लघुकथा : झस्का

शाेभा अधिकारी
१९ असोज २०८१ ७:५४

ह्वाटस अप र मेसेन्जरमा भट् ट् ट म्यासेज आयो। तुरुन्त हेरें। “ कविता विमोचनमा निम्ता छ”।  प्रकाशकले पठाउनु भएको रहेछ। आगोको भुंग्रोले राजनीति डामेको बेला,साहित्यिक कार्यक्रममा भाग लिँदा शान्ति र शीतल मिल्ने आशाले राष्ट्रिय नाच घरमा पुगें।

हल भरिएको थियो। गएर दोस्रो रो´को, दोस्रो सिटमा बसें। कार्यक्रम सञ्चालकले आसन ग्रहणमा मेरै साथी पत्रकार अपिललाई डाके। ऊ त्यहाँ थिएन।

मोबाइल झिकेर फोन गर्न खोजें। आउँदै होला भनी, पुनः ब्यागमा मोबाइल राखें। मेरो आँखाले उसलाई खोज्यो। लामो समयपछि ऊ सरासर आयो र पल्लो छेउको पहिलो `रो´मा गएर बस्यो। म पनि आएको छु भनेर म्यासेज गर्न खोजे। गर्न मन लागेन। एकैचोटी अन्तिममा भेट्छु भन्ने सोचें।

कविताको किताब विमोचन भयो। कविता वाचन गर्न अपिललाई उद्घोषक निशाले बाेलाए। म छक्क परें। पत्रकारबाट अपिल लोकप्रिय कवि भइसकेको रहेछ। ऊ सरासर पोडियममा उभियो र सम्बोधन गर्दै लामो कविता वाचन गर्न थाल्यो। उसले वाचन गरेको कविताका केही अंश रेकर्ड गर्न मन लाग्यो। मोबाइल झिकेर भिडियो रेकर्ड गरें। उसले वाचन गर्दै भन्यो-

“के गर्नु ?
मेरो कवितामाकल्पना गरेको जस्तो
घरमातिमी र म बस्न नमिल्ने रहेछ।

के भनु?
कवितामा बनाएको जस्तो
बगैंचामा,तिमी र म भेट्न नमिल्ने रहेछ।

के सुनाउनु ?
मेरो कवितामा मैले वाचन गरेको जस्तो आवाजले,
तिमी र म बोल्न अनि बोलाउन नमिल्ने रहेछ।”
भन्दै ऊ कविता सुनाएर सरासर बाहिरियो।

म कविताको किताब बाेक्दै सोच्न थालें। म किन यसरी एकाएक अपिलसँग आकर्षित बन्दैछु।
म अन्योलमा परें। म कवितालाई माया गर्दै छु कि! अपिललाई!
म एकाएक झस्किएँ। अपिल त विवाहित पाे हाे!

हल्लिएकाे मन बाेकेर झिप्पिदाे साँझकाे अँध्याराेमा म आप्नो छाँया पछ्याउँदै घर तिर हिडेँ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *