नवदुर्गाको महत्व

अमेरिकाबाट नेपाली राशिफल

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चण्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम्।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः।।

आद्यशक्ति जगज्जननी दुर्गाले विभिन्न परिस्थितिमा अनेकौं रूपमा अवतरित भएर मानवजगत् र सन्त, साधकको कल्याण गर्नुभएको देवीभागवतबाट पुष्टि हुन्छ। एक संवत्सरभित्र चारवटा नवात्रहरू पर्दछन्। नवरात्रमध्ये शारदीय नवरात्रमा दुर्गाभवानीको हर्षाेल्लासका साथ पूजा हुन्छ।

नवरात्रअन्तर्गत प्रतिपदाकै दिन दीप, कलश, गणेश र स्थापित देवीको पूजनपश्चात् मासभक्तबली (खिचडी) दिनुपर्दछ। अथवा, कुभिण्डाको बली पनि देवीलाई प्रिय हुन्छ। सोही दिन गहुँ र जौ मिसाएर ॐ जयन्ती मंगला काली…मन्त्रले जमरा राख्ने गरिन्छ।

यसै गरी द्वितीयाको दिन प्रतिपदाको दिन जसरी नै पूजा गरी कुमारीको पनि पूजा गर्नुपर्दछ। यही क्रमले षष्ठी तिथिसम्म पूजा गरी बेलुकीको समयमा गीत वाद्यादि गरी बिल्ववृक्षमा देवीबोधन गर्नुपर्दछ, अर्थात् बिल्वनिमन्त्रण गर्नुपर्दछ। बेलको हाँगामा तेल र हर्दी लेपन गरी मन्त्रसहित उद्बोधन गर्नुपर्दछ।

सप्तमीका दिन पहिलेको जस्तै पूजापाठ, नरिवल बलीआदि गरी बेलुकीको समयमा बेलवृक्षको नजिक गएर पूजा गरी बेलपत्र ग्रहण गर्नुपर्दछ। गीतवाद्यादि गर्दै नवपत्रिकालाई दशैँघरमा प्रवेश गराउनुपर्दछ। यही दिन भद्रकाली, सरस्वतीको पूजा गर्ने विधान रहेको छ।

अष्टमीका दिन बिहान नित्यपूजा गरी नौवर्षे कन्यालाई पूजा गर्नुपर्दछ। पूजा गरिएकी कन्यालाई नैवेद्यादि अर्पण गर्नुपर्दछ। राति कालरात्री देवीको विधिविधानअनुसार पूजा गरी भगवतीको वाहन सिंहको आह्वान, पूजन गर्नुपर्दछ। गणेश, भैरव, चतुःषष्ठीयोगिनीको पूजा गर्दै यसै दिन शस्त्रास्त्रहरूको पनि पूजा गर्ने गरिन्छ।

रातिको समयमा अग्निस्थापना विधिले हवन गर्ने विधान रहेको छ। नवमीका दिन नवदुर्गाको शास्त्रीय विधिविधानअनुसार पूजा गरी १० वर्षीय कन्यालाई ल्याएर सुभद्रा नाम राखी पूजा गर्नुपर्दछ। नैवेद्यादि भेटी अर्पण गर्नुपर्दछ। यसै दिन नौ जना कन्याको पूजन गर्ने पद्धति पनि रहेको छ।

यसै गरी मन्त्रसहित कुभिण्डाको बली अर्पण गर्नुपर्दछ। यही दिन अग्निस्थापना विधिले विशेष रूपमा भगवतीको नाममन्त्रले हवन गर्नुपर्दछ। दशमीका दिन उत्तराङ्गपूजन गरी अपराजिता देवीको पूजा गर्नुपर्दछ। आफ्ना इष्टदेवता, कुलदेवतालाई प्रसाद चढाएर आफ्ना मान्यजनहरूबाट विजयादशमीको टिका–प्रसाद ग्रहण गर्नुपर्दछ।

सिद्धपीठ उत्पत्तिको कारण

दक्षप्रजापतिकी छोरी सतीदेवीको अर्काे जन्म हिमालयका घरमा भएको हो। उनै हिमालयपुत्रीको नाम शैलपुत्री हो। पहिलो जन्ममा दक्षप्रजापतिका घरमा सतीदेवीका रूपमा जन्मिएकी आदिमाता दुर्गादेवीको भगवान् शिवका साथ विवाह भएको थियो। प्रजापति दक्षले एउटा विशाल यज्ञको आयोजना गरे।

अन्य छोरीज्वाइँ आफन्त सबैलाई उक्त यज्ञमा आमन्त्रित गरियो। तर, सतीदेवी र भगवान् शङ्करलाई यज्ञको सुइँकोसमेत दिइएन। आफ्ना बहिनीसँगै ज्वाइँ तथा अन्य मान्यजन आकाशमार्गबाट आफ्ना पिताको निमन्त्रणा स्वीकार गरी गइरहेको थाहा पाएर सतीदेवीलाई पनि दक्षयज्ञमा जाने उत्कट इच्छा जाग्यो।

उनले शिवजीलाई जाने इच्छा प्रकट गरिन्। तर, नबोलाएको ठाउँमा जानु अनुचित भएको शिवजीले बताउनुभयो। सतीदेवी भने मनमा अनेकौं तर्कना गर्न थालिन्। सतीदेवी दुःखित भएको थाहा पाएर शिवजीले ‘जाने नै इच्छा भए म केही भन्दिनँ’ भनेपछि सतीदेवी दक्षको यज्ञमण्डपमा पुगिन्।

यज्ञमण्डपमा पुग्दा सबै दिदीबहिनीहरूले आफ्नो पति महादेवको तिरस्कार गरेको अनुभूति भयो। पिताबाट पनि सबैका सामु आफ्ना पति शिवजीको नराम्रो निन्दा भएको सुनेर योगबलले त्यही अग्निकुण्डमा आफ्नो पाञ्चभौतिक देह विसर्जन गरिन्। महादेवको स्पर्शको प्रभावले देह यथावत् रह्यो।

महादेवजीले पृथ्वीको भ्रमण गर्दा सृष्टिक्रम भताभुङ्ग हुने देखेर ब्रह्माजीले औंसा र झिँगा सृष्टि गरी सतीदेवीका सम्पूर्ण अङ्गपतन गराउनुभयो। अङ्गपतन भएको प्रत्येक स्थानमा सिद्धपीठको स्थापना भएको हो। शारदीय नवरात्रमा यस्ता सिद्धपीठहरूमा आदिमाता सतीदेवीको भव्य पूजा हुनेगर्दछ।

प्रथम दिन शैलपुत्री

शारदीय नवरात्रअन्तर्गत प्रथम दिन विधिपूर्वक घटस्थापना गरेर जौ,गहूँको जमरा राखी शैलपुत्री नामक देवीको पूजन गरिन्छ। शैल अर्थात् हिमालयका घरमा जन्म लिएकी हुनाले यिनको नाम शैलपुत्री रहन गएको हो। गोरुमा चढेकी शैलपुत्री भगवतीको दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल रहेको छ। देदीप्यमान शैलपुत्रीको ध्यान यसरी गरिन्छ :

वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम्।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम्।।

साधना गर्ने साधकका लागि मूलाधार चक्र रहने स्थानमा शैलपुत्री माताको ध्यान गरेर आफ्नो इष्टकामना पूरा हुने मान्यता रहेको छ। नवरात्रको प्रथम दिन पूजा गरिने शैलपुत्री देवीको विशिष्ट महत्व छ।

नवरात्रको दोस्रो दिन

माता दुर्गाजीको ब्रह्मचारिणी रूपको ध्यान र पूजा गर्ने गरिन्छ। सतीदेवीको देह त्यागपछि पार्वर्तीको जन्म हिमालयको घरमा हुन्छ। भगवान् शिवजीलाई पतिको रूपमा पाउन हिमालयपुत्री पार्वतीले कठारे तपस्या गर्नुहुन्छ। त्यस्तो तपस्याको आचरण गर्ने भएकी हुनाले शैलपुत्रीको अर्को नाम ब्रह्मचारिणी भएको हो।

वदे स्तइभ्वं तपो ब्रह्म अथार्त : वदे अर्थ र तप भनरे ब्रह्म शब्दको अर्थ गरकाे देखिन्छ। हिमालयका घरमा पुत्रीका रूपमा उत्पन्न भएकी शैलजा माताले नारदको उपदेशअनुसार भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्न कठिन तपस्या गर्नुभयो।

एकहजार वर्षसम्म फलफूल मात्र खाएर, सय वर्षसम्म साग मात्र खाएर, कैयाैं दिनसम्म निराहार रहेर, झरी बादल, वर्षा, गर्मी केहि नभनी खुला आकाशमुनि रहेर तीन हजार वर्षसम्म आफैँ झरेका बेलपत्रको सेवन गरेर अत्यन्त कठिन तपस्या गर्नुभयो।

भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्नका लागि जब सुकेका बेलपत्रहरू पनि ग्रहण गर्न छाड्नुभयो तब माताजीको नाम अपर्णा रहन गयो। उहाँको तपस्याको बलले तीनै लोकमा हाहाकार मच्चिन थाल्यो। देवता, ऋषि, सिद्ध, मुनिआदि सबैले कसैले गर्न नसकेको अभूतपूर्व कार्य गरेको भनेर माताजीको यशोगान गरे।

यसरी कैयाैं वर्षसम्म कठोरतम तपस्या गर्नाले दुब्लाएकी भगवतीको दुःखदायी अवस्था देखेर माता मेनुकाले अब तपस्या नगरोस् भन्ने हेतुले ध्यानभङ्ग गर्न ‘उ मा’ त्यस्तो होइन। अर्थात् अब तपस्या होइन भन्ने उच्चारण भएको हुनाले शैलजाको नाम उमा पनि भएको हो। मानिसहरू दुर्गादेवीको यो दोस्रो रूप ब्रह्मचारिणीको स्वाधिष्ठान चक्रमा ध्यान गर्दछन्।

ब्रह्मचारिणी दवीले सेताे  वस्त्र लगाएकी, दाहिने हातमा जपमाला लिएकी र बायाँ हातमा कमण्डलु धारण गरकी भगवतीको दिव्यस्वरूपको ध्यान गर्ने गरिन्छ। भगवतीको यो दोस्रो रूपमा ब्रह्मचारिणीको साधनाले साधकलाई सदाचार, तप, त्याग, वैराग्य, सयंम र एश्ेवर्य प्राप्त हुन्छ। सघंषर्मय जीवनमा ब्रह्मचारिणीको उपासना बढी श्रेय स्कर रहेको छ। साधकलाई यथाशीघ्र फलप्राप्ति यही रूपको ध्यान गर्नाले हुन्छ। ब्रह्मचारिणी दवे ीको यसरी ध्यान गर्न सकिन्छ ः

दधाना करपद्माभ्यामक्षमालाकमण्डलू।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा।।

नवरात्रको तेस्रो दिन

दुर्गादेवीको तेस्रो रूप चन्द्रघण्टा हो। दुर्गादेवीको स्वरूपका आधारमा चन्द्रघण्टा नामकरण गरेको पाइन्छ। शिरमा अर्धचन्द्रको धारण गर्ने र समग्र शिरको स्वरूप घण्टाजस्तो भएको हुनाले चन्द्रघण्टा भनिएको हो। चन्द्रघण्टा देवीको शरीरको रंग सुनको जस्तो पहेँलो देदीप्यमान छ। दशभुजा भएकी चन्द्रघण्टा देवीको वाहन सिंह हो।

सदैव युद्धमुद्रामा देखिने चन्द्रघण्टा देवीले मानवमा रहेको अत्याचारी, दानवी र राक्षसी प्रवृत्तिलाई विनाश गर्नुहुन्छ। नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको विशेष पूजाआराधना हुनेगर्दछ। साधकले यो दिन मणिपुर चक्रको ध्यान गर्दा सावधान रहनुपर्दछ।

किनभने अलौकिक र अप्राप्य, अदर्शनीय अवस्थाको विषयवस्तु लौकिक प्राप्य र दर्शनीय हुन्छ। अनेकौं मनमोहक साङ्गीतिक मधुरिम ध्वनि सुनिन्छ। साधक यस्ता विषयमा अनुरक्त भएनन् भने साधना सफल हुन्छ। त्यसपछि चन्द्रघण्टा देवीबाट कृपा प्राप्त भई समस्त पापबाट मुक्ति मिल्दछ।

भगवतीले साधकहरूलाई दुःखकष्टबाट शीघ्र हटाएर निडर र निर्भय प्रदान गर्नुहुन्छ। सद्योमुक्तिका लागि पनि माता दुर्गाजीको यो रूपको उपासना गर्ने गरिन्छ। सदैव युद्धाभिलाषीजस्ती देखिए पनि माता दुर्गाको चन्द्रघण्टा रूपलाई भक्तजनले सामान्य शान्त, करुणामयी मातृरूपमा दर्शन गर्छन्।

सङ्गीत क्षेत्रमा साधनारत व्यक्तिहरूका लागि अलौकिक स्वर, ज्ञान र सफलता प्राप्त गर्न यो रूपको ध्यान अति नै लाभदायी रहन्छ। माता चन्द्रघण्टाको स्वरूपको ध्यान र पूजा गर्नाले जीवन-मरणबाट मुक्त भई पुनर्जन्मको प्रपञ्चबाट सहज छुट्कारा मिल्दछ। ललाटमा अलौकिक चमक बढ्न थाल्दछ। मान सम्मान मिल्न थाल्दछ। देवी चन्द्रघण्टाको ध्यान यसरी गर्ने गरिन्छ :

पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता।।

नवरात्रको चौथो दिन

वासन्तिक नवरात्रझैँ शारदीय नवरात्रको चौंथो दिन पनि कूष्माण्डा माताको पूजाआराधना गरिन्छ। जगज्जननी भगवतीले आफ्नो हाँसोद्वारा ब्रह्माण्डको उत्पत्ति गरेकी हुनाले दुर्गादेवीको नाम कूष्माण्डा रहन गएको हो। कूष्माण्डा भनेको कुभिण्डो हो। यसलाई पनि पूजन गरी बलीको रूपमा प्रयोग गर्ने गरिन्छ।

जुन समयमा सृष्टि भएको थिएन। त्यस समयमा संसार अन्धकारमय थियो। यसै समयमा आदिशक्तिस्वरूपा दुर्गादेवीको हाँसोबाट संसारको रचना भयो। कूष्माण्डा माताको निवासस्थान सूर्यलोक हो। कूष्माण्डा देवीले आफ्नै तेजको अंशलाई सम्पूर्ण प्राणीमा प्रक्षेपण गरेर शक्तिको सञ्चार गर्नुभएको छ।

आठवटा हात भएकी देवीको स्वरूप सूर्यझैँ चम्किलो छ। कूष्माण्डा देवीको हातमा चक्र, कलश, कमलको फूल, वाँण, धनुष, कमण्डलु र जपमाला छन्। आफू तेजवती भएकी हुनाले कुभिण्डो जस्तो चिसो फल कूष्माण्डादेवीलाई सबैभन्दा मनपर्ने फल (बली) हो।

साधकहरूले यो नवरात्रको चौंथो दिनमा अनाहत चक्रमा कूष्माण्डा देवीको स्वरूपको ध्यान गर्दै मनलाई स्थिर गर्दछन्। आदिशक्तिस्वरूपा भवानी देवी थोरै समयको आराधनाबाट नै प्रसन्न हुनुहुन्छ। जुन शक्तिको आराधनाले दुःखकष्ट, रोग, ब्याधि हटेर आयु, सन्तान, यश, कीर्ति, बल प्राप्त हुन्छ।

मन, वचन र कर्मले माताजीको शणागत भए संसारमा अप्राप्य विषय केही रहँदैन। सबै सिद्धि र ऐश्वर्य प्राप्त हुन्छ। जीवन– मरणको चक्रबाट छुटकारा गराउने भगवतीको पूजा अर्चनाले कसै गर्दा पनि निको नभएका रोगहरूबाट छुटकारा मिल्छ। कूष्माण्डा देवीको वैदिक विधिविधानअनुसार मन स्थिर गरी ध्यान गर्दै पूजन गर्नुपर्दछ। कूष्माण्डा देवीको ध्यान यसरी गर्न सकिन्छ :

सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च।
दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे।।

नवरात्रको पाँचौं दिनमा स्कन्द भनेको भगवान् कार्तिकेय हुनुहुन्छ। कार्तिकेय कुमारजीलाई भनिन्छ। स्कन्दकी मातृस्वरूपा देवीजीको पूजन नवरात्रको पाँचौं दिनमा गरिन्छ। माता दुर्गाजीको पाँचांै रूप कार्तिकेयकी माताको रूपमा भएको र कमलको आसनमा बस्न रुचाउने भएकी हुँदा यो स्वरूपलाई पद्मासना पनि भनिन्छ।

स्कन्दमाताका चार हात छन्। उहाँले दायाँ र बायाँतिरका माथिल्ला दुई हातमा (भुजामा) कमलको फूल र काखमा षडानन कुमारको बालरूपलाई समाउनुभएको छ। बायाँ तर्फको तल्लो हातले वरमुद्रा धारण गर्नुभएको छ। स्कन्दमाताको वर्ण हिउँजस्तो सेतो छ।

सिंहमा भ्रमण गर्न रुचाउने स्कन्दमाताजीको शास्त्रीय आधारमा नवरात्रमा पूजाआराधनाले सम्पूर्ण लौकिक, सांसारिक मायामोहबाट छुटकारा मिल्दछ। साधकहरूले कुण्डलिनी जागरणको यो अवस्थामा पनि विशेष सावधान रहनुपर्दछ। मनलाई विशुद्ध चक्रमा स्थिर गराएर शुक्लवर्णा स्कन्दमाताको स्वरूपको ध्यान गर्नुपर्दछ।

भगवती स्कन्दमाताको आराधनाले यस लोकमा संसारीक भोगको प्राप्त गर्न सकिन्छ। मानवलाई चाहिने सम्पूर्ण सुःख, सम्पन्नता, आर्थिक उन्नती प्राप्तीका लागि नवरात्रको पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ। स्कन्दमाताको कृपाले यश, आराम, सुख, समृद्धि कीर्तिआदि प्राप्त हुन्छ।

भगवान् कार्तिकेयकी आमा भएकी हुनाले यनलाई स्कन्दमाता भनिएको हो। जसले यिनको विधिवत पूजा गर्छ, भगवान् कार्तिकेयले उसको रक्षा गर्नुहुन्छ। माताजीको निरन्तर साधनारत व्यक्तिले मनलाई निर्मल स्वच्छ बनाउने हुनाले ललाटमा दिव्य तेज प्रस्फुटन हुन्छ।

सांसारिक सुख-सुविधाको भोगपश्चात् सद्गतिको मार्गप्रशस्त खुल्छ। सूर्यमण्डलकी अधिष्ठातृ देवीको उपासनाले दिव्यदृष्टि प्राप्त गर्न सकिन्छ। भविष्यको परिघटनालाई मनन र चिन्तनको विषय बन्ने र सन्मार्गको पूर्वाभास हुनेगर्दछ। नवरात्रमा पाँचौं दिन आदिमाता दुर्गाजीको स्कन्दमाता रूपको ध्यान र अर्चना गर्नुपर्दछ। स्कन्दमाताजीको ध्यान यसरी गर्न सकिन्छ :

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी।।

नवरात्रको छैठौं दिन

आद्यशक्ति भवानी श्रीदुर्गाजीको छैठौं स्वरूप कात्यायनी हो। नवरात्रको छैठौं दिन माता कात्यायनीको पूजा आराधना गर्ने गरिन्छ। प्रतिपदाका दिन स्थापना गरेको देवी मूर्ति, प्रतिमा वा कलशमा षोडशोपचारले माता कात्यायनीको पूजा गर्नुपर्दछ।

दुर्गा माताको यो स्वरूप अवतरण हुनुका धेरै कथाहरू छन्। कत नाम गरेका एक विशिष्ट महर्षि थिए। उनका गोत्रमा कात्यायन नामक विश्वप्रसिद्ध महर्षि भए र माता दुर्गादेवीलाई आफ्नी छोरीका रूपमा प्राप्त गर्न कठोर तपस्या गरेर भगवतीलाई प्रसन्न गराए।

कात्यायन ऋषिका आश्रममा माता दुर्गादेवीको अवतरण भयो। उहाँले आश्विन कृष्ण चतुर्दशीका दिन अवतरण भएर शारदीय शुक्लपक्षको सप्तमी, अष्टमी र नवमीमा कात्यायनको पूजा स्वीकार गरी विजयादशमीको दिन महिषासुर नाम गरेको राक्षसको बध गर्नुभयो।

कृष्णचरित्रमा व्रजकी गोपिनीहरूले कृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकूँ भनी कात्यायनीको उपासना र पूजा गरेका प्रसङ्गहरू वैदिक ग्रन्थहरूमा पाइन्छन्। अतः आफ्नो कूल, इच्छा र आफूयोग्य सज्जन पति पाऊँ भनी कात्यायनी स्वरूपा देवीको उपासना गर्नुपर्दछ। कात्यायनि महामाये महायोगिन्यधीश्वरि।

नन्दगोपसुतं देवि पतिं मे कुरुते नमः।। गोपिनीहरूले कात्यायनीको आराधना गर्नाले श्रीकृष्णलाई पतिका रूपमा प्राप्त गर्न सकेको प्रसङ्ग श्रीमद्भागवतमा उल्लेख छ। यसैले आज पनि व्रजमा कात्यायनीलाई इष्टदेवीका रूपमा पूजा गरिन्छ। कात्यायनी देवीका चार हात छन्।

दायाँतिरका दुई अभय र वरमुद्राले युक्त छन् भने वायाँतिरका दुई हात तरवार र कमलफूलले सहित छन्। वाहन सिंह भएकी कात्यायनी देवीको स्वरूप पहेँलो टल्किने सुनजस्तै छ। अत्यन्त देदीप्यमान भगवती कात्यायनीका साधकहरूले आज्ञाचक्रमा ध्यान गर्नुपर्दछ।

कुण्डलिनी साधनामा लागेका साधकहरूले आफ्नो पुरुषार्थचतुष्टय (धर्म, अर्थ, काम र मोक्ष)को दाता, भोक्ता, भर्ता र हर्ता कात्यायनीलाई नै मान्दछन् भने त्यस्ता साधकहरूको रोग, शोक, भय, अहंकार विनाश हुन्छ र परमपद प्राप्त गर्दछन्। कात्यायनी रूपको ध्यान यसरी गर्न सकिन्छ :

चन्द्रहासोज्वलकरा शार्दूलवरवाहना।
कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी।।

नवरात्रको सातौं

नवरात्रको दिनमा दुर्गामाताजीको कालरात्री स्वरूपको पूजा गरिन्छ। कालरात्रीको पूजा मध्यरात्रीमा पनि गर्ने गरिन्छ। सम्पूर्ण अशुभ, भय, अहंकार, अज्ञान आदिको काल अर्थात् विनाशिनीका रूपमा अवतरण भएकी हुनाले दुर्गादेवीको यो स्वरूपलाई कालरात्री भनिएको हो। कालरात्री शब्दको अर्थ ध्वन्यात्मक छ।

रात्री भनेको अज्ञान, अन्धकार, भय, डर, त्रास भन्ने अर्थमा र काल विनाशिनी अर्थात् शुभकरी भन्ने भावमा कालरात्री नामकरण भएको देखिन्छ। चार हात भएकी कालरात्री स्वरूपमा दुर्गामाताको यो स्वरूप अन्य स्वरूपहरू भन्दा डरलाग्दो भयङ्कर छ। माताजीको शारीरिक रङ्ग अत्यन्त कालो छ।

कपाल गज्याङ्गुजुङ् भएकी चतुर्भुजा कालरात्री देवीको दायाँ तर्फका दुई हात वरमुद्रा र अभयमुद्रामा छन् भने वायाँतर्फका दुई हातमा खड्ग र फलामको काँडा छ। त्रिनेत्रवाली माता दुर्गादेवीको सातौं स्वरूप कालरात्रीको वाहन गधा हो। गलामा बिजुलीको चमकजस्तो माला लगाएकी देवीको आवरण अत्यन्त सुन्दर छ।

हेर्दा डरलाग्दो स्वरूप भए पनि माता दुर्गाको यो स्वरूप पूजा र आराधना गर्नका लागि उपयुक्त छ। कुण्डलिनी साधनामा लागेका साधकहरूको मन सहस्रसार (सहस्रदल) चक्रमा स्थित हुनुपर्दछ। कालरात्री माताको पूजा गर्ने भक्त वा साधकको सम्पूर्ण दुःख, कष्ट नाश हुन्छन् र अष्टसिद्धि प्राप्त हुन्छ।

कुनै चीजबाट डर रहँदैन। यो जन्म र परजन्ममा पनि कुनै प्रकारको आपत्–विपत्को सामना गर्नुपर्दैन। शास्त्रीय विधानअनुसार नियम पालना गरी पवित्र भएर एकचित्तले कालरात्रीको भजन गर्ने व्यक्ति कहिल्यै पनि दुःख र दरिद्रतामा पर्दैन। कालरात्रीको ध्यान यसरी गर्न सकिन्छ :

एकवेणी जपाकर्णपूरा नग्ना खरास्थिता।
लम्बोष्ठिकर्णिकाकर्णी तैलाभ्यक्तशरीरिणी।।
वामपादोल्लसल्लोह लताकण्टकभूषणा।
वर्धनमूर्धध्वजा कृष्णा कालरात्रीर्भयङ्करी।।

नवरात्रको आठौं दिनमा दुर्गा भवानीको महागौरी स्वरूपको पूजाआराधना गरिन्छ। चार हात भएकी सेतो वस्त्र लगाएर वृषभमा चढेकी देवीजीको नवरात्रको अष्टमीका दिन विधिविधानअनुसार ध्यान, पूजन र साधना गर्ने गरिन्छ। माता दुर्गाको यो आठौं रूप हो।

माता पार्वतीले यही स्वरूपमा भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी तपस्या गर्नुभएको थियो। माताजीको यो स्वरूप अत्यन्त शान्त छ। चार हात मध्ये दायाँतिरका दुई हात अभयमुद्रा र त्रिशूल लिएकी तथा वायाँतर्फका दुई हातमा क्रमशः डमरु र वरमुद्रा धारण गरेकी महागौरी मातालाई सतत नमन छ।

कठिनतम तपस्या गर्नाले हड्डीमा छाला टाँसिनाले कालो भएको वर्ण र हेर्दा कुरूपजस्ती तर ललाटमा दिव्य तेजवती महागौरीलाई भगवान् शिवजीले जब आफ्नै स्पर्शले घोटी–घोटी गङ्गाजलले धोइदिनुभयो, त्यसपछि शिवजीको स्पर्शको प्रभावले अत्यन्त गौरवर्णा हुनुभयो।

गौरवर्ण भएकी माता दुर्गाको महागौरी नाम विख्यात हुनगयो। महागौरीको उपासना गर्नाले विशिष्ट अपरिवर्तनीय जीवनोपयोगी प्रभाव पर्दछ। जस्तै पाप गरेको व्यक्तिले पनि महागौरीको विधिविधानपूर्वक आराधना उपासना गर्दछ भने उसका पाप नष्ट भएर जान्छन्। पूर्वजन्मको सम्पूर्ण पाप पनि विनष्ट हुन्छ।

जीवनमा आइपर्ने अनेकौं धर्म, अर्थ, काम, मोक्षसम्बन्धी सबै अवरोध हटेर जान्छन्। सबै प्रकारका सफलता मानिसले पाउँछ। महागौरीको उपासना–आराधनाले सबै प्रकारका अष्टसिद्धि प्राप्त हुन्छन्। तन, मन, वचन र धनले एकचित्त भई नित्य शारदीय नवरात्रको अष्टमीमा पूजा गर्ने व्यक्तिको सफलताको कुनै सीमा नै हुँदैन।

उपासनाकर्ताले आफूलाई सम्पूर्ण रूपमा महागौरीका चरणकमलमा समर्पण गर्नुपर्दछ। महागौरीको उपासनाले असत् अन्याय अत्याचारको मार्गबाट निवृत्त भई सत् न्याय, सदाचारको मार्गमा लाग्न प्रेरित गर्दछ। महागौरीको ध्यान यसरी गरिन्छ :

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः।
महागौरी शुभं दद्यान्महाकाव्यप्रमोददा।।

नवरात्रको नवौं दिन अर्थात् महानवमीमा भगवानी दुर्गाको सिद्धिदात्री स्वरूपको आराधना गरिन्छ। महानवमीका दिनमा घटस्थापनादेखि दैनिक रूपमा गरिने शप्तसती वा देवीभागवतको पाठ पूर्ण हुन्छ। यसै दिन हवन पनि गरिन्छ।

सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन्। सिद्धिदात्री देवीले चार हातमध्ये दायाँतर्फका दुई हातमा गदा र चक्र तथा वायाँतर्फका दुई हातमा शङ्ख र कमलपुष्प धारण गरी कमलपुष्पमा विराजमान हुनुभएको छ।

सृष्टिक्रममा भगवान् शिवजीले पनि आफ्ना आराध्यदेवीका रूपमा सिद्धिदात्री देवी योगमायाको अनुकम्पाले ब्रह्मा, विष्णु र महेशको रूप धारण गरी जगत्को सृष्टि, पालन र लय गर्नुहुन्छ। सिद्धिदात्री माताजीको अनुकम्पाले भगवान् शिवले आफ्नो स्वरूप नै अर्धनारीश्वर बनाउनुभयो।

सिद्धिदात्रीको अनुकम्पा प्राप्त भए जगत्मा कुनै पनि अप्राप्य र दुर्लभ हुँदैन। सबै प्रकारका यश, कीर्ति, सुख, सुविधा प्राप्त भई जन्मान्तरमा दिव्यलोक प्राप्त हुन्छ। मत्र्यलोकमा रहेर अन्य द्युलोकको यात्रा गर्नसक्छ। आफ्नो मानसिक इच्छानुसार संसारमा भ्रमण गर्नसक्दछ।

ब्रह्माण्डमा पूर्णरूपले विजय प्राप्त गर्दछ। माता सिद्धिदात्रीको ध्यान यसरी गरिन्छ : सिद्धगन्धर्व यक्षाद्यैरसुरैरमरैरपि। सेव्यमाना सदा भूयात् सिद्धिदा– सिद्धिदायिनी।। कोजाग्रत पूर्णिमाको सायंकालमा दियो, कलश र गणेशको पूजा गरी ऐरावत हात्तीमा सवार भएका इन्द्र र महालक्ष्मीको पूजन गर्नुपर्दछ। यही दिन जागरण बसेर महालक्ष्मीलाई खुशी पार्ने प्रयत्न गर्नुपर्दछ।

विजयदशमी

घटस्थापनाको दिन शुद्ध माटो या गोबरले घर लिपी विधिसहित घटस्थापना गरी भगवती नवदुर्गाको स्थापना गर्नुपर्दछ। प्रथम दिनदेखि सप्तमीपर्यन्त एक चरणको पूजा गरी फूलपाती भित्र्याउनु पर्दछ। फूलपातीमा बेल, अदुवा, धानको बाला, अनारको कली, हलेदो र विभिन्न पालुवा आएका औषधीहरू घरमा भियभयाउँदा वर्षभरि हुने दुःख कष्ट निर्मूल हुन्छ। फूलपातीको बढाइँपछि महाअष्टमीको दिन कालरात्रीको पूजा गरी भगवतीको आह्वान् पूजन गर्दै शक्तिको उपासना गर्ने विधान गरिएको छ। नौदिनसम्म भगवती दुर्गाको पूजाआराधना गरी दशौं दिन विजयादशमी पर्वको विजय साइतमा दुर्गा भवानीको प्रसाद र जमरा लगाउनु पर्दछ। टिका लगाउँदा भन्ने मन्त्र—

आयुद्र्रोणसु ते श्रियं च दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्याेधने।।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञाने विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।
जयन्ती मंगला काली भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते।।

द्रोणपुत्र अस्वत्थामाको जस्तो पूर्ण आयु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, शत्रुक्षय गर्नमा भगवान् रामको जस्तो शक्ति, नहुश राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्याेधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादित्व, विदुरको जस्तो ज्ञान तथा भगवान् नारायणको जस्तो कीर्ति तपाइँलाई प्राप्त होस्।

मान्यजनबाट टिकाप्रसाद र आशीर्वाद प्राप्त गरी यो मन्त्रको भावलाई स्मरण गर्दै आ-आफ्नो कार्यमा लागी शारदीय नवरात्र पर्वलाई धुमधामका साथ मनाउनु पर्दछ। भगवतीको स्तुति, मन्त्रगान आदि गरी वर्षभरि आउने अशुभता, अशान्ति, दुःखकष्ट निवारणका लागि आशीर्वाद लिनुपर्दछ।

हिन्दूहरू वसुधैव कुटुम्बकम् तथा द्यौः शान्तिः … जस्ता वैदिक मन्त्रका अनुयायी र सनातनी भएकाले मनुष्य, वनस्पति, कीटपतङ्गादिलाई भगवतांश र प्राणीका रूपमा लिइएको प्रमाणित हुन्छ।

दशैँमा आरोग्यताका लागि गहूँ र जौ मिसिएको जमरा शिरमा लगाउनु, बेलपत्रलाई मानवीय रूपमा भगवद्दर्शन गरी पूजा, आमन्त्रण, प्रवेश गराउनु, नवपत्रिकालाई बाजागाजासहित दशैं घरमा प्रवेश गराउनु, हविष्यान्न भोजन गर्नु, खिचडी, कुभिण्डो, नरिवल आदिको बली दिनुजस्ता कार्यले वैदिक सनातन धर्मावलम्बीहरूको विशिष्ट पर्वका रूपमा रहेको दशैंको महइभ्वलाई झनै साक्षात्कार गरेको छ। वैदिक कर्मकाण्डीय पद्धतिअनुसार बलीको विधानयोग्य सामग्रीको छनोटलाई विकृतिका रूपमा व्याख्या गरिएको देखिन्छ।

नेपालका शक्तिपीठहरु

नेपालमा विभिन्न शक्तिपीठहरुको दशैँ(नवरात्र)मा पूजाआराधना र उपासना गर्ने गरिन्छ। देशभरिका शक्तिपीठअन्तर्गत नुवाकोटकी जाल्पादेवी, सल्यान जिल्लाकी कमलाक्षी, म्याग्दी गलेश्वरकी गलेश्वरी, सल्यानकी श्री छत्रेश्वरी, दैलेखकी जाल्पादेवी, वैतडीकी देवलहाट भगवती, आसाम जिल्लाको गजरादेवी, बाजुराकी मालिकादेवी, लम्जुङ जिल्लाको कालिकादेवी, कालीकोटकी बढीमालिका, डोल्पा जिल्लाको आदिवाला त्रिपुरासुन्दरी, दैेलेख जिल्लाको ज्वालादेवी, सल्यान जिल्लाको भुवनेश्वरी देवी, बाग्लुङकी देवीभगवती, इलाम माइपोखरीकी नवदुर्गा, अर्घाखाँचीकी भगवती, नवलपरासीको त्रिवेणीमा अवस्थित भगवती, झापाको प्रसिद्ध कन्काई भगवती, प्युठानको स्वर्गद्वारी भगवती, तनहूँ दमौलीकी छाब्दीबाराही, फेवातालकी वाराही भगवती, पर्सा जिल्लाको भगवती विन्ध्यवासिनी, उदयपुर कटारीको नवदुर्गा भगवती, सप्तरीकी भगवती कंकालिनी, विराटनगरको भगवती महाकालीको मन्दिर, सप्तरी जिल्लाको भगवती छिन्नमस्ता, डढेल्धुरा जिल्लाको भगवती उग्रतारा, नवलपरासीकी मौलाकालिका, तानसेन पाल्पाकी भगवती, काठमाडौँकी मैतीदेवी, शोभाभगवती, भद्रकाली, नक्साल भगवती, अन्नपूर्ण, संकटादेवी, बज्रयोगिनी, बज्रवाराही, वत्सलेश्वरी, ललितपुरकी महालक्ष्मी, बगलामुखी, विजयेश्वरी, चण्डेश्वरी वनेपा, कालिन्चोक भगवती, सिहंवाहिनी, वनकाली, जयवागीश्वरी, राजराजेश्वरी, नारायणी, विश्वेश्वरी, मनमैजु भगवती, तुलजा भवानी, भाटभटेनी भगवती, रक्तकाली, श्वेतकाली, ज्वालादेवी, दिग्तुलजा, हारती माता, हरिसिद्धि भगवती, ज्ञानेश्वरी, पूर्णचण्डी, स्मशानेश्वरी, अष्टमातृका, धूमावतीआदि पर्दछन्। दशैंमा विशेष गरी यी शक्तिपीठहरु भक्तजनहरुको विशेष उपस्थिति रहनेगर्दछ। घटस्थापनादेखि महानवमीसम्म यी शक्तिपीठहरुमा विशेष भक्तजनहरुले विशेष पूजाआराधना गरेर विजयस्वरुप टीका तथा जमरा लागई जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरिन्छ। जसले यी मन्दिरहरुको विधिवत् दर्शन, पूजा गर्दछ, उसको जीवनमा सदा सर्वदा सुख शान्ति र समृद्धि प्राप्त हुन्छ। बिहान उठेर यी देवीहरुको नामस्मरण मात्र गरे पनि सम्पूर्ण मनोकामना पूरा हुन्छ।

राशिफल(अक्टोवर १ देखि १५सम्म)

मेष राशि :चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आर्थिक क्षेत्रमा लगानीको योग देखिन्छ। कुटुम्बको सहयोग प्राप्त होला। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। पारिवारिक सद्भाव कायम रहनेछ। व्यापारव्यवसायबाट सफलता मिल्नेछ। कलाको क्षेत्रमा लगानी बढ्नेछ। आफन्तको सहयोगबाट भएका कार्यहरु सुचारु हुनेछन्। सामाजिक कार्यमा अपजशको सामना गर्नुपर्ला। धनहानीको योग देखिन्छ। वैदेशिक कार्यमा सफलताका सम्भावनाहरु देखिन्छन्। आध्यात्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।

वृष राशि : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

शारीरिक आलस्यताले सताउने देखिन्छ। आफन्तको सहयोग लिएर गरिएका कार्यहरु सफल हुनेछन्। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्ने देखिन्छ। मनोरञ्जनपूर्ण यात्राले मन प्रशन्न रहला। स्थास्थ्यमा समस्या उत्पन्न होला। पदप्रतिष्ठामा पनि सुधार आउनेछ। साहित्य, संगीत र कलाप्रति रुचि बढ्ने देखिन्छ। साथीभाइको सहयोग प्रशस्त मिल्नेछ। अध्ययन अध्यापनमा भने त्यति रुचि रहने छैन।

मिथुन राशि : का,कि,कु,घ,ङ,छ,के,को,हा

आफन्तसँगको सम्बन्धमा सुधार आउने छ। स्वास्थ्य गडबडी नै रहने देखिन्छ। पार्टीमा सहभागी हुने अवसर मिल्नेछ। खान पान तथा यात्रामा सावधान रहनु होला। राजनीतिक अन्योलता बढ्न सक्छ। कूटनीतिक प्रयासबाट थालिएका कार्यहरु सुचारु हुनेछन्। सभासम्मेलन तथा साहित्य लेखनमा सफलता मिल्ने देखिन्छ। सांस्कृतिक सम्पदाको रक्षामा दिन बित्नेछ। विलासिताका सामग्री किनबेचको योग रहेको छ। रोगबाधक क्षमतामा वृद्धि हुने छ। वाणीको प्रभाव रहनेछ।

कर्कट राशि : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

रोजगारीको नयाँ अवसर प्राप्त हुने छ। धर्मकर्ममा रुचि बढ्नेछ। मांगलिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। व्यापार व्यवसायमा अवरोध आउने देखिन्छ। विदेश भ्रमणको योग छ। विलासिताका सामान खरीदविक्री गर्नुपर्ला। सूचनाको आदानप्रदानबाट महत्वपूर्ण सफलता मिल्नेछ। सहकार्यको योग देखिन्छ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। शैक्षिक क्षेत्रमा गरिएको लगानी प्रभावकारी रहनेछ। आफन्तजनको सहयोगले महत्वपूर्ण कार्यको थालनी होला।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

स्वास्थ्यमा समस्या उत्पन्न होला। पेटको समस्या देखिने भएकाले खानपानमा ध्यान दिनु जरुरी देखिन्छ। यशकीर्ति बढ्ने योग देखिन्छ। आयआर्जनका नयाँ स्रोतहरु फेला पर्नेछन्। अध्ययनअध्यापनमा मन लाग्नेछ। समाजमा बोलीको कदर हुनेछ। व्यापार तथा अध्ययन सामान्य रहनेछ। रोजगारीमा पदोन्नतिको योग रहेको छ। सामाजिक पद प्रतिष्ठाको पनि वृद्धि हुनेछ। अनपेक्षित धनको प्राप्ति भए पनि मनमा कुविचार उत्पन्न होला।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

आलस्यताले सताउने योग देखिन्छ। अचल सम्पत्ति खरीदविक्री गर्दा कानूनी अल्झनको सामना गर्नुपर्ला। साथीभाइको सहयोगले महत्वपूर्ण कार्यमा सफलता मिल्ने देखिन्छ। राजनीतिक दायित्व बढ्नेछ। वैदेशिक यात्राको योग पनि रहेको छ। आध्यात्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। शिक्षामा त्यति प्रगति नहोला। लगनका साथ गरिएका कार्यबाट अपेक्षित लाभ मिल्ने देखिन्छ। मान्यजनको सहयोग प्राप्त हुने देखिन्छ। अचल सम्पत्ति खरीदविक्रीको चर्चा चल्ने  छ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

अधुरा रहेका कार्यहरु सुचारु हुनेछन्। दैनिक कार्यमा अनावश्यक विवादको सामना गर्नुपर्ला। वैदेशिक व्यवसायमा सुधार आउने छ। कृषिकार्यबाट सफलताको सम्भावना रहेको छ। आफन्तको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन्। शैक्षिक क्षेत्रमा गरेको लगानीले प्रशस्त प्रतिफल दिने योग रहेको छ। सवारीसाधन तथा घर घडेरीको प्राप्ति हुने देखिन्छ। पारिवारिक सुख प्राप्त हुनुका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा प्रगति हुनेछ।

वृश्चिक राशि :तो,ना,नी,नू,ने,नो,या,यि,यू

साथीभाइको सहयोग मिल्नेछ। मनोरञ्जनपूर्ण यात्राको योग रहेको छ। कला संगीत साहित्यप्रति विशेष झुकाव बढ्नेछ। व्यापार व्यवसायबाट उपयुक्त लाभ प्राप्त होला। आफन्तजनको सहयोगले शत्रुहरु परास्त हुनेछन्। हर्ष बढ्नुका साथै घरमा माङ्गलिक कार्य हुने  देखिन्छ। जागिरमा पदोन्नति हुने छ। राजनीतिमा विवाद बढे पनि अध्ययनअध्यापन फलदायी रहनेछ। आयआर्जनमा मन्दी आउनाले मन विचलित रहनेछ। स्वास्थ्यमा बाधा उत्पत्र हुनेछ। धार्मिक कार्यमा धन खर्चिनुपर्ने देखिन्छ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

शारीरिक कमजोरीका कारण चिन्ता बढ्नेछ। अध्ययनअध्यापन पक्ष राम्रो देखिँदैन। आफन्तको सहयोग सामान्य मिल्नेछ। न्यायिक तथा सामाजिक कार्यमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय बत्रेछ। नयाँ शुरु गरेको कार्यमा उत्साह र विश्वास बढ्ने देखिन्छ। यात्रामा सफलता मल्नेछ। मानसिक असन्तुष्टि बढ्नेछ। व्यापारव्यवसायका कारण आर्थिक क्षेत्र सबल बत्रेछ। पारिवारिक सम्बन्धमा प्रगाढता आउला। राजनीतिबाट सोचअनुरुपको सफलता मिल्ने देखिँदैन।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

अध्ययन अध्यापनमा मन लाग्ने छ। स्वास्थ्यमा केही सुधारको अनुभव हुनेछ। परिवार तथा आफन्तजनले नै धोका दिने योग रहेको छ। यात्राको योग एवं सञ्चार क्षेत्रमा सफलता मिल्नेछ। दैनिक कार्यमा बाधा र व्यवधान उत्पत्र हुने हुनाले आय आर्जन पनि प्रभावित रहनेछ। कला, साहित्यप्रति मन जानेछ। प्रेमीप्रेमिकाको सम्बन्धमा प्रगाढता आउने छ।। विलासिताका सामान खरीदविक्रीमा मन जानेछ।

कुम्भ राशि : गु,गे,गो,सा,सी,सु,से,सो,द

आफन्तजनको सहयोग मिल्नेछ। पतिपत्नीबीचको सम्बन्धमा सुधार आउनेछ। आयआर्जनमा अवरोध आउने देखिन्छ। रमाइलो यात्राको अवसर मिल्ने देखिन्छ। विलासिताका वस्तु खरीदविक्रीको योग रहेको छ। प्रेमी प्रेमिकाबीच भने तनाव उत्पत्र हुनेछ। अरुसँग साझेदारीमा कार्यको थालनी नगर्नु नै उचित हुनेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। मांगलिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला। अध्ययनअध्यापनमा मन जानेछ।

मीन राशि :दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

स्वास्थ्यसम्बन्धी समस्याले सताउला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। मनमा चञ्चलता उत्पन्न हुनेछ। मनोरञ्जनपूर्ण यात्रा गर्नुपर्नेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्ने छ। अध्ययनअध्यापनमा  मन जानेछ। साहित्य, संगीत र कलाक्षेत्रबाट सफलता प्राप्त हुने छ। उद्योग, कल कारखानामा गरिएको लगानीबाट सफलता मिल्नेछ। जागीरमा पदोन्नतिको योग  छ। मानसम्मान मिल्ने देखिन्छ। कूटनीतिक कार्यमा सफलता मिल्नेछ। राजनीतिक सक्रियता बढ्ने देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *