चीनको परमाणु पनडुब्बी डुबेको दाबी
काठमाडौं । वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी गरिएको छ । समाचार एजेन्सी रोयटर्सले स्याटेलाइटलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। डुबेको पनडुब्बी झाओ वर्गको थियो र आणविक ऊर्जाबाट चल्थ्यो । घटना मे वा जुनमा भएको थियो तर यसको जानकारी अहिले मात्रै बाहिर आएको छ ।
धेरै अमेरिकी अधिकारीहरूले पनि पनडुब्बी डुबेको दाबी गरेका छन्। तर, चीनले यो कुराको पुष्टि भने गरेको छैन । वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे र आफूलाई यससँग सम्बन्धित कुनै जानकारी नभएको बताए।
मार्च १० मा म्याक्सर टेक्नोलोजीको एक स्याटेलाइट छविले वुहान नजिकैको शिपयार्डमा झोउ-क्लास पनडुब्बी डक गरेको देखाएको थियो। यो पनडुब्बी यसको लामो पुच्छर द्वारा चिनिन्छ। यसपछि मे १६ मा प्लानेट ल्याब्सको स्याटेलाइट छविमा पनि देखियो। जुनको अन्त्यमा फेरि फोटो खिचियो जसमा यो देखिएन। स्याटेलाइट छविहरूमा अनुसन्धान गर्ने टम शुगार्टले सबैभन्दा पहिले यो जानकारी दिए।
वाल स्ट्रिट जर्नलले भने पनडुब्बीलाई बचाइएको दाबी गरेको छ तर यसलाई पुनः सञ्चालनमा आउन केही महिना लाग्ने अनुमान गरिएको बताएको छ । पिपुल्स लिबरेशन आर्मी (पीएलए) ले पनि यो घटनाको पुष्टि गरेको छैन। अमेरिकी अधिकारीले यो डुबेको कारण थाहा नभएको बताए । डुब्दा त्यसमा आणविक इन्धन थियो कि थिएन भन्ने पनि थाहा छैन । यस दुर्घटनामा मानवीय क्षति भएको हो वा होइन भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
यसअघि गत वर्ष अगस्टमा पनि चिनियाँ आणविक पनडुब्बीमा ५५ सैनिकको मृत्यु भएको दाबी गरिएको थियो । चिनियाँ पनडुब्बी पहेँलो सागरमा एउटा ब्यारियरसँग ठोक्किएपछि त्यसको अक्सिजन प्रणाली फेल भएको थियो । यसपछि निसास्सिएर सैनिकको मृत्यु भएको खबर आएको थियो । यद्यपि चिनियाँ अधिकारीहरूले कुनै दुर्घटना भएको अस्वीकार गरेका छन्।
Facebook Comment