इरानको मिसाइल आक्रमणको बारेमा इजरायलका सहयोगीहरूले के भने ?

डिसी नेपाल
१६ असोज २०८१ १२:३७

काठमाडौं । इजरायलका सहयोगीहरूले मंगलबार राति इरानको मिसाइल आक्रमणको निन्दा गरेका छन्। यी आक्रमणहरूबाट आफूलाई बचाउन लाखौं इजरायली नागरिकहरूले बम शेल्टरहरूमा शरण लिनुपरेको थियो।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इजरायलको सुरक्षाप्रति आफ्नो प्रतिबद्धता देखाउन मध्यपूर्वमा फ्रान्सको सेना परिचालन गरिएको बताएका छन् ।

उनले “लेबनानी नागरिक र संस्थाहरूको समर्थनमा” सम्मेलन आयोजना गर्ने वाचा गरे।

यससँगै उनले लेबनानमा रहेको आफ्नो सैन्य कारबाही जतिसक्दो चाँडो अन्त्य गर्न इजरायललाई आग्रह गरेका छन् ।

जापानी प्रधानमन्त्री शिगेरु इसिबाले इरानको आक्रमणको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भएको बताएका छन्। उनले सबै दललाई संयमता अपनाउन आग्रह गरे ।

पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री इसिबाले भने, “हामी यसको (इरानी आक्रमण) घोर भर्त्सना गर्छौं। साथसाथै, हामी परिस्थितिलाई शान्त पार्न र द्वन्द्वलाई युद्धमा परिणत हुन नदिन सहयोग गर्न चाहन्छौं।”

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको क्षेप्यास्त्र आक्रमणलाई “डरलाग्दो” भनी वर्णन गरे र यदि द्वन्द्व बढ्यो भने यसले “नागरिकहरूलाई जोखिममा पार्ने” चेतावनी दिए।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इरानको आक्रमणपछि इजरायलका रक्षामन्त्री योभ गालान्टसँग कुरा गरेको बताएका छन् ।

दुबैले इरानले प्रहार गरेको करिब २०० ब्यालेस्टिक मिसाइलहरू विरुद्ध इजरायलको रक्षा गर्नको लागि समन्वयात्मक सहयोगको प्रशंसा गरेका छन्।

अस्टिनले अमेरिकाले इजरायलतर्फ आउँदै गरेको इरानको मिसाइललाई रोकेको बताए ।

एक विज्ञप्तिमा अस्टिनले भनेका छन्, “हामी इरानको कार्यको निन्दा गर्छौं र इरानलाई थप आक्रमण र त्यसले समर्थन गर्ने आतंकवादी संगठनहरूलाई आक्रमण रोक्न आह्वान गर्दछौं।”

उनले भने, “इरानको आक्रमणबाट ज्यान जोगाउन मद्दत गर्ने र इजरायलको रक्षा र व्यापक द्वन्द्व रोक्न सहयोग गर्ने अमेरिकी सेनाको कौशलता र बहादुरीमा मलाई गर्व छ।”

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इरानले इजरायलमा गरेको आक्रमणको निन्दा गरेका छन् । यसले निर्दोष नागरिकको ज्यान जोखिममा परेको उनले बताए ।

“हामी यस आक्रमणको बिरूद्ध आफ्नो रक्षा गर्ने इजरायलको अधिकारलाई पूर्ण रूपमा समर्थन गर्दछौं। र हामी सबै नागरिकहरूको सुरक्षाको लागि यस क्षेत्रमा तनाव कम गर्नको लागि हाम्रो आह्वान दोहोर्याउँछौं,” ट्रूडोले ट्विटरमा पोस्ट गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *