षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १३
जनआन्दोलनको शुरुवातदेखि सफलतासम्म
गिरिजाप्रसाद कोइरालाले पटक पटक राजासँग भेटेर पञ्चायतभित्रै बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको घोषणा गर्न आग्रह गर्दा पनि पञ्चायतभित्रका प्रतिक्रियावादी र दरवारभित्रका कठोर तथा पुरातनवादीहरूले राजालाई बहुदलवादीहरूको कुनै पनि प्रस्तावमा सहमति जनाउन नहुने जस्ता सल्लाह र दवाव दिएपछि राजाले त्यतिबेला समयसापेक्ष र उदार निर्णय लिन सकेनन्।
राजदूतको पदावधि सकिएर नेपाल फर्कनु भएका मेरा पिता गोविन्दप्रसाद लोहनीलाई राजा वीरेन्द्रले निकै रुचाउने तथा उहाँले बाँकी जीवन कुनै पदमा नबसेर वौद्धिक कार्यमा बिताउने कुरा बताएपछि बेला बेलामा भेट तथा सल्लाहको निम्ति बोलाइरहन्थे। तर पछि पछि दरवारियाहरूलाई उहाँका प्रजातन्त्र स्थापना बारेका सल्लाह मन नपरे पछि राजासँगको भेट पनि पातलिँदै गयो।
यसै क्रममा त्यतिबेला आफू २०-२१ वर्षको उमेरको छँदा पिताजीको सवारीचालकको रूपमा उहाँसँग विभिन्न नेता तथा उच्च पदाधिकारीसँगको उहाँको भेटमा सरिक भएर कुरा सुन्ने मौका पाएकोले त्यो समयका मेरा कैयन् संस्मरण पनि यहाँ उल्लेख गरेको छु। गिरिजाबाबुको उपर्युक्त मिशनबारे पनि एकदिन उहाँ बस्ने गरेको जयबागेश्वरीको घरमा दिनभर मेरा पितासँग कुरा हुँदा म पनि त्यहाँ उपस्थित थिएँ।
गणेशमान सिंहले जनमतसंग्रहको बेलादेखि नेपाली कांग्रेसले बामपन्थी दलहरूसँग मिलेर आन्दोलन गर्नुपर्छ भनेको कुरा अब आएर कांग्रेसका नेताहरू र विभिन्न बामघटकहरूले मनन गर्न थालेका थिए।
गणेशमानले के पनि भनेका थिए भने यस्तो गठबन्धन हुनुभन्दा पहिले विभिन्न बामघटकहरू बीच एकापसमा समझदारी पनि हुनुपर्नेछ। यही सिलसिलामा सहाना प्रधानको संयोजकत्वमा २०४६ साल माघ ३ गते संयुक्त वाममोर्चाको गठन भयो। यसमा कम्युनिष्ट पार्टीका माले, चौथो महाधिवेशन, माक्र्सवादी, अमात्य, मानन्धर, बर्मा समूह, नेमकिपा गरी सात वामपार्टीहरू सम्मिलित थिए।
२०४६ माघ २० गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई र संयुक्त बाममोर्चाकी संयोजक सहाना प्रधानले हस्ताक्षर गरेको जनआन्दोलन सम्बन्धी संयुक्त विज्ञप्ति जारी भयो।
यसमा फागुन ७ गतेदेखि जनआन्दोलनको शुरुवात गर्ने र यो आन्दोलनका कार्यक्रमहरू चरणवद्ध रूपमा सञ्चालन गर्ने, आन्दोलनकारीहरूले आआफ्ना दलका झण्डा फहराउने, फागुन ८ गते सम्पुर्ण शिक्षण संस्था, यातायात, उद्योगधन्दा, पसल आदि बन्द गर्ने, देशव्यापी नेपाल बन्दका कार्यक्रम, साँझमा बत्ती निभाउने कार्यक्रम, कालोपट्टी बाँध्ने कार्यक्रम तथा नियोजित प्रदर्शन र जुलुसको आयोजना गर्ने निर्णय गर्यो।
त्यस्तै पूर्ण बहुदलीय व्यवस्थाको प्रत्याभूति नहोउञ्जेलसम्म यो आन्दोलन नरोक्ने, राजासँग सबै पक्षले सामुहिक रूपमा गएर वार्ता गर्ने तथा जनआन्दोलनको कमाण्डरको रूपमा गणेशमान सिंहलाई मान्ने पनि समझदारी भयो।
यो भन्दा पहिले लामो समयसम्म जेल सजाय भोगिरहेका मोदनाथ प्रश्रित, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी र झापा विद्रोहका कार्यकर्ताहरूलाई कारागार मुक्त गर्न मेरा पिता गोविन्दप्रसाद लोहनीले ठूलो प्रयत्न गर्नुभएको थियो।
उहाँ पटक पटक तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह र लोकेन्द्रबहादुर चन्दलाई यो विषयमा भेट्न वालुवाटार तथा उनको निवासमा जानु भएको थियो। नेमकिपाका राष्ट्रिय पञ्चायत सदस्य कर्णप्रसाद ह्येजुको निर्मम हत्या भएपछि पक्राउ परेका नेता नारायणमान विजुक्छेँको विरोधमा उठेको पञ्चहरूको जुलुसमा प्रधानमन्त्री मरिचमान सिंह स्वयम् ‘रोहितलाई फाँसी दे’ भन्दै नारा लगाउन जुलुसका पुगेका थिए।
वालुवाटारमा मेरा पिताले राजनीतिक तनाव कम गर्न यी सबलाई थुनामुक्त गरिदिनुहोस् भनेर आग्रह गर्नु हुँदा उनले ‘मैले यो सब कुरा गर्न सक्छु भन्ठान्नु भएको छ? मैले त सबै कुरा दरवारको आदेशमा गर्ने हो।’ भनेका थिए।
उनको जवाफमा लोहनीले ‘उसो भए यस्तो थपनाको कुर्सीमा किन बस्नु भएको त, अनि प्रधानमन्त्री भएको मानिसले रोहितलाई फाँसी दे भनेर जुलुसमा सामेल हुनुहुन्छ? यस्तो त कुनै मुलुकको सरकार प्रमुखले पनि गर्दैनन्’ भन्दा उनले हाँसेर ‘हेर्नोस्, म एक साधारण शिक्षकबाट माथि उठ्दै यो कुर्सीमा पुगेको मान्छे हुँ। मलाई राम्ररी थाहा छ उनीहरूले म जस्तालाई किन यति ठूलो पद दिएका छन् भन्ने। त्यसैले निकै दुःखबाट पाएको कुर्सी न म त्यसै सजिलोसँग छोड्न सक्छु, न दरवारलाई धोका दिन नै सक्छु’ भनेका थिए।
तर पछि लामो समयसम्म थुनामा राखिएका राजनीतिक बन्दीहरू क्रमिक रूपमा छुट्न थाले। २०४६ पौषतिर मोहनचन्द्र अधिकारी र झापा विद्रोहका सबै कैदीहरू छुटेको दिन मेरा पिता र मैले टेवहालस्थित एक गेष्ट हाउसबाट उनीहरूलाई हाम्रो निवासमा लगेका थियौं र रातिको खानाका साथ लामो कुराकानी भएको थियो। त्यस्तै त्यतिबेलातिर पिताको आग्रहमा मैले दशैं-तिहार जस्ता चाडवाडमा धेरै पटक घरमा बनाएका विभिन्न परिकारहरू लिएर केन्द्रीय कारागार र महिला जेलमा रहेका आस्थाका बन्दीहरूलाई हस्तान्तरण गर्ने गरेको थिएँ।
नेपालमा डिस र बुस्टर एन्टेनामार्फत भारतीय टीभी हेर्न र पछि २०४२ सालतिरदेखि नेपाल टेलिभिजन हेर्न थालेपछि नेपालीहरूले दक्षिण कोरियालगायत विभिन्न मुलुकमा भएका आन्दोलन र तिनका तौरतरिका देखेर सिक्ने मौका पाएँ।
नेपालमा विभिन्न हाँस्य व्यंग्य कार्यक्रम तथा भाषण र वक्तव्यहरू रेकर्ड गरिएका क्यासेटहरू पनि व्यापक रूपमा बिक्री हुन थालेका थिए। तस्करी तथा लागुऔषधको उत्पादन र ओसारपसार त्यतिबेलाका केही जल्दाबल्दा व्यक्तिहरूबाट खुलेआम हुने गरेको तर सरकार मौन रहेका समाचार विभिन्न माध्यमबाट जनताले पाइरहेका थिए।
त्यस्तै विश्वमा प्रजातन्त्रको लहर तीव्र गतिमा चल्दै गएको त्यो बेलामा नेपालका बहुदलवादीहरू पनि हौसिन थालेका थिए। त्यसमाथि नेपालमा मानव अधिकारको अवस्था नाजुक हुँदै गएकोमा अमेरिकी राष्ट्रपति जिम्मी कार्टरदेखि अन्य मुलुकका सरकारले समेत चासो लिन र चिन्ता गर्न थालेका थिए।
साना राजनीतिक मुद्दामा ठूलो धरपकड र यातना हुने गरेको थियो। त्यसमाथि नेपाल र भारतबीचको सम्बन्ध निकै बिग्रँदै गएको अवस्था।
यी सब कुराहरूले गर्दा नेपालको राजनीतिक माहौल बिस्तारै तात्दै गएर निर्णायक आन्दोलन कुनै पनि बेला शुरु हुने अवस्था बन्दै गएको थियो।
तर यस्तो अवस्थालाई बुझेर स्थितिलाई राजनीतिक र कुटनीतिक तवरले काबुमा लिनुको सट्टा सबै कुरा सामान्य भए जसरी सरकार अघि बढिरहेको थियो।
पञ्चायती व्यवस्थाको ३० वर्षको अवधिमा मुलुकले निकै धेरै आर्थिक प्रगति गरेको हो र राजा महेन्द्र र राजा वीरेन्द्रले मुलुकको हितको लागि, राष्ट्रलाई विश्वमा चिनाउन र मुलुकको सम्प्रभुताको निम्ति ठूलो योगदान गरेका हुन्।
त्यस्तै नेपालको कुटनीतिक, आर्थिक र बौद्धिक क्षेत्रमा पनि काबिल विद्वत जनशक्ति नै खोजेर नियुक्ति दिने प्रचलन थियो। तर २००७ सालमा कांग्रेस र अन्य दलको मद्दतबाट राणाशासन धरासायी भएर राजा र जनताको जीत भएकोमा २०१७ सालदेखि २०४६ सालसम्मै राणाशासन हटाउन विशेष योगदान पुर्याउने जनबललाई पञ्चायती व्यवस्थाको रूपमा पुरै लत्याइयो।
सबै पक्षलाई समेट्न नचाहेर र छिमेकी राष्ट्रसँग व्यवहारिक कुटनीति खेल्न नसक्नाले पनि पञ्चायती व्यवस्थाको अन्त हुनुका साथै राजा कमजोर पनि हुन गए।
तर निकै मननयोग्य र महत्वपूर्ण कुरा के पनि छ भने अन्य धेरै मुलुकमा जस्तो राजा वीरेन्द्रसहित नेपालका कुनै पनि राजाहरूले खूनखराबा गरेर आफ्नो शासन टिकाउन चाहेनन्। त्यस्तै विदेशीसँग झुक्नुभन्दा जनतालाई सार्वभौमसत्ता सुम्पनु नै उत्तम सम्झिए। यो कुरा नेपालको इतिहासमा सधैँ सुनौलो अक्षरले लेखिइरहने छ।
नेपाली कांग्रेसले २०४६ माघ ५, ६ र ७ गते गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा पार्टीको वृहत राष्ट्रिय सम्मेलन आयोजना ग¥यो। सो सम्मेलनमा ‘प्रतिवन्धित’ शब्द पनि नराखेर चारतारे झण्डासहित नेपाली कांग्रेस लेखिएका पोस्टर र ब्यानर टाँगिएका थिए।
सम्मेलनमा भाग लिन र अवलोकन गर्न नेपालभरबाट राजनीतिक कार्यकर्ता, विभिन्न व्यवसायसँग सम्बन्धित व्यक्तिहरू, विद्यार्थी र आमजनता तथा समाचार सम्प्रेशणको निम्ति राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार मेडियाका प्रतिनिधिहरूका साथै भारतका केन्द्रीय नेताहरू समेत सम्मिलित भएका थिए।
त्यतिबेला भारतमा भर्खरै मात्र जनता दल सत्तामा पुगेको थियो। कांग्रेसका राजिव गान्धी लगायत बामपन्थी दल र सत्तारुढ दलका कैयन् शिर्ष नेताहरू तथा विदेशी नेताहरू जस्तै सोसियलिष्ट इन्टरनेशनलका प्रमुख विली ब्रान्ट आदिले पनि शुभकामना सन्देश पठाएका थिए।
गणेशमान र किशुनजी बाहेक अन्य नेताहरूले पनि आन्दोलन र प्रजातन्त्र बारेका आफ्ना विचार राखेका थिए। तीन दिन चलेको उक्त सम्मेलनले २०४६ साल फागुन ७ गतेदेखि जनआन्दोलन शुरु हुने घोषणा गरेको थियो।
चन्द्रशेखर, डीपी त्रिपाठी, हरकिशनसिँह सुरजीत, एमजे अकबर, सुब्रह्मण्ड्यम स्वामी लगायत एक दर्जन भारतीय नेताहरू त्यहाँ उपस्थित भएकोमा चन्द्रशेखरको भाषण निकै कडा र चर्चित रहेको थियो।
वास्तवमा यसरी विदेशी नेताहरूलाई बोलाएर राजा, सरकार र व्यवस्थाको तीव्र आलोचना गराएको बारे त्यतिबेला मात्र होइन, आजसम्म पनि प्रजातन्त्रमा विश्वास राख्ने र स्वाभिमानी नेपाली जनतामा घरको झगडामा छिमेकीलाई सामेल गराएको भन्ने एक प्रकारको तिक्तता रहिरहेको छ। तर जनआन्दोलनका नेताहरूमा भने त्यति नगरी राजा र पञ्चायतलाई झुकाउने दवाव नै नपुग्ने विश्वास थियो।
यसको लगत्तै पञ्चहरूले पञ्चभेला र जुलुसको माध्यमबाट भारतीय नेताहरूको विरोध गर्दै कांग्रेसलाई अराष्ट्रिय तत्व भनेर नारा लगाए। यसरी विरोध गर्नेमा कांग्रेसबाटै छुट्टिएर अठ्तीसे समूह बनाएर कुनै बेला खाँटी पञ्च बनेका र पञ्चायती सरकारमा बसेर निकै तर मारेका केही नेता पनि थिए, जो जनआन्दोलनको सफलता पछि पुनः लुसुक्क कांग्रेसमा पसेर आज सो पार्टीका हर्ताकर्ता बन्न सफल भएका छन्।
आन्दोलनको समर्थनमा यस अघिदेखि नै बोलिरहेका टंकप्रसाद आचार्यले केही समय पछि नेपाल टेलिभिजन मार्फत मुलुकभित्र प्रजातन्त्रको आन्दोलन चलिरहँदा र छिमेकी राष्ट्रले नाकाबन्दी समेत लगाएको बेला सोही राष्ट्रका नेताहरूलाई डाकेर राजा र राजनीति बारे बोल्न लगाउनु उचित नभएको कुरा बताउँदा उनलाई राजा र पञ्चायती व्यवस्था टिकाउन बिकेको मानिस भनेर निन्दा गरिएको थियो।
तर २०४६ सालको आश्विन महिनातिर दरवारमा बोलाएर राजाले नेपाल र भारतको सम्बन्ध चिसिएर भारतले गरेको नाकाबन्दी र नेपालमा राजनीतिक आन्दोलनको स्थिति आइरहेको बारे सल्लाह लिँदा आचार्यले यो दुई देशको सम्बन्ध बिग्रनुको मुख्य कारण राजा र भारतीय प्रधानमन्त्रीको आपसी रिस-इबी र इगो भएकोले राजा र राजीब एक ठाउँमा बसेर एकअर्काका खोटहरू औँल्याएर अब यस्तो नहुने बाचा गरे समस्या समाधान हुने र प्रजातन्त्रको निम्ति आन्दोलित नेताहरूसँग पनि राजाले भेटेर समस्या समाधान गर्नुपर्ने सल्लाह दिँदा सँगै बसेकी रानी ऐश्वर्यले निकै आवेशमा आएर आचार्यलाई गाली गरेकी थिइन् र राजा वीरेन्द्र र त्यहाँ उपस्थित अधिराजकुमार ज्ञानेन्द्र कुरा सुनेर मात्र बसेका थिए भनेर आचार्यले उनको निवासमा मेरा पिता सहित आफ्ना नजिकका केही व्यक्तिलाई सुनाएका थिए।
त्यही समयतिर राजालाई सल्लाह दिन जाँदा यसरी रानीको गाली र बेइज्जती सहन बाध्य भएका धेरै जना बुद्धिजीवी तथा राजसंस्थालाई माया गर्ने व्यक्तिहरूले दरवारसँग सम्पर्क गर्न छोडेका थिए।
नेपालमा आर्थिक नाकाबन्दी गरेर एउटा भूपरिवेष्ठित मुलुकलाई दुख दिएकोमा राजीब गान्धीको व्यापक आलोचना त्यहाँको संसददेखि लोकसभाको चुनावी प्रचारमासमेत हुन थालेपछि र अन्तर्राष्ट्रिय स्तरमा पनि विरोध हुन थालेपछि राजीब गान्धीले विभिन्न माध्यमबाट राजालाई गोप्य रूपमा भएपनि भेट्न खोज्दा समेत यस्तो भेटको इन्तजाम मिलाउन दरवार र त्यहाँका उच्च पदाधिकारीहरूले सकेनन् वा अर्को अर्थमा राजाले नै भेट्न चाहेनन्।
त्यति नै बेलातिर मेरा पिताले राजासँग भेट्ने अवसर पाउँदा बाहिर पत्रपत्रिकामा छापिएका नकारात्मक समाचारहरूका कटिङ देखाउँदै राजाबाट भारतसँग सम्बन्ध सुधार्नुका साथै तत्काल राजनीतिक सुधारका कदम चाल्नु पर्ने कुरा बताउँदा उनले ‘मलाई त यस्ता समाचारहरू छापिएका छापाहरू प्राप्त नै भएका थिएनन्’ भनेर अलिक आक्रोशित मुहार बनाएका थिए रे।
यसरी उनलाई राजदरवार भित्रै गुमराहमा राख्ने काम भइरहेको थियो। सुन्नमा आए अनुसार त्यतिबेलाका दरवारका सचिबहरूले राजाको आदेशसमेत रानीलाई सुनाउने तथा उनले भने वमोजिम मात्र पालना गर्ने गरेका थिए।
भारतको आर्थिक नाकाबन्दी पछि चीनसँग सम्बन्ध बढाएर अत्यावश्यक सामग्री आयात गर्ने बारे त्यहाँका उच्च अधिकारीहरूसँग कुरा हुँदा उनिहरूले चीनको नेपालसँग जोडिएको क्षेत्र निकै विकट भएकोले चीनले अत्यावश्यक सामग्रीको आपुर्ति गर्न सक्दैन र त्यसै पनि नेपालले भारतसँग सौहार्द्रपूर्ण सम्बन्ध राख्नु पर्छ भन्ने कुरा बताएको थियो।
२०४६ साल पौष १ गतेको सम्बिधान दिवसमा राजाले शाही सैनिक मञ्चमा गर्ने भाषणको ड्राफ्ट सो समारोहका अध्यक्ष सुर्यबहादुर थापा अघिल्लो दिन रातीसम्म राजासँग बसेर गरेका थिए।
उनैले त्यसको केही दिन पछि मेरा पितालाई भने अनुसार सो भाषणमा पञ्चायती व्यवस्थामा सबै पक्ष अटाउने यानी जनमतसंग्रह पछिको सम्बिधानमा नै पार्न छुटाइएका बुँदाहरू सहित छिट्टै संशोधन गर्ने र इतर पक्षका विभिन्न शिर्ष नेताहरूसँग पनि परामर्श लिने कुरा पारिएकोमा भोलिपल्ट राजाले मञ्चमा भाषण गर्दा सो भाषणको ठाउँमा अर्को कडा भाषण गरेका थिए।
सो दिन साँझ सभागृहमा भएको एक कार्यक्रममा सूर्यबहादुर थापा निकै आक्रोशित भएर ‘पशुपतिनाथले आँखा खोल्न खोल्न लागेका हुन्छन् तर चारैतिरबाट भट्टहरूले छेकिदिन्छन्’ भनेर निकै आक्रोसका साथ व्यङ्ग्यात्मक अभिव्यक्ति दिएका थिए र तत्पश्चात् उनको पनि दरवारमा आउजाउ पातलिएको थियो।
२०४६ साल फागुन ७ गतेदेखि नेपालमा बहुदलीय प्रजातन्त्रको प्राप्तिको निम्ति जनआन्दोलन शुरु भयो। केही दिन अघिदेखि नै सरकारले नेताहरूको धरपकड शुरु गरिसकेको थियो। त्यस्तै गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला आदिलाई नजरबन्द गरिएको थियो।
फागुन ७ गते काठमाडौँको धरहराबाट शुरु भएर खिचापोखरी हुँदै नयाँसडक पसेको जुलुशको नेतृत्व तुलसीलाल अमात्यले हातमा हँसिया हथौडासहितको झण्डा बोकेर गरेका थिए।
त्यस्तै नयाँसडक, टुँडिखेल, बागबजार, पुतलीसडकतिर पनि सरकारी धरपकडको बावजुद जुलुसहरू निस्के। मुलुकका अन्य भागमा पनि जुलुसहरू निस्केको समाचार आउन थाले। शुरुमा सानो देखिएको आन्दोलनले हेर्दा हेर्दै वृहत् रूप लिन थाल्यो।
पाटनमा सुरक्षा बलसमेत घुस्न नसक्ने स्थिति आयो भने कीर्तिपुरमा हेलिकप्टरबाट भिडमा गोली चलाएका समाचार पनि आउन थाले। त्यतिबेला निरञ्जन थापा गृहमन्त्री थिए। आन्दोलनमा सयौँ मानिस पक्राउ परिसकेका थिए।
कांग्रेस र बाममोर्चाका धेरै शिर्ष नेताहरू पक्राउ परिसकेका थिए भने कैयौँले भूमिगत अवस्थामा नेतृत्व गरिरहेका थिए। विभिन्न ठाउँमा प्रहरीले गोली नै चलाउनु परेर दर्जनौँ मानिसको मृत्यु हुन गयो।
यता जनआन्दोलनको सरगर्मी बढ्दै जाँदा राजा वीरेन्द्र मध्य-पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणमा थिए। त्यतिबेला मेरा पिताले उनलाई मुलुकको राजनीतिक स्थिति र तत्काल अपनाउनु पर्ने कुरा बारे निकै लामो चिठी (बिन्तिपत्र) पोखरामा पठाउनु भएको थियो।
सो पत्रमा उहाँले मुलुकको बदलिँदो जटिल राजनीतिक अवस्था र यसको समाधानको निम्ति राजाले इतर पक्षलाई बोलाएर कमसेकम पनि पञ्चायतभित्रै बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको शुरुवात गरेर सबै पक्ष अटाउने बन्दोबस्तीको फागुन ७ गते घोषणा गर्नेछु भनेर आश्वस्त बनाउनु पर्ने कुरा समेत उल्लेख गर्नुभएको थियो।
सो चिठी राजालाई पोखरामा भारदारहरूको उपस्थितिमा पढेर सुनाउँदा राजाले ‘लोहनीले ठीकै त लेखेछन् नि’ भनेका थिए भनेर पछि एक जना उच्च अधिकारीले भनेका थिए।
यस्तै किसिमका सल्लाह यदूनाथ खनाल, टंकप्रसाद आचार्य, हर्क गुरुङ लगायत धेरै हितैषी विद्वानहरूले दिएका थिए। तर भित्र भित्र गुमराहमा राखेर शक्तिहिन बनाइएका शालिन राजाले के नै गर्न सक्थे र।
आन्दोलनले उग्र रूप लिन थाले पछि राजाले आफ्नो भ्रमण छोट्टाएर राजधानी फर्के। चैत्र ३ गते त्रिचन्द्र कलेजमा मेरा पितासहित ठूलो संख्यामा साहित्यिक स्रस्टाहरूले मुखमा कालो पट्टि बाँधेर पञ्चायतको विरोध गरे।
आन्दोलन झन् झन् चर्कन थाल्यो र कफ्र्यूसमेत लगाउनु पर्यो। प्रहरीले मात्र स्थितिलाई काबुमा लिन नसके पछि सेनालाई नै सडकमा उतार्नु पर्यो। त्यतिबेला भने राजा वीरेन्द्रले आन्दोलित जनतालाई गोली हानेर दमन गर्ने पक्षमा आफू नभएको भन्दै पञ्च तथा दरवारियाहरूलाई एकातिर पन्छाएर तत्काल विभिन्न व्यक्तिहरूलाई बोलाएर सल्लाह लिन शुरु गरे।
कफ्र्यू लागेकै बेलामा मेरा पितालाई पनि सेनाको गाडीमा राखेर दरवार लगिएको थियो। राजालाई उहाँले ‘सरकार अब निकै ढिला भइसकेकोले पञ्चायतलाई खारेज गरेर बहुदलीय व्यवस्थाको घोषणा नगरे स्थितिलाई काबुमा ल्याउन सकिँदैन।
सरकारले जसरी अहिले पञ्चहरूलाई आफ्ना मानिस भनेर विश्वास गरिबक्सिन्छ, अब बहुदलको घोषणा पश्चात् सरकारको सकारात्मक भूमिकाबाट बहुदलबादी नेताहरू पनि सरकारका आफ्ना मानिस हुन सक्नेछन्।’
यसो भन्दा राजाले मुस्कुराएर टाउको हल्लाउँदै उहाँलाई सोही राती नै विभिन्न कारागारहरूमा गएर खासगरी वामपन्थी नेताहरूलाई भेटेर उनिहरूलाई यही सन्देश दिनु भनेछन्। यसरी नै देवेन्द्रराज पाण्डेसँग पनि राजाको सोही दिन भेट भएको थियो।
पिताजीले सोही राती नारायणमान बिजुक्छेँ, मनमोहन अधिकारी तथा अन्य वरिष्ठ बामपन्थी नेताहरूलाई कारागारमा र गणेशमान सिंहलाई अस्पतालमा गएर भेटेर राजाको सन्देश दिँदा उनिहरू हौसिनुका साथै खुशी भएका थिए। राती नै पुनः दरवारमा गएर राजालाई नेताहरूसँगको कुराको विवरण दिए पछि राजा पनि प्रसन्न भए।
२०४६ साल चैत्र २४ गते राजाले मन्त्रीमण्डल भङ्ग गरेर लोकेन्दबहादुर चन्दलाई प्रधानमन्त्रीमा नियुक्त गरेर बहुदलवादीहरूसँग वार्ता गर्ने म्यान्डेट दिए। तर आन्दोलन रोकिनुको सट्टा त्यस दिन खुलामञ्चमा भइरहेको आमसभाको एक अङ्श राजदरवारतिर अघि बढ्दै राजा महेन्द्रको शालिक तोडफोड गर्न खोज्दै गर्दा सेनाले चलाएको गोलीबाट केही आन्दोलनकारीहरूको मृत्यु हुनुका साथै भिड तितर बितर भयो, तर आन्दोलन झनै बढ्न थाल्यो र ठाउँ ठाउँमा घरघरबाट मानिसहरू कफ्र्यूको पनि अवज्ञा गर्दै आन्दोलनमा भाग लिन थाले।
२०४६ साल चैत्र २६ गते राती राजाले गणेशमान सिंहको सुझाव मुताविक कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सहाना प्रधान र राधाकृष्ण मैनालीलाई राजदरवारमा बोलाएर वार्ता गरे र त्यति नै बेला नेपाल टेलिभिजनको सिधा प्रसारण मार्फत दलमाथि लागेको प्रतिवन्ध फुकुवा गरेको घोषणा गरे, जुन जनमत संग्रहताका वा जनआन्दोलन शुरु हुनु भन्दा पहिले गरेको भए राजाको हात माथि पर्ने थियो। तर आन्दोलनरत दलहरूले पञ्चायती व्यवस्थाको विघटन नहोउञ्जेलसम्म आन्दोलन नरोकिने अडान लिए।
गणेशमान सिंहले पनि चैत २७ गते एक विज्ञप्ति निकाली जबसम्म पूर्ण प्रजातन्त्र पुनस्थापित हुँदैन तबसम्म आन्दोलन जारी रहन्छ भने। वैशाख २ गते प्रज्ञा प्रतिष्ठानमा लोकेन्द्रबहादुर चन्दसँग कांग्रेस तथा बाममोर्चाका प्रतिनिधिहरूको वार्ता हुँदा बाहिर पट्टि आन्दोलनकारीहरूले घेराबन्दी गरेर पञ्चायतको विघटनको माग गर्दै बसेका थिए।
त्यसको भोलिपल्ट २०४७ साल वैशाख ३ गते राजाले आन्दोलनरत पक्षका सबै माग पुरा भएको घोषणा गरे। त्यहि दिन राजा र गणेशमान सिंह बीच भएको वार्तामा राजाले गणेशमानलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनेर बाँकी काम सक्न अनुरोध गरे। तर उनले निकै त्याग देखाएर आफ्नो सट्टा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउने सल्लाह दिए। यसरी प्रधानमन्त्रीको पद पाउँदा पनि अस्विकार गर्ने महान् व्यक्ति गणेशमान सिंह बाहेक अरु कोही पनि नेपालमा निस्कन सकेका छैनन्।
२०४७ साल वैशाख ६ गते कृष्णप्रसाद भट्टराई जनआन्दोलनबाट प्राप्त प्रजातान्त्रिक सरकारको प्रधानमन्त्री बने भने उनको सरकारमा कांग्रेस, बाममोर्चा र स्वतन्त्र गरी ११ सदस्यीय अन्तरिम सरकारको गठन भयो।
यसरी निकै तिक्त रहेको राजा र प्रजातन्त्रवादीहरू बीचको सम्बन्धका सम्पुर्ण तुषहरू समाप्त भई पुरै विश्वलाई एक पुरातन राजतन्त्र र आधुनिक प्रजातन्त्रको बीचमा विना रक्तपात कसरी महत्वपूर्ण समझदारी भएर जनताले शान्ति र सार्भभौमिकता पाउन सक्छन् भन्ने उदाहरण दिन नेपाल सफल भयो।
त्यतिबेलाका शासक र नेताहरू निष्ठावान थिए त्यसैले आजको विश्वको सबैभन्दा उत्तम भनिएको प्रजातन्त्र रूपी उपहार जनतालाई दिन सबै तयार भए। तर त्यसपछिका पुस्ताले प्रजातन्त्रको सदुपयोग वा दुरुपयोग के गरेका छन् र आज हाम्रो देश नेपाल कता पुगेको छ भन्ने कुरा आउँदा भागहरूमा प्रस्तुत हुने नै छन्।
क्रमश…
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment