निकुञ्जभित्र होटल : वन्यजन्तुको बेहाल
चितवन राष्ट्रिय निकुञ्जभित्रका होटलहरू बाहिर निकाल्न धेरै पापड बेल्नु परेको थियो। २०६६ सालमा अन्तिम पटक म्याद थप गर्दा पनि वन मन्त्री र सचिवलाई मोटै रकम बुझाइएको सन्दर्भले यो विषय कति पेचिलो छ भन्ने कुरा जगजाहेर छ।
यो पटक पनि निकुञ्जभित्र होटल खोल्ने विषय आर्थिक लेनदेनसँग जोडिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को मस्यौदा तयार पार्ने तथा कार्यान्वयन गर्ने तालुक वन तथा वातावरण मन्त्रालयलाई नजरअन्दाज गरेर उद्योग तथा बाणिज्य मन्त्रालयबाट संशोधन विधेयक उठान भै संसदबाट अनुमोदन र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुले यो मुद्दा कति गम्भिर रहेछ भन्ने कुरा यसैबाट प्रष्ट बुझिन्छ।
कुनै पनि अपराधका चार वटा चरणमध्ये मनसाय वा उद्देश्य, योजना वा तयारी, प्रयास र घटना वा कार्य हुन्। निकुञ्जमाथि धावा बोल्ने दूरासय, कानून संशोधन गर्ने तिकडम वा योजना, संशोधनको प्रयासपछि संशोधनको कार्य पूरा भएर अपराधको एउटा चक्र पूरा भएको छ।
अब होटल खोल्ने अनुमति लिने दिने, भौतिक संरचना खडा गरेर वन्यजन्तुको बासस्थान कब्जा गर्ने, प्राकृतिक स्रोतको दोहन र वन्यजन्तुको चोरी सिकार गर्ने कार्यहरू घटित गर्ने अर्को चक्रको पर्खाइमा रहेका छन्।
क्षेत्रगत अधिकारप्राप्त वन तथा वातावरण मन्त्रालयको क्षेत्राधिकार मिचेर उद्योग तथा बाणिज्य मन्त्रालयले विधेयकको मस्यौदा तयार पारी पेश गर्नुनै न्यायको सर्वमान्य र सर्वव्यापी ‘प्राकृतिक न्यायको सिद्धान्त’ विपरित भएको छ। यसका लागि उक्त ऐन संशोधन गर्न जुन प्रकृया अपनाइयो, यो कानून निर्माण प्रकृयाकै उपहास हो। कानूनका आधारभूत पद्धतिलाई धज्जी उडाएर निर्माण गरिएको कानूनले कसरी देशमा सुशासनको ‘सुगा रटाई’ सार्थक हुन सक्छ ?
लोकतन्त्रमा कानूनको सर्वोच्चता कायम हुन सकेन भने त्यो कानून जतिसुकै उपयुक्त भए पनि त्यसको कुनै अर्थ रहँदैन। तर यहाँ कानून निर्माण गर्नेले नै कानूनको सर्वोच्चता नमान्नु योभन्दा ठूलो कूशासन वा कानूनको उपहास अरू के हुन सक्दछ?
ऐनको यो थपघट गैरसंवैधानिक एवं गैरकानूनी त छदैछ प्राकृतिक वातावरणको सन्तुलन र पर्यापर्यटनको विकासमार्फत आर्थिक समुन्नति हासिल गर्नेभन्दा पनि निकुञ्जभित्र होटल खोलेर खुलेआम गैँडा, बाघ, हात्ती, हिउँ चितुवा, कस्तुरी मृग शिकार गरेर खाग, छाला, दाह्रा र विना तस्करी गर्ने स्वार्थले प्रेरित भएको प्रष्टै छ।
यो देशको मूल समस्या भ्रष्टाचार एवं कुशासन हो। तिमीले देशको आर्थिक उन्नतिका लागि उद्योग कलकारखाना खोलेर राम्रो गर्दैछु भन्ने लागेको हो भने पनि त्यो काम गर्दा नै भ्रष्टाचार गर्छौ भने त्यो विधिले ल्याउने नतिजा कसरी सकरात्मक हुन्छ र त्यसबाट देशको समुन्नति हासिल हुन सक्ला?
वन्यजन्तुको बासस्थानका लागि चार वटा कुरा मुख्य हुन्। वन्यजन्तुका लागि बस्ने क्षेत्र, खाना, पानी, छहारी वा ओत लाग्ने वा लुक्ने स्थान, वा दुस्मनलाई छल्ने ठाउँ चाहिन्छ।
होटलका संरचना, कर्मचारी बस्ने आवास, गाडी राख्ने ठाउँ, हात्ती बाँध्ने हात्तीसार, खानेपानी, विद्युत, सडक, पौडी पोखरी, सुरक्षाका लागि पर्खाल, तारजाली आदि इत्यादिका लागि चाहिने क्षेत्र कब्जा गर्नुले वन्यजन्तुको क्षेत्र मात्रै कब्जा हुँदैन उसले प्रयोग गर्ने पानी, ओत लाग्ने छहारी विनाश हुन्छ र उसकाे खाना उब्जने स्थानमा भौतिक संरचना ठडिन्छ।
विशेषत जंगली हात्तीलाई उसको बासस्थान र हिँड्ने मार्गमा अप्राकृतिक वा भौतिक संरचना बनाएको मन पर्दैन। कतिपय बेला निकुञ्जले जंगलमा राख्ने सूचना पाटी पनि ध्वस्त पार्ने गर्दछन्। उनीहरू प्राकृतिक कुरा बाहेक अरू चिज आफ्नो मार्ग र बासस्थानमा देख्न चाहँदैनन्।
मानिसको होहल्ला, गाडीको आवतजावतले गर्दा हुने ध्वनी प्रदुषण, फोहोर, पानीको स्रोतको दोहन, विद्युत प्रसारण लाईन आदिले झनै वन्यजन्तुको बेहाल हुन्छ। निर्माण समयमा र सञ्चालन समयमा नै वातावरण प्रदुषण, कामदारहरूबाट हुन सक्ने चोरी सिकार, इन्धनको प्रयोगका लागि वन जंगल कटानी फडानी, चोरी सिकारका लागि कामदार कर्मचारीले वन्यजन्तुमाथि निगरानी गर्नेछन्।
विगतमा भएका यस्ता गतिविधिका कारण वन्यजन्तुको बासस्थानमा होटल व्यवसाय चल्नु हुँदैन भन्ने अभिप्रायले नै २०६९ देखि निकुञ्जभित्रका होटलहरूलाई सञ्चालन गर्ने अनुमति बन्द गरिएको थियो। दक्षिण एशियाको कुनै पनि देशका निकुञ्ज आरक्षभित्रको जग्गामा होटल व्यवसाय सञ्चालनमा छैनन्।
नेपालमा मात्रै यो किन आवश्यक प¥यो ? यो निकुञ्ज प्रवेश गरेर वन क्षेत्र अतिक्रमण गर्ने रणनीति हो। जो साँचो अर्थमा प्रकृतिलाई माया गर्ने पर्यटकहरू पाटे बाघ, गैँडा, हात्ती भएको बासस्थानमा टेक्न, छुन, स्पर्श गर्न मात्रै चाहन्छन् न कि उनीहरूको गतिविधिहरूले गर्दा वन्यजन्तुको विचरण, आहारबिहार, सन्तान उत्पादन, रेखदेखमा कुनै दख्खल पुगोस्।
जसरी जंगली जनावर मानव बस्तीमा प्रवेश गर्दा हामी हावाकावा हुन्छौ। त्यसैगरी जंगलमा मानिसको प्रवेश हुँदा पनि उनीहरू त्रसित हुने, साना साना बच्चा डराउने, गर्भवती जनावर डराएर गर्भपात हुने, भाग्दा घाइते, मृत्यु हुने हुन्छ।
जब राष्ट्रिय निकुञ्जभित्रको बासस्थान विनाश भएर वन्यजन्तु आफ्नो बासस्थानमा बस्न नसक्ने अवस्था हुन्छ, तब वन्यजन्तुहरू आहारको खोजीमा गाउँबस्तीमा प्रवेश गर्नेछन् र यसबाट मानव वन्यजन्तु द्वन्द्व बढ्नेछ।
जति पनि जंगली जनावरको आक्रमण भएको छ त्यसको मुख्य कारण उनीहरूको बासस्थान विनाश र उनीहरूको आहारविहार, सन्तानलाई पुग्न सक्ने खतराका कारण हुने गरेको छ।
निकुञ्जभित्रभन्दा बाहिर नै धेरै होटल छन्। बाहिर भएपनि पर्यटक आएकै छन् व्यवसाय चलिरहेका छन्। निकुञ्जलाई सन्तुलित रहन दिदा यो व्यवसाय लामो समयसम्म टिक्छ। एउटै निकुञ्जमा कसैले भित्र होटल खोल्न पाउने कसैले बाहिरै बसेर चलाउनु पर्ने यो पनि प्राकृतिक स्रोतको बाँडफाँडको सिद्धान्त विपरीत हुन्छ।
स्रोत बाँडफाँडमा यो विभेद किन ? जोसँग पैसा र पहुँच छ उसले प्राकृतिक स्रोतको खुल्लमखुल्ला उपयोग गर्न पाउने, जोसँग प्रशस्त बजेट छैन ऊ मुकदर्शक बन्नुपर्ने भयो। एकातिर वन्यजन्तुको बासस्थान बढाउन निकुञ्जभित्रका बस्तीलाई स्थानान्तरण र निकुञ्जको क्षेत्र विस्तार गरेर परम्परादेखि नै उपभोग गर्दै आएका समुदायलाई प्राकृतिक स्रोत उपयोगमा निषेध गर्यौं भने अर्कोतर्फ निकुञ्जभित्र होटल खोल्न दिनु भनेको नयाँ मानव बस्ती निर्माण गर्नु नै हो।
चितवन राष्ट्रिय निकुञ्जमा होटल बाहिर हुँदा पछिल्लो गणनामा वन्यजन्तुको आहारविहार, प्रजनन्, लगायतका गतिविधिमा कम दख्खल परेको छ जसले गर्दा गैँडा, बाघ लगायतका वन्यजन्तुको संख्या ह्वात्तै बढेको छ।
कुनै पनि व्यवसायको सिद्धान्त हो जसरी पनि मुनाफा कमाउने। उनीहरूले जे गरेर हुन्छ कसरी नाफा कमाउन सकिन्छ भन्ने मै ध्यान हुन्छ। अर्कोतर्फ होटल व्यवस्थापनले सबै कर्मचारीको निगरानी पनि गर्न सक्दैन र उसको मनमा उठेको लोभ, द्वेष, आकांक्षाको आकलन गर्न र बुझ्ने जिम्मा लिन पनि सक्दैन। कस्को मनमा को पस्न सक्छ र ? यसै सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको चोरी सिकारसँग सम्बन्धित घटनालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक होला।
गैँडाको बासस्थानको मुटु निकुञ्जभित्रको टाइगर टप्स टेन्टेड क्याम्प नजिकै २०६२ माघ महिनामा एउटा गैँडा चोरी सिकारीबाट मारियो। ‘गैँडालाई चार वर्ष’ पुस्तकको “गैँडाको लास” उपशीर्षकमा यो कुरा उल्लेख छ। त्यहाँ गैँडा मर्नु भनेको चितवनबाट गैँडा लोप हुने खतराको संकेत थियो।
यो घटनाको अनुसन्धान गर्दा पक्राउ परेका अभियुक्त वीर बहादुर कुमाल निकुञ्जभित्रका टाइगर टप्स होटल र मचान वाइल्ड लाइफ होटलका पूर्व कर्मचारी रहेछन्। बारा, डुमरवानाको हरि वि.क.लाई ल्याएर त्यो ठाउँमा गैँडा मारेका रहेछन्।
अत्यधिक गैँडा भएको त्यस्तो गोप्य क्षेत्रको बारेमा टाइगर टप्स होटलको कर्मचारी भएकोले उनले जानकारी पाए। हरि वि.क.ले गैँडाको खाग नेपालका पहिलो पाइलट भनिने रमेश पोख्रेललाई दिएका रहेछन्। उनी पनि पक्राउ परे।
गैँडाको खाग तस्करीको आरोपमा पक्राउ परेका मकवानपुर, मनहरिका एक जना आरोपीले सोधपुछका क्रममा ‘टाइगर टप्स होटलका पूर्व म्यानेजर हेम गुरुङ मनहरिमा आएर गैँडाको खाग पायौँ भने मलाई खबर गर्नु भनेर फोन नम्बर दिएर गएका छन्’ भने। उनीसँग गुरुङको मोबाइल नम्बर पनि थियो।
त्यो सुनेपछि मैले त्यो फोनमा उसैलाई फोन गर्न र सामान लिन आउनुस् भन्नु भने। फोन उठ्यो आरोपीले माथिको विषयमा कुरा गर्दा उनी अनकनाए। सायद उनले आरोपी पक्राउ परेको थाहा पाएका हुन सक्छन्।
आरोपीसँग फोन नम्बर हुनु र खाग भए खबर गर्नु भनेको हुँदा उनको पनि गैँडाको खाग तस्करीमा संलग्नताको सत्यता आकलन गर्न सकिन्छ। त्यो समयमा आरोपीबाट थप कुरा नखुलेको र गैँडाको खागको कुरा गरेका आधारमा मात्र अदालतमा पेश गर्न प्रमाण नपुग्ने हुँदा उनलाई भने पक्राउ गरिएन।
वन्यजन्तुको बासस्थानको मुटुमा होटल सञ्चालन गरेर संरक्षणमैत्री पर्यटन व्यवसाय चलाउनमा नाम कहलिएको टाइगर टप्स होटलका कर्मचारीको यो अवस्था छ भने अरूको बारेमा के भन्नु पर्यो र ? अन्नपूर्ण संरक्षण क्षेत्रको होटलभित्र हिउँ चितुवाको छाला भएको सूचनाका आधारमा मुस्ताङ मार्फाका एक जना होटल व्यवसायी हिउँ चितुवाका दुई वटा छालासहित मुस्ताङबाट पक्राउ परेका थिए।
प्रजायन्ते इति प्रजाः प्रजा शब्दको अर्थ हो, जो जन्म लिन्छ। प्रजाको अर्थ जन्म लिने मानिस मात्र होइन सम्पूर्ण चराचर जगतका प्राणी, वनस्पति र सम्पूर्ण जीव पनि हो। शासकको कर्तव्य हो की सम्पूर्ण प्रजाको संरक्षण, पालनपोषण गर्नु।
वन्यजन्तु, वनस्पति, मानिस सम्पूर्णको संरक्षण गर्नु नै प्रजाको संरक्षण हो। शासकले मान्छेको मात्रै होइन माछादेखि मौरीसम्म, बाख्रादेखि बाघ, हाँसदेखि हात्ती, कुकुरदेखि ढुकुर, चितुवादेखि रतुवासम्मको संरक्षण गर्नु पर्दछ।
वनको परिभाषा र सिद्धान्त नै बदल्ने गरी प्रकृतिमाथि अत्यधिक दोहन भइरहेको छ। त्यसको परिणामस्वरूप भूक्षय, बाढी, पैरो, अनिकाल, सुख्खा, गर्मी, वन विनाश, वन डढेलो, भौतिक संरचना निर्माणका कारण जलाधार क्षेत्र विनाश भै पानीको संचिति गर्ने क्षमतामा ह्रास आएकाले हाम्रो जीवन कष्टकर बन्दै गइरहेको छ।
वन कार्यालयले चुरेको टुप्पामा मन्दिर बनाउने, आयआर्जनका नाममा चितवनको चुरे क्षेत्रको सामुदायिक वनमा पौडी पोखरी निर्माण गर्ने अनुमति दिने, धार्मिक क्षेत्र, ध्यानकेन्द्रको नाममा निकुञ्जको सिमाना हेरफेर गर्ने, निकुञ्जको जग्गा दर्ता गर्न अनुमति दिने यस्तो वन विद्या हामीले कहाँबाट सिक्यौ ? र कसले सिकायो ?
साविक वन ऐन २०४९ को दफा ४९ र वन ऐन, २०७६ को दफा २६ (१) कबुलियती वनको उद्देश्यको (ङ) मा वनको संरक्षण र विकास हुने गरी पर्यापर्यटन व्यवसाय सञ्चालन गर्न भन्ने कानूनी व्यवस्था रहेको छ।
कबुलियती वनको उल्लेखित उद्देश्यभन्दा विल्कुलै भिन्न चन्द्रागिरी केबलकार तथा होटल सञ्चालन गर्न जे गरियो त्यो सर्वदा कानून पारित गर्ने विधायिकाले कबुलियती वन मार्फत वन संरक्षण र आर्थिक उपार्जन गर्ने मक्सद विपरित रहेको छ। वन नै मासेर भौतिक संरचना निर्माण गरेपछि त्यो क्षेत्र कसरी वन हुन्छ ?
निकुञ्जभित्र पनि यस्तै रजगज गर्ने ध्येयले यो सबै तिकडम गरिएको छ। राज्य संयन्त्रलाई प्रभावित पारेर कानूनमा भएको प्रावधान विपरित गैरकानूनी कार्य गर्नेले के बुझ्नु जरुरी छ भने राज्य संयन्त्र सधै कमजोर र भ्रष्ट हुँदैन।
एकदिन आउनेछ त्यो बेला कबुलियती वनको नाममा चन्द्रागिरी केबुलकारका लागि दिइएको त्यो क्षेत्र दिने र लिने दुबैले अदालतको कठघारामा उभिएर जबाफ दिनुपर्नेछ र जेलको कोठरीमा चिसो हावा खानु पर्नेछ। तिम्रा भावी सन्ततीलाई पनि सजाय हुनेछ। हेक्का राखे हुन्छ।
तराईको वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन प्रणाली, जैविक विविधता तथा चुरे संरक्षण र सन्तुलित पर्यावरणका लागि संरक्षित क्षेत्रलाई अति संवदेनशील क्षेत्र, पहाडमा सामुदायिक वन र हिमाली क्षेत्रलाई अति संवेदनशील जलाधार क्षेत्रका रूपमा संरक्षण गर्ने नीति नै नेपालको वनको सदुपयोग, जैविक विविधता संरक्षण र जलाधार क्षेत्रको उचित व्यवस्थापन गर्ने प्रणाली हुन सक्छ।
भू-उपयोगिता प्रणाली अनुसार देशको कुन क्षेत्रमा कस्तो पद्धतिको विकास गर्ने यो नै अहिलेको बुद्धिमत्ततापूर्ण पेशागत निर्णय हुनेछ। तराईका निकुञ्जले पु¥याएको मुख्य योगदान भनेको चुरे संरक्षण गरेर पर्यावरणीय सन्तुलन कायम भएको छ। यसलाई अझै वृद्धि गर्नुपर्नेमा उल्टै यसको विनाशमा लाग्नु भनेको भष्मासुर प्रवृत्ति हो र कूशासनको उत्कर्षता हो।
भौतिकवादीहरूमा भौतिक प्रकृतिलाई विनाश गर्ने गुण र ‘तातै खाऔ जल्दी मरौ’ भन्ने हुन्छ। तर हामीले प्रकृतिलाई सन्तुलित उपभोगबाट युगौयुगौसम्म भावी पुस्तालाई उपभोग गर्ने गरी हस्तान्तरण गर्नुपर्दछ।
हामीलाई उपभोग गर्ने अधिकार हाम्रो भागमा जति परेको छ त्यो मात्रै उपभोग गरौ। धेरै लोभ गरेर अर्काका भागमा परेको पनि लुटेर, खोसेर, सोसेर जबर्जस्ती गर्यौं भने त्यसले विनाश निम्त्याउनेछ। प्रकृतिको अत्यधिक दोहनले मानव अस्तित्व समाप्त भयो भने हामीले गरेको भौतिक विकासको के औचित्य हुन्छ र ?
मानिसले जे सिक्यो प्रकृतिबाटै सिक्यो, जे प्राप्त गर्यो प्रकृतिबाटै गर्यो। जति पनि औषधि बनेका छन् सबै प्रकृतिमा भएका तत्त्वहरूको संमिश्रणबाट बनाइएका छन्।
जीउनका लागि फेर्ने सास, बस्नका लागि आवास, गासका लागि अन्न, फलफूल, सागसब्जी, लगाउने लत्ताकपडाका लागि कपास, लड्नका लागि हतियार, सुत्ने पलङका लागि पनि प्रकृतिकै सहारा लिनु पर्दछ।
हामी खान, सुत्न, झगडा गर्न र सन्तान उत्पादनका लागि मात्रै जन्मेका हौं भने पनि पूर्ण रूपमा प्रकृतिमै आश्रित छौ। त्योभन्दा माथि मानव जीवनको मूल लक्ष्य हासिल गर्न पनि ध्यान र ज्ञानको आश्रयस्थल पनि प्रकृति नै हो। प्रकृति नै ज्ञानको भण्डार हो, सागर हो।
खानेपानी, सिंचाई, विद्युत, पशुपालनका लागि चाहिने पानी जंगलले गर्दा जमिनमा पानी पुनर्भरण तथा संचिति गर्दछ। यसले उपल्लो तटीय क्षेत्रमा बाढी पहिरोबाट गाउँबस्ती सुरक्षित राख्न मद्दत गर्दछ भने तल्लो तटीय क्षेत्रमा कटान तथा डुबान न्यूनीकरण भएर धनजनको क्षतिमा कमि आउनुका साथै कृषिभूमि मरुभूमिकरण हुनबाट जोगाउँछ। अन्न, फलफूल, सागपात, प्राणी, पक्षीको जैविक स्रोत जंगल नै हो।
जंगलकै जनावर, कीरा, चरा, पानी, हावाले नै बीउविजनको वितरण, परागसेचन गरिदिएका कारण अन्न, फलफूल, तरकारी उत्पादन हुन्छ र हामी बाँचेका छौं। घर बनाउन चाहिने काठपात, ढुङ्गा, गिट्टी, बालुवा जंगलबाटै प्राप्त हुन्छ। खनिज पदार्थ, जडीबुटी, आदिको स्रोत प्रकृति नै हो। मानव अस्तित्व जंगलमै आश्रित छ, मानिसका लागि जंगल नै मंगल हो। तसर्थ प्रकृति संरक्षण गर्नु हाम्रो दायित्व हो र यो नै गर्वको विषय हो।
लेखक चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पूर्व चिफ वार्डेन हुन्।
Facebook Comment