दैवी प्रकोप र भूक्षय न्यूनीकरण

बर्षेनि बाढी र पहिरोको कारण प्रशस्त धन जनको क्षति भइरहेको छ। यो साल पनि यो क्रम रोकिएन। हालसालै परेको पानीले पुनः ब्यापक धन जनको क्षति भएको छ। यसपटक निकै भयाबह स्थितिको सामना देशभरका मानिसहरुले गर्नुपर्यो।
बर्षा मापन केन्द्रका अनुसार यो पटक पहिल्य भन्दा अत्यधिक बढी पानी परेको छ। पहिरोका कारण लामो दूरीका सवारी साधन बाटोमा अलपत्र अवस्थामा थिए। सरकारले निरन्तर झरीका कारण यातायातको साधन नचलाउनु भन्ने जानकारी गराएको भएतापनि यसलाई बेवास्ता गर्दै चलाएको कारण झ्याप्ले खोलामा बस दुर्घटना भएको देखियो।
सूचना जारी गरे पनि सरकारका संयन्त्र ट्राफिक प्रहरीहरुले बस संचालन गर्न नरोकेको पनि देखिन्छ। यसबाट सरकारका संयन्त्रले काम नगरेको पनि भन्न सकिन्छ। काठमाडौं उपत्यकामा पनि बाढी र डुवानले ब्यापक धन जनको क्षति भएको खवर आएकोछ।
चीनमा ओलम्पिक खेल चलिरहेको वखत बर्षालाई पनि रोकेर खेल संचालन गरेको भन्ने खबर सुनिएको थियो। बिकसित देशमा कृतिम बर्षा गराउने र बर्षा रोक्नेसम्मको प्रबिधि बिकास भएको भन्ने छ।
हाम्रो जस्तो बिकासोन्मुख मूलुकमा त्यो त सम्भव नहोला। तैपनि बाढी पहिरोलाई न्यूनिकरण गर्ने कुनै बैज्ञानिक प्रबिवि हुँदै नभएको हो त? बिज्ञहरुको भनाइ अनुसार बाढी पहिरोको प्रमुख कारण नै भूक्षय हो। भूक्षय दुई किसिमले हुन्छ।
– प्राकृतिक
– मानव श्रृजित
प्राकृतिकः पहिले हामी भूक्षय भनेको के हो? त्यो बुझ्ने प्रयास गरौं। यसलाई हामी यसरी बुझ्न सक्छौं। पहाडको भिरालो जमिनमा जहाँनेर नांगोे र खाली जमिन हुन्छ, बर्षाको पानीको थोपा यसमा परेपछि माटोका कणहरु यसबाट निस्केर स्थानान्तरण हुन्छ।
पानीसँगै धमिलो माटोको लेदो स्थानान्तरण भएको माटोसँगै बग्न थाल्छ। यो पहिलो रुप हो। यो लेदोसहितको पानीले अली तल पुगेपछि बालुवाको कणहरु पनि सँगै बगाउन थाल्छ। यो बालुवाको कणसहितको धमिलो पानी पहिले भन्दा अब अझै बलशाली हुन्छ।
यो दोश्रो रुप हो। यसले अली तल पुगेपछि कंक्रिट र अली साना साना गिट्टी जस्ता ढुंगा पनि बगाउँछ। अव यस्तो मसिना ढुंगा सहितको बाढी अझै बलियो हुन्छ र यसले यो भन्दा ठूला ठूला ढुंगा पनि बगाउँछ। यो तेश्रो रुप हो। यस्तो बेगवान बाढीले ठूलठूला घर जस्ता ढुंगा समेत बगाएर संगै लाने क्षमता राख्दछ।
नदीमा पुगेपछि यस्तो बाढीले आफ्नो रुटको बाटोलाई पनि गहिरो बनाएर लान्छ भने किनारलाई पनि काटेर बग्दछ। यस्तो अवस्थामा ठाउँ ठाउँमा पहिरो पनि जान्छ। यो भूक्षयको चौथो रुप हो।
यसरी माटो बगेको कारणले हाम्रो पहाडी भेगको मलिलो माटोसमेत कटान गरी बर्षेनि कति अरव टन माटो बगेर जान्छ त्यसको एकिन हिसाब छैन। यसबाट रुखो माटो मात्र हामी कहाँ बाकी रहने क्रम बर्षेनी रहिरहन्छ।
भूक्षय हुने यस्तो प्रक्रियालाई रोक्न नांगो र खाली जमिनलाई कतै नदेखिने गरी बिरुवाहरु रोपेर टनक्क ढाक्नुपर्दछ। यस्तो भएमा बर्षाको पानी पर्दा माटो बगाउन पाउँदैन। जसबाट संलो पानीमात्र बग्दछ। त्यो पनि ९० प्रतिशत पानी जमिनले नै सोस्दछ।
यसो हुँदा १० प्रतिशत मात्र बगेको संलो पानीले बाढीको प्रकोप कम हुन जान्छ। पहिरो जाने क्रममा पनि न्यूनिकरण हुन मद्दत पुग्दछ। पहिरो जाने भनेको माटो ढंगा र लेदो सहितको पानीको बहावको कारण नै हो।
मानव श्रृजित : मानवीय गतिबिधिका कारण हुने भूक्षय सबैभन्दा डरलाग्दो रुपमा देखापरिरहेको छ। नेपालको सन्दर्भमा बहुदलीय ब्यबस्थाको आगमन पश्चात चारैतिर मोटर बाटो बनाउने क्रम तिब्र रुपमा देखापरेको छ। त्यो पनि बर्षा शुरु हुन केही समय अघि वा बर्षा सुरु भइसकेपछि डोजर लगाएर मोटर बाटो बनाइन्छ।
यसमा जमिनको प्रकृति कस्तो छ? त्यो कमलो माटो हो कि? कमेरो माटो हो ? वा मजबुत माटो हो? त्यसको वास्ता गरेको पाइँदैन। कुनै जीओलोजिष्टद्वारा माटो जाँच गरिएको हुँदैन। अर्को कुरा प्राबिधिक रुपमा पनि बाटो उपभोक्ता समितिमा मात्र यो निर्भर हुन्छ भन्दा कुनै फरक पर्दैन।
गाउँपालिकाले बनाएको यस्तो बाटोमा प्रबिधिकहरुले मात्र औपचारिक्ता पुरा गरेर फर्केको देखिन्छ। यसबाट बाटोको स्थायित्वको पनि कुनै ग्यारेण्टी हुँदैन। कुनामा नाला नबनाइकन बनाइको यस्तो बाटो बर्षा लागे पछि क्षतबिक्षत भई काम नलाग्ने भएको देखिँदै आएको छ। माटो ढुंगा प्रशस्त मात्रामा बग्न जाने हुनाले यसबाट पहिरोको जोखिम अनियन्त्रित रुपमा बढिरहेको छ।
बिकासको नाममा सडक खनेर निम्तिरहेको यस्तो बिनासलाई न्यूनिकरणका केही उपायहरु छन्। ती हुन बर्षा सिद्धिसकेपछि मात्र बाटो खन्ने। बाटो खन्नु अघि माटोको प्रकृतिको जाँच जिओलोजिष्टहरुलाई झिकाइ गराउने बन्दोबस्त मिलाउने। बाटोको सर्भे दक्ष प्राबिधिकहरुलाई ल्याएर गर्न लगाउने।
बाटो मूनी र माथि आवश्यक वाल राख्ने। खाली जमिन नदेखिने गरी बिरुवाहरु रोप्ने। यसो भयो भने अर्को बर्षा सुरु हुनेबेला सम्म माटो जमिइसक्ने हुन्छ। बिरुवाहरु हुर्किने क्रम सुरु हुन्छ। यसबाट भूक्षयलाई न्यूनिकरण गर्न ठूलो सहयोग पुग्दछ। मोटर बाटो बनाउने सम्बन्धमा जापानिज प्रबिधी निकै उच्च स्तरको भन्ने लागेको छ।
जथाभाबी डोजरले खनेर तलतिर माटो नफ्याकीकन बरु आबश्यक ठाउँमा पहिले नै वाल राखी कुनाको माटो वालमा पुरिने गरी भर्दै जाने तरिकामा माटो ढुंगा तलतिर गई पहिरो जाने सम्भावनालाई बचाउन सकिने तथा कुना थोरै मात्र कंक्रिट गरेर पनि थोरै माटो बनिबनाउ तलको वालमा भर्दा पनि सजिलै र छिटो बाटोको रुपरेखा देखिने हुन्छ। यस्तो कुरा जापानिजहरुको यो तरिकाबाट सिक्न सकिन्छ।
पानी जाने नालामा समेत सिँढी बनाई पानीको बहाबलाई रोक्दै बहाउने तरिका निकै नै फाइदाजनक देखिन्छ। यस्तै कुना पट्टिको नांगो जमिनमा आवश्यक मेसिनरी वालले नांगो जमिन नदेख्ने बनाइन्छ। अर्थात् यस्तोमा हामीले पानी सोस्ने खालको बिरुवा पनि लगाउन सक्नेछौं।
बनेपा बर्दिवास सडक जापाननिज प्रबिधिबाट बनेको एउटा नमुनालायक सडक हो। यसबाट हामीले सडक बनाउनको लागि आवश्यक आधुनिक प्रबिधीको ज्ञान लिन सक्दछौं। हुन त यस सडकमा पनि यो पटकको वर्षाले क्षति त बनाएकै छ तर यो आसपासको जमिनमा भएको भूक्षयको कारण हो। भूक्षयको कारण खोलामा आएको बाढीको कारणले पनि हो। प्राबिधिक रुपमा सडक कम्जोर भएर हैन भन्ने लागेको छ।
हालसालै काठमाडौं उपत्यकाका नदीहरुले ल्याएका बाढी र डुवानको समस्याले धेरैको मन रुवाएको छ। बाढी बस्ती भित्र पस्यो भनि समाचार संप्रेषित भएको सुनिन्छ। तर बाढी बस्तीमा पसेको नभै खोला बग्ने भागमा बस्ती बसाएकाले खोलाले आफ्नो भाग नछोडेको हो। मानिसले खोलो मिच्ने मूर्खता गरेकाले हो।
कसैले भनिरहेका छन् अब त्यतिले पुगेन अरु दोब्वर भाग खोलाई छुटयाएर मात्र भबिष्यमा मापदण्ड कायम गर्नुपर्छ। काठमाण्डूका मेयर बालेन शाहले नदीको दाया बायाँ २०, २० मीटर छोड्नुपर्छ भनेका छन्। यदि हामीले भूक्षय न्यूनिकरणको माथिको तरिका अवलम्वन नगर्ने हो भने बर्षेनि खोलाको लागि यसको दोब्बर भाग छुटयाउँदै जानुपर्ने हुन्छ।
बोट बिरुवा नभएको नांगो जमिनमा बर्षातमा ९० प्रतिशत पानी माटो ढुंगासहित बगेर गएको हुन्छ। तर बोट बिरुवाले ढाकिएको जमिन भएमा ९० प्रतिसत पानी जमिनले सोस्दछ भने १० प्रतिशत त्यो पनि संलाे पानी बग्दछ। यसले पहिरोको जोखिम कम भइ खोलाको बहाब र बाढी पनि कम हुन्छ।
आज भन्दा झण्डै चार दशक अगाडिको आँकडा अनुसार हाम्रो देसको यस्ता नांगा जमिनबाट बर्षातमा बगेर जाने माटो एक बर्षमा २४ करोड मेट्रिक टन बगेर बिदेश जाने र बंगालको खाडीमा ४० हजार बर्गकिलोमिटरको टापु बनेको कुरा सुन्न सकिन्थ्यो।
बहुदलीय ब्यबस्था आइसकेपछि गाउँ गाउँमा डोजर लगाई सडक खन्ने रफ्तार बढेकाले यो आँकडा बढेर कती पुग्यो होला तपाईं आफैं कल्पना गर्न सक्नुहुन्छ।
यसैले भूक्षय न्यूनीकरण सबैको चासोको बिषय हुनुपर्छ। यस बिषयमा छलफल कार्यक्रमहरु चलाइनुपर्दछ। सर्बसाधारण जनतामा यस बिषयमा सचेतना र जागरण उत्पन्न गराउनु आवश्यक छ। यसकालागि सरकारी निकायहरु जस्तै गाउँपालिका, नगरपालिका बन कार्यालय, कृषि बिकास कार्यालयलाई सचेतनाको लागि भूमिका निर्वाह गर्न निर्देशित गर्न सकिनेछ।
वन तथा वाताबरण मन्त्रालय, भूसंरक्षण बिभाग, जल उत्पन्न प्रकोप नियन्त्रण बिभाग, बिज्ञान तथा प्रविधि प्रतिष्ठान जस्ता केन्द्रीय स्तरका कार्यालयहरुमार्फत सरकारले यी कामहरु सम्पादन र संचालन गर्न सक्ने छ।
सधैं दैवी प्रकोपको नाममा रकम संकलन गर्ने। दैवि प्रकोपकालागि राहत बितरण गर्ने मात्र काम गर्ने तर भूक्षय न्यूनीकरणको कुनै उपाय कार्यान्वयन नगर्ने हो भने यो परम्परा अनवरत रुपमा चलिरहन्छ। भबिष्यमा दैवि प्रकोपको यो भन्दा डरलाग्दा रुपहरु देख्दै जानुपर्नेछ।
Facebook Comment