कविता : आमालाई चिठी

राज्यलक्ष्मी खतिवडा
१९ असोज २०८१ ७:२३

स्वस्ति श्री पृय पूज्यनीय जननी माता हजुरमा सदा

छन् सष्टांग प्रणाम दिन प्रति दिन बन्दै स्मरण सर्वदा

ती दुर्गा देवीका कृपा हजुरको आर्शीवादले यहाँ

छौं आरोग्य सबै जना यस बखत  शान्ति छ यो मनमा

राखुन् धेर दया सदा जननीको कोमल रुपी गाथमा

पाउ पर्छु म विन्ती गर्छु दिन दिन लक्ष्मीजीको साथमा

छोरी भइ जन्म्यौ पराइ घर गई कतव्र्य गर्दै पूरा

गर्नु पर्दछ सब पराइहरुका बुझेर मनका कुरा

मेरा निम्ति नगर्नु शोक रति भर कहिल्यै नलिनु पीर

म हूँ एक आदर्श नारी बुझ्नु झुक्दैन कहिल्यै शिर

शोक सुर्ता रतिभर नलिनु कहिल्यै आमा बाबाले पनि

पर्खी बस्न्ुा हुँदो हो बाटा बीचमा आउँछिन् कि छोरी भनी

आउँछु एक दिन बिदा लिएर म जरुर बाबा आमा भेट्न

आशा यही छ ठूलो बाबा आमा सँगै दिलको प्यास मेट्न

नमस्कार छ दाजु भाइ दिदी बहिनी साथी संगीमा पनि

सुनाइ दिनु हवोस् गाउँ घर तिर सबलाई नमस्कार भनि

 

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

पंक्षी भए उडी जान्थे हिमालचुली काटी

बादल भए उडी दिन्थे आकाश भन्दा माथि

लहर भए पृथ्वी घुम्थें सागर भन्दा छिटो

कला भए गाउँथे गीत अमृत भन्दा मिठो

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

वायु भए उडी जान्थे बेग खोलेर

बित्यो जीवन यही धरतीमा रगत घोलेर

तेज भए ज्योति छर्थें सूर्य जस्तै चम्की

शिक्षा पाए देश बनाउँथे विकासमा लम्की

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

फूल भए फूलि दिन्थे सुवास छरेर

मौरी भए मह दिन्थे रस भरेर

वृक्ष भए फलाइ दिन्थे मिठा मिठा फल

मेघ भए वर्षाइ दिन्थे समयमा जल

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

तारा भए मुस्कुराउँथे त्यो अँधेरी रातमा

गोपिनी भए नाचि दिन्थे कृष्णजीको साथमा

कोइली भए वसन्तमा गाउँथे कण्ठ खोली

मौसमलाई झुकाएर बोल्थे मिठो बोली

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

आँसु सँगै बिलाइ सक्यो यो ओठको हाँसो

यो छातीको धड्कनले लगाइ दिन्छ पासो

सितल दिन्थे बटुवालाई भए पिपल बर

रित्तिएको जीवनको के पो आश छ र?

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

गाई भए दुध दिन्थे बाल बृद्धलाई

दीप भए बलि दिन्थे विश्व जगमगाई

हिउँ भए पग्लिएर मिल्थे सागर सम्म

जीवनको कहानीले भयो मन भरंग

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

छिन छिनमा बल्झि दिन्छ यो मुटुको घाउ

सुक्यो सबै ओठ मुख चल्नै छोडे पाउ

छाती दुख्यो असह्य भो वाक्य रोकियो

यो आँखाको सागरबाट आँसु पोखियो

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

पिता, माता, छोरा छोरी सबै भए पराइ

विष पिउँकि जस्तो लाग्छ जीवन देखि डराइ

आफ्नो भनि जसलाई सम्झ्यो त्यही हुन्छ पर

खोक्रिएको सारंगीको के को सार छ र?

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ

गाँउ घर वन पाखा नौलो लाग्छ किन?

धोका पाइ भावनामा बिछोडिएको दिन

वेदनाले छटपटाई भएँ जिउँदो लाश

हृदयको दियो निभो टुट्यो बाँच्ने आश

वसन्तको हावा सँगै उडूँ उडूँ लाग्छ

एकान्तमा आँसु पोखि रुँ रुँ लाग्छ।

सुन्दरहरैंचा–६, दुलारी, मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *