय बन्यो। म हौसिँदै गएँ।
कार्यवहाक प्रधानमन्त्री र गृहमन्त्रीले स्वविवेक स्वनिर्णयमा राजीनामा दिएर नैतिकताको बृक्षरोपण गर्नु पर्ने हो। बिपद् पीडितसँग माफ माग्ने अस्त्र राहत होइन राजीनामा हो।सत्ता र सरकारलाई उहाँहरुले जानाजानी भड्खालोमा हाल्नु भएको छ। दुर्भाग्य, शून्य विवेक। शून्य पहलता। शून्य निर्णय।
मलाई उद्धार अवसर आइ लागिरह्यो। हिमालमा हाम फाल्ने २ जना चाहियो भन्दा १० जनाको हानाथाप। कोशीमा हाम फाल्ने १० जना आउ भन्दा १ सय जनाको तँछाड् मछाड्। छनौट गर्न प्रलय। ब्यारेक चक्कर लगाउन पठायो। पहिलो २ र १० जना लियो, उद्धारमा हिँड्यो।
एक दिन सबैजना भान्छामा खाना खाँदै थिए। गृहले रक्षालाई रक्षाले जंगी अड्डालाई हुँदै फाष्ट ट्रयाकबाट तुरुन्त उड्ने निर्देशन आयो। हाकिम भिक्टर सरको आदेश आयो-सामेल गर्न समय छैन। तिमी र म मुभ्।
उद्धार झोला काँधमा हालेर हामी तुफान १० मिनेटमा एयरपोर्ट पुग्यौं। तीब्र गतिको एकुरेल हेलिकोप्टर छान्यौं र सुदूरपश्चिम हानियौं। छिटो नगरे रात पर्ने र सेतीले बालिका बगाउने अवस्था भएकोले उडानमै मंकी बेस बनायौं। हाम फाल्न झ्यालले मिलेन, झ्याललाई पाता फर्काएर बाँध्यौं।
समुद्र जस्तो नदीमा भिक्टर सरको “हाम फाल” भन्ने आदेशमा म डोरीको मद्दतले झ्वाम्म हाम फालें। बग्नै लागेकी युवतीलाई जगेडा हार्नेस लगाइ दिएँ र काखी च्यापेर किनारामा सकुसल निकालें।
९० मिनेटमा हावाको हावा सुदूर पश्चिमको उद्धार पूरा भयो। हजारौंको भिडले ताली पड्काउँदै गर्दा हामी ल्याण्ड नगरी तुफान दिपायल उड्यौं र ब्यारेकमा रात बितायौं। दलीत युवतीको उद्धार बन्यो राष्ट्रिय समाचार।
मलाइ पीडितको आशिषले क्याप्टेनमै शान्ति सेना अब्जरभर उपहार। म लाइबेरिया उडें। अपहरणमा परें। तिनै युवतीको आशिषले आफ्नै बलबाहुमा छुट्ने दुर्लभ भाग्य पाएँ। तात्तातै पुरस्कृत गर्ने संगठनको कस्तो गौरवमय परम्परा।
दुधकोशीको बाढीले बगाएको उद्धारकर्मी कोशी बीच ढुंगाको टुप्पोमा। बाढीले सोर्नु ठिक अघि उसैगरी हाम फालेर उद्धार गरें। उनी बेहोस भए। उही हेलिकोप्टरमा बिरामीलाई सैनिक अस्पताल पुर्यायौं। भर्ना गर्यौं। २ घण्टामा त्यो उद्धार पूरा। आभार पोखें हसिला रसिला जोसिला पाइलट मदन केसीलाई।
आफ्नो ज्यान नभनी अर्काको ज्यान बचाए बापत पाउने दुर्लभ बिभूषण गजेन्द्रमोक्ष उल्टो दायाँ छातीमा लगाइदिबक्स्यो राजा वीरेन्द्रले। अमेरिका तालिमको अर्को पुरस्कार। कति विराट र महान संगठन!
उद्धारकर्मी मेरो सरुवा भयो निकुञ्जस्थित जंगल डिउटीमा। निकुञ्जमा बाह्रै महिना बाह्रै काल २४ घण्टा संकटकाल। बिपद् नै बिपद्। ब्यारेकलाई आदेश दिएँ-
हरेकले पौडी जान्नैपर्ने।
हरेकले डुंगा चलाउन जान्नैपर्ने।
डुंगाा उल्टो माथि लैजानैपर्ने।
छिटो रुख चढ्नै पर्ने।
रुखको हाँगामा जागा र चनाखो भई रात बिताउनैपर्ने।
नहरमा परेका अड्किएका वन्यजन्तुलाई सकुसल उद्धार गर्नैपर्ने।
बाढीले खेतमा फ्याँकेका गोहीलाई च्याप्प समातेर बबइ पुलमुनि ल्याएर छाडनुपर्ने।
जसरी रोल परिवर्तन भयो। वन्यजन्तु उद्धारको नया अवसर पाइयो। ब्यारेक चुस्त आगो भयो। बर्खा होस् कि औंशीको रात हाम्रो नदी गस्तीले कर्नाली छाडेन।
सिपाही इमानसिंह दुराले भदौको कर्नाली पौडेर तरे र अट्टेर अवैध माछा मार्ने जाललाई कम्मरमा बाँधेर पुनः पौडेर कर्नाली वारि आए। राजा वीरेन्द्रका बरद्बाहुलीबाट इमानसिंह, कर्ण बहादुरको गस्ती टोलीले गोरखा दक्षिण बाहु लगाए।
मलाई बोध भयो-म कमाण्डर। सामान्य उद्धारकर्मीको एक प्रतिनिधि पात्र मात्र। साहसिक उद्धारकर्मी इमानसिंह। मलाई निमेषमा सिपाहीले जिते। स्वदेश विदेशमा उद्धार हीरो नेपाली सिपाहीहरु मैले असंख्य देखें। गौरवान्वित भएँ।
पछि जंगी अड्डास्थित राष्ट्रिय निकुञ्ज निर्देशनालय बसेर जंगल डिउटी हेर्दा सप्तकोशी फुट्यो।
गुल्मले बहादुरीका साथ आफू र आफ्नो बन्दुक नभनी स्थानीय जनताको उद्धार गर्यो। र, मान्छे सँगै खेतमा पुगेका डल्फिन उद्धारलाई मैले हेलिकोप्टर पठाएँ। सुरक्षाका कारण उनीहरुले पानी ट्याँकीमा राखेर पिकअप जिपबाट डल्फिल उद्धार गरे।
जंगल डिउटीको जिम्मेवारीमा पहिलो उद्धार प्राथमिकता जनतालाई, दोश्रो उद्धार निकुञ्ज प्रशासनका कर्मचारी गेमस्काउट लगायतलाई, अन्तिम उद्धार सेनालाई तर बन्यजन्तुको समेत सफल उद्धार हुनैपर्ने असल अभ्यास गर्यौं। जनता र गेमस्काउटलाई हेलिकोप्टर स्ट्याण्डवाई राख्नाले संरक्षण टिम निर्माण, टिमवर्कमा मद्दत पुग्यो। टिमको हौसला आकासमा पुग्यो।
म पहलमान युवालाई १० पटक हानेर कर्नालीमा लडाउने गैंडाको अलपत्र बच्चालाई ३ दिन लगाएर गरेको खोज् र उद्धारपछि रबर बोटबाट उसँग गरेको यात्रा अविस्मरणीय रह्यो। आज पनि म बर्दिया गएर त्यो बयस्क गैंडालाई शिर झुकाएर ढोग्छु।
सेवाको उत्तरार्द्धमा महाभूकम्पमा प्रधानसेनापतिबाट उद्धार इन्चार्जको महत्वपूर्ण जिम्मेवारी पाइयो। “गधाले भारी नै खोज्दछ” भने झैं इन्चार्ज हाकिम भएर मेचमा बसीबसी आदेश गिराउन सकिएन। मनले मानेन।
मनास्लु, सगरमाथा, मकालुमा हिँउको क्रेभासिस् भित्र हामफालेर बिदेशीहरुको सकुसल उद्धार गरियो।
हुन्न कि हुन्न भन्ने लाङटाङको गणपति लक्ष्मणलाई चुप् भनेर हेलमेट लगाएर भिर पहिरो छल्दै रसुवागढी सीमानामा पुगियो। आभारी छु लक्ष्मण प्रति। र, कृतज्ञ छु महाभूकम्पमा आफैं खट्टिने र राष्ट्रिय बिपदमा एकद्वार प्रणालीबाट चुस्त दुरुस्त उद्धार राहत जिम्मेवारी पूरा गर्ने ती साहसिक प्रधानसेनापति प्रति।
गैंडा बाघ संरक्षण र उद्धार भोलेण्टियर डिउटी र समर्पणले गर्दा हरेक प्रधानसेनापतिको नजिक हुन पाइयो। असीम माया र बिश्वास कमाइयो। मैले पाएको तमाम उद्धार अवसर त्यही विश्वासको प्रतिफल हो।
उच्च सम्मान र सलाम छ ती महान सेनापतिहरुलाई, जसले असल र सफल उद्धार अभ्यासलाई सेनाको मूल्य मान्यता आदर्श बनाए। जस्तै :
-सेना बिपदको फष्ट रेस्पोण्डर हो। र, उ बिना शर्त बिना आदेश बिपद्मा पहिला पुगेकै हुनुपर्दछ।
-बिपद् र उद्धारमा जान कसैको आदेश चाहिँदैन। पहिला पुग्ने र उद्धार गर्ने, पछि प्रतिवेदन।
-बृक्षरोपण र प्रकृति संरक्षण गर्न आदेश जरुरी छैन। स्वविवेक स्वनिर्णयमा तर सम्वन्धितसँग समन्वय र सहकार्य गरेर मात्र वृक्षरोपण गर्ने।
-“सेफ्टी सेक्युरिटी फष्ट” आधारभूत सिद्धान्त अपनाउने। आफ्नै क्षति भए पीडितको ज्यान धन कसरी बचाउने?
दशक अगाडि म प्रधानसेनापतिसँग अनकण्टार डोल्पाको हिमालभित्र निकुञ्जमा थिए। एक्कासी अति हिमपात भयो देशै भरि। हुड्हुड् नामको हिमपात थियो त्यो शायद। प्रधानसेनापतिले जंगी अड्डालाई सेटबाट आदेश दिनुभयो-“मेरो आदेश लिनुपर्दैन। भएभरको हवाई साधन प्रयोग गर्नु र हिमालमा फसेका विदेशी स्वदेशी नागरिकहरुलाई सकुसल उद्धार गर्नु।”
१७ वर्ष अघि कञ्चनजंघा संरक्षण क्षेत्रमा संरक्षण बिज्ञहरु सवार हेलिकोप्टर हरायो। प्रधानसेनापतिको ठाडो आदेश थियो-“आकाशमा हवाइसाधनले खोज्नु। जमीनमा बुठ्ले खोज्नु र छिटो भेटेर मलाई सुनाउनु।”
२६ वर्ष अगाडि ढोरपाटन शिकार आरक्षमा ब्रिटिश जनरल हराउनु भयो। प्रधानसेनापतिको आदेश थियो-“कति हवाई साधन चाहिन्छ लैजानु। राख्नु। खोज्नु र, भेटेर ल्याउनु।” खोज तथा उद्धार अवसर आफूलाई प्राप्त भयो।
वर्तमान बिपद्
पूर्व सूचना थियो। पूर्व जनाउ थियो। एक्कासी अकस्मात् सरप्राइज केही थिएन। राजधानीमै अकल्पनीय मानवीय क्षति भयो। राजधानी जस्तो सुविधा सम्पन्न ठाउँमा १ जनाको ज्यान जानु हुँदैन थियो। क्षतिले स्तब्ध बनायो। दुनियाले प्रश्न गरे-
खोइ राज्य?
खोइ सरकार?
खोइ पूर्व तयारी?
खोइ उद्धार?
विदेशी सहयोगलाई हुन्न भनेर एक्लै खम्पा निःशस्त्रीकरण गर्ने हिजोको शाही सेना। कञ्चनजंघा अपिनाम्पा २/३ घण्टामा सफल उद्धार पूरा गर्ने क्षमताको चुस्त नेपाली सेना।
अनमिनलाई फिर्ता पठाएर समायोजन शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन हदैसम्मको त्याग गर्ने र समायोजित सेनालाई अब्बल बिश्व शान्ति सेना बनाउने शान्तिप्रेमी नेपाली सेना।
कहालिलाग्दो महाभूकम्प र कोभिड-१९ महामारीमा १ छाक खाएर, नसुतेर, परिवार नभनेर जनताको उद्धार राहतमा जुटेको जनप्रिय सेना के आज भुत्ते भएको हो त? कि परिचालन ढिलासुस्ती? कि तालिम र ईक्वीपमेण्टको अभाव?
राजधानीको उद्धारलाई ईक्वीपमेण्ट जरुरी थिएन। पर्सनल रोप, मंकीक्रल रोप, भर्टीकल रोप काफी थियो। जरुरी थियो केवल इच्छा शक्तिको। चुनौतीलाई अवसरमा वदल्ने दृढ संकल्पको।
राजधानीमा सुरक्षा निकायहरुको ७० प्रतिशत फौज पोको परेर बस्ने तर बिपदमा उद्धार नहुने। कस्तो बिडम्बना।
“धेरै भान्छेको झुर खाना” भने झैं धेरै थरि उद्धारकर्मी भएर आपसी समन्वय र जिम्मेवारी क्षेत्र तथा कामको बाँडफाँड नहुँदा पनि धेरै क्षति भएको हुनसक्छ।
यही बिपद्को पूर्व तयारी र निकुञ्जको अपडेट प्रतिवेदन गर्न ५ दिन अगाडि प्रधानसेनापतिलाई फोन गरें। उहाँको सहायकलाई फोन गरें। फोनमा २ मिनेट समय मागें। बिपद्को चुनौतीलाई अवसरमा बदल्न कुनै कसर बाँकी नराखौं र निकुञ्ज संरक्षणमा संगठन प्रमुखको सदासयता चाहियो भनेर अनुरोध गर्ने इच्छा गर्भमै रह्यो। मेरो दुर्भाग्य।
जब कि फोन सम्पर्कले हामीले विगतमा ठूल्ठूला दुर्घटना र चुनौतीलाई अवसरमा बदलेका थियौं। ती गम्भीर र सम्वेदनशील सुझाव यहाँ उल्लेख गर्न असमर्थ छु।
दोश्रो पाटो
प्रधानमन्त्री नहुँदा चिर निन्द्रामा जाने र भ्रमणमै षड्यन्त्र भइसक्ने मुलुकमा ढुकुटी रित्याउने र उपलब्धि शून्य भ्रमण बन्द गर्न जरुरी छ। अन्य भ्रमणहरु पनि राष्ट्रिय गोपनीयता भंग गर्ने, बिपक्षीका कुरा काट्ने र निजी स्वार्थका दुनो सोझ्याउन केन्द्रित भएकाले ती राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा सम्बर्द्धनलाई कामयावी नभएको सिद्ध भइसकेकोले फजुल भ्रमण रोक सुशासनको प्रारम्भ बिन्दु हुन सक्छ।
कार्यवाहक प्रधानमन्त्री र सहकारी पिछलग्गु गृहमन्त्रीले कानमा तेल हालेर गुड्फ्राइडे मनाइरहेको अर्थ लाग्यो। बिपदलाई प्राथमिकता दिएको, ब्रिफिङ लिएको, परिचालन आदेश दिएको, अनुगमन निरीक्षण दौडाहा गरेको देखिएन।
कार्यबाहक प्रधानमन्त्री र गृहमन्त्रीले स्वविवेक स्वनिर्णयमा राजीनामा दिएर नैतिकताको बृक्षरोपण गर्नु पर्ने हो। बिपद् पीडितसँग माफ माग्ने अस्त्र राहत होइन राजीनामा हो। सत्ता र सरकारलाई उहाँहरुले जानाजानी भड्खालोमा हाल्नु भएको छ। दुर्भाग्य, शून्य विवेक। शून्य पहलता। शून्य निर्णय।
तेश्रो पाटो
राजधानी क्षतिको पूर्ण जिम्मेवार विगतमा नदी कब्जा गर्ने गराउने सरकारहरु हुन्। सर्वोच्चको न्यायिक निर्णय उल्ट्याएर नदी खाने सबै सरकारहरु यो क्षतिको दोषी हुन्। नदी खान उक्साउने, छुट् दिने सरकारहरु नालायक छन्। अयोग्य छन्। प्रकृति बिरोधी छन्।
खोइ हामी जलवायु अनुकूलन भएको? नदीहरुलाई प्राकृतिक वहावको स्वतन्त्रता भएको भए एक जनाको ज्यान जाने थिएन। अज्ञातवस होइन, प्रायोजितरुपमा प्रकृति धर्ती संस्कृति मिच्ने मास्ने बेच्ने सरकारले यो क्षतिको निर्मम समीक्षा गरेर शीघ्र सुध्रिन जरुरी छ। राजधानीका खोलाहरुका प्राचीन मापदण्ड कायम गर्न कठोर निर्णय लिनुपर्दछ। मुआब्जा र बजेटको अभाव हुने छैन।
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अपराध, आतंक, राष्ट्रघातका पापकट्टी गर्न सडक बढाए जस्तै सबैले पापकट्टी गर्न निर्मम र कठोर कदम चाल्न जरुरी छ। शिवपुरीको धाप बाँधलाई आतंककारीले विष्फोट गराउनु अगावै पन्चर गरेर फुटाउन जरुरी छ। त्यहाँ पहिलाको जंगल पुनर्स्थापना गर्न अपरिहार्य छ। र, विशाल जलाशय नागमती बाँधको अर्को कमिसनको गुप्त कार्यालय भत्काउन जरुरी छ।
गुणस्तरीय भन्दा लम्बाई बढाउने सडक विस्तारले आज प्रकृति ध्वस्त छ। गुणस्तरीय र सुरक्षित सडक पुल भएको भए राजधानी बाहिरका सडक दुर्घटना हुने थिएनन्। सडक र पुल जनता मार्ने धराप सिद्ध भए। खोई आईईई र ईआईए? खोइ गुणस्तर? २ होइन १५ दिनको अवरिल बर्खा धान्ने गुणस्तरीय पूर्वाधार समयको माग हो।
ठाडो खोला झोलामा कैद गर्ने। झोला-झोलामै किनबेच र बिलम्ब एवम् चरम भ्रष्टाचार गरी बन्ने बाँध र जलबिद्युतको युग टरिसकेको छ। कमिसन कुम्ल्याउने ठूला बाँध यो धराप भूधरातलमा हुँदैहुँदैन। त्यो राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको बर्खिलाप छ।
लघु जलबिद्युत योजना हाम्रो भूगोल र प्रकृतिको माग हो। अब नविकरणीय उर्जा र हाइड्रोजन युगमा जानुपर्ने प्रधानमन्त्रीको प्रतिबद्धता तारिफयोग्य छ। त्यो राष्ट्रिय संकल्प हुनुपर्दछ।
२०४६ साल अघि ६ हजार डोजर क्रेन स्काईभेटरले पुगेको थियो। त्यसपछि बढेर हाल बर्षेनी ३५ हजार बढी आयात हुनुले प्रकृति बिगारको गहराईलाई मापन गर्न सकिन्छ।
वनजंगल सफाया गर्न उद्दत डोजर आतंकले मुलुक थिलथिलो र गिलो भएको छ। प्रकृति धर्ती ध्वस्त भएको छ। त्यो हचुवा र बहुलाहा विकासको शीघ्र पुनरावलोकन हुन र वातावरणमैत्री हरित विकासको मोडल अनुकरण गर्न जरुरी छ।
पुराना बिपद् महाभूकम्प, महामारी, भीषण डढेलो, हिमताल बिष्फोटन जस्तो बिपद् आइरहने र सरकार बिर्सँदै अगाडि बढ्ने होइन। समष्टिगत र समन्वीकृतरुपमा सबै बिपद्को पूर्व जनाउ, अनुगमन र नियन्त्रण गर्ने अति चुस्त दुरुस्त र विश्वसनीय संयन्त्र बनाउनु पर्दछ।
राजनीतिकरणको सिकार नभएको भए रेडक्रसको राहत यो घडीमा काफी हुने थियो। शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, सुरक्षाअंग लगायत सर्वत्रको राजनीतिकरण अविलम्ब रोक्न जरुरी छ।
उपसंहार
वर्खाले गलाएको हिमाली पहाडी भूधरातल र अस्तब्यस्त सडकमा यो बर्षभरि पहिरो गइरहने छ। हिउँद र गर्मीयाम समेत जोखिमपूर्ण हुनेछ। भूकम्प आएमा क्षति दोब्बर हुनेछ। जनआक्रोश ब्यवस्थापन चुनौतीपूर्ण हुनेछ। जनतामा प्रकृति विनास, भ्रष्टाचार, ढिलासुस्ती, राजनीतिक अस्थिरता र झुटा नाराको सहनशीलता शून्य छ।
प्रकृतिको उत्खनन् दोहन बिनासले सीमा नाघेको छ। अर्थ ब्यापारले राजनीतिलाई अन्धो बनाएको छ। चरम बदनाम गरेको छ। असफलउन्मुख राज्यको रोडम्यापमा राखिसकेको छ। राजनीतिले आँखा कान खोल्न र प्रकृति, धरती र संस्कृतिमैत्री बिकासको नेपाल सुहाउँदो मोडल अख्तियार गर्न जरुरी छ।
प्रकृति संरक्षणलाई साझा राष्ट्रिय आदर्श र उच्च प्राथमिकताको क्षेत्र बनाउन जरुरी छ। संरक्षण क्षेत्र मास्ने बेच्ने होइन बढाउने संकल्पले राष्ट्रिय हित र राष्ट्रिय सुरक्षालाई मलजल गर्नेछ। अन्तर्राष्ट्रिय सान मान गौरव बढ्ने छ।
यो बिपदमा इच्छा देखाउने विदेशी उद्धार सहयोगलाई धन्यवादको कुटनीतिक जवाफ दिएर रोक्नु वान्छनीय हुनेछ। राहत र पुनर्निर्माणको काममा समेत फराकिलो छाती गरेर राष्ट्रिय क्षमता प्रदर्शन गर्न जरुरी छ। र, बिदेशी सहयोगलाई धन्यवाद भनेर रोक्नु पर्दछ।
प्रकृति सम्बद्ध बिपद् राष्ट्रियता, आत्मनिर्भरता, स्वावलम्बीपन जगाउने उठाउने चम्काउने दुर्लभ अवसर हो। सर्वाधिक प्रतीक्षाको राष्ट्रिय एकता आह्वान गर्न यो बिपद् कोसेढुंगाा हुन सक्दछ।
यो बिपदमा भने जस्तै उद्धार उपकरण, इक्वीपमेण्टको खाँचो हो भने त्यसको शीघ्र वन्दोवस्ती हुन जरुरी छ। जीवन मरणको सवाल भएकोले जिटूजी माध्यमबाट गुणस्तरीय ईक्वीपमेण्टले उद्धार टोलीलाई सुसज्जित गर्नु पर्दछ।
अन्तर निकायको अन्तरसम्वन्ध, समन्वय, सहकार्य अति जरुरी छ। उद्धारभाव र तिर्सनाले ओतप्रोत हीरा उद्धारकर्मीलाई उच्च मनोवल र हौसलायुक्त राख्न तालिम, अभिमुखीकरण र कदर तथा पुरस्कारको गौरवमय परम्परा कायम हुनुपर्दछ।
अन्त्यमा, प्रकृतिको सर्वोच्चता स्वीकार र वातावरणमैत्री देश काल भूगोल सुहाउदो समयसापेक्ष हरित विकास नेपालको भावी रोडम्याप होस्। उद्धार र राहत भन्दा वन जंगल बढाई दिगो संरक्षण र बुद्धिमत्तापूर्ण उपयोग गर्ने राष्ट्रिय महाअभियान बिपद् रोकथामको माटो सुहाउँदो प्राकृतिक र मितब्ययी उपाय हो।
Facebook Comment