दोस्रो विश्वयुद्धमा अमेरिकाले खसालेको बम जापानको विमानस्थलमा अहिले विस्फोट

डिसी नेपाल
१७ असोज २०८१ १५:२३

काठमाडौं । बुधबार दक्षिणपश्चिम जापानको एउटा स्थानीय विमानस्थल अचानक बन्द गर्नुपर्‍यो । वास्तवमा, त्यहाँ रनवे नजिकै विस्फोट भएको थियो जसले त्यहाँ भागदौड सिर्जना गर्यो। पछि थाहा भयो – यो एउटा भारी बम हो जुन अमेरिकाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेको थियो ।

उक्त विस्फोटपछि विमानस्थल बन्द गर्नुका साथै ८० भन्दा बढी उडान रद्द गर्नुपरेको थियो । जापानी यातायात मन्त्रालयका एक अधिकारीका अनुसार मियाजाकी एयरपोर्टले रनवेको छेउमा ट्याक्सीवेको बीचमा सात मिटर (२३ फिट) चौडा र एक मिटर (३.२ फिट) गहिरो खाडल बनेपछि आफ्नो धावनमार्ग बन्द गरेको छ।

अधिकारीले भने – जापान ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको बम डिस्पोजल टोलीले पछि विस्फोटको कारण अमेरिकी बम भएको पत्ता लगाए। सम्भवतः यो बम सायद अमेरिकाले यहाँ हवाई हमला गरेको बेला खसेर पड्किएको थिएन र जमिनको सतहमुनि गाडिएको थियो ।

कसैलाई चोटपटक लागेको कुनै रिपोर्ट छैन तर प्रत्यक्ष क्यामेरा फुटेजले विस्फोट हुनुभन्दा दुई मिनेट अघि नजिकै विमान अवतरण गरेको देखाएको छ । जापानका शीर्ष सरकारका प्रवक्ता योशिमासा हयाशीले धावनमार्ग बन्द भएका कारण ८७ उडान ग्राउण्डेड गरिएको तर थप विस्फोटको खतरा भने नरहेको बताए । खाल्डा भर्ने काम बिहीबारसम्म सम्पन्न हुनेछ ।

क्युशु टापुको दक्षिण-पूर्वी छेउमा अवस्थित, मियाजाकी एयरपोर्ट पहिले दोस्रो विश्वयुद्धको अन्त्यसम्म जापानी नौसेना आधार थियो। यहाँबाट सयौं युवा “कामिकाजे” पाइलटहरू आफ्नो अन्तिम मिसनमा गएका थिए । यातायात मन्त्रालयका एक अधिकारीले मियाजाकी एयरपोर्टमा यसअघि नै विस्फोट नभएका धेरै बम फेला पारेको बताएका छन्।

अमेरिका र जापानबीचको युद्ध भएको ७९ वर्ष भइसक्यो तर यति वर्ष बितिसक्दा पनि जापानका धेरै ठाउँमा बम भेटिन्छन् । जापानी सुरक्षा बलका अनुसार सन् २०२३ मा मात्रै ३७.५ टन तौलका २ हजार ३ सय ४८ बम निष्क्रिय पारिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *