तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड नेपालमा

डिसी नेपाल
१८ असोज २०८१ २१:३३

गोदावरी (ललितपुर)। एष्ट्रोनोमी र एष्ट्रोफिजिक्ससम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड आजदेखि यहाँ सुरु भएको छ। युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो।

नेपाल एष्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको ओलम्पियाडमा १९ देशका २१ समूहले भाग लिएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट आएका विद्यार्थी उत्साहित देखिन्छन्।

कार्यक्रमको उद्घाटन समारोहमा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफू प्रेरणा दिन कार्यक्रममा आएको बताए। यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उनले बताए।

अन्तर्राष्ट्रिय ओलम्पियाड संघका अध्यक्ष अनिकेत सुलेले सगरमाथा र शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म देश नेपालले यस्तो कार्यक्रम गर्दा आफूहरु उत्साहित भएको बताए। यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा पनि सहयोग गर्ने उनको भनाइ थियो।

आयोजक समिति नेपालका सहअध्यक्ष प्रा डा उदयराज खनालले खगोल विज्ञानका क्षेत्रमा केही नयाँ काम गर्छु भन्नेका लागि ओलम्पियाड एउटा अवसरका रुपमा रहेको बताए। यस्ता कार्यक्रमलाई निरन्तरता दिनसके नेपाल खगोल विज्ञानमा उपलब्धि हासिल गर्न सक्ने उनको विचार थियो।

पाँच दिनसम्म चल्ने कार्यक्रममा १९ देशका २१ समूहमा विभाजित विद्यालय तहका विद्यार्थीले प्रतिभा प्रस्तुत गर्ने आयोजक समितिले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *