नेपालीसहित ३३ आप्रवासी चढेको ट्रकमा गोली चलाएर ६ जनाको हत्या गर्ने मेक्सिकन सैनिक पक्राउ

डिसी नेपाल
१८ असोज २०८१ १०:४९

काठमाडौं । मेक्सिकोका अमेरिका प्रवेश गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढेको पिकअप ट्रकमा गोली हानेर छ जना आप्रवासीहरूको ज्यान लिने गस्ती टोलीको हिस्सा रहेका सैनिकहरूलाई पक्राउ गरिएको छ । घटना भएको दुई दिनपछि बिहीबार उनीहरूलाई पक्राउ गरिएको सङ्घीय अभियोजकहरूले बताएका छन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले हत्याको निन्दा गरेकी छिन् । घटना उनले पदभार ग्रहण गरेकै दिन भएको थियो । देशका क्याथोलिक बिशपहरूले पनि सेनाको बढ्दो शक्तिको कडा आलोचना गरेका छन् ।
मङ्गलबार ग्वाटेमालाको सीमा नजिकै दक्षिणी चियापास राज्यमा ३३ जना आप्रवासी बोकेको ट्रकमा सैनिकले गोली चलाएपछि ६ जनाको मृत्यु र १० जना घाइते भएका छन्।

“यो एउटा खेदजनक घटना हो र यसको अनुसन्धान र सजाय हुनुपर्दछ”, सेनबामले पत्रकार सम्मेलनमा भनिन् “यस्तो अवस्था दोहोरिन दिन सकिँदैन।” मेक्सिकोका सङ्घीय अभियोजनकर्ताहरूले पीडितमध्ये तीन जनालाई इजिप्टका नागरिकका रूपमा पहिचान गरेका छन् भने एकजना होन्डुरस र अर्का पेरुबाट आएका थिए। सेनबामले मृत आप्रवासीहरू मध्ये एक एल साल्भाडोरका भएको बताइन् ।

यद्यपि पछि बिहीबार होन्डुरासका विदेश मन्त्रीले घटनामा कुनै पनि होन्डुरास नागरिकको मृत्यु भएको कुरा अस्वीकार गरे। अभियोजनकर्ताका अनुसार अन्य २७ जना आप्रवासीमा इजिप्ट, भारत, पाकिस्तान, नेपाल र क्युबाका नागरिकहरू छन्। बाँचेका आप्रवासीहरूलाई उनीहरूको राष्ट्रको वाणिज्य दूतावास साथै मनोवैज्ञानिक र अन्य विशेष कर्मचारीहरूको सहयोगमा सोधपुछ गरिने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *