संरक्षण क्षेत्रको निजीकरण राष्ट्रिय सुरक्षा विपरीत

अहिले सर्वाधिक चासो चर्चा र चिन्ताको विषय बनेको छ निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्रको निजीकरण।

अति सुटुक्क मस्यौदा गरेर अति गोप्य चलखेल र छलखेल गरी चोर बाटोबाट ल्याइएको कानुनले देश विदेशका प्रकृति र संरक्षणप्रेमी समुदायलाई स्तब्ध तुल्याएको छ। वातावरण र संरक्षणविज्ञहरुलाई मर्माहत तुल्याएको छ। अग्रज र वर्तमान संरक्षणकर्मीहरुलाई आक्रोशित बनाएको छ।

सत्यता, नैतिकता पारदर्शीता र जवाफदेहीता हराएको नाजुक अवस्थाबाट देश गुज्रिरहेको छ। किनभने यो प्रकृति विरोधी, मानवता विरोधी, जनविरोधी, संरक्षण विरोधी र विश्व सन्धि महासन्धि विरोधी कानुनको मस्यौदाकार आजसम्म भेटिएको छैन।

संसदमा दफवार छलफल गराइएको कानुनबाारे जनप्रतिनिधिहरु नै बेखबर। राष्ट्रिय सभाबाट पारित भनिएको कानुन बारे त्यहाँका सभासदहरुनै अनविज्ञ र चिन्तित। र, प्रभाव लुकाएर, समृद्धि आइहाल्छ बढाइ चढाइ सपना देखाएर प्रमाणीकरण गराइएको यो कानुन बारे राष्ट्रपतिलाई पश्चाताप। सबैलाई, पहिला बिगार पछि पश्चाताप।

जिज्ञाशा पेचिलो छ-कसको इशारामा कहाँबाट किन कसको लागि बन्छ कानुन? संविधान र कानुनको अपनत्व स्वामित्व किन कसैले लिँदैन? र, किन ती व्यक्तिपिच्छे ब्याख्या अपव्याख्या र परिवर्तन भइरहन्छन्?

होटल, केवलकार, जिपलाइन, प्यारा ग्लाइडिङ, प्याफ्टिङ, हाइड्रो, ट्रान्स्मिसन लाइन, सडक, सुरुङ, रेलको डीपीआर तयार भएर अन्तिम सास फेरिरहेका अथवा पर्सेर बलि चढ्न तम्तयार निकुञ्ज आरक्षहरु कसरी बनेका थिए र नेपालको संरक्षण पहल प्रयास मोडल किन कसरी विश्व प्रशिद्ध थियो, त्यसैमा हाम्रो यो आलेख केन्द्रित हुने छ।

सामरिक तथा रणनीतिक महत्व

नेपालको पहिलो रक्षा कवच अकल्पनीय, अनमोल प्रकृति र धारिलो, अभेद्य, अखण्ड धरती हो। माथि गगनचुम्वी हिमाली श्रृङ्खला र तल ४ कोसे झाडी नभएको भए सुन्दर शान्त विशाल नेपालको रक्षा सम्भव थिएन। निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रहरु तिनै प्राकृतिक रक्षा कवचका अवशेष हुन्।

प्रकृति धर्ती कमजोर हुँदा र सूचना प्रविधि विकासको घोडा चढेको दुश्मन बलियो हुँदा दुई खुला सीमाना अतिक्रमण नहुन् भनेर उत्तर दक्षिण दुईलाइन संरक्षण क्षेत्रको परिकल्पना र स्थापना भएको सामरिक महत्वलाई बुझ्न नसक्नु वा बुझ पचाउनु राष्ट्रिय शरमकाे  कुरा हो।

भविष्यमा पानी हीरा जस्तो महँगो हुन्छ र त्यही पानी कब्जाको लागि तेश्रो विश्व युद्धको प्रारुप अघि आउने छ भनेर नदी प्रणाली सुरक्षार्थ मुख्य मुख्य नदीको शिर-पुछारमा संरक्षण क्षेत्र स्थापना गरिदिएको दूरदर्शी रणनीतिको नजर अन्दाज गर्नु सरासर राष्ट्रिय हित र राष्ट्रिय सुरक्षा विपरीत छ।

अपिनाम्पा संरक्षण क्षेत्रको शिर-पुछार र सगरमाथा राष्ट्रिय निकुञ्जको शिर-पुछार क्वाङ्दे कोशीटप्पु गुमाएर चेत नआएको संरक्षण क्षेत्रको मूल अभिभावक र सर्वोच्च संरक्षक सरकार आफैं किन बचेकुचेका निकुञ्ज आरक्ष र संरक्षण क्षेत्रलाई समृद्धिको सपना बाँडेर बेच्न उद्यत छ?

आज सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रिय प्रकृति एवम् संरक्षण समुदाय गहिरो पीडामा छन्। त्यही पीडामा मल्हम लगाउँदै शताब्दियौं लगाएर रक्षा कल्याण सम्मान गरेको विश्व सम्पदाहरुको राष्ट्रिय सुरक्षा छाता भत्किनु हुँदैन र कोमामा पुर्‍याएको प्रकृतिले अन्तिम न्याय पावस् भन्ने संयुक्त प्रार्थना गर्न अन्तिम घडीमा हामीले आलेख पस्किएका छौं।

पृष्ठभूमि

आधुनिक इतिहासको कुरा गर्दा २००७ साल पछिको संक्रमणकालीन वर्षहरुमा वन्यजन्तु र तिनको वासस्थान धरापमा पर्‍यो। औलो उन्मुलन घोषणा पछि चितवनमा अकल्पनीय बसाई सराई र चाप बढ्यो। १ बिघा बक्सिसले १० र २ ले २० बिघा लुट्ने जसको शक्ति उसको भक्ति भएपछि एकसिंगे गैंडा लोप हुने अवस्थामा पुगे।

१ हजारको संख्या ९० मा झरेपछि राष्ट्रिय अन्तर्राष्ट्रिय बिज्ञहरुले गैंडा लोप हुने भविष्यवाणी गरे। नेपाल चिनाउने प्रतीक र राष्ट्रिय गौरव गैंडा संरक्षण गर्नुपर्दछ भन्ने संरक्षण प्रतिज्ञा पलाएपछि महेन्द्र मृग कुञ्जहुँदै चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको प्रारुप बन्यो।

महेन्द्र मृग कुञ्जको न्वारान गर्ने लाउकेहरुले चितवनलाई महेन्द्र निकुञ्ज नाम राख्न मरिहत्ते गरे। राजाले मानेनन्। पछि बर्दियालाई वीरेन्द्र निकुञ्ज र रारालाई वीरेन्द्र ताल नाम राख्ने लाउकेहरुको जिद्दी पनि काम लागेन।

छोटकरीमा, वन जंगल र वन्यजन्तु संरक्षणको इतिहास लामो छ। खोज्दै जादा धर्म युगमा धर्मले संरक्षण गर्दथ्यो। जंगबहादुरले आफूले सिकार गरे अरु राणालाई निषेध गरे।

शाह राजाहरुलाई शाही सिकार आरक्ष राख्न चाकडी गर्नेहरुको केही लागेन, उनीहरुले एकपछि अर्को निकुञ्जहरु स्थापना गर्दै गए। आक्कल झुक्कल आफूले सिकार गरे तर भाइ भारदार शाही नातेदारलाई सिकार निषेध गरे। औंला दिँदा हातै खाइदिन्छन् र संरक्षण भर्सेलामा जाला भन्ने मनोविज्ञानले।

गैंडाको पहिलो काल

१ हजारबाट एक्कासी ९० मा झरेर लोप हुन लागेका गैंडा संरक्षण गर्न बल र बन्दुकको सहारा नलिइ भएन। चितवनको जग्गा लुट्  राेक्न र निकुञ्जको साँध सीमाना लाउन मुलुककै महसुर सैनिक कमाण्डरको माग र खोजी भयो। कमान्डर नरराज थापा कर्नेललाई खटाइयो। उनलाई भूमाफियाहरुले घेराबन्दी गरे। धरापहरु थापे।

ढुंगामुढा गरे। तर उनले हरेक कालको सामना गर्दै एकभक्ति नुनको सोझो गरेर आजको चितवन राष्ट्रिय निकुञ्जको साँध सीमाना र लोप भैसकेका गैंडालाई बौराए। चारकोसे झाडी फाँड्ने डाकाहरुका सर्दारलाई ए भालुभुत्ते हो भनेर लगारे।

दिनभरि खेदेर डाँडा कटाएका डाकाहरुले रातभरि टहरा हालिसक्थे। नरराजको काम ती डाकाहरु लगार्ने र गैंडा जोगाउने भयो। हारेका लखतरान डाकाहरुले नरराजको नाम रिसले उल्टो भालुभुत्ते राखिदिए।

चितवन पछि बर्दिया, शुक्ला, कोशी टप्पु, सगरमाथा निकुञ्ज बनाउन पनि भालुभुत्तेको योगदान छ। उनको नामै काफी थियो। उभ्याइदिए पुग्दथ्यो। पशुपतिले धानेको देशमा भालुभुत्ते निकुञ्जहरु बनाउन वरदान भए। किनभने वल बन्दुक र भय विना निकुञ्जहरुको निर्माण सम्भव थिएन।

समयमा खान र सुत्न नपाएर अल्सरको रोगले ग्रस्त भालुभुत्ते राम राम होइन, गैंडा गैंडा पुकारेर स्वर्गारोहण हुनुभयो। तर उहाँका हाकिमहरु संरक्षण हस्ती विश्वनाथ उप्रेति र रामप्रित यादव जीवितै हुनुहुन्छ।

गैंडाको दोश्रो काल

भालुभुत्तेले बौराएका गैंडाहरुलाई दोश्रो काल आयो-द्वन्द्व। चिवनबाट स्थानान्तरण गरेर बर्दिया लगेका गैंडाहरु बिउ पनि नराखेर समूल नष्ट भए। गैंडाले भरिएको सुन्दर शोभायमान बबई उपत्यका गैंडाबिहीन उजाड खण्डहर भयो।

बर्दियाले बाघ र बाघको आहार पनि गुमायो। द्वन्द्वले शुक्ला, चितवन, पर्साका बाघ पनि सखाप बनायो। शुक्ला, बर्दिया र पर्सामा बाघ घटेर क्रमशः ८, १८ र ४ को संख्यामा झरेपछि बाघ विज्ञहरुले बाघ लोप हुने किटानी गरे।

द्वन्द्व बिराम भयो। विस्तृत शान्ति सम्झौता लागू भयो। तर निकुञ्जमा पल्किएको कालले बिश्राम लिएन। झन् उफ्रीउफ्री आधुनिक हतियार प्रयोग गरेर चितवनमा दिनहुँ गैंडा मारिरह्यो।

महसुर कालले गोली हानेर जिउँदो गैंडाको खाग काटेर लग्यो। त्यही नाक काटिएको गैंडाले हो पुनः लोप भइसकेका गैंडा र बाघलाई बौराएको। संरक्षण प्रयासलाई शून्य सिकारको उत्कर्षमा पुर्‍याएको। र, विश्वलाई चकित तुल्याएको।

टिमविल्डिङ र टिमवर्क

द्वन्द्वका खाली निकुञ्ज भर्न सजिलो थिएन। पर्लय थियो। बृहद टिम निर्माण र टिमवर्कको जरुरी थियो। टिम निर्माण र टिमवर्कको पाठ र अभ्यास बर्दियामा भइसकेको थियो। जिल्ला न्यायाधीश नवराज उपाध्याय र जिल्ला प्रहरी प्रमुख टपेन्द्र हमालले ठूलो त्याग गरेर पुर्‍याएको संरक्षण योगदान र अभ्यास पछि संस्थागत हुँदै गयो।

प्रकृति संरक्षणलाई म्यान्डेट् होइन, मुटु चाहिन्छ भन्ने उहाहरुको अटल विश्वास र मान्यता लोकप्रिय भयो। त्यो असल अभ्यास पुस्तान्तरण हुँदै गयो।

संक्रमणकालमा वन्यजन्तु अवैध व्यापार अनुगमन र नियन्त्रण गर्न सिआइबीको पिलार फोर स्थापना भयो। स्थापनाकालको छोटो समयमा सिआइबीले वन्यजन्तु अंग माग र ब्यापारको जरा काटिदियो। मागको मुहान सुकाइ दियो।

दर्जनौं गैंडा मार्ने फरार कुख्यात गैंडा सिकारी राजकुमार प्रजालाई सिआइबीले निमेषभरमा इन्टरपोलको सहयोगमा मलेसियाबाट च्याप्प समातेर नेपाल ल्यायो।

सिआइबीका सफलता र उपलब्धिहरुको फेहरिस्त बाक्लो पुस्तकमा अटाउँदैन। अन्तर्राष्ट्रिय कदर र पुरस्कारले सम्मानित सिआइबीले नेपालको संरक्षण पहल र प्रयासको गौरवलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत पुर्‍यायो।

श्रीमान नवराजले हालेको जगमा आज वातावरण कानुनविद्हरुको फलामको पर्खाल खडा भइसकेको छ। हरेक संकटमा प्रकृतिलाई सर्वोच्चको आदेशले अन्तिम रक्षा गर्दै आएको छ। प्रकृतिले पाएको न्यायको फेहरिस्त पनि लामो छ। अहिले संरक्षण क्षेत्र बचाउन सर्वोच्चमा परेको रिट वातावरण संरक्षण कानुनबिद्हरुकै हिम्मत र सदासयता हो।

द्वन्द्वको कालबाट गैंडा र बाघ जोगाउन खडा भएको अर्को रक्षा पर्खाल स्थानीय समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा समूह (सिबिएपियु) हो। द्वन्द्वले लथालिंग पारेको बफरजोनको समुदायलाई उर्जा भर्ने र संरक्षणमा फर्काउने काम सिबिएपियुले गर्‍यो।

बर्दियामा २ सय बढी अबैध हतियार र आखेटोपहार संकलन गरेर सिबिएपियुले राष्ट्रिय अन्तर्राष्ट्रिय संरक्षण समुदायको स्यावासी पायो। बर्दियालाई मानव-वन्यजन्तु सह-अस्तित्व कायम गर्न गराउन र स्वर्ग बनाउन आज पनि सिबिएपियु सक्रिय छ।

बिगार्न, भत्काउन सजिलो छ। सफलताको धरोहर खडा गर्न र अड्याउन कठिन हुन्छ नै। भालुभुत्तेको रगत पसिनाको संरक्षण छानो आज चुनौतीको कसीबाट खारिँदै, तिखारिँदै मजबुत र गर्वयोग्य भइसकेको थियो।

संरक्षण सफलतासँग राजनीतिक, आर्थिक, कुटनीतिक सफलता हाँसिल भएको भए गैंडाको आयु ५ शताब्दीलाई सुनिश्चित थियो। दुर्भाग्य, गैंडाले सुशासनको सुल्टो यात्रा देख्न नपाई नेपालको धरती छाड्नु पर्ने भयो।

शून्य सिकार

बज्र बलियो अग्लो अभेद्य अक्ष्क्षुण टिम बनेपछि शून्य सिकार हाँसिल भयो। नेपालले अन्तर्राष्ट्रिय संरक्षण पुरस्कारहरु पायो। हात्तीहरुको चोरी सिकारले हैरान जाम्बियन आर्मी चीफ चितवनको शून्य सिकार बिधि र प्रारुप हेर्न आउनु भयो।

ऐतिहासिक सुरक्षा खम्बा नेपाली सेनाले शून्य सिकारको श्रेय सिआइबी, सिबिएपियु र अन्य संरक्षण साझेदार संघ संस्थाहरुलाई दियो। तर आफूले कहिले लिएन।
अखण्ड टिमको टिमवर्क भयो भने विश्व प्रशिद्ध संरक्षण मोडल बनाउन सकिन्छ भन्ने आत्मविश्वास जगाए सिआइबी र सिबिएपियुले।

विस्तृत शान्ति सम्झौतामा जंगल डिउटीका हतियार कन्टेनरमा नपठाउने निर्णय र नीतिले शून्य सिकार हासिल गर्न मद्दत पुग्यो। भलै विना फायरिङ यो उपलब्धि प्राप्त भएको थियो।

रिक्त स्थान

अहिले टिम अपूरो छ। चरम राजनीतिकरण र ब्यापारीकरणले संरक्षण छायामा परेकोले टिम पूर्ण र सशक्त हुन बाँकी छ। वन्यजन्तुको अबैध अंगहरु ओसारपसार र भण्डारण हुने मुलुकको खुला सीमानामा तैनाथ सहस्त्र प्रहरी बललाई वन्यजन्तुको अवैध ब्यापार अनुगमन नियमन नियन्त्रण गर्न सरकारले बललाई विशेष म्याण्डेट दिन जरुरी छ। तालिम र श्रोत साधन सम्पन्न बनाउन विलम्ब भएको छ। सीमा सुरक्षा कडा गर्ने हो भने प्रकृति संरक्षणको जिम्मेवारी अरु सुदृढ र परिणाममुखी हुनेछ।

गैंडाको तेश्रो र अन्तिम काल

१ करोड ५० लाख वर्ष पुरानो गैंडाले आफूलाई वाताबरण अनुकूल बनाउदै आयो। नेपालमा हरेक कथित् परिवर्तनले गैंडा र गैंडाका बासस्थानलाई तीव्र प्रहार र विनास गरिरह्यो।

गणतन्त्रको प्रहार, धराप र ब्यापारले गैंडा सफाया हुने स्पष्ट संकेत गरेको छ। ५२ वर्ष पुरानो विश्व कै नमूना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको संशोधित कानुनले गैंडाको आयुलाई १० बर्षमा झारेको गैंडा बिज्ञहरुको दावी छ।

निजी लगानी निकुञ्जभित्र छिरेपछि सडक, सुरुङ, हाइड्रो बनाउन बैध-अबैध बिष्फोटक पदार्थ गैंडाको घरभित्र छिर्ने छ। निकुञ्ज भित्रका होटल चोरी सिकारी र अवैध ब्यापारी तथा तस्करको अखडा हुने छन्। चोरी सिकार र खागको लेनदेन ब्यापार पनि विगतमा जस्तै निकुञ्जका होटलभित्र खलास हुनेछ।

राज्य मुक्दर्शक र निरीह भएर हेरेको हेरै हुनेछ। प्रकृतिप्रेमी जनप्रतिनिधिहरु पश्चाताप गर्ने छन्। भावी पिढीले अहिले जस्तै सत्ता सरकार र हामी जस्ता अग्रजहरुलाई सत्तोसराप गर्ने छन्। तर निजी निकुञ्ज आरक्ष र सफाया भैसकेका गैंडा पुनः फर्केर आउने संभावना रहने छैन। जसरी राजधानीको नदीहरु र फेवताल पुरानो आकृतिमा फर्कने गुञ्जायस छैन।

अन्तिम काल सिकारीबाट होइन अभिभावक र संरक्षक सरकारको अक्षम्य नीतिबाट आउनु दूर्भाग्य हो। यो कानुन कार्यान्वयन हुनासाथ स्वार्थ समूहहरुको निकुञ्ज कब्जा शुरु हुने छ। र, गैंडा लोपको काउण्टडाउन शुरु हुनेछ। १० वर्षमा शून्य गैंडाको समाचार आउने छ। के भन्लान भावी सन्ततिहरुले।

के भन्लान ५० वर्षमा जंगल डिउटीमा जीवन उत्सर्ग गर्ने नेपाली सेनाका १३० चिरात्माले। उत्ति नै संख्याका निकुञ्ज, वन र स्थानीय समुदायका चिरात्माहरुले।

निकुञ्ज विस्तारलाई घर खेत दान गर्ने विपन्न दानी समुदायले। संरक्षणलाई उच्च प्राथमिकता दिइरहेका छिमेकी देशहरुले। र, नेपालको संरक्षणमा लगानी गर्ने विश्व संरक्षण समुदायहरुले।लाजको पसारो। राष्ट्रिय दरिद्रता र वदनामको पराकाष्ठा।

वातावरणीय सेवाको शिरछेदन

निकुञ्ज आरक्षले कमाएन, राजश्व बढाएन भन्ने ब्यापारी बसमा परेका नेताहरुको सुगा रटाई छ। बाघ गैंडा बढी भयो भाष्य निकुञ्ज निजीकरणको डिजाइन हो भनेर हामीले बराबर भनेकै हो। अहिले पनि ७० प्रतिशत पर्यटकको गन्तब्य र आकर्षण बाघ गैंडा र निकुञ्जका हिमालहरु नै हुन्। ती सुनको अण्डा दिइरहने पंक्षी जस्तै हुन्।

युगयुगसम्म ब्याज दिइरहने राष्ट्रिय गौरब बेचेर साँवाको भोज खान उद्यत सरकारको यो आत्मघाती कदमले भावी सन्ततिको सम्पूर्ण वातावरण मौलिक हक हरण गर्ने छ।
वातावरणीय सेवा कुनैपनि धनराशीसँग तुलना गर्न मिल्दैन। त्यसैले संरक्षण क्षेत्रहरु पृथ्वीकै अतुलनीय, अति विशिष्ट, अति संवेदनशील र गौरवशाली अन्तर्राष्ट्रिय पुँजी हुन भनिएको हो।

हामीलाई सास फेर्न दिनको ५५० लि. अक्सिजन चाहिन्छ। प्रति लिटर १ हजार बजार मूल्यको अक्सिजनको मूल्य ५ लाख ५० हजार हुन आउँदछ। एउटा स्वस्थ रुखलाई १०० लिटर अक्सिजन उत्पादन गर्न १ वर्ष लाग्छ। त्यो रुखले बार्षिक २२ केजी बिषाक्त कार्वनडाईअक्साईड् शोषेर हाम्रो श्वास प्रश्वासलाई सहयोग गरिरहेको हुन्छ। स्वच्छ सफा पानीको मूल्य अनमोल छ।

निकुञ्ज आरक्षको कार्वन सञ्चितीकरण क्षमता झन धेरै हुन्छ। कार्वन सञ्चित गरेर जलवायु भुक्तानी लिन जोडबल गर्नुपर्ने ठाउँमा हामी सुनको अण्डा दिने पोथी मारेर झोलभात खान आत्तुर छौं। अन्तिम रक्षक सरकार हो।

राज्यले सम्पूर्ण शक्ति लगाएर निकुञ्ज र वन्यजन्तुको स्थापना र लगानी गरेका संरक्षण क्षेत्र जोगाउन बढाउन ढाल भएर उभिनुपर्ने सरकार आफैं छलवाटोबाट यी गौरवशाली पुँजी किन व्यापारीका पोल्टामा हालिदिन मरिहत्ते गरिहरेको छ। बुझिसक्नु छैन।

पूरा नभएको पशु आशिष

गैंडाको मुलुकमा राजनीतिक स्थिरता, स्थायी सरकार र सुशासन आवस् भनेर अवोध गैंडाले आशिष दिएको २ सय वर्ष भयो। जंगलबाट चियाएर हेर्दा लोभ पाप दरिद्रताको ठाउँमा आँगन आँगनमा समृद्धि र सुखको फूलहरु फुलेको बगैचा देख्न पाइयोस भन्ने गैंडाको चाहना थियो।

सुशासन र समृद्धि दिन असफल सरकारले अन्ततोगोत्वा गैंडालाई नै सफाया गरेर धनी हुने स्वप्न देख्यो। शून्य गैंडाको उल्टो यात्रा देखेर अबोध गैंडाको आत्मा कति रोयो होला त्यो अनुमान लाउन नसक्ने कुरा भयो।

उपसंहार

हामी विकास बिरोधी होइनौं। हामी जोडदार र शीघ्र विकास माग्ने दाजुभाइ हौं। हामीले दीर्घ सेवा गरेका अग्र मोर्चाको सुरक्षा निकायहरु विकास र समृद्धिका सबसे धेरै पुजारी हुन्।

कठोर परिश्रम, उच्च जोखिम र राष्ट्र र राष्ट्रवासीका खातिर त्याग र वलिदानी दिने सबै सुरक्षा निकायहरुको जोडदार पुकार र माग छ- छिटो दुःख कष्ट हरण होस्। समृद्धि र सुख आवस्।

तर कुशासनबाट १ मुठी मान्छेलाई होइन। पहिला भूईँका बिपन्न बर्गलाई। जल जंगल, जमीन, जनता, जीवजन्तु, जडिबुटी, जीवन बुट्टी (हावा) कौडीको भाउमा बेचेर होइन, भावी पुस्तालाई बचत गरेर।

वागमती, बिष्णुमती, मनहरा, टुकुचा, नख्खु, अरुण, कोशी, गण्डकी, नारायणी, महाकाली, फेवाताल, क्वाङ्दे जस्तो सबै खाएर होइन, भविष्यलाई साँचेर। युगयुगसम्म सुनको अण्डा दिने साँवा पोथी ठहरै मारेर होइन, भविष्यका वालवालिकाको ब्याज सुरक्षित राखेर।

सुरक्षा फौजहरुको भन्दा विपन्न आम जनताको त्याग र वलिदान हजार गुना महँगो र ठूलो हुन्छ। संरक्षण क्षेत्रको स्थापना र विकास गर्न विपन्न वर्गको धेरै रगत बगेको छ। जनधनको क्षति भएको छ। र, त्यो वर्गको जोडदार माग पनि समृद्धि र सुख हो।

जिम्बाब्वेका सेना प्रमुख।

तर, पुर्खाको रगतको नासो घरानालाई बेचेर होइन, ध्वस्त पारेर होइन, त्यो सौन्दर्यता र गौरवलाई रक्षा गरेर सुशासन मार्फत ल्याउने आउने समृद्धि आमजनताको तीब्र चाहना हो। लगानीकर्ता शुभेच्छुक विश्व समुदायको जोडदार माग हो।

सरकारले वागमती मिचेर, सम्पदा बेचेर, प्रकृति मासेर खोजेको जस्तो कालो दुर्गन्धित समृद्धि होइन, सेतो सुवासयुक्त शोभायमान गौरवशाली समृद्धि सबैको साझा माग हो। जुन नेतृत्वको त्याग, वलिदान र सुशासनबाट मात्र आउन संभव छ।

पारिस्थितिकीय प्रणाली (इको सिष्टम) बाट हामीले पाठ सिक्ने कि नसिक्ने? बाघले बल गरे भने भएभरका जनावर मारेर जंगल खाली गर्न सक्छन्। तर उनीहरुलाई सुनको अण्डा दिने साँवा सक्नु छैन।

“जननी जन्म भूमिश्च स्वर्गादपि गरियशी” सुरक्षा फौजको कण्ठस्थ आदर्श हो। त्यही स्वर्गका अति बिशिष्ट, अलौकिक, अनमोल, अमूल्य अति संवेदनशील क्षेत्र हुन् विश्व सम्पदा निकुञ्जहरु। नया भाष्य जस्तो निकुञ्ज भनेको केवल हिंस्रक बाघ भालु बस्ने कुठाउँहरु होइनन्।

कञ्चन पानीको नदी प्रणाली, झरना ताल, सिमसार, बन पैदावर, स्वच्छ सफा सर्वोत्कृष्ट हावा, जनता, साँस्कृतिक विविधता, जीविकोपार्जन साराको समष्टिगत रुप हो निकुञ्ज। भित्र निर्जन र शान्त, बाहिर साँस्कृतिक विविधताको सुनौलो घेरा।

मानव-वन्यजन्तु सह-अस्तित्व कायम राखेर हाँसी खुशी बसेको सुखी संस्कारी जनताको गौरवशाली घेरा। कोर एरिया घुमेर रमाएर आएका पर्यटकहरुलाई अतिथिदेवो भवः र वसुदैव कुटुम्वकम् मान्ने हीरा जनताको सुन्दर संसार। त्यस्तो पो कल्याणकारी राज्य।

भीरमा गइसकेको सरकारलाई राम राम प्रार्थना गर्नु बाहेक अर्को विकल्प वाँकी छैन। अन्तिम सास सर्वोच्च अदालतको अक्सिजन सिलिण्डरमा निर्भर छ। र, प्रकृतिले सधैं न्याय पाइरहेको पूर्व नजीरहरुको आधारमा विश्व सम्पदा र भावी सन्ततिहरुको पुँजीको अन्तिम रक्षा कल्याण हुनेछ भन्ने आम विश्वास छ।

५० वर्षमा सारा मिलेर, साराको त्याग र बलिदानले सगरमाथाको सिखर माथि पुर्‍याएको विश्वलाई चकित पार्ने राष्ट्रिय सुरक्षासँग सम्बद्ध संरक्षण मोडल तासको घर जस्तो भताभुंग नभत्कियोस् भन्ने हाम्रो साझा प्रार्थना हो। पशुपतिनाथ र पशुआशिषले रक्षा गरेको मातृभूमिका निुकञ्ज, आरक्ष र संरक्षण क्षेत्रको भविष्यलाई सर्वोच्चको अक्सिजनले जीवन्त राखोस्, त्यही छ हाम्रो अन्तिम साझा पुकार।

(पूर्व सिआइबी प्रमुख डिआइजी र पूर्व राष्ट्रिय निकुञ्ज निर्देशक वृगेडियर जनरल द्वन्द्व र संक्रमणकालका समकालीन संरक्षण अधिकारीहरु हुन्। हाल निवृत्त दुवै जना प्रकृति संरक्षण र सुशासनका अभियन्ता हुन्।)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *