संस्कार, संस्कृति र राष्ट्रियता
राष्ट्रियताको कुरा गर्दा हामी अलि फराकिलो हुनुपर्छ भन्ने लाग्छ। हाम्रो देश बिबिध जात जाति भाषा भाषीहरुको सुन्दर बगैँचा हो। यहाँ ती सबै जात जाति भाषा भाषीका आफ्ना छुट्टा छुट्टै राष्ट्रियता पनि छ। ती सबैलाई समेटेर बनेको नेपालीपन हाम्रो गौरवपूर्ण इतिहास भएको नेपाली राष्ट्रियता हो।
हामी नेपाली हौं भन्नेमा संसारका जुनसुकै कुनामा भएका नेपालीहरुले पनि आफूमा गर्भ गर्दछन्। तिनीहरु जुनसुकै मुलुकमा पुगेको भएतापनि उनीहरुमा नेपाली राष्ट्रियता छचल्किरहेको हुन्छ।
गत वर्ष थाइल्याण्डका नेपालीहरुको एउटा टोली एउटा सांकेतिक क्रार्यक्रममा भाग लिन नेपाल आएका थिए। उनीहरुले एयरपोर्टमा प्लेनबाट ओर्लने बित्तिकै नेपालको माटोलाई शिर निहुर्याएर ढोकेको तपाईं हामी धेरैले देखेका छौं।
यसबाट नेपालीहरु जुनसुकै देशको नागरिक भएतापनि आफ्नो पितृ देशप्रति अगाध माया गर्दा रहेछ भन्ने देखिन्छ। समय क्रममा जीवन निर्वाहाको खोजीमा बिदेशिनु नेपालीहरुको बाध्यता थियो।
बिगतमा नेपालका स्व.राजा वीरेन्द्रले थाइल्याण्ड पुगेर नेपालीहरुको उचित बसोवास र ब्यबस्थापनकोलागि थाइल्याण्डको राजालाई भेटी समस्या सामाधान गरेको र अभिवाकीय भूमिका निर्वाह गरेको इतिहास छ। थाइल्याण्ड मात्र एउटा उदाहरण हैन नेपालीहरु त संसारको जुनै कुनामा पनि पुगेका छन्। भारत बर्मा मलेशियामा पनि नेपालीहरुको बाक्लो उपस्थिति छ।
संसारको कुन देश होला नेपाली नपुगेको? जहाँ पुगेपनि उनीहरुले नेपालीपन जोगाउन चाहन्छन। चाड पर्व र गीत संगीत सवै बिदेशमा बस्ने नेपालीहरुले पनि नेपालमा जसरी मनाउँदै आएको हो, त्यसैलाई नियमितता दिएको देखिँदै आएको छ।
दशैं, तिहार, साउने संक्रान्ति, माघे संक्रान्ति नेपालीहरुका चाड पर्वहरु हुन्। तराईमा बस्ने नेपालीहरुले बिशेष गरेर छड पर्व धुमधामले मनाउने गर्दछन्। पूर्वी नेपालमा किरात समूदायका जातजातिहरु राई, लिम्बू आदिले मनाउने उदौली र उभौली पर्व निकै रोचक र रमाइलो हुन्छ।
नेपालको पूर्वी भाग खोटाङ, भोजपुर, उदयपुर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, सुनसरी, मोरङ, इलाम, पाँचथरलगायत जिल्लामा किरात समुदाय बसोवास गर्छन्। उनीहरुले यो पर्व बिभिन्न कार्यक्रमको आयोजना गरी एक सातासम्म धुमधामले मनाउँछन्।
नेवारी संस्कृतमा इन्द्र जात्रा, गाई जात्रा, रोपाईं जात्रा आदि र नाचहरुमा भैरव नाच, लाखे नाच आदि प्रख्यात छन्। यस्ता अनेकौं पर्वहरु नेपालीका पहिचान हुन्। जन्म मृत्यु र बिबाहका अनेक संस्कार तथा संस्कृति नै नेपाल र नेपालीको आफ्नोपन हो।
नेपाल भित्र तमाङ दाइले बजाउने डम्फू बाजा होस् वा तराइबासीले बजाउने ढोलकी वा पहाडतिर बजाउने पन्चेबाजा अनि हिमाली क्षेत्रमा शेर्पा दाजुले बजाउने बछेइ बाजा सबैमा नेपालीपन छ। मादले र मारुनी नाच पनि हाम्रो संस्कृति भित्रै पर्छ। पूर्वी नेपालको मुर्चुंगा र बिनायो बाजा अहिले लोप हुने क्रममा छ।
यसमा हामीलाई चिन्ता लागेको छ। पश्चिम नेपालको देउडा भाका र पूर्वी नेपालको लोक भाका, मध्य नेपालको झ्याउरे भाका सबै त नेपाली संस्कृतिको संयुक्त नाम हो भनि गर्भ गर्व गर्नुपर्दछ। नेपालको मेची पारि र माहाकाली पारि पनि नेपालीको यो परम्परा र संस्कृति हामी देख्न सक्छौं।
वास्तवमा उनीहरुपनि नेपाली नै हुन र जमिन पनि हाम्रो नेपालकै थियो। हामीलाई नक्कली सुगौली सन्धीले भारतीय भूमीमा अंग्रेजको शासन कालमा अंग्रेजले धोकाधडीमा पारेका थिए। पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिसको शिबिरमा गई ४ मार्च १८१६ का दिन यस सन्धीमा हस्ताक्षर गरेका थिए।
उनीहरुले ब्रिटिसले जहाँ जहाँ भन्यो त्यही सही गरी भारततिरै पलाएन भएका थिए। यस बापत कुस्त जमिन र पैसा उनीहरुलाई प्राप्त भएको थियो। यसैले उनीहरु पुनः फर्केर नेपाल आएनन। उक्त सन्धीमा नेपाली राजाले कुनै लालमोहर लगाएको छैन।
शक्तिको आडमा ब्रिटिस उपनिवेसवादीले यस सन्धीलाई जबरजस्ती मान्य बनाएको थियो। यस दृष्टिकोणवाट हेर्दा ग्रेटर नेपालको मूद्दा जस जसले उठाउनु भएको छ, त्यो न्याय संगत छ भन्ने लाग्छ। ब्रिटिस शासकले आफू भारत छोडी बेलायत जाने बेलामा आफ्नो जमिन फिर्ता लिन आउ भनी नबोलाएका भने होइनन् तर तत्कालीन राणा शासकहरु स्वयं नगएका हुन।
अर्को कोणबाट हेर्दा नेपालको ऐलेको अवस्था अलि फरक छ। नेपालमा अहिले गरिबी उन्मूलनको कुरा कुनै प्राथमिकतामा परेको देखिँदैन। बर्गीयताको मुद्दा कुनै मुख्य मुद्दा रहेको देखिँदैन। तर जातीयता र धर्मको मुद्दा प्राथमिकतामा पर्दै आएका छन। हामीलाई थाहा छ नेपालमा १४२ जात जाति बसोबास गर्दछन्।
ती मध्य ११ जातिको जनसंख्या त एक हजार भन्दा कम रहेको तथ्यांकमा उल्लेख छ। जस अनुसार नुराङ जातिको जनसंख्या देशभर जम्मा ३६ जना मात्र छ। राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांक अनुसार ११ जातिहरु नुराङ, बनकरिया, कुसुण्डा, सुरेल, ल्होमी, वालुङ, राउटे, तोप्केगोला, फ्री र कलार जातिहरु हुन्। यी समेत प्रत्येक जात जाति भाषा भाषीको आ-आफ्नै इतिहास छ।
यसको खोजी गर्नुपर्छ जगेर्ना गर्नुपर्छ। यी सबै नेपाली राष्ट्रियताकालागि खजाना र सम्पत्तिी हुन। तर जातीयताको नाममा आफू आफू नै भिड्नु चाहिँ आफैं सिद्धिनु बाहेक केही पनि हुन सक्दैन। जसरी मानिस बन्नकोलागि हात खुट्टा नाक मुख आँखा शरीरका भित्री अंग आन्द्रा भूँडी सबैको आवश्यकता छ।
यी सबै अंगले म ठूलो भनि झगडा गरी हरेक अंग, अंग अलग हुने हो भने मानिसको अस्थित्व रहला र? त्यसै गरी राष्ट्रियता बचाउने हो भने सवैले आपसमा हातेमालो गरी सहकार्य गर्नु आवश्यक छ। जातीयताको मुद्दालाई बढावा दिँदा हामी आफैं छिया छिया हुनु बाहेक अरु केही हुने छैन।
हामी हामीबीच अनेक अन्तरबिरोधहरु छन। जाति जाति बीचमा को बाहिरिया र को भित्रिया? भन्ने झगडा एकातिर छ। हो इतिहासको कुनै काल खण्डमा हामी मध्य कोही बाहिर देशवाट आएका हौंला कोही यहीँ रैथाने हौंला।
यस्तै कुरामा बादबिवाद गर्दै बस्ने हो भने देश कहिले उँभो लाग्छ? हामीले प्रगति कहिले गर्ने? मानिसको उत्पत्ति सँगै जीवन निर्वाहको खोजीमा मानिस संसारभर फैलिँदै गएको कुरा मानवको उत्पत्ति र यसको इतिहासले हामीलाई ज्ञान दिएको छ। यसैले यस्ता कुरामा धेरै गलफत्ती गरि बस्यो भने हामी कहीँ पुग्ने छैनौं।
को मंगोल, को आर्य? कसको नाक थेप्चे, कसको चुच्चे? यी कुराको बिबादले देशको उन्नती प्रगतीमा कुनै परिवर्तन ल्याउला र ? यस्तो होला जस्तो लाग्दैन। तैपनि यस्तै बिषय प्राथमिकतामा पर्न लागेको भान हुन थालेको छ।
पूर्वको लिम्बुवान खुम्बुवान वा किरातको इतिहास र पश्चिम खस भूगोलको इतिहास यस्तै तराईको थरुवान र मध्य नेपालको पश्चिम भागमा रहेको मध्यकालीन नेपालको मगरातको इतिहास तथा नेपालमा भएका सबै जात जातिका इतिहासलाई जोड्दा मात्र नेपाली राष्ट्रियताको इतिहास बल्ल पूर्ण बन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ।
पृथ्वी नारायण शाहले देशको एकीकरण गरेका हुन। जो उहिले उहिले राजाका भाइ भाइमा राज्य भाग लगाएर टुक्रा टुक्रा बनाइ कमजोर राज्यमा परिणत गरेका थिए। अंग्रेज उपनिबेशवादीले जस्तो पूँजीवादले उत्पादन गरेको आफ्नो माल बेच्न संसारभर साम्राज्य फैलाए जस्तो यो होइन।
बरु नेपाली राज्यहरु प्हिले जस्तै टुक्रे राज्यहरुमै रहेको भए एक एक गरेर अंग्रेज साम्राज्यमा उहिल्यै हामी बिलय हुने थियौं। यसैले पृथ्वी नारायण शाह साम्राज्यवाद बिरोधी थिए। जसरी माओले साम्राज्यवादको खिलाफ लडेर चीनलाई मूक्त बनाए, यो त्यस्तै हो।
यही एकीकृत देश नेपाल नै हाम्रो पुर्खाको बिरासत हो र यसलाई हामीले मायाँ गर्नुपर्छ। हाम्रो राष्ट्रियता यहीँको जात जाति, परम्परा, चाडपर्व संस्कार संस्कृति भित्र खोज्नुपर्छ। यसैमा रमाउनुपर्छ र गर्भ गर्नुपर्छ। सबैले सबैलाई सम्मान पनि गर्नुपर्छ।
धर्मकोको बारेमा कुरा गर्दा नेपालमा प्रचलित धर्महरु हिन्दु, बूद्ध, किरात, मुस्लिम आदि बिबिध धर्म मान्ने नेपालीहरु हाम्रो देशमा बसोवास गर्दछन्। यसैले जसले जुनसुकै धर्म मानेपनि एक अर्कालाई हामीले सम्मान गर्नुपर्छ। अधिकांश नेपालीहरु यस्ता छन कि जो बौद्धनाथमा गएर दर्शन गर्छन्। माने घुमाएर आउँछन्।
पशुपतिनाथमा आइसकेपछि त्यहाँको पनि दर्शन गर्छन्। किरातका देवी देवतालाई पनि उनीहरु शिर झुकाएर नमस्कार गर्दछन्। नेपालीहरुको यो परम्परा धार्मिक सहिष्णुताको अनुपम नमूना हो। नेपालीपन र नेपालको राष्ट्रियताको यही आफ्नोपनलाई हामीले संरक्षण गर्नुपर्दछ।
बाँकी कुरा तपशिलमा राख्दै देश बिकास उन्नति प्रगती र रोजगारीको अवसरहरुको व्यापक श्रृजना गर्नतिर लागे मात्र हामी उभो लाग्छौं। अन्यथा सानातिना बादबिबादमा अलमलिएमा हामी यस्तै हरिकंगाल भैरहनेछौं। रोजगारीको खोजीमा देशका सक्षम जनशक्ति बिदेश पलायन भैरहनेछन। जनता नभएका देशमा नेता र नेतृत्वको पनि कुनै अर्थ रहनेछैन।
Facebook Comment