मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि

डिसी नेपाल
१८ असोज २०८१ १२:२१

न्युयोर्क। मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशंकाप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो।

अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट पाँच प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७७ दशमलव ६२ डलर पुगेको छ भने अमेरिकी सम्झौता वेस्ट टेक्सास इन्टरमिडिएट पनि त्यसरी नै बढेको छ।

प्रमुख अमेरिकी स्टक सूचकांकहरू दिनको अधिकांश समयमा नकारात्मक रहे। एसएन्डपी५०० शून्य दशमलव दुई प्रतिशतले घटेर बन्द भयो। लन्डन, पेरिस र फ्रेंकफर्टका सेयर बजार सबै रातो भएर बन्द भए।

अमेरिकी डकवर्कर्सको हडताल र अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर कदमबारेको अनुमानले पनि लगानीकर्ताहरूलाई प्रभावित गरेको थियो । शुक्रबार प्रमुख रोजगारी प्रतिवेदन आउने भएको छ ।

डलरको सुरक्षित आश्रय स्थितिले यसको मूल्य बढेको छ । बेलायती पाउन्ड डलरको तुलनामा एक प्रतिशतभन्दा बढीले घटेको छ । बैंक अफ इङ्ग्ल्यान्डका प्रमुख एन्ड्र्यु बेलीले बेलायती ऋण लागतमा तीव्र कटौतीको सङ्केत दिए ।

एसियामा येन कमजोर हुँदा टोक्यो दुई प्रतिशतले बढेर बन्द भयो । यसले जापानका निर्यातकर्ताहरूलाई सहयोग गरेको छ ।

चीनको कमजोर अर्थतन्त्रलाई प्रोत्साहित गर्न चालिएको साहसिक कदमका कारण भएको तीव्र वृद्धिपछि हङकङ एक साताभन्दा लामो समयमा पहिलो पटक घट्यो ।

यो साता इजरायलमाथि इरानको क्षेप्यास्त्र आक्रमणले इजरायलको गाजा र लेबनानमा तेहरान समर्थित समूहहरूसँगको द्वन्द्व व्यापक क्षेत्रीय युद्धमा परिणत हुनसक्ने डर बढाएको छ ।

“बजारहरू निलम्बित अवस्थामा छन्, इरानविरुद्ध इजरायलको अपेक्षित प्रतिशोधका लागि बजारहरू तयार छन्, यस्तो कदमले तेलको मूल्यलाई व्यापक रूपमा बढाउन सक्छ”, स्वतन्त्र बजार विश्लेषक स्टिफन इन्सले भने ।

लेबनानी लडाकू समूह हिजबुल्लाहलाई समर्थन गर्ने इरानले इजरायलले जवाफी आक्रमण गरे आफ्नो प्रतिक्रिया बढाउने बताएको छ ।

लेबनानमाथि इजरायली बमबारीमा अहिलेसम्म एक हजारभन्दा बढी मानिस मारिएका छन् । यसमा बेरुतमा भएका आक्रमणहरू पनि समावेश छन् ।

इजरायली सेनाले बिहीबार लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका थिए र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका थिए ।

यद्यपि विश्लेषकहरूले गत साता अमेरिकी भण्डारण अपेक्षाभन्दा बढेकाले तेलको मूल्य वृद्धि सीमित हुनसक्ने बताएका छन् । लिबियाको पूर्वी प्रशासनले पनि बिहीबार एक महिना लामो उत्पादन र निर्यात अवरोध अन्त्य गरेको घोषणा गरेको छ ।

साउदी नेतृत्वको ओपेक प्लस तेल कार्टेलले डिसेम्बरदेखि उत्पादन बढाउने तय गरेको छ । यसले आपूर्तिको चिन्तलाई अझ कम गर्नेछ ।

लगानीकर्ताहरूले शुक्रबार प्रमुख अमेरिकी गैर–कृषि पेरोल रोजगारी प्रतिवेदनमा ध्यान केन्द्रीत गर्दैछन् । यसले गत महिनाको चार वर्षमा पहिलो पटक कटौतीपछि फेडको ब्याजदर योजनाबारे सङ्केत दिन सक्छ ।

बुधबारको आँकडाले सेप्टेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगारीमा अप्रत्याशित वृद्धि देखाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *